पहिलो संविधान सभाको असफलता पछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकप (माओवादी)का युवा नेताले केही समय हामी देशलाई बन्दी हुन दिँदैनौ, अब हामी नेतृत्वदायी भूमिका खेल्छौँ भन्दै हिँडेका थिए ।यसबाट अब युवाले बूढो पुस्तालाई विस्थापित गर्छन् कि भन्ने आशा पनि जगायो । तर, तिनै असफल नेता संविधान सभाको दोस्रो निर्वाचनमा उठे । हामीसँग विकल्प थिएन । भोट दियौं र जितायौं । तिनका राम्राभन्दा कैयौं गुणा बढी नराम्रा काम देखियो । संविधान बन्ने बेलामा हामीले एउटा प्रश्न बारम्बार उठायौँ - गाडीको चालक बन्न कक्षा १० सम्म पढेको हुनुपर्ने, लेखापाल बन्न पनि स्नातक हुनुपर्ने, छैटौं तहको अधिकृत बन्न स्नातक उत्तीर्ण हुनुपर्ने, माध्यमिक तहको शिक्षक हुन पनि स्नातक हुनुपर्ने तर प्रधानमन्त्री बनेर देश चलाउन वा कुनै मन्त्रालय चलाउन शैक्षिक योग्यता नचाहिने ?
भर्खरै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले महानगरपालिका, नगरपालिका र गाउँ पालिकाका पदाधिकारीको मासिक तलब र सुबिधा तोकेको छ । यसअनुसार महानगरपालिका प्रमुख (मेयर)को मासिक तलब ६० हजार छ । मासिक ६० हजार तलब खानका अन्य क्षेत्रमा कस्तो शैक्षिक योग्यता, अनुभव र दक्षता चाहिन्थ्यो होला ? अनि हामीले पार्टीको झन्डा बोकेर राजनीति गरेकै भरमा यति महत्त्वपूर्ण पदमा बिनायोग्यता, दक्षता र अनुभवहीन व्यक्तिलाई सपना देखाएकै भरमा तथा राम्रो भाषण गरेकै भरमा जिम्मेवारी दिने हो त ?
त्रिभुवन विश्वविद्यालयको सबैभन्दा उच्च पद उपकुलपतिको मासिक तलब ६१ हजार रुपियाँ छ , प्रोफेसरको तलब मासिक ५४ हजार हुन आउँछ । त्रिभुवन विश्वविद्यायमा प्रोफेसर बन्न जीवन भर संघर्ष गर्नुपर्ने हुन्छ । वर्षौंको शैक्षिक अनुभव, अनुसन्धान, आफूले प्रकाशित गरेका लेखरचना तथा कृति आदिको मध्यमबाट उत्कृष्ठ कार्यसम्पादन गरेर मात्र प्रोफेसर बन्न सकिन्छ । नेपाल सरकारको मुख्य सचिव तथा नेपाली सेनाका प्रधान सेनापतिकोको तलब करिब ५५ हजार मासिक छ ।
निजामती सेवाको मुख्य सचिव बन्न हुनुपर्ने योग्यता, अनुभव, दक्षता र कार्य सम्पादन कस्तो हुनु पर्ला ? साथै नेपाली सेनाको महासेनानी हुन कयौं चरणमा उत्कृष्ठ कार्य सम्पादन र अन्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । अब विचार गरौं, हामीले चुन्ने महानगरपालिका वा नगरपालिकाको प्रमुख कस्तो हुनु पर्ने हो ? योग्यता, दक्षता त अनुभव कस्तो हुनुपर्ने हो? जीवनभर पार्टीको झन्डा बोकेको, भाषण गरेको, तथा सपना देखाउने वा योजना सुनाउनेमात्र महानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख बन्ने आधार हुन् त ? तथा भर्खरै कलेज पढ्दै गरेको, स्नातक तह पनि उत्तीर्ण नगरेको तथा कुनै विधामा पनि काम नगरेको र दक्षता हासिल नगरेको व्यक्ति नगर,महानगर तथा गाउँपालिकाको प्रमुख हुने योग्यता हो त ?
उमेदवारको योग्यता
अहिले नेपालभर नगरपालिका, गाउँ पालिका तथा महानगरपालिकामा उठेका अधिकांश उमेदवार वर्षौंदेखि पार्टीगत राजनीतिमा लागेका छन् । उनीहरूसँग हामीले सोध्नुपर्ने पहिलो प्रश्न हो - उनीहरूको पेसा वा व्यवसाय के हो ? उनीहरूको खर्च कसरी चल्छ ? जीवनभर राजनीतिमात्रै गर्दा उनका आफ्ना परिवार कसरी पालिएका छन् ?
उनीहरूको परिवारका अन्य सदस्यले कमाएर सहयोग गरेका छन् भने हामी उमेदवारहरूलाई सोधौँ - तपाईँको पेसागत तथा प्राविधिक अनुभव के हो ? विज्ञहरूको समूह गठन गरेर विकास गर्ने भए हामीले विज्ञलाई नै किन नउठाउने ? तपाईँको आफ्नो दक्षता के हो ? तपाईँको कार्य कुशलता केमा छ? हामीले तिरेको करबाट प्रतिमहिना ५० हजार (नगरपालिका) तथा ६० हजार (महानगरपालिका) तलब खाने योग्यता, दक्षता र अनुभव के छ ?
योजना पूरा गर्नसक्ने आधार
अहिले कैयौं उम्मेदवारले विनाआधार हचुवाका भरमा मतदातालाई योजना सुनाउँदै गरेको पाइएको छ । नेपालजस्तो प्राचीन सभ्यताले भरिपूर्ण देशलाई सिंगापुर बनाउँछु भन्ने हावा गफ पनि हामीले पत्याएकै हौँ । यस अर्थमा हाम्रो आफ्नै सम्पदा, सम्भावना र मौलिकतालाई हामी मतदाताले पनि चिन्न नसकेकै रहेछौँ । कुनै नगरपालिकाका मेयरका उमेदवारले प्रत्येक वडामा स्थानीय संस्कृति झल्किने संग्रहालय बनाउने योजनाका साथै प्रत्यक टोलमा सुविधा सम्पन्न सामुदायिक भवन बनाउने योजना अगाडि सरेका छन् ।
प्रत्येक वडामा हामीले कस्तो संग्रहालय बनाउन खोजेको हो ? यसको मतलब एउटा नगरपालिकामा १०-२० वटा त संग्रहालयमात्रै बन्ने भए । एउटा वडामा दर्जनौं टोल हुन सक्छन् । के हामीलाई प्रत्यक वडामा दर्जनौं सामुदायिक भवनको आवश्यकता हुन्छ ? त्यसैले कुनै आधार नभएका चुनावी योजना पत्याउनुभन्दा पनि ती योजना कति ठीक छन् र योजना पूरा गर्न चाहिने स्रोत के छ भनेर उमेदवारसँग सोध्नैपर्छ । साथै ती योजना कार्यान्वयन गर्न चाहिने सीप, अनुभव, योग्यता उम्मेवारमा छन् कि छैन भनेर जाँच्ने जिम्मा मतदाताकै हो ।
पहिले त हामीसँग विकल्प थिएन । अहिले पनि सबै गाउँपालिका र नगरपालिकामा विकल्प हुन्छ नै भन्ने छैन । तर, पार्टीभन्दा माथि उठेर सवैभन्दा उत्तम विकल्प छान्नुपर्छ । साथै उम्मेदवारको योजना सुनेर खुसी हुने होइन ती योजना कार्यान्वयन गर्ने सीप, अनुभव, योग्यता छन् कि छैनन् भन्ने मतदाताले नै पहिल्याउनुपर्ने हुन्छ ।
पार्टीप्रतिको पुस्तैनी निष्ठा
कयौं मतदाताले फलानो पार्टीको उम्मेदवारले केही गर्न त सक्दैन तर हामी यही पार्टीलाई भोट दिँदैआएकाले अहिले पनि त्यसैलाई भोट दिन्छौँ भनेको सुनिन्छ । आफ्नो आस्था भएको पार्टीको उमेदवारले राम्रो गर्न सक्दैन भन्ने थाहा छ भने त्यसको विकल्प खोज्नुपर्छ ।
आफ्नो गाउँठाउँ, नगर र महानगरलाई विकसित र सुन्दर देख्न चाहने हो भने सक्षम नेतृत्व नै चुन्नुपर्छ । नत्र हाम्रो नियति भोट दिएपछि अर्को चुनावसम्म देशमा केही भएन भनेर नेता र पार्टीलाई गाली गरेरमात्र बस्ने हुनेछ । यसो हुनुको आधा जिम्मेवारी हामीले पनि लिनुपर्ने हुन्छ ।
सिक्ने कि गर्ने ?
महानगर तथा नगरपालिका पार्टी कार्यालय जस्तो होइन । यो संस्था चलाउन ज्ञान र सीप नभई हुन्न । आफ्नै पारिवारिक दायित्वबाहेक अरू दायित्व विनाआधार स्वतः आउँदैन । कुनै संस्थाको प्रमुख पदमा त शैक्षिक योग्यतामात्र भएर पनि पुग्दैन । नगरपालिका तथा महानगरपालिकामा प्रमुख छान्ने जिम्मेवारी मतदाताको हो । आफ्नो संस्थामा हामीले अक्षम व्यक्तिलाई मौका दिन्छौँ त? त्यसैले मेयर पदका लागि नेतृत्वदायी भूमिका आवश्यक हुन्छ भने योग्यता, क्षमता, अनुभव र दक्षता पनि चाहिन्छ ।
काठमाडौँ र ललितपुरमा मतदाताभन्दा कयौं गुणा बढीको बसोबास छ । विदेशमा बस्ने लाखौं नेपाली काठमाडौं उत्रनेबित्तिकै यसको बेथिति देखेर दिक्क हुन्छन् । त्यसैले काठमाडौं र ललितपुरमा आफ्नो मत दिन नपाएकाहरूको पनि त्यहाँ सक्षम व्यक्ति निर्वाचित होउन् भन्ने चाहना हुनु स्वाभाविकै हो ।
ललितपुरमा प्राचीन कला र काठमाडौँ प्राचीन सभ्यताको सहर हुन् भन्ने रट लगाइरहनुभन्दा ललितपुर र काठमाडौँभित्रका प्राचिन सभ्यता र संस्कृति लाई जगेर्ना गर्दै सहरलाई आधुनिकीकरण गर्नसक्ने सपना, अनुभव र दक्षता भएको व्यक्तिलाई नै चुनेर पठाउनु पर्छ । कुनै उमेदवारले काम गर्ला भन्ने आशा गरेरभन्दा पनि पहिले नै जनतामा भिजिसकेको, सामाजिक काम गरिसकेको उमेदवारलाई नै चुन्न सक्नुपर्छ ।
मत दिने अर्को आधार उमेदवारको इमानदारी, सहरलाई रूपान्तरण गर्नसक्ने आत्मविश्वास र आफ्ना योजना पूरा गर्नसक्ने दक्षता तथा पहिले गरेको कामको प्रभाव हुनुपर्छ । अहिले भूकम्पले थलिएका सहरह भएकोले हामीहरुले उम्मेदवारहरु चुन्दा ती संरचनालाई बनाउन सक्ने चाहना र क्षमता पनि नहेरी हुन्न । त्यसैले आफ्नो सहरलाई सफा, सुन्दर र संस्कृतिको रक्षा गरेर विकास गर्न सक्ने उमेदवारको चयन मतदाताको जिम्मेवारी हो ।
सिकागो, अमेरिका