छत्तिसगढ । कोरोना भाइरसबाट बच्न केहीले तीन पत्र भएको मास्क लगाउन सुझाएका छन् भने चिकित्सकहरुले एन(९५ मास्क लगाउन सुझाव दिएका छन् । तर, कोरोना भाइरसको जोखिमबारे कसैले सुनाएपछि भारतको छत्तीसगढको बस्तर क्षेत्रका आदिवासीले पातको मास्क बनाएर लगाउन थालेका छन् ।
कान्केर जिल्लाको अन्तागढका केही गाउँमा पञ्चायत भवनमा बोलाइएको बैठकमा सहभागी हुन त्यहाँका आदिवासीहरु पातको मास्क लगाएर उपस्थित भएका थिए । भर्रिटोला गाउँका एक युवकले भने, ‘हामीले गाउँमा बाहिरबाट आएको मानिसलाई प्रवेश दिएका छैनौं । हामीसँग मास्क छैन । त्यसैले हाम्रो गाउँमा मानिसहरु घरबाट बाहिर जानु परे पातको मास्क नै प्रयोग गर्छन् ।’
स्थानीय न्युज बेवसाइटका लागि काम गर्ने टोकेश्वर साहूले एक गाउँबाट आर्को गाउँमा पातको मास्क पुर्याइने बताए । बीबीसीसँग कुरा गर्दै उनले भने, ‘यहाँका कयौं गाउँमा पातको मास्क लगाइन्छ । यहाँका आदिवासीहरुले एक दिन लगाएको पातको मास्क अर्को दिन लगाउँदैनन् । उनीहरुले अर्को दिन नयाँ मास्क बनाएर लगाउने गरेका छन् ।’
चिकित्सकका अनुसार यस किसिमको मास्कले एक हदसम्म बचाउ गर्ने भए पनि श्वास फेर्न भने समस्या हुने गरेको छ । रायपुरका चिकित्सक डा। अभिजित तिवारीले भने, ‘आदिवासी समाजले वर्षौंदेखि आफ्नो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाएको छ । उनीहरुको पारम्पारिक ज्ञानले हामी अचम्मित पारेका छौं । तर, कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला उनीहरु पनि अन्य नागरिक सरह आआफ्नै घरमै बस्नु उचित हुन्छ । सरकारले उनीहरुलाई कपडाबाट बनेको मास्क निःशुल्क वितरण गर्नुपर्छ । जसलाई धोएर फेरि–फेरि उपयोग गर्न सकिन्छ ।’
आदिवासी परम्परा र पात !
बस्तरका आदिवासीहरुको जीवनमा पातको निकै महत्त्व छ । खाना खानका लागि उनीहरुले साल, सियाडी र पलाशको पातको थाली, दुनाको प्रयोग गर्छन् । मदिरा पिउनका लागि महुआका पातको प्रयोग गर्छन् ।
देवी–देवताको प्रसादका लागि पनि उनीहरुले पातको उपयोग गर्छन् । यी आदिवासीहरुले कपालमा पात लगाउनुका साथै घाँटीमा पातको माला उनेरसमेत लगाउने प्रचलन छ ।
छत्तीसगढमा करिब १४ लाख आदिवासी परिवार छन् । उनीहरुको आयको मुख्य स्रोत टेन्डुको पात अथवा बिँडीको पात मानिन्छ । बीबीसी