Skip Advt.

‘लक डाउन’ कर्फ्यु होइन : सन्तुलन मिलाऊँ

क्याडबरी कम्पनीको फाइभ स्टार चकलेटको एउटा विज्ञापन अचम्मको लाग्थ्यो । विज्ञापनमा एकजना पाकी महिला आराम गर्न बेन्चमा बस्छिन् । बस्ने बेलामा उनको टेक्ने लौरो हातबाट फुस्किएर अलि पर हुत्तिन्छ । सँगै उभिएको एक किशोरलाई उनी त्यो लौरो उठाइदिन अनुरोध गर्छिन् र उसले हुन्छ पनि भन्छ । तर, सो किशोर केही नगरी चक्लेट खाइरहन्छ । महिलालाई चित्त बुझ्दैन र आफैँ उठ्छिन् लौरो उठाउन । त्यही समयमा माथिबाट ठूलो केही वस्तु खस्छ र बूढी बसेको बेन्च टुक्रा टुक्रा हुन्छ । बूढी त्यो किशोरलाई केही नगरेकोमा धन्यवाद भन्छिन् । त्यस्तै समय आएको छ अहिले हामी सबैलाई । केही नगरेकोमा हामीले सबैको धन्यवाद पाउँछौँ, केही ग¥यौँभने विशेषतः बूढापाका र समाजका अशक्त सदस्यलाई कोरोना भाइरस सारेर श्वासप्रश्वासको समस्यामा फसाउन सक्छौँ । 

मेरा मातापिता म बस्ने ठाउँबाट तीन मिनेटमात्रको पैदल दूरीमा बस्नुहुन्छ । उहाँहरूलाई दमको रोग पनि छैन र अस्वस्थ पनि हुनुहुन्न । म आफैँ पनि अस्वस्थ छैन । उहाँहरूलाई भेट्न जाने बाटोमा प्रहरी बसेर मलाई रोकेको पनि छैन । रोकेकै भए पनि म केही बहाना बनाएर मेरा जन्मदाताको बासस्थान अर्थात् मेरो भाइको घरसम्म सजिलै पुग्न सक्छु । तर, म मेरा बाबुआमालाई कति माया गर्छु भने उहाँहरूलाई भेट्न नजाने दृढ निश्चय गरेको छु । अझ मेरी एकजना दिदीको घरसँग त मेरो घरको छाना नै जोडिएको छ । तर, म समय बिताउन र तास खेल्न पल्लो घर जान्न । किनभने म सरकारलाई र समाजलाई सहयोग गर्न चाहन्छु । सबै जनताको हितका लागि आज म जिम्मेवार छु र मेरो जिम्मेवारी घरमा बसिदिएमात्र पूर्ण हुन्छ । अर्थात्, केही नगरे नै मैले सबैथोक गरे बराबर हुने अवस्था छ । 

परन्तु, आज तेस्रो कोरोना संक्रमित भेटिएको खबर बाहिरिँदा पनि काठमाडौंकै धेरै स्थानमा मानिसहरू ससानो समूहमा बसेर गफ गरिरहेको देख्न सकिन्छ । देशका कतिपय स्थानमा अब बन्दाबन्दी (लक डाउन)मात्र होइन कर्फ्यु नै लगाउनुपर्ने अवस्था आएको छ भनेर चर्चा सुरु भएको छ । सर्वसाधारणलाई हामी सबैजना नपड्किएको सकेट बम वा प्रेसर कुकर बम बराबर भएका छौँ भनेर सम्झाउन गाह्रो परेको छ । 

यो लेखमार्फत् हामीले किन सबैलाई घरमै बस्न अझ सशक्त ढंगले सम्झाउन सकेनौ भन्ने विषयमा मेरा विचार प्रस्तुत गर्ने जमर्को गर्दैछु । साथै, अब कोरोनाको संक्रमण निराकरण नहुन्जेल कसरी सबैको दैनन्दिनी चलाउन सकिन्छ भन्ने विषयमा पनि केही छलफल गर्नुपर्ने अवस्था आएकाले सो विषयमा पनि विमर्शका लागि विचार प्रस्तुत गर्दैछु ।

धेरै मानिस कुनै न कुनै रुपमा अन्य परिवारसँग सम्पर्कमा आइरहेको अहिलेको अवस्थामा मानिस किन आफैँ अनुशासित हुँदैनन् भन्ने सोच व्याप्त भएको छ । कतिपयलाई अब लक डाउन गरेर भएन कर्फ्युनै लगाउनुपर्छ भन्ने लाग्न थालेको छ । वास्तवमा लक डाउन ज्यादा कठोर भएका कारणले मानिसमा स्वनियन्त्रणको सोच जगाउन नसकिएको हो । नेपाली जनताले सरकारले सेना तैनाथ गरेर लगाएको कठोर कर्फ्युको अवज्ञा गरेको धेरै वर्ष भएको छैन । यही पुस्ताले त्यस्तो कर्फ्युको अवज्ञा गर्दा स्याबासी पाएकै हो । त्यसैले पनि सुरक्षा निकायलाई मात्र परिचालन गरेर  लागू गरेको बन्दाबन्दी सफल बनाउन सरकारलाई अलि सकस भएको हो । 

धेरैमा स्वनियन्त्रणको भावनाभन्दा सरकारले जबर्जस्ती लगाएका कारणले बन्दाबन्दी मान्नुपरेको भन्ने गलत सोचले काम गरेको देखिन्छ । फेरि सुरक्षा निकायलाई पूर्ण तालिम पनि छैन । उनीहरूलाई सडक सम्पूर्णरुपमा शून्य पार्नुपर्ने जिम्मेवारी दिइएको छ र त्यहीअनुरुप काम गर्ने नै भए । तर, सडक सुनसान पार्नुमात्रले अहिलेको समस्याबाट मुक्ति पाइँदैन । त्यसैले सरकारले लकडाउनको कार्य स्थानीय सरकारसँगको साझेदारीमा गर्नुपर्ने देखिन्छ । 

सबै स्थानीय सरकारसँग सुरक्षा निकायले संयुक्तरुपमा काम गर्न जरुरी छ। स्थानीय सरकारले आफ्नो क्षेत्रमा जनताको दैनन्दिनीलाई सहज बनाउँदै ‘लक डाउन’को उद्देश्य पूरा गराउने काम गर्न सक्छ । त्यस्तै स्थानीय अगुवाहरूले सबैलाई यस विषयमा जागरुक बनाउन पनि भूमिका खेल्न सक्छन् । आन्दोलनका बेलामा लोकतन्त्र पक्षधरले घरघरबाट ‘ब्ल्याक आउट’ गर्न सिठी बजाउने वा “बत्ती निभा” भनेर कराउने काम जसरी स्वःस्फूर्तरुपमा गर्थे अहिले सोही प्रकारको भाव ल्याउन स्थानीय तहले काम गर्नुपर्ने देखिन्छ । हरेक व्यक्ति आफैँले आफ्ना लागि बन्दाबन्दीमा बसेको भन्ने भाव जगाउनुपर्छ । यसका लागि विद्यार्थी, युवा, सामाजिक संघसंस्थाले सामाजिक संजाल प्रयोग गरेर सबैलाई सचेत बनाउनु पर्छ । सडकमा प्रहरी बसेरमात्र ‘लक डाउन’ सफल बनाउन सहज हुँदैन । घरका बच्चा र युवाले घरभित्रै बस्नुपर्ने महत्त्वलाई घरमा लागु गराउन सके भने बन्दाबन्दी सफल हुन्छ र हामी कोरोनाको प्रकोपबाट चाँडै निस्कन पनि सक्छौँ ।

किन्तु, एकछिन ! के सबैमान्छे घरबाट निस्कँदै ननिस्केर जीवनको गुजारा संभव हुन्छ ? सात दिन कोही पनि घरबाट ननिस्केलान् किनभने त्यति समयका लागि जोगाड गर्न न्यून आय भएका व्यक्तिलाई पनि धेरै समस्या नपर्ला । तर, अर्थतन्त्रको गाडी पनि सातैदिन रोकियो भने आठौं दिनदेखि खाद्य सामग्रीको उत्पादन र वितरण कसरी संभव होला ? वितरणका सम्पूर्ण अवयव सातै दिन बन्द भए भने आठौं दिनमा महाभारत हुन्छ । अनि चामल कुनै पसलमा आयो भन्ने सुन्नेबित्तिकै सयौंको संख्यामा त्यही पसलमा भिड होला । ग्यास आयो भने त्यहाँ अर्को सय थपिने होलान् । बच्चाबच्चीको खाना, दूध पनि सात दिनपछि सहजरूपमा उपलब्ध भएन भने आमाबाबु आफूले कसलाई के सार्छु भन्ने परवाह गरेर घरमा त पक्कै बस्दैनन् ! अनि सात दिन ‘लक डाउन’ गरेको सम्पूर्ण उद्देश्य निमेषभरमै धराशायी हुन्छ । त्यस्तो अवस्थामा अर्को सात दिन ‘लक डाउन’ लम्याइयो भने अभावले आक्रान्त जनता सिधै आन्दोलनकारी बन्छन् । अर्कातिर, कोरोना त त्यसबेला पनि फैलिरहेकै हुन्छ । अर्थात, हामी अंग्रेजीमा भनिएको ‘डबल ह्वामी’को असरमा पर्छौं अर्थात्, दोहोरो मार पर्छ । 

आज दोस्रो दिनदेखि नै सरकारले दैनन्दिनीको सामानको वितरण प्रबन्धमा एकदमै ध्यानदिन जरुरी छ । सामानको वितरण खेत, बारीदेखि सुरु हुन्छ । खेत, बारीमा जानेलाई सातदिन घरमै बस भन्न सकिन्छ तर तिनको उपज बजारमा आठौं दिन एकैपल्ट पुग्दैन । त्यसैले तिनलाई एक आपसमा एउटा दूरी राखेर बारीमा काम गर्न जानुपर्छ भन्ने ज्ञान दिनुपर्छ । गोदाममा रहेका सामान सिधै उडेर आठौं दिन पसल पसलमा पुग्दैनन् । गोदाममा काम गर्नेलाई पनि अरुबाट नसर्ने र अरुलाई नसार्ने प्रकारले काम गर्न प्रोत्साहित गर्नुपर्छ । विदेशबाट सामान आएको छैन वा अत्यन्त कम आएको छ । सामान आयातमा पनि ध्यान दिनै पर्छ । त्यसका लागि धेरै काम घरमै बसेर गर्न सकिन्छ तर केही बाहिर निस्कनुपर्ने काम भए अत्यन्त सजग भएर गर्न दिनुपर्छ । 

अर्थात् हामीले चीन र दक्षिण कोरियाको मोडेलमा एकैपटक काम गर्नुपर्छ । चीनको मोडेल भनेको बाहिर निस्कन नदिने, दक्षिण कोरियाको मोडेल भनेको कम व्यक्तिलाई बाहिर निस्कन दिने र धेरैभन्दा धेरैमा सकभर चाँडो कोरोना संक्रमणको परीक्षण र उपचार सुरु गर्ने । नेपालले दक्षिण कोरियाको मोडेलमा काम गर्न चिनियाँ सहयोग अपरिहार्य हुन्छ । यसका लागि खुलारुपमा चीनसँग सहयोग माग्नुपर्छ । ‘मोही माग्ने र ढुंग्रो लुकाउने’ भनेजस्तो गर्नु हुँदैन । भारतसँग अत्यावश्यक खाद्यान्न र औषधिको सहयोग पनि माग्नुपर्छ । आखिर यी दुई देशको भर नपरी अहिलेको अवस्थाबाट मुक्ति पाउन संभव पनि त देखिएको छैन ।

र अन्त्यमा, 
म मेरा बाबुआमालाई भेट्न त जान्न तर मलाई तरकारी, चामल, तेल, दाल र ग्यास किन्न त जानैपर्छ । त्यसैले अर्थतन्त्रको गाडीलाई संयमित र नियन्त्रित ढंगले चल्न दिनैपर्छ । खानेकुराका पसल कम होइन बढीभन्दा बढी समय खुल्नुपर्छ । सहरी इलाकामा भाटभटेनी, बीगमार्टजस्ता पसल धेरैभन्दा धेरै समय खोल्न प्रोत्साहित गरिनुपर्छ । अनि अनलाइन सपिङलाई पनि प्रोत्साहन गरिनुपर्छ । लक डाउन सफल पारौं तर अन्य सामाजिक समस्यामा नफसौँ ।

प्रतीक प्रधान

प्रतिकृया दिनुहोस
ad