site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
लकडाउन उल्लङ्घन नगरौं, अन्तिम समयमा आफन्त पनि भेट्न नपाइएला
Sarbottam CementSarbottam Cement

कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी बनेको छ । नेपालमा पनि हालसम्म तीनजना सङ्क्रमित फेला परेका छन् । दुई जनाको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन् ।

कोभिड–१९ बाट विश्व नै आक्रान्त बनिरहेका नेपालमा अति आवश्यकीय चिकित्सा सामग्री, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)समेत नभएको गुनासो बढेको छ ।

सरकारले मित्र राष्ट्रहरूसँग सहयोग मागेको बताएको छ भने निजी क्षेत्रसँग पनि प्रस्ताव आह्वान गरेको छ । कोरोनाको प्रकोप बढ्दै जाँदा विश्व बजारमै पीपीई अभाव हुन थालेको छ । उत्पादन पनि ठप्प प्रायः छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना विपद्विरुद्ध सफलता हात पारेकाले विश्वको ध्यान चीनतिरै छ । नेपालले पनि मुख ताकेर बसिरहेको छ । यही सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग अक्षर काकाले गरेको कुराकानी :–

कोरोना सङ्क्रमित फेला पर्दै जाँदा चिकित्सा सुरक्षा सामग्रीजस्तो आधारभूत कुरा नै अभाव देखियो । सरकारले व्यवस्थापन नै गर्न नसकेको कि, मौज्दात नभएको ?

Global Ime bank

बाहिर प्रचार भएजस्तो, त्यो तहसम्मको अभाव होइन । जहाँजहाँ नमुना (स्वाब) सङ्कलन भइरहेको छ, जहाँ आशङ्का भएका बिरामीलाई परीक्षण गर्नेगरी चिकित्सक, स्वास्थ्यकर्मीहरूले त्यसको प्रबन्ध गर्नुपर्ने हुन्छ, जहाँ परीक्षण र उपचार भइरहेको छ, त्यहाँका अग्रभागका चिकित्सकहरूका लागि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) छ ।

सङ्क्रमित फेला पर्दै जाँदा परीक्षणको दायरा बढाउँदै जानुपर्ने, सङ्क्रमण बढ्न सक्ने आशङ्कामा हाम्रो तयारीलाई माथि उठाउनुपर्ने भएकाले, भोलिको दिनलाई ध्यानमा राखेर आवश्यकीय, अत्यावश्यकीय उपकरणहरूको थप प्रबन्ध गर्न लागेका छौं । अहिले नै अभाव भइहाल्यो, छँदै छैन भन्ने होइन । जोखिमहरू बढ्दै गयो भने दायरालाई बढाउनुपर्ने अवस्थाभित्र तदनुरूप नै टेस्टिङ किट्सहरू (परीक्षण सामग्री), इन्फ्रारेड थर्मोमिटरहरू, चिकित्सा सुरक्षा उपकरण (पीपीई)हरूको व्यवस्थापन मिलाउन लागेका छौं ।

चीनबाट कहिलेसम्म सामग्री आइपुग्छ ? चिकित्सा सुरक्षा सामग्रीहरू नहुँदा सङ्क्रमणका आशङ्का गरिएकालाई परीक्षण गर्न गर्न समस्या भयो भन्ने छ !

हामीले दुवै फ्रन्टबाट काम गरिरहेका छौं । मित्रराष्ट्रहरूले उपलब्ध गराउने सहयोगहरू उहाँहरूले सङ्कलन गरिराख्नुभएको छ । सङ्कलन हुनेबित्तिकै उहाँहरूले हामीलाई हस्तान्तरण गरिहाल्नुहुन्छ ।

यतिबेला हामी सबैले बुझ्नुपर्छ । चीन केही दिनअघिसम्म आफैं ठूलो महामारीसँग जुधिरहेको थियो । अहिले पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । उत्पादन गर्ने उद्योगधन्दा, कलकारखाना पूर्णतः बन्द थिए । बल्ल त्राण पाएको छ । उत्पादन सुरु गर्न थालेको छ । 

कोरोनालाई एक हदसम्म तह लगाएका कारण विश्वको ध्यान चीनतिर छ, औषधि, उपकरण, चिकित्सा सामग्री, चिकित्सकहरूको निम्ति । ठूलो सङ्ख्यामा स्पेन, इटालीजस्ता देशहरूले औषधि, उपकरण मगाइरहेका छन् । जहाँ सबैभन्दा बढी सङ्कट छ, ती ठाउँहरूले प्राथमिकता पाउनु स्वाभाविकै हो । तर पनि उहाँहरूले हामीलाई आवश्यकीय सामग्री उपलब्ध गराउने विश्वास दिलाउनुभएको छ । केही समयभित्रै ती सामग्री आइपुग्छन् ।

मित्रराष्ट्र भारतले पनि हामीलाई केही उपकरणहरू र आवश्यक परेका बखत  ‘र्‍यापिड रेस्पोन्स टिम’ पठाउँछौं भन्नु भएको छ । त्यसको पनि समन्वय गरिरहेका छौं ।

मित्रराष्ट्रहरूको सहयोगले मात्रै यो चुनौतिको सामना गर्न सकिँदैन । हामीले खुला प्रतिस्पर्धाबाट पनि अत्यावश्यकीय स्वास्थ्यजन्य, चिकित्सा सामग्रीका लागि प्रस्ताव आह्वान गरेका छौं । हिजो स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भन्नुभएअनुसार उहाँहरू (निजी क्षेत्र)ले तीन दिनभित्र पहिलो आपूर्ति गरिसक्नुहुन्छ । यसबीचमा विभिन्न सङ्घ–संस्था, दातृ निकायहरूले च्यारिटीमार्फत् सानो¬–ठूलो सङ्ख्यामा सहयोगहरू गर्ने तयारी गरिरहनुभएको छ । मलाई लाग्छ, यो हप्ताभित्र हामीलाई आवश्यक पर्ने सबै सामग्रीहरूको जोहो गरिसक्छौं ।

कोरोनाले विश्वव्यापी सङ्क्रमणको रूप लिनेबित्तिकै अन्तर्राष्ट्रिय उडान रोक्न सकेको भए, नेपाल भित्रने स्वदेशी, विदेशी नागरिकमा कडाइ गर्न सकेको भए रोकथाम गर्न सकिने रहेछ । त्यसमा सरकारको कमजोरी देखियो नि !

कुनै पनि कदमहरू चाल्दा त्यसलाई औचित्य पुष्टि हुनेगरी नै गर्नुपर्छ । सामान्यतया अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने, अन्तर्राष्ट्रिय उडानहरू रोक्ने र लकडाउन (बन्दाबन्दी)को अवस्था भनेको हाम्रो अन्तिम अस्त्रजस्तै हुन् । समयभन्दा अगाडि नै गरियो भने, त्यसले आमनागरिकहरूलाई पार्ने प्रभाव नकारात्मक हुन्छ । हामीलाई नै अप्ठ्यारो हुन्छ ।

अहिले पनि देखिरहनुभएको छ समाजका केही मानिसहरूको मानसिकता ! यस्तो बेलामा पनि केही साथीहरू किन अन्तर्राष्ट्रिय उडानहरू रोकियो ? किन बाह्य नागरिकहरूलाई आउन नदिएको भन्दै रिट हाल्ने हतारोमा छन् । चर्चामा आउने मनसाय होला या अरू केहीले घर गरेको होला !

हामीले सुरुदेखि नै अन्तर्राष्ट्रिय उडानबाट आउने नागरिकहरूको तापक्रम परीक्षण गर्ने व्यवस्था मिलाएका थियौं । पछिल्लो समय उहाँहरूलाई स्वास्थ्य फारम भरेर आफू स्वस्थ रहेको प्रमाण बुझाएर मात्रै आउन र आइसकेपछि पनि सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको थियो । त्यसको प्रबन्ध गरिएको थियो । शृङ्खलाबद्ध नै चालिन्छन् यस्ता कदमहरू । एकैचोटी धेरै असहजखालका कदम चाल्दा यसले पार्न सक्ने अरू प्रभावहरूलाई पनि सरकारले हेर्नुपर्ने हुन्छ । यसर्थ अन्तर्राष्ट्रिय उडान रोक्न र लकडाउन गर्न ढिला भयो भन्ने सरकारले अनुभूति गरेको छैन ।

सङ्क्रमितहरू बढिरहेका छन्, तिनका परिवारका सदस्यहरूलाई, सङ्क्रमितहरू सम्पर्कमा पुगेका मानिसहरूको पहिचान गर्ने, उनीहरूलाई पनि परीक्षणको दायरामा ल्याउने काममा सरकारको तयारी के छ ?

पहिलो, हामीले सङ्क्रमितका परिवारलाई अनिवार्यरूपमा ‘आइसोलेटेड’ भएर बस्नूस् भनेका छौं । केही लक्षण देखापर्नेबित्तिकै सङ्क्रमितका परिवारका सदस्यहरूको स्वास्थ्य परीक्षण हुन्छ । नमूना परीक्षण गरेर उहाँहरूको सङ्क्रमण फैलिए, नफैलिएको जानकारी लिइन्छ ।

अहिले देखा परेका दुईजनामध्ये, पहिलो, फ्रान्सबाट फर्कनुभएकी युवतीको परिवार आफैं स्वास्थ्यसेवासँग सम्बन्धित हुनुभएकाले उहाँहरू सजगतापूर्वक आइसोलेसनमा बसेको सरकारलाई जानकारी छ । हिजो सङ्क्रमित पुष्टि भएको युवकको परिवारलाई पनि सतर्कता अपनाउन भनिसकिएको छ । उहाँहरूसँगसँगै यात्रा गरेका यात्रुहरूलाई पनि हामीले अनिवार्यरूपमा सम्पर्कमा आउन, आइसोलेसनमा रहन, त्यस्ता कुनै लक्षण देखा पर्नासाथ स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेका छौं । केही अझै सम्पर्कमा आउनुभएको छैन । अधिकांश सम्पर्कमा आउनुभएको अवस्था छ ।

उहाँहरूलाई सरकारले नै क्वारेन्टाइनमा राख्नुपर्‍यो भने, एकैपटक स्वास्थ्य परीक्षण गर्नुपर्‍यो भने सम्भव होला त ?

अहिले हामीसँग परीक्षण गर्ने एकमात्र केन्द्रीय प्रयोगशाला भएकाले त्यहाँ चाप छ । चाप न्यूनीकरण गर्न अरू ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाउँदै छौं । क्षमता विस्तार गर्दैछौं । हामीले केही समयभित्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, नेपालगञ्जलगायतका आवश्यकीय ठाउँबाट परीक्षण आरम्भ हुनेछ । काठमाडौंभित्रै पनि वीर अस्पताल र उपत्यकाको निकटवर्ती क्षेत्र धुलिखेलबाट पनि परीक्षण गर्न सकिन्छ भन्ने विश्वासका साथ आवश्यक तयारी गरिरहेका छौं । केही समयभित्रै केन्द्रमै नमूना बोकेर आउनुपर्ने परिस्थितिको अन्त्य गर्छौं । परीक्षणको दायरालाई फराकिलो बनाउँछौं । बढाउँछौं । विकेन्द्रीकरण पनि गर्छौं ।

भारतसँगको नाका भएर नेपाल भित्रनेको सङ्ख्या पनि ठूलो छ । त्यसरी नेपाल भित्रनेहरूलाई क्वारेन्टाइनमा राख्ने, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने तयारी के–कस्तो छ ? 

त्यसरी नेपाल भित्रनेको ठूलो सङ्ख्या सुदूरपश्चिम प्रदेशमा देखियो । भर्खरै पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग कुराकानी भएको थियो । उहाँहरूले भन्नुभएको छ, त्यसरी आउनेहरूलाई हरेक पालिकाहरूमा अनिवार्य रूपमा क्वारेन्टाइन गरिएको छ । स्थानीय तहहरूले त्यसको प्रबन्ध गरेका छन् । पछिल्लो समय सजगता पनि बढेको छ । अब त भारतमा पनि पूर्णतः लकडाउनको अवस्था छ । अन्तर्राष्ट्रिय सीमाहरू बन्द भएकाले अब त्यसरी आउने क्रम रोकिएला भन्ने हामीलाई लाग्छ ।

खुला सिमानाका कारण छिटपुट कोही पस्नुभयो भने पनि अनिवार्यरूपमा क्वारेन्टाइन गरिन्छ । खुला सिमाना, पासपोर्ट नचाहिने अवस्थाका कारण सबैको तथ्याङ्क हामीसँग नहुन सक्छ । मुख्य नाका भएर आउनेको तथ्याङ्क राखिएको छ । तर, आँखा छलेर प्रवेश गर्ने स्थिति पनि देखियो । हामीले स्थानीय सरकारलाई त्यसको पनि निगरानी राख्न, आफ्नो क्षेत्रभित्र प्रवेश गरेका नागरिकको तथ्याङ्क राखेर अनिवार्य क्वारेन्टाइन गर्न, कसैमा लक्षण देखा परे भने उहाँहरूलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउन, नमूना सङ्कलन गरेर परीक्षणको बन्दोबस्त मिलाउन स्थानीय तहसँग समन्वय गरिरहेका छौं ।

त्यसरी आउने नागरिक क्वारेन्टाइनमा बस्नै नमान्ने, राखे पनि भाग्ने अवस्था देखियो, यसलाई कसरी निरूत्साहित तुल्याउने ? 

धेरै ठाउँमा यस्ता समस्या देखियो । सीमामै यस्तो समस्या देखियो । अहिले राष्ट्रव्यापीरूपमा लकडाउन छ । कतिपय ठाउँमा लकडाउनलाई अवज्ञा गर्ने अवस्था पनि देखिएको छ ।

पहिलो दिन सूचनाको अभावले होला भनेर हामीले धेरै कडाइ गरेनौं । क्रमशः सुध्रँदै गएको त छ । तर, केहीकेही मानिसहरूमा के फरक पर्छ र भनेजस्तो पनि देखिएको छ ।

म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु । कोभिड–१९ को प्रकोपबाट बाँच्न सकिन्छ । हामी सुरक्षित रहँदासम्म, अरूको सम्पर्कमा नजाँदासम्म कोभिड सर्दैन । तर, सरिहाल्यो भने, यो यस्तो अप्ठ्यारो अवस्था हो, यसको उपचार अहिलेसम्म देखिएको छैन । घरपरिवारले आफ्ना आफन्तजनलाई भेट्न पनि नपाउने, कथम्कदाचित दुर्घटना (मुत्यु) भयो भने अन्तिम समयमा साथ रहन पनि नपाउने पीडादायी अवस्था आउनसक्छ । यस मामलामा हरेक नागरिक आफैं सचेत हुनुपर्छ । नागरिकहरूको सहयोगबाहेक अरू कुनै विकल्प छैन । प्रशासनिक कडाइ त हामी गर्छौं । सरकार चाहन्छ, प्रशासनिक कडाइका माध्यमबाट भन्दा पनि हरेक नागरिकको सचेत सहभागिता, साथबाटै कोरोना सङ्क्रमण रोकियोस्, आवश्यक प्रबन्ध होस् ।

क्वारेन्टाइनमा बस्दा नियमहरू नपछ्याउने, प्रोटोकलको पालना नगर्ने समस्या देखिएको छ । सरकारले उहाँहरूलाई क्रमशः सचेत गराउँछ । यसको जोखिम के हो ? यसबाट निम्तन सक्ने विपत्ति के हो ? भनेर उहाँहरूलाई निरन्तर सचेत गराइरहेका छौं । त्यो काममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी रातदिन खटिइराख्नुभएको छ । कतिपय ठाउँमा स्वतःस्फूर्त स्वयम्सेवक पनि खटिनुभएको छ । आम नागरिक सचेत हुँदा यसलाई सहजै रोक्न सकिन्छ ।

होइन, नागरिकबाटै लापरवाही भयो, सरकारले गरेका निर्देशन, निर्देशिका पालना गरिएन भने के हुन्छ हामीले देखेका छौं । विकसित अवस्थामा रहेका, स्वास्थ्य प्रणाली एकदमै राम्रो भएका, सूचना प्रविधिका हिसाबले पनि असाध्यै सुदृढ भएका भनिएका देशहरूलाई त कोभिड–१९ को प्रकोपले हल्लाइरहेको छ । हाम्रोजस्ता विकासशील देशहरूलाई ठूलो चुनौतिमा पुर्‍याउन सक्छ । यो नहोस् भन्ने एकमात्र उपाय, नागरिकको सचेतता, नागरिकको साथ हो । अतः हामी प्रशासनिक कारवाही भन्दा पनि नागरिक चेतना, जागरणमै बढ्दा जोड दिइरहेका छौं ।

अन्तर्राष्ट्रिय साथ–सहयोग पाउने अवस्था छैन । सबै देशहरूलाई नै कोभिड– १९ चुनौति बनिरहेको छ । हामीसँग भएको स्रोत–साधनले मात्रै कोरोना रोकथाम, नियन्त्रण सम्भव होला त ?

अहिलेसम्म हामी व्यवस्थापन गर्न सक्ने अवस्थामै छौं । ठूलो समस्या देखिएको पनि छैन । यहीरूपमा हामी अगाडि बढ्यौं, तदनुरूप नागरिकको साथ रह्यो भने  सङ्क्रमण फैलन दिँदैनौं । जे भित्रनु थियो, त्यो भित्रियो ।

कथमकदाचित अरू सङ्क्रमित भित्रिइसक्नुभएको रहेछ भने पनि उहाँहरूसँग समुदायको निकटता रहेन, सम्पर्क भएन भने कोभिड–१९ लाई व्यवस्थापन गर्न सकिन्छ । अहिलेसम्मको लक्षण हेर्दा यो हाम्रो नियन्त्रणमै छ । नियन्त्रणमै रहन्छ । यसका लागि सरकारको तयारी सन्तोषजनक छ । समाधानका लागि सरकारले कुनै कसर बाँकी राख्दैन ।

संसारभरको अनुभव हेर्दा, नागरिकहरूले नियम, आचारसंहिता, निर्देशन, आदेशहरूलाई जति जिम्मेवारी बोधका साथ पालना गर्नुभयो, त्यति नै यसलाई नियन्त्रण गर्न सकिन्छ । सबैले लापरवाही गर्दिने हो भने कतिपय सन्दर्भमा नियन्त्रणभन्दा बाहिर जान सक्छ । त्यो स्थिति नआओस् भनेर सरकारले गर्नुपर्ने सबै तयारी गरेको छ । नागरिकहरूको पनि त्यही भूमिका अपेक्षित छ ।

आपूर्ति व्यवस्था सूचारु गर्न सरकारको के–कस्तो तयारी छ ?

पहिलो, बाहिरबाट आपूर्ति हुँदै आएका उपभोग्य वस्तुको सहज निकासीका लागि दुवै छिमेकी देशसँग संवाद भइरहेको छ । दुवै छिमेकी देशले आश्वस्त पनि तुल्याउनुभएको छ । खासगरी अत्यावश्यकीय वस्तुहरूको आपूर्तिमा कुनै अवरोध हुन दिइने छैन भनेर दुवै छिमेकी मुलुकसँग हामीले समन्वय गरिरहेका छौं । 

दोस्रो, अहिले हामीसँग पर्याप्त मौज्दात छ । खाद्यान्न, चिनी, इन्धनलगायत दैनिक उपभोग्य वस्तुहरूको मनग्ये नै मौज्दात छ । आत्तिनुपर्ने, भोलि के होला भनेर अरूलाई समेत अप्ठ्यारो पर्नेगरी सञ्चित गर्नुपर्ने कुनै आवश्यकता छैन ।

तेस्रो, खाद्यान्न आपूर्ति गर्ने सवारीसाधनहरूको आवागमनलाई नियमित राख्ने व्यवस्था मिलाएका छौं । चाहे पानी बोक्ने ट्याङ्करहरू होस् या जार, दूध, तरकारी, फलफूल, ग्यास, इन्धन बोक्ने गाडीहरू निर्वाध चल्न पाउने व्यवस्था मिलाएका छौं ।

चौथो, खाद्यान्न, दैनिक उपभोग्य बस्तु बिक्री–वितरण हुने पसलहरूलाई नियमित खोल्न भनिएको छ । उहाँहरूले भीडभाड नहोस् भनेर ग्राहकलाई दूरीमा राखेर, पालैपालो गरेर, ठीक्क मात्रामा बेचबिखन गर्नुपर्नेछ ।

यति हुँदाहुँदै पनि अहिले हामीलाई सहरीया गरिबहरूको चिन्ता छ । दैनिक ज्यालादारी गरेर साँझ–बिहान छाक टार्नुपर्ने मजदुरहरूको समस्यामा हाम्रो ध्यान गएको छ । काम रोकिएको अवस्थासम्म उहाँहरूलाई न्यूनतम सुविधा कसरी पुर्‍याउन सकिन्छ, भन्नेबारेमा हामीले छलफल सुरु गरेका छौं । सरकारको  पूर्ण प्रतिबद्धता छ– यो सङ्कटको बेलामा हामी कसैलाई पनि भोकै पर्न दिँदैनौं । त्यसका निम्ति सरकारले प्रभावकारी व्यवस्था गर्छ ।

सङ्कटको घडीमा राजनीतिक दल, नागरिक समाज, प्रबद्ध समूहबाट सरकारले के कसरी सहयोग लिइरहेको छ  ?

सरकारले कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालको संयोजकत्वका एउटा संयन्त्र बनेको छ । उहाँले त्यसको समन्वय गर्नुभएको छ । सङ्कटको वेला सिङ्गो देश साथमा छ । सबै राजनीतिक दलहरूले सघाइरहनुभएको छ । उहाँहरूले सरकारले स्थापना गरेको कोषमा आफ्नो दल, दलका सांसदहरूको तर्फबाट सहयोग जुटाइरहनुभएको छ । सरकारले चालेका कदमहरूमा साथ दिन आम आह्वान पनि गरिरहनुभएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण गर्न सबैको साथ–सहयोग छ ।

मुलुक अभूतपूर्व अग्निपरीक्षामा छ, यो खालको बलियो राष्ट्रिय एकतालाई हामीले आगामी दिनमा पनि निरन्तरता दिँदै जानेछौं । बलियो साथ–सहयोगका निम्ति सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC