पिता
होइन, त्यो तिम्रो नगरी थिएन पिता
भित्रिएका थियौ तिमी जहाँ
आफ्नो औजारहरूको झोला काँधमा झुण्ड्याएर
जगमा हालिएको पत्थरको फाटोमा
चुन र माटोको गारो भर्दै
एकएक इँटालाई सजाएर
पर्खाल उठाउँदै जहाँ तिम्रो उमेर बितेको थियो
त्यो पर्खाल, त्यो झ्याल
त्यो भवन तिम्रो थिएन पिता
जसलाई तिमीले ज्वरो जस्तो गहिरो आत्मीयतामा
डुबेर काम्दै
आफ्नो घर भन्यौ
हैन, त्यो तिम्रो भाषा थिएन पिता
त्यो तिम्रो पीडा पनि थिएन
जुन तिमीले अज्ञात जङ्गलहरूमा
पहेँला भोजपत्रहरूमा लेखेका थियौ...
त्यो तिम्रो जीवनी थिएन
जसलाई आफ्नो रगत पगालेर तिमीले
श्लोकहरू, दोहाहरू, सोरठीहरूमा गाउँदै रह्यौ
पिता, थिएन
थिएन पिता
त्यो तिम्रो आफ्नो लडाइँ जसमा तिमी
भाला कटिबद्धता कासाथ बोकेर
हत्याहरू खोज्दै रह्यौ
जुध्दै रह्यौ गुफाहरूमा र सुरुङहरूमा
बारूद भर्दै
आवेगमा हँसियालाई
पत्थरमा रगड्दै
तिमी लगातार अथाह घृणामा डुब्यौ ।
पिता, थिएन त्यो तिम्रो युद्ध
भालामा लागेको रगत
तिम्रो शत्रुको रगत थिएन
तिम्रो आफ्नो समुदायको रगत थियो
पिता ! तिमी आफ्नो शत्रुको
वफादार सिपाही थियौ ।
पोस्टरहरू, झण्डाहरू र घोषणापत्रहरूमा
आफ्नो शताब्दियौं पुरानो घाउलाई छोप्दै
तिमी जुलुसमा अगाडि–अगाडि हिँडिरह्यौ
नारा लगाउँदै
तिमी सहरको हरेक गल्लीमा
खाली पर्खालमा
अलकत्राले लेख्दै रह्यौ
सत्ताले दिएको मोहक, सुनौलो र धोकापूर्ण नाराहरू...
पिता, यो नारा तिम्रो थिएन
यो इतिहास तिम्रो थिएन
एकदमै थिएन ।
तिमीलाई थाहा छैन पिता
इतिहासको यस अँध्यारो गहिरो सुरुङमा
तिम्रो कति रगत
कति पसिना
कति पीडा बगिरह्यो जसमा
इतिहासको अमूल्य पुस्तकहरूमा
रहेका इतिहास पुरुष
आफ्नाे दाँत माझ्दै छन्
कुल्ला गरिरहे तिम्रो अन्धोपनामा
स्नान गरिरहे तिम्रो नरकको यातनाहरूमा
तान्दै तान्दै
तिम्रो रगतलाई सिँचेर गुलाफहरुको
बागवानी गरिरहेका केही मानिस
हेर पिता, हेर
इतिहासको यो लामो अनुभवहरूका साथ
अब भित्रिन्छु म
आफ्नो नर्कले हामीलाई आशीष देऊ
पिता, हामीसँग आऊ
आखिर
हामी आइरहेका छाैं प्रतिशोधको
सामूहिक आगोमा जल्दै ।
० ० ०
तिब्बत
तिब्बतबाट आएका
लामा घुमिरहेका छन्
अचेल मन्त्र ‘भट्भटाउँदै’
तिनका खच्चरहरूको समूह
बगैंचामा ओर्लिएको छ
सयपत्रीको बोट पनि चर्दैनन्
सयपत्रीको एउटा फूलमा
कति फूल हुन्छन्
पिता ?
तिब्बतमा जब
वर्षा हुन्छ
त्यसबेला हामी कुन मौसममा हुन्छौं ?
तिब्बतमा जब तीन बज्छ
त्यसबेला हामी कुन समयमा
हुन्छौं ?
तिब्बतमा
सयपत्रीको फूल हुन्छ
र पिता ?
लामाले शङ्ख फुक्छन् पिता ?
पिता,
लामाहरूलाई
कम्बल ओढेर
अँध्यारोमा
तीव्र गतिमा हिँड्दै गरेको देख्नुभएको छ
कहिल्यै ?
जब मानिस मर्छन्
तिनको चिहानको चारैतिर
शीर झुकाएर
उभिन्छन् लामा
उनीहरु मन्त्र पढ्दैनन् ।
उनीहरु साउतीको स्वरमा भन्छन्– तिब्बत
तिब्बत–तिब्बत
तिब्बत–तिब्बत
तिब्बत–तिब्बत
र, रोइरहन्छन्
रात–रातभरि
के लामा
हामी जस्तै
रुन्छन् र पिता ?
(सन् १९५२ मा भारतमा जन्मिएका उदय प्रकाश वौद्धिक लेखक मानिन्छन् । उनका कविताका साथै उपन्यास र कथाका थुप्रै पुस्तक प्रकाशित छन् । उनी पत्रकारिता र अनुवादमा पनि जोडिएका छन् । कथासङ्ग्रह मोहन दास, कवितासङ्ग्रह सुनो कारिगर तथा रात में हार्मोनियम, उपन्यास पिली छतरीवाली लड्कीलगायतका पुस्तक चर्चित छन् । उनका थुप्रै रचना नेपालीका साथै अन्य भाषामा अनुदित छन् ।)