site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 त्रास जित्ने अस्त्र

‘‘म अलिअलि सम्झन्छु । रम्घाली बूढाले काखमा लिएर डिठ्ठाको चौतारामा लगेपछि मेरो नारीमा खोपाएको । वैद्यको अनुहारअरू सम्झना छैन तर एउटा आँखामा फुलो परेको थियो । पछि सुनेको हो भाँगेबाट आउने बाटामा लिहुतको पाखामा भाँजा हालेका थिए रे !’’ 

मैले ८७ वर्षका मेरा बालाई सोधेको थिएँ – ‘‘अहिलेको जस्तो महामारी र बन्दाबन्दीको कुनै सम्झना छ ?’’

त्यही प्रश्नको उत्तरमा उहाँले भन्नुभएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामी सबैलाई घरभित्रै राखेजस्तो लाग्छ । त्यो महामारीमा मेरै दाजु र दिदीहरू तीन जना मरे । गाउँमा अरू कति मरे मैले थाहा पाइन । पछि पनि त्यसबारेमा कुरा भएको सम्झना छैन ।’’

अहिले उन्मूलन भएको भनिएको बिफरको महामारी थियो त्यो । महामारी देखिनेबित्तिकै गाउँहरूलाई एक्ल्याउने चलन थियो । त्यसरी एक्ल्याइएको मैले पनि थाहा पाएको थिएँ । भाँगे गाउँमा हैजा आयो भनेर सिउदी खोलामा भाँजा हालिएको थियो । आँबुमा कटुवाल लगाएर भाँजा हाल्न जान ऊर्दी गरिएको थियो । यो यस्तै विसं २०२१ – २२ सालतिर हुनुपर्छ । याञ्चोकका मेजर नरबहादुर थापा पेन्सनमा आइसकेका थिए । उनी औषधि पनि गर्थे । उनले विपत्तिमा परेकाहरूलाई यसरी एक्ल्याउनु पाप हो भन्दै भाँजा फालेर भाँगे गई औषधि दिएपछि हैजा मत्थर भएको थियो । 

Global Ime bank

जेहोस्, आफू जोगिन बन्दाबन्दी गर्ने चलन पुरानै हो । तर, यसरी दुनियाँभर एकैपटक बन्दाबन्दी गर्नुपर्ने अवस्था भने यही पहिलो होला । संसारमा आउनजान सजिलो भयो । यसैले अहिले दुनियाँको एउटा कुनामा देखिएको रोग अर्को छेउमा पनि सजिलै पुग्छ । मानिसलाई प्रकृतिले हिमाल, नदी, समुद्र, मरुभूमि अनेकौं अवरोध खडा गरेर अलग्ग्याएको थियो । मान्छेले सबै बाधा पन्छायो । प्रकृतिले अहिले त्यसैको सजाय दिएको पो हो कि? कि मानिसको संयम, धैर्य र मानवीयताको परीक्षा लिएको होला ? 

संसारमा सबैतिर कोलाहल छ । दुनियाँलाई त्रासको तुवाँलोले ढाकेको छ । सञ्चारको सुविधाले कहाँ के भएको छ सजिलै थाहा पाइन्छ । यसले त्रास पनि बढाएको छ । निराश पनि बनाएको छ र आशा पनि जगाएको छ । आफूलाई विशिष्ठ ठान्ने मानिसहरू कति मामुली रहेछन् ? जाबो कीटाणुका डरले आफन्तहरूबाट समेत टाढिएर एक्लै बस्ने ? मनमा अहिले खेल्ने कुरा यिनै हुन् । 

पृथ्वी राजमार्ग आँगनमै पर्छ । सडकमा आवागमन दिनहुँ कम हुँदै गए पनि पूरै रोकिएको छैन । विशेषगरेर मोटरसाइकलमा हिँड्नेहरू रोकिएका खासै छैनन् । युवा छन् लाग्दो हो हामीलाई कोरोनाले छुँदैन । तर, यो त मायावी दैत्यजस्तो रहेछ । आक्रमण गर्न नसक्ने शरीरमा पनि प्रवेश गरेर अर्को कसैलाई मार्न सक्ने । धेरै पुराणहरूको सुरुमा भनिने राजा परीक्षितको मृत्युको कथाजस्तो । ऋषिको श्रापपछि राजा परीक्षित सर्पबाट जोगिन पूरा बन्दोबस्त मिलाएर यज्ञमा बस्छन् तर पूजाका लागि लगिएको फूलमा सानो कीराको भेषमा तक्षक नाग राजालाई डस्न पुग्छ र राजाको मृत्यु हुन्छ । यस्तै युवायुवती त जोगिएलान् तर उनीहरू हुँदै घरमा प्रवेश गरेको कोरोनाभाइरसले घरमा बूढापाकालाई आक्रान्त बनाउन सक्छ । त्यतिबेला कुनै मन्त्रीले भनेजस्तै हाम्रो रोग प्रतिरोधक क्षमताले जोगाइदिए त हुन्थ्यो । जोगाएन भने !   

हाम्रो पाँच परिवारका बीचबाट अर्को सडक छ भित्र गाउँतिर जाने । यसैले पनि मानिसहरूको आवतजावत बढी नै हुन्छ । बा सडकपारिको घरमा कान्छो भाइसँग बस्नुहुन्छ । यसैले कुराकानी गर्न सजिलो पनि छैन । बालाई जोगाउनका लागि म पनि नजिक गएको छैन । अरूलाई पनि नजिक नजान भन्ने गरेको छु । तर, अत्यास त बालाई पनि लाग्दो हो । मजस्तो एक्लै बस्न मन गर्नेलाई त लाग्छ । अनि, सडकको वारि र पारिबाट हामी कुरा गर्छौँ । बाले बिर्सनु भएका कुरा मैले सुनेको, सम्झेको सम्झाउँछु । यसरी बन्दाबन्दी भन्दाभन्दै बा, भाइबुहारीहरू, भतिजाहरू भतिजीहरू, तिनका छोराहरूसँग जम्काभेट भइहाल्छ । सायद, यो एकान्तवास हाम्रो संस्कारमा मिल्दैन । हाम्रो समाजको एकाइ त व्यक्ति नभएर परिवार पो रहेछ । कोरोनाले सिकाएको यो पाठ राज्यको नीति निर्माणका बेला सम्झनुपर्ने पो देखियो । 

पढिरहेको छु, अबको संसार कोरोनाभन्दा पहिलेको जस्तो हुनेछैन । संसारको नेतृत्व कोरोनाका कारण अमेरिकाको हातबाट फुत्केर चीनको साथमा पुग्छ रे ! लोकतन्त्रमाथि एकपटक यही कोरोनाको संक्रमणलाई नै निहुँ बनाएर आक्रमण हुने खतरा पनि छ । तर, एउटा संयोग – लोकतान्त्रिक मुलुकहरूमा पनि अधिनायकवादी मानसिकता भएका वा अधिनायकवादमा विश्वास गर्ने नेतृत्व भएको पार्टीका सरकार भएका देशमा नै कोरोनाको कहर बढी भएको रहेछ । अमेरिका, बेलायत, स्पेन, इटाली सबै लोकतान्त्रिक प्रणाली भएका तर अधिनायकवादी प्रवृत्तिका नेताहरूले शासन गरेका छन् । अर्कातिर, अपेक्षाकृत उदार लोकतान्त्रिक नेतृत्व भएको जर्मनी र फ्रान्समा भने कोरोनाको कहर अलि कम रहेछ । यसैले कोरोनाको कहरलाई निहुँ बनाएर हुने प्रहारको मार खप्न लोकतान्त्रिक पद्धति सक्षम हुने पनि विश्वास गर्न सकिन्छ ।  

यतिबेला हामी नगर हुनै लागेको गाउँमा छु । छोराछोरी नातिनातिनीहरू सँगै नभए पनि एक्लै छैनौ । धेरै छुतछात नगरी बस्न सक्छौँ । नियाश्रो लागे वल्लोपल्लो घर पनि जानसक्छौँ । चिन्ता त मलाई छिमेकी पनि नचिन्ने गरेर बसेको बाक्लो बस्तीमा बस्नेहरूको लागेको छ । अनि डाँडामा वा फाँटको बीचको एक्लो घरमा बस्नेहरूको लागेको छ । जनसंख्याको सही सूचना हामीसँग छैन । त्यस्तामा रहेकाहरूमा पनि गर्भवती, सुत्केरी, अपाङ्गता भएकाहरू, बूढापाकालगायतका अशक्तहरूको अवस्था यति नै बेला बिग्रला कि भन्ने डर लागेको छ । स्थानीय सरकारहरूले त्यस्तो जनसंख्याको नक्सांकन गराएको भए त हुन्थ्यो । तर, धेरैले गराएका छैनन् । राज्यले कसरी यस्ता नागरिकलाई बेवारिस नछाड्ने हो ? कतै योजना बनेको होला ? नेपाल रेडक्रसजस्ता सामाजिक संस्थाहरूको पनि दायित्व हो ।   

र अन्त्यमा,

महाभारत युद्धको एउटा प्रसंगबाट यो गन्थन टुंग्याऊँ – द्रोणाचार्यको हत्यापछि जस्तोलाग्छ अश्वत्थामाले अर्जुनमाथि नारायणास्त्र प्रहार गरे । कृष्णले अर्जुनलाई रथबाट ओरालेर सबैलाई नारायणास्त्र समक्ष आत्मसमर्पण गर्न भने । भीमले अटेर गर्दा आफैँले उनलाई रथबाट ओराले । नारायणास्त्र साम्य भयो । 

कोरोनासँग डराएर हामी सकेसम्म अरूको सम्पर्कमा नगई घरभित्रै बस्यौँ भने यसका कीटाणुहरू १४ दिन अर्थात् एक पक्षमा मर्ने रहेछन् । यसैले यसलाई अटेर गर्नुभन्दा सायद यसको बाटामा नपर्नु नै बुद्धिमानी हुन्छ । कोरोना आँबैले भनेको पिचास हो सायद कुबेलामा कतै निस्कँदा समात्ने । 

चिकित्साकर्मीलाई डराउन र भोकाहरू सडकमा आउन परेन भने कोरोनालाई हामी जित्न सक्छौँ होला । सरकारहरू यति धेरै छन् । के यति गर्न सकोइनन् र ? 

 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC