एकाबिहानै खबर सुनियो – कपिलवस्तु बाणगङ्गास्थित मेरो घरको छिमेकमा छयासी वर्षीय वृद्धको निधन भयो। चारैतिर कोरोनाको त्रास छ । दुःख परेको घरमा नगई घरैमा बस्न मन मानेन । त्यसैले सतर्क हुँदै उक्त घरमा पुगेँ । करिब पचहत्तर जना जति मलामी जाने तरखरमा थिए । म भने भिडभाडभन्दा केही पर उभिएको थिएँ ।
एक्कासि एक जना वृद्ध आएर – ‘‘कहिले आएको बाबु !’’ भनेर धाप मार्नुभयो । ‘‘अस्ति आएको बा’’ भनेर जबाफ त दिएँ मनभित्रको त्रास भने बढेर गयो । हत्तपत्त घरमा आएर आफूले लगाएका कपडा बाहिरै खोली साबुन पानीले नुहाएपछि मन केही हलुका भयो । ‘‘अस्ति भर्खर हाम्रो घरमा आएका एकजना छिमेकीलाई स्कुलको कोठामा थुनेर राखेका छन् रे’’ – बुबाले भनेपछि त मन झन् आत्तियो । भारतबाट फर्किएका हुनाले निगरानीको लागि उनलाई ‘क्वारेन्टाइन’मा राखिएको रहेछ । धन्न ती मानिस हाम्रो घरभित्र प्रवेश गरेका रहेनछन् । कतै घरभित्र बसेर गएका पो हुन् कि भनेर मन झन् आत्तिएको थियो ।
त्यस्तै बिहानको हिँडाइमा देखेको दृश्यले झन त्रसित बनायो । एकजना पण्डितले पिपलको बोटमुनि चार–पाँच जना मानिसको माझमा भन्दै थिए – ‘‘यो बेकारको हल्ला हो । नेपालीलाई केही भएको छैन तर्सनु पर्दैन, पूजाआजा रोक्न पर्दैन ।’’ आफ्नो रोजीरोटीका लागि उनले अरुलाई उल्याएका हुन् वा कोरोनाभाइरसका बारेमा नबुझेर भनेका हुन् ? उनै जानुन् !
कोरोनाको संक्रमणबाट बच्न धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । संक्रमित व्यक्तिले छोएको सामानबाट, संक्रमित व्यक्ति बसेको ठाउँमा बस्दा पनि यो भाइरस सर्नसक्छ भन्ने ज्ञान जनस्तरमा पुगेको देखिँदैन । कोरोना भाइरसको बारेमा जनस्तरमा सही र पर्याप्त सूचना नपुगेकै कारण माथि उल्लेखित पण्डितजस्ता व्यक्तिले पार्ने भ्रमबाट संक्रमण फैलने जोखिम बढेको छ । अहिले समाजमा व्याप्त त्रास र भ्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेको हुँ ।
कोरोना भाइरसले चीनमा ठूलो क्षति पुर्यायो । अब त्यहाँ त्यसको असर केही कम भएको छ । तर, त्यसको केन्द्र युरोप हुन पुगेको छ । इटाली, स्पेनमा त्यसको प्रकोप तीव्र भएको छ । दिनहुँ सयौँको मृत्यु भइरहेको छ । भारतमा पनि संक्रमण बढ्ने क्रममा छ । अमेरिकामा सबैभन्दा धेरै जना संक्रमित भएका छन् । दक्षिण कोरिया, जापानजस्ता देश पनि संक्रमणको चपेटामा परिसकेका छ्न । तर नेपालमा अहिलेसम्म संक्रमितको संख्या न्यून नै देखिएको छ । आइतवार बिहानसम्म पाँच जनामा कोरोनाको संक्रमण भेटिएको छ । तर, धेरैको परीक्षण पनि नभएकाले संक्रमण भए पनि पत्ता नलागेको हुनसक्छ ।
नेपालमा कोरोनाभाइरसको संक्रमण न्यून भए पनि विश्वव्यापीरूपमा भएको त्यसको संक्रमण र मृत्यु हेर्दा नेपाली त्रसित हुनुपर्ने स्थिति छ । कुनै आपत नआउँदै त्यसलाई रोक्न पूर्वतयारी गर्नु बुद्धिमानी हुन्छ । पहिले नै आत्तिएर त आसन्न विपदको सामना कसरी हुन्छ ?
कोरोनाभाइरसको संक्रमण नेपालमा फैलिन सक्ने खतरा बढी नै छ । सरकारले ढिलै भए पनि मुलुकलाई बन्दाबन्दी (लक डाउन)मा राखेर संक्रमण फैलने जोखिम घटाउने स्वागत योग्य निर्णय गरेकोे छ । संसारका विकसित साधन र स्रोत सम्पन्न देशहरूमा पनि संक्रमण रोक्न मुस्किल परेको छ भने नेपालमा फैलियो भयो भने स्थिति कस्तो होला ? अस्पताल, औषधि, उपचार र आधुनिक साधनहरू पर्याप्त नभएकाले संक्रमण फैल्यो त्यसले भयावह रूप लिनसक्छ ।
कोरोनाभाइरसको संक्रमणले ठूलो संख्यामा मानिसको मृत्यु हुनसक्ने भयले विश्व त्रसित छ । यस भाइरसलाई नियन्त्रण गर्न सकिने उपायको विकास समयैमा हुन नसके विश्व अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पर्नेछ । फलस्वरूप, भोकमरीको विकराल अवस्थासमेत उत्पन्न हुनसक्छ ।
विभिन्न दुर्घटना, महामारी, अनिकाल, दैवी प्रकोपआदिका कारण संसारमा करोडौं मानिसहरूको मृत्यु भएको छ । प्राकृतिक प्रकोप मानिसको नियन्त्रण बाहिरको विषय भएकोले बढी त्रसित हुनु स्वाभाविक हो । तर, आफैँले नियन्त्रण गर्न सकिने कोरोना भाइरसबाट यसरी विश्व नै किं कर्तव्य बन्दा अर्थतन्त्र नै ठप्प हुन सक्छ । त्यस अवस्थामा कोरोनाभाइरस भन्दा पनि बढी भोकमरीको त्रास बढेर जाने निस्चित देखिन्छ । यसैले यस्तो विपत्तिमा प्राण जोगाउनु र जीविकाको संरक्षण गर्नु अहिले प्रमुख आवश्यकता हो । राज्यले खाद्य सुरक्षा र पोषणलाई टेवा दिन र विपत्तिमा परेकाहरूको जीविका निर्वाहका लागि आवश्यक कार्यक्रम घोषणा गर्न जरुरी देखिन्छ ।
जोखिम घटाउनु तथा व्यक्ति समुदाय र राष्ट्रलाई खाद्य तथा पोषणसम्बन्धी आवश्यकता जुटाउन सबल बनाउनु राज्यको प्रमुख कर्तव्य हुनपुगेको छ । सबै नेपालीले राज्यको निर्देशन पालना गर्नुपर्ने बेला हो यो । सरकारले पनि सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । आग्रह , पूर्वाग्रह राखेर काम गर्ने समय होइन यो ।
आजको आवश्यकता संयम र सजगता हो । भोकमरी लाग्नबाट बच्ने उपायको खोजी गर्नु हो ।
अहिले राज्यको प्रमुख कर्तव्य कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्नु र संक्रमितहरुको यथोचित उपचार प्रबन्ध मिलाउनु हो । मुलुक भोकमरीको चपेटामा परेमा भयावह स्थिति पैदा हुनसक्छ । कुपोषणको जोखिम बढ्नेछ । यसतर्फ समयमै ध्यान दिन जरुरी छ । सरकारले उत्पादनशील कृषि योग्य सरकारी जमिनमा पनि कृषि उत्पादनमुखी कार्यक्रम अगाडि बढाउनु आवश्यक देखिन्छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यअनुसार काम गर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्छ ।
यो बेलामा सबै नेपालीलाई कृषितर्फ प्रेरित गर्न सके भोकमरीको मारबाट मुलुकलाई बचाउन सकिएला । कृषि योग्य जमिनलाई बाँझो नराख्न सबै आआफ्नो ठाउँमा क्रियाशील हुनु जरुरी छ । आन्दोलनका बेला सडकमा देखिने जनसागर देशका हरेक खेतबारीमा परिचालन गर्न गराउन सरकार, राजनीतिक दललगायत ऊद्योगी, व्यवसायी, विभिन्न संघसंस्था लाग्नुपर्छ ।
सरकारले मुलुकलाई लकडाउन गर्नुपूर्व विभिन्न रोजगारी र अध्यनका लागि सहरमा थुप्रिएका मानिसहरू आआफ्नो गाउँमा फर्किएका छन् । गाउँमा फर्किएको जनशक्तिलाई कृषि उत्पादनमा प्रेरित गर्न सरकारले समयमै विज्ञहरू र राजनीतिक दलहरूसँग परामर्श गरी उपयुक्त निर्णय लिन सके भोकमरीको जोखिमबाट सबै नेपालीलाई बचाउन सकिनेछ ।