विश्वव्यापी महामारी कोरोना ‘ कोभिड-१९’ले मानव समुदाय, मानव आविष्कार, आधुनिक चिकित्सा र उन्नत प्रविधिलाई समेत चुनौती दिएको छ । वर्तमान अवस्थामा हाम्रो व्यवहार, रहनसहन र दैनिक क्रियाकलापमा पनि आवश्यक रूपान्तरणको खाँचो पर्छ । एक प्रकारले विश्व नै बन्दाबन्दी (लकडाउन)को अवस्थामा छ । यस्तो समयमा चेतनशील, अनुशासित, संयमित र मितव्ययी भएर जीवन यापन गर्नुको विकल्प छैन । यस्तो विकराल स्थितिमा हाम्रा बालबालिकालाई घरभित्रै व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण हुन्छ ।
हाम्रा विद्यालयहरू चैत्र ५ गतेदेखि बन्द छन् भने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि स्थगित छ । अर्थात्, लाखौं बालबालिका अहिले घरभित्रै रहन बाध्य छन् । यस्तो वेलामा तिनको उचित ख्याल, हेरचाह र मानसिकरूपमा समेत स्वस्थ राख्नु हाम्रो कर्तव्य हो । एक दिन विद्यालय बन्द हुँदा आत्तिने अभिभावकका लागि त यो ठूलै टाउको दुखाइको विषय हो । यस्तो बेला हामी हाम्रा नानीहरूसँग घरैभित्र बसी निम्नानुसारका क्रियाकलापमा संलग्न हुने र संलग्न गराउने काम गर्न सक्छौ :
१. हाम्रो परिवारिक संरचनासमेत फेरिएको छ । हुनत, हामी अलि बढी वैयक्तिक पनि भइसकेका र घरमा छोराछोरीलाई चाहिँदो समय पनि दिन नसकेको, संगै बसेर खाना खाने, सुखदुःखका कुरासमेत गर्न नपाएको अवस्थामा कोरोनाको प्रभावले एउटा अवसर पनि दिएको छ । हामी यस समय हाम्रा छोराछोरीसँग सँगै बसेर बातचित गर्ने, एक अर्कालाई बुझ्ने र चिन्ने मौकाको रूपमा प्रयोग गर्न सक्छौँ । समयको उपयोग गर्दै हामीले नानीहरूका कुरा सुन्ने, आवश्यकता र चाहनाका बारेमा जानकारी लिने, उनीहरूका प्रश्न सुन्ने र उनीहरूको विचारको सम्मान गर्ने यो उपयुक्त अवसर हो ।
२. यति बला नानीहरूलाई घरैभित्रै राखी पारिवारिक दायित्वको पाठ सिकाउन सकिन्छ । घरभित्रै कामको विभाजन गरी उनीहरूलाई भान्सामा सहभागी गराउने; चिया पकाउन सिकाउने, तरकारी काट्ने, भाँडा सफा गर्ने, घर सफा गर्न सिकाउने, बेड मिलाउन, ससाना कपडा धुन सिकाउने वा लगाउने गरियो भने एकातिर उनीहरूमा जीवन उपयोगी सीपको विकास हुन्छ भने अर्कोतिर समूहमा बसेर कसरी काम गर्ने भन्ने भावनाको समेत विकास हुन्छ । यी कामहरू साना लाग्न सक्छन् तर ससाना कामबाटै उनीहरूको स्वावलम्बी भावनाको पनि विकास हुँदै जान्छ ।
३. नानीहरूलाई बिहानै उठ्न उत्प्रेरित गर्ने, सफासुग्घर हुन लगाउने, योग अभ्यास सिकाउने र पूजापाठ गर्न सिकायौँ भने उनीहरूमा शारीरिक, मानसिक र आध्यात्मिक चेतनाको समेत विकास हुन थाल्छ ।
४. यस्तो बलामा नानीहरू बढीजसो मोबाइलमा खेल्ने र अनावश्यकरूपमा सामाजिक संजालमा बरालिएर समय फालेको पनि देखिन्छ । सामाजिक संजालबाट पूर्णरूपमा अलग राख्न सकिने अवस्था छैन । यस्तो अवस्थामा निश्चित समय छुट्ट्याइ दिने र सामाजिक संजाल प्रयोग गर्दा यसका राम्रा र नराम्रा पक्षको जानकारी गराउँदै सूचना र बैद्धिक विकासका लागि सामाजिक संजाललाई प्रयोग गर्न सक्ने बानीको विकास गराउन सकियो भने ठूलो सफलता हुनेछ । यसबाहेक, यस्तो अवस्थामा जियोग्राफी, डिस्कभरी च्यानल, न्युज, ऐतिहासिक फिल्म र डकुमेन्ट्रीहरू हेर्न नानीहरूलाई उत्प्रेरित गर्न सकिन्छ । तर, आफू चाहिँ बेडमा पल्टेर फेसवुक चलाउने अनि नानीहरूलाई सामाजिक सञ्जाल नचलाउ भनेर गाली गर्ने प्रवृत्तिले भने फाइदा हुँदैन । त्यसकारण, अभिभावकले पहिलो परिवर्तन आफैँबाट सुरु गर्नु जरूरी छ ।
५. हाम्रा नानीहरूको खासै पढ्ने बानी छैन । यति बेला उनीहरूलाई पाठ्यक्रम बाहिरका कथा, कविता, उपन्यास, विज्ञान कथा, इतिहास इत्यादिका किताब पढ्ने व्यवस्था मिलाउन सकिन्छ । यसो गरियो भने एकातिर पढ्ने बानीको विकास हुन्छ भने अर्कोतिर नानीहरूमा गुण र दोषको विवेचना गर्न सक्ने विश्लेषणात्मक क्षमताको पनि विकास हुन्छ ।
६. यसैगरी, पेन्टिङ, चित्रकला, कविता, कथा लेखनमा सहभागी गराउने, प्रेरणादायी भिडियोहरू हेर्न उत्प्रेरित गर्ने गरियो भने नानीहरू सिर्जनशील हुनुका साथै उनीहरूमा सकारात्मक सोचको पनि विकास हुन्छ ।
७. बालबालिकालाई हाम्रो इतिहास, धर्म, संस्कृतिका बारेमा जानाकारी गराउनु हाम्रो कर्तव्य पनि हो । यतिमात्रै हैन, हामी को हौँ ? भनेर चिनाउनसमेत हामीले सकिरहेका छैनौ । बालबालिकाले आफू ‘को हो’ भनेर चिन्दैनन् भने तिनले देशको त कुरा छाडौँ आफ्नै आमाबाबुसमेत नचिन्न सक्छन् । यस्तो स्थितिमा नानीहरूलाई सँगै राखेर आफू जन्मेको ठाउँ, आफ्ना पिता पुर्खा, वंश, नातागोता इत्यादिका बारेमा जानकारी दिनुका साथै आफूले जीवनमा भोगेका महत्त्वपूर्ण अनुभव र कथाहरूसमेत भन्दा अपनत्व बढ्छ । यसबाट पारिवारिक एकता र पारस्परिक माया स्नेहको समेत विकास हुन्छ र यो संस्कृतिले हाम्रो परिवारमा, समाजमा पारस्परिक सहयोग र एकताको विकास गर्न सहयोग गर्छ । कुनै कुरा साना लाग्न सक्छ्न्, काम सानो हुन सक्छ, तर तिनको महिमा र मूल्य ठूलो हुन्छ ।
८. माध्यमिक परीक्षा कहिले हुन्छ टुङ्गो छैन । तर पनि घरमै बसेर यसको तयारी गर्न सकिन्छ । यो लामो बिदा परीक्षालाई झन् राम्रो गर्न सकिने अवसरको रूपमा लिएर सोहीअनुसार नानीहरूलाई तयारी गराउन सकियो भने, यसको प्रतिफल साच्चै मीठो हुनेछ । नेपाल टीभी प्लसबाट प्रत्येक दिन ११ बजेदेखी सुरु हुने दूर शिक्षामा सहभागी गराउन सकियो भने यसले परीक्षाको तयारीलाई झन् सहज र सरल बनाउनेछ । त्यसकारण समयको सही उपयोग गरौँ र गर्न सिकाउँ ।
वास्तवमा हाम्रा नानीहरू भविष्यका धरोहर हुन् । यिनलाई सही मार्ग दर्शन, उचित ख्याल र व्यवस्थापन गर्न सकियो भने भोलिको हाम्रो दिन उज्ज्वल हुनेछ । हाम्रो परिवार, समाज र देश साँचो अर्थमा सुन्दर बन्नेछ ।
उपप्राध्यापक, त्रिचन्द्र कलेज ।
toya.bhatta@gmail.com