site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरकारलाई सहयोग गर्न तयार छु
Sarbottam CementSarbottam Cement

सीताराम कट्टेल (धुर्मुस) अहिले घरमै छन् । आइतबार आठ दिनभयो उनी घरमा बसेको । प्रायः हरेक विपद्मा सडकमा आएर पीडामा परेका जनताको घाउमा मलमपट्टी गर्ने सीताराम अहिले घरमा परिवारसँग बसे पनि मनमा अमनचयन भने छैन । देश नै दुखिरहेका बेला मेरो जिम्मेवारी र कर्तव्य के हो ? भन्ने कुराले उनको मन हुँडलिरहन्छ । तर पनि आफू, आफ्नो परिवार र समग्र समाजका लागि घरमै बस्नुको विकल्प आम जनतामा झैं उनमा पनि छैन । सरकारले सुरुमै गम्भीर रुपमा नलिँदा आजको अवस्था आएको भन्दै सीताराम अब उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै कोरोनाको सम्भावित महामारीबाट बच्नुको विकल्प नरहेको बताउँछन् । सरकारले आवश्यक संयन्त्र उपलब्ध गराए आफू सहयोग गर्न तयार रहेको उनी बताउँछन् । नागरिक नै सरकार बनेर लकडाउनलाई सफल बनाउँदै सम्भावित महामारीबाट बच्नुपर्ने बताउने सीताराम कट्टेलसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी : 

लकडाउनमा दिन कसरी बिताइरहनु भएको छ ? 

छ वर्षमा पहिलो रेस्ट हो यो । कोरोनाले जुराइदिएको समय हो । तर महामारी सम्झँदा झन धेरै पीडा हुन्छ । आज आठ दिनभयो म घरमा बसेको । 

Prabhu Bank
Agni Group
NIC Asia

आमी सब परिवार सँगै बसेका छौं । बिहान ध्यान, योग हुन्छ । केही समय लुँडो पनि खेल्छौं । लुँडोको टुनामेन्ट नै चल्छ । राष्ट्रिय गान गाएर लुँडोको टुनामेन्ट खेल्छौं । दिउँसो हरेक दिन एउटा नेपाली चलचित्र हेर्छौं । घरमै क्यारेमबोर्ड पनि खेल्छौं । विश्व स्वास्थ्य संगठनले डान्स ग¥यो भने कोरोनाको जोखिमबाट बच्न सकिन्छ भनेकाले केही समय नाच्छौं पनि ।  

प्राकृतिक विपत्तिपछि सामाजिक सेवामा आएर अभियन्ता बन्नुभयो । अहिले हामी अर्को विपत्तिको अवस्थामा छौं । यस्तो असहज अवस्थामा घरमै बस्नुपर्दा कत्तिको मन पोल्दोरहेछ ? 

Global Ime bank

अहिले घर बाहिर जाऔं, राहत लिएर जाऔं, अस्पताल जाऔं भने बाहिर निस्किन सक्ने अवस्था छैन । अस्पताल गएर डाक्टर, नर्सलाई मोटिभेसन दिने तिब्र चाहना छ । तर यस्तो विपत्ति छ, अरुको छेउमा जान पनि त्रास छ । अरु बिपत्तिमा सबै कुरा छोडेर राहात उद्धारमा खटिँदा आफैं त मरिँदैन भन्ने हुन्छ । तर यहाँ त आफ्नै ज्यान रहन्छ कि रहँदैन भन्ने डर भयो । मनमा धेरै कुरा हुँदाहुँदै पनि बाहिर निस्किने वातावरण भएन । 

सरकारसँग जेजति स्रोतसाधन छ, त्यसको प्रयोग गर्दै यसरी काम गर्न सकिन्थ्यो भन्ने लाग्छ ?

हरेक प्राकृतिक प्रकोप र जोखिमका लागि पूर्व तयारी नहुनु नै नेपाल र नेपालीका लागि सबैभन्दा ठूलो विडम्बना हो । हिजो भूकम्प जाँदा पनि हामीसँग केही ब्याकअप थिएन । त्यो बेला सुरु भएको पुनर्निर्माण आज पनि पूरा भएको छैन । हामीसँग पर्याप्त पूर्वतयारी भएको भए सायद त्यति ठूलो क्षति पनि हुँदैन थियो होला । 

भूकम्प लगत्तै बाढीपहिरो गयो । तराई डुब्यो । म व्यक्तिगत रूपमा बाढी आएको भोलिपल्टै तराई पुगेको थिएँ । हावा हुन्डरी आएको भोलिपल्टै म बारा पुगेको थिएँ । व्यक्तिगत रूपमा इच्छा शक्ति हुँदा त काम गर्न सकिन्छ भने राज्यसँग त स्रोत साधन छ । तर दीर्घकालीन सोच नहुनु, योजना नबन्नु र विपत्ति तथा जोखिममा कसरी राहत र उद्धारमा खटिने भन्ने योजना बनाएर पूर्वतयारीका साथ बस्नुपर्ने विपद् व्यवस्थापन समिति घटना भएपछि मात्रै सक्रिय हुने समिति भयो ।

घटना भएपछि केही समय सक्रिय हुने अनि पुनः निस्क्रिय हुन्छ । यसलाई हामीले सधैं प्राथमिकतामा राख्नुपर्‍यो । 

सरकारले लकडाउन गर्दा अर्थतन्त्र धराशायी हुँदैछ । दैनिक रोजिरोटी गरेर खाने वर्गलाई कठिन भइरहेको छ । तर विवशता कहाँ छ भने देशमा महामारी छ, यसबाट बच्न सबै नेपालीले सर्तकता अपनाउनुपर्छ । जनताले नै लकडाउन चाहियो भनेको अवस्था हो । तर लकडाउनमा जानुभन्दा पहिला नै विश्वस्वास्थ्य संगठनले गरेको अपिल अनुसार सरकारले तयारी गर्नुपथ्र्यो । 

पाँचौं व्यक्तिमा संक्रमण फेला परिसक्यो । लकडाउन सुरु भएको पाँचौं दिन सरकार पीपीई र किट्स लिन अरू देश जान्छ । यी अत्यावश्यक सामग्री किन्न सरकारलाई कहिले केले रोकेको थियो ? राज्य जेमा जसरी लाग्नुपथ्र्यो, त्यसमा ढिलासुस्ती भएको हो । 

जो नेतृत्वमा हुुुनुहुन्छ र जसले सरोकारवाला मन्त्रालय सम्हालिरहनु भएको छ उहाँहरूले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको मनोबल बढाउने काम गर्नुपर्छ । स्वास्थ्यकर्मी जो व्यक्तिगत सुरक्षा सामग्रीको अभावमा अहोरात्र खटिनुपर्ने अवस्था छ, उहाँहरूलाई मोटिभेसन दिएर हामी छौं, नडराउनुस्, नआत्तिनुस्, हामी तयारी गर्दैछौं भन्नुपर्छ । यो समय मोटिभेसन नै सबैभन्दा ठूलो शक्ति हो । योे समय अब भएका स्रोत समधनको अधिकतम प्रयोग गर्दै रकेटको गतिमा काम गर्नुपर्छ । 

हुन त यो विपद्को समयमा कसैको आलोचना गर्नु राम्रो नमानिएला, तर सरकारले जति गर्नुपथ्र्यो र गर्न सक्थ्यो त्यो गरेन भन्न सकिन्छ ? 

त्यो त सबैले देखेकै र अनुभव गरेकै कुरा हो । सुरुमै हवाई उडान रोक्ने, खुला नाका बन्द गर्ने काम भएको भए डराउने अवस्था नै आउँदैन थियो । किनभने देशभित्रै संक्रमण देखिएको होइन । बाहिरबाट आउनेमा मात्रै देखिएको छ ।

विमानस्थलमा सरकार सचेत भएको र वुहानबाट आएका नेपालीलाई जस्तै बाहिरबाट आएकालाई पनि अनिवार्य क्वारेन्टाइनमा राखिएको भए त्यतिबेलै यो समस्याको समाधान भइसक्थ्यो । 

तपाईंसँग विपद्को समय काम गरेको अनुभव छ । हामीले जति पूर्वतयारी गर्नुपथ्र्यो गरेनौं । अब चाहिँ कसरी अगाडि बढ्न सकिएला ? 

अब हामीले गर्ने भनेको जति स्रोतसाधन छ, त्यसको प्रयोग गर्दै २४ सै घण्टा खटिने हो । संक्रमितहरूको निग्रानी गर्नुपर्छ । धनगढीकोे कोरोना संक्रमितलाई हेरविचार गर्ने कोही पनि भएन भन्ने समाचार आएको थियो । यसले झन् ठूलो दुर्घटना निम्त्याउँछ । जोखिममा रहेकालाई निग्रानी गर्दै अगाडि बढ्नुपर्छ । 

नागरिकको स्वास्थ्यका लागि सरकारले लकडाउन गरेर बाहिर ननिस्कन भनेको छ । तर हामी आफैं जबरजस्ती सडकमा निस्किरहेका छौं । जनताले किन गम्भीर रूपमा लिएनन् ? 

हाम्रा आफ्नै आँखाले नदेखेर आएको अटेरपन हो यो । इटलीको अवस्था हामी जसले देख्यौं र पढ्यौं सचेत छौं । सुरुका दिन इटलीमा पनि यहाँको जस्तै हेलचेक्र्याईं गरिँदा अहिले त्यस्तो अवस्था छ । स्वास्थ्यमा संसारकै दोस्रो सम्पन्न र व्यवस्थित देशमा त त्यस्तो अवस्था आयो भने हाम्रो त भगवान् भरोसाको अवस्था छ ।

त्यस्तो भयावह अवस्था नआओस् भनेर हामी अहिले नै सचेत भएर लकडाउनको पूर्ण पालना गर्नैपर्छ । यो बेला नागरिक नै सरकार भएर यो महामारीबाट बच्नुपर्छ । नागरिक सचेत हुनु र सरकारले सबै कुरा छोडेर यो खतराबाट देशलाई बचाउन लाग्नुपर्छ । 

विपद्को समयमा थुप्रै सहयोग र योगदान धुमुर्स–सुन्तली फाउन्डेसनले गरेका कारण यो बेला पनि केही सहयोग गर्ने तयारी छ कि भन्ने धेरैमा जिज्ञासा होला, कुनै त्यस्तो योजना अथवा तयारी छ ?

यो अपेक्षा राख्नु हुने सबैमा धन्यवाद । अरू विपद् जस्तो यो विपद् रहेन । अहिले पहिलो पक्ष भनेकै आफू जोगिनु र परिवारलाई जोगाउनु हो । तर पनि भोलिका दिनमा अवस्था सहज रह्यो र राज्य संयन्त्रले व्यवस्था गरिदिने हो भने म मेरो जिम्मेवारी वहन गर्न तयार छु । मेरो उपस्थितिले जनतामा राहात प्रदान गर्छ भने म जस्तो सुकै जोखिम मोलेर पनि जिम्मेवारी र कर्तव्य पूरा गर्न तयार छु ।

मनमा पीडा छ, सहयोग गर्न नपाएकोमा कुण्ठा छ, यस्तो अवस्थामा राज्यले सहयोग गरेको खण्डमा म घरमा बस्दिन । यो बेलामा हामीले अरूभन्दा पनि स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने हो । आफ्नै ज्यान जोखिममा राखेर खटिने स्वास्थ्यकर्मी र हाम्रै लागि अहोरात्र सडकमा खटिने सुरक्षाकर्मी हाम्रा भगवान् हुन्, उहाँहरूको साथमा हामी पनि छौं है भनेर मनोबल बढाउन सकियो भने कोरोनाबाट बच्न सकिन्छ ।

जो संक्रमित हुनुहुन्छ उहाँहरूलाई पनि उच्च मनोबलको खाँचो छ । परि आएको खण्डमा म सक्रिय हुन तयार छु ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC