Skip Advt.

नेपाली समाज र कोरोना

वीणा झा

कुनै पनि रोगको उत्पत्ति, बिस्तार र नियन्त्रणमा समाजको संरचना तथा त्यसका पात्रको भूमिका महत्त्वपूर्ण हुन्छ । कोरोनाभाइरस (कोभिड–१९ ) को  उत्पत्ति चीनको वुहानको सट्टा विश्वका अन्य कुनै अल्पविकसित, आधारभूत स्वास्थ सेवा संरचनाको समेत अभाव रहेको मुलुकमा भएको भए यसको फैलावट र नियन्त्रणको अवस्था अहिलेकै जस्तो हुन्थ्यो नभएर फरक हुनसक्थ्यो । 

यसको उत्पत्तिमा चीनको सामाजिक संरचना, जीवन पद्धति र संस्कृतिको भूमिका रहेजस्तै त्यसको विस्तार र नियन्त्रणमा  त्यहाँको नेतृत्व तहको  इच्छा शक्ति, आर्थिक अवस्था, आधुनिक प्रविधिको पहुँच र प्रयोग, समाजिक सङ्गठनहरुको संरचनाका साथै नागरिकको सम्वेदनशीलतालाई केन्द्रमा राखेर बुझ्नुपर्ने हुन्छ । विश्वका अन्य संक्रमित मुलुकहरुसमेत आआफ्नै तरिका र शक्ति प्रयोग गरी कोरोनासँग लड्दै छन् । अहिलेसम्मको अवस्था हेर्दा चीनको भन्दा लगभग दोब्बरको संख्यामा नागरिकको ज्यान गुमाएको इटालीले सरकार र नागरिक दुवै समयमै जति सम्वेदनशील हुनु पर्थ्यो त्यसमा चुकेको स्वीकार्दै पश्चातापको आँसु बगाउँदै गरेको देखिएको छ ।  

नेपाललाई विश्व स्वास्थ्य सङ्गठनले ‘खतराको जोखिममा रहेको’ भन्ने चेतावनी दिएपश्चात सबै सम्बन्धित निकाय जुर्मुराएका देखिए । त्यसपछि नै देखिने गरी कोरोना संक्रमणबाट बच्न विभिन्न उपदेश र सन्देश नागरिकलाई दिन थालियो । शैक्षिक संस्थाहरुलगायत भिडभाड हुने स्थलहरु बन्द गरियो । यसै क्रममा चैत्र ११  देखि १८ गतेसम्म एक साताका लागि देश पूरै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेर सरकारले नागरिक साथको अपेक्षा पनि गर्यो । तर, पहिलो दिन मुलुकभर सरकारले चाहेको जस्तो बन्दाबन्दी भएको देखिएन  । एकातिर सयौंको संख्यामा भारतबाट घर फर्कने गरिब मजदुरहरुको बिचल्ली देखियो भने अर्कोतिर अन्य क्षेत्रमा पनि यसलाई सामान्यरुपमा लिँदै व्यक्तिगत आवतजावतलाई नागरिकले पूरै बन्द गरेनन् । यसबाट समाजमा एक किसिमको निराशा, सन्त्रास र अन्योल देखिएको छ । यस्तो अवस्थाको अनुभूति नेपाली समाजको ३ पुस्ताले गरेको थिएन ।

प्रायः निष्क्रियता रुचाउने सरकारी संयन्त्रहरुले विगतमा जस्तै निरीहता प्रकट गर्दा सरकारले गरेका कतिपय निर्णयहरू ओँठे प्रतिबद्धतामा सीमित रहे । यद्यपि, सरकारको सजगता भने बढेको देखिएको छ । हाम्रो सीमित स्रोत र क्षमताका कारण सरकार पनि कोरोना सन्त्रासले डराएको देखिएको छ । त्यसैले कतिपय निर्णय एकाएक गर्नुपरेको हुनसक्छ । यस्तोमा नागरिकहरुले जति संवेदनशील भएर साथ दिनुपर्ने हो त्यति दिएको देखिएन । यसका कारणहरु के होलान् ? के तिनलाई ज्यानको माया छैन ? सूचनाका अनेकौं स्रोतमा पहुँच भएको आजको युगमा किन नेपाली समाजले सरकारले घरभित्रै बस्न दिएको निर्देशन नमानेको होला ? 

यस्ता प्रश्नहरुको उत्तर खोज्न नेपाली समाजको संरचना र यसका पात्रबीचको सम्बन्ध नै केलाउनु पर्छ । साथै, कोरोना संक्रमणबाट बच्न विश्वका अन्य मुलुकका उदाहरण अपनाएर सम्भव हँुदैन भन्ने पनि बुझ्नु जरुरी हुन्छ । त्यसका लागि हाम्रै समाजअनुरुपकै विधि चाहिन्छ ।

पहिलो कारण, विगतका अनुभवमा समाजको सरकारप्रति विश्वास फितलो छ । त्यसैले सरकारले दिने निर्देशन आफ्नो हितको लागि हो भनेर पत्याउनै सकेका छैनन् । नेपालभित्रका स्वास्थ्य सेवाका संरचनाहरुको निर्माण, क्षमता विकास र प्रोत्साहन दिनुको सट्टा विदेशी स्वास्थ सेवामा रमाउने नेतृत्व तहका कारण ती संरचना र तिनका पात्रहरुलाई समयसापेक्ष बनाउन सकिएन । त्यस कारण आज विषम परिस्थिति आउँदा तुरुन्त प्रभावकारी ढंगको परिणाम ल्याउन सक्ने अवस्था रहेन । यसले गर्दा सरकारले दिने आँकडा र नागरिकको प्रत्यक्ष अनुभूतिमा फरक भेटियो । तिनीहरु विश्वस्त हुन् सकेनन् । 

दोस्रो कारण, भरपर्दो सूचनाको अभाव हो । त्यस्तै समाजभित्रका तहगत संरचनाबीचको ठूलो खाडल तेस्रो कारण हो । दैनिक मजदुरीमा निर्भर परिवार अनि सहरी गरिबीको मारमा परेका समुदायका विवशता र मानवीय आवश्यकताले उनीहरूलाई बाहिर निस्कन बाध्य पारेको सहजै बुझ्न सकिन्छ ।  

सरकारले ढिलै गरे पनि सही निर्णय लियो भन्ने एकथरी छन् भने अर्काथरी हिजो अस्तिसम्म विश्वलाई नेपालमा कोरोना छैन भन्दै घुम्नलाई खुला निम्तो दिएर कतै भित्रभित्रै संक्रमण भित्र्याई सकिएको त थिएन भनेर शंका गर्ने पनि छन् ।  

जे होस्, अहिलेको प्राथमिकता कोरोनाभाइरसको संक्रमणबाट जोगिनु र जोगाउनु नै हो । सम्बन्धित सबैले विगतका कमी कमजोरीबाट पाठ सिक्नु एउटा पाटो हो भने अर्को पाटो  अब  के गर्ने त भन्ने हो । यो विषम परिस्थितिमा नागरिकले सरकारलाई साथ नदिने हो भने यस संक्रमणको मारमा हामी सबै पर्छौँ । त्यसैले सरकारले एकातिर नेपाली समाजको संरचनाअनुरुपको कार्ययोजनाहरु तत्काल प्रभावकारीरुपमा बनाउनुको साथै लागू गर्नुपर्ने हुन्छ भने अर्कोतिर ‘हाम्रामात्रै राम्रा’ भन्ने बानी बिर्सिएर सक्षम व्यक्तिलाई सही स्थानमा राखी परिणाममुखी संरचना तयार गर्नुपर्छ जसले सही विश्लेषण, उचित व्यवस्थापन अनि सामाजिक स्वीकार्यतासहितको प्रभावकारी समाधान दिन सकोस् । त्यसैगरी नागरिकको तहमा पनि सरकारको कमीकमजोरी औँल्याउँदै संवेदनशील भएर साथ दिने बेला हो यो । 

अवस्थाको गम्भीरता बुझ्न केही सन्दर्भहरु मनन गर्न जरुरी हुन्छ । सरकारले किन सबै शैक्षिक संस्थाहरु बन्द गरेको होला ? अति महत्त्वपूर्ण मानिने माध्यमिक शिक्षा (एसईई) परीक्षासमेत अनिश्चितकालसम्म किन रोकियो होला ? त्यस्तै भारतले किन ३ साताको बन्दाबन्दी गरेको हो ? अनि जापानमा हुने भनिएको २०२० को ओलम्पिक रोकिने निर्णय किन गरियो होला ? यी सबै कुरालाई मनन गर्ने हो भने अहिलेको विषम परिस्थितिको गम्भीरताको अनुमान सजिलै गर्न सकिन्छ । त्यसपछि आफ्नो कार्यको आत्मविश्लेषण र मूल्यांकन गर्न सहज हुनेछ । त्यसमा नागरिकलाई थप बल दिन सरकारले जति सक्दो चाँडो सर्वसाधारण नागरिकका मानवीय आवश्यकता परिपूर्ति गर्ने भरपर्दो आधारसहितको योजना ल्याउनुपर्छ । फलस्वरूप, समाजका ७० प्रतिशतभन्दा बढी रहेको जनसंख्याले सुरक्षित महसुस गर्न सकोस् । अर्कोतर्फ समाजका संरचनाहरु धराशायी हुनबाट जोगाउँदै क्षति न्यूनीकरण गर्न अहिलेदेखि नै कोरोना प्रकोपको नेपाली समाजमा पर्नसक्ने आर्थिक, सामाजिक, शैक्षिक र  राजनीतिक असरहरुको अध्ययन अनुसन्धान गर्दै समाधान खोज्नेतर्फ लागिहाल्नु पर्छ ।  

यो विषम परिस्थिति मानवीय अस्तित्वलाई चुनौती दिनसक्ने प्रकारको भएकाले हामी सबै जो जहाँ जसरी छौँ संवेदनशील भएर त्यसको सामना गरौँ । एकअर्काको साथको आभास गराऊँ । किनभने अर्को विकल्प नै छैन । यो अन्य प्राकृतिक विपदभन्दा फरक अवस्था हो । यसमा विश्व नै एकैसाथ ग्रसित भएकाले अरुलाई के कसरी र कति मद्दत गर्न सक्ला ? घरभित्र बसिदिँदा आफू सुरक्षित हुनुको साथै परिवार, समाज र मुलुकलाई बचाउन ठूलो सहयोग हुन्छ । यति त हामीले गर्नै पर्छ । 

(समाजशास्त्री )      
 

प्रतिकृया दिनुहोस
ad