एजेन्सी । ८३ वर्षको लामो जीवनपछि एल्फ्रेडो भिसिओको कोरोनाका कारण मृत्यु भयो । यसबारे उनकी नातिनी मार्ता मनफ्रेडीले दुःखी हुँदै भनिन्, “उनीहरुले हजुरबुवाको शव प्रियजन र आफन्तहरु बिना नै यत्तिकै गाडे ।” मार्ता आफैँ पनि सो अन्त्येष्टिमा सहभागी हुन पाइनन् र घरभित्र थुनिएकी थिइन् । त्यसैले सबै ठीक भइसकेपछि आफूहरुले उनलाई पुनः राम्ररी बिदा गर्ने मार्ताले बताएकी हुन् ।
कोरोनाको संक्रमण धर्म, संस्कृति केही नहेरि विश्वव्यापी रुपमा फैलिरहेको छ । यस्तोमा मानिसहरुले आफ्ना मृत प्रियजनहरुलाई परम्परागत रुपमा दाह संस्कार गर्न पाइरहेका छैनन् । कतिको अन्त्येष्टि कार्यक्रम भाइरस फैलन डरले रद्द गरिएको छ भने कतिले केबल धार्मिक गुरुको उपस्थितिमा समारोह सम्पन्न गरेका हुन् ।
विश्वभर झन्डै १० हजारको मृत्यु गराइसकेको यो भाइरसको जोखिम कम गर्नकै लागि आयरल्यान्डका स्वास्थ्यकर्मीहरुले चिहानमा काम गर्नेहरुलाई , शवको मुखमा समेत मास्क लगाउन सुझाव दिइरहेका छन् । उता इटलीको एक अन्त्येष्टि कम्पनीले भने भिडियो मार्फत क्वारेन्टाइनमा रहेका परिवारलाई दाह संस्कार प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइदिएको छ । यसरी अति नराम्ररी प्रभावित शहरहरुमा अरुबेलाको भन्दा ६ गुणा बढी सङ्ख्यामा मृत्यु भइरहेको हुँदा अन्त्येष्टिको कामलाई अझ कठिन बनाइदिएको छ ।
त्यस्तै इरानमा पनि अस्पताल र अन्त्येष्टिका कामदारहरु ठूलो सङ्ख्यामा भएका मृत्यु सम्हाल्न ठूलो संघर्ष गरिरहेका छन् । चिहानका एक कामदारले भनेका हुन्, “मैले आजसम्म यत्तिको दुःखद् अवस्था कहिल्यै देखेको थिइनँ । यहाँ शवहरु सिधै गाड्ने काम मात्र भइरहेको छ र कुनै पूजा वा दाह संस्कारको काम गरिएको छैन ।”
इरानको कशन शहरमा एक स्वास्थ्यकर्मीले बताएअनुसार त्यहाँ अहिले कोरोनाबाट भएका मृत्युहरुलाई ह्दयघात र फोक्सोको संक्रमणका भनेर वास्तविकता लुकाउने प्रयास भइरहेको छ । उनले भने, “सरकारी अधिकारीहरुले मृत्युको तथ्याङ्क लुकाइरहेका छन् । मैले पछिल्ला केही दिनहरुमा दर्जनौँ शव देखेको छु तर यसबारे उनीहरुले हामीलाई कुनै कुरा नगर्न भनेका छन् । ”
अर्कोतर्फ इरानी अधिकारीहरुले चाहिँ कुनै डाटा नलुकाइएको दाबी गरिरहेका छन् भने राष्ट्रपति हसन रोहानीले पनि मार्च १८ को वक्तव्यमा सरकार आफ्नो देशप्रति इमान्दार र स्पष्ट रहेको बताएका हुन् ।
दक्षिण कोरिया, चीन लगायत ९० भन्दा धेरै मृत्यु भएका राष्ट्रहरुमा सरकारले अहिले कुनै दाह संस्कारको कार्यक्रम नराख्न र केबल शव व्यवस्थित गर्नमा मात्र केन्द्रित रहन निर्देशन दिएको छ । त्यसैले मृतकका आफन्तहरुसँग अहिले शोक मनाउने ठाउँ पनि नभएको बताइएको हो । यो संकटको घडीमा पूरै विश्व अदृश्य शत्रुसँगको युद्ध लडिरहेको जस्तो महसुस गरिरहेको इटलीमा चिहानका एक कर्मचारीले बताएका हुन् । रोयटर्स बाट