कोरोना कहर र हाम्रो कर्तव्य

भक्तप्रसाद गैरे

विश्व कोरोनाभाइरस (कोभिड – १९) को महामारीको चपेटामा छ । कोरोना कहरबाट जोगिन विश्वका कतिपय देशले  सिमाना बन्द गरेका छन् भने कतिले अन्तर्राष्ट्रिय उडान बन्द गरेका छन् । कतिपय देशले त संकटकालको समेत घोषणा गरेका छन् । विश्वका शक्ति राष्ट्रहरु पनि कोरोना भाइरसको महामारीसँग जुध्न संघर्षरत छन् । अमेरिकाको म्यारिल्यान्ड राज्यमा रहेको जोन हप्किन्स विश्वविद्यालयका अनुसार मार्च २२ (आइतबार अपराह्न १२ बजे) सम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर १३ हजार ६७२ जना मानिसको मृत्यु भइसकेको छ । यी पंक्तिहरू लेखिरहँदा पनि संक्रमित र मृतकको संख्या बढिरहेको हुन्छ । यस लेख हालसम्म नेपालमा नदेखिएको भए पनि निकट भविष्यमा उच्च जोखिममा पर्नसक्ने डर भएकाले यो भाइरस फैलन नदिन नेपालीले के गर्नुपर्छ भन्नेमा केन्द्रित छ । यो लेख तयार पार्न मैले बीबीसी, विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको कोरोना महामारीको तथ्यांकको सहयोग लिएको छु । नेपालमा यो भाइरस फैलन नदिन हाम्रो कर्तव्य के हो भन्ने चर्चा गर्नुअघि कोरोना भाइरसको सामान्य परिचयबाट सुरु गरौँ ।

कोरोनाभाइरस सामान्य रुघाखोकीमा देखिने भाइरसजस्तै हो । यो केही वर्षअघि मध्यपूर्वी देशहरुमा फैलिएको मार्सभाइरस र सन् २००४ मा चीनमा देखिएको सार्सभाइरससँग मिल्दोजुल्दो छ । डब्लुएचओका अनुसार चीनको वुहान प्रान्तबाट सन् २०१९ को अन्त्यतिर फैलिएको कोभिड –१९ पहिले देखिएका मार्स र सार्स भन्दा केही नयाँ प्रजातिको भाइरस हो । यो अहिलेसम्म मानव जातिमा देखिएको थिएन । सार्स भाइरस बिरालोबाट मानिसमा सरेको थियो भने मार्स भाइरस उँटबाट सरेको बताइएको थियो । हाल देखिएको कोभिड–१९ जनावरबाट मानिस र मानिस मानिसबीच सर्नसक्ने भए पनि सुरुमा यो कोबाट कसरी सरेको थियो भन्ने अहिले पनि थाहा भएको छैन । 

कोरोना (कोभिड–१९) भाइरस कसरी सर्छ ?

कोरोनाभाइरस संक्रमित व्यक्तिबाट तीव्ररूपमा अर्को व्यक्तिमा सर्न सक्ने भएकोले नै विश्वभर यसको महामारी फैलिएको हो । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा नाक र मुखबाट निस्कने ससाना छिटामा रहने यो भाइरस हावामा फैलन्छ र ती कणहरुको सम्पर्कमा आउने जो कोहीलाई पनि सर्न सक्छ । अर्थात्, रुघाखोकी जसरी नै यो भाइरस पनि सर्छ । साथै संक्रमित व्यक्तिले अर्को मान्छेलाई छुँदा, संक्रमित व्यक्तिले प्रयोग गरेका र छोएका समान अर्को स्वस्थ व्यक्तिले छुँदासमेत यो भाइरस सर्न सक्छ । 

कोभिड –१९ भाइरसबाट को बढी प्रभावित हुनसक्छ ?

कोरोनाभाइरस जोसुकैलाई पनि सजिलैसँग सर्न सक्छ तर यसको संक्रमणबाट हालसम्म धेरैजसो बूढाबुढी प्रभावित भएका छन् । अंग प्रत्यारोपण गरेका, आर्थराइटिस, कोलाइटिसजस्ता रोगीलगायत शरीरको प्रतिरक्षा प्रणाली घटाउने औषधि सेवन गरिरहेका मानिसमा यो भाइरस सजिलै सर्न सक्छ । त्यसैले बूढाबुढी र शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस यो भाइरसको उच्च जोखिममा मानिन्छन् । 

कोभिड–१९ भाइरसका लक्षण 

कोरोनाभाइरसबाट संक्रमित भइसकेपछि पनि यसको लक्षण देखिन केही दिन (१४ दिनसम्म पनि) लाग्न सक्छ । त्यसैले कतिपय मानिसहरु लक्षण नदेखिए पनि यो भाइरसको वाहक हुनसक्छन् ।  कोरोनाभाइरसको लक्षणहरु सामान्य रुघाखोकीसँग मिल्दाजुल्दा हुन्छन् । ज्वरो आउनु, खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, यसका प्रारम्भिक लक्षण हुन् भने न्युमोनिया हुनु, सास फेर्न साह्रै गाह्रो हुनु, कतिपयमा मिर्गौलाले काम नगर्नु यो रोग जटिल भएपछि देखिने लक्षण हुन् । 

कोभिड–१९ भाइरसबाट बच्न के गर्ने ? 

कोरोनाभाइरसको संक्रमण नाक, मुख, आँखाबाट सजिलै हुनसक्ने भएकोले सकभर यी अंगहरु छुनु हुँदैन । नियमितरुपमा साबुन पानीले हात धुनुपर्छ । खोक्दा, हाछ्युँ गर्दा नाकमुख छोप्ने गर्नुपर्छ । रुघाखोकीबाट बच्नुपर्छ र रुघाखोकी लागेका मानिसहरुको नजिक जानु हुँदैन । भिडभाडमा नजाने, विद्यालय, अस्पताल, सरकारी कार्यालय सकभर नजाने, गए पनि अन्य मानिसबाट आफूलाई परै राख्ने, ती ठाउँका झ्यालढोकाका ह्यान्डल जथाभावी नछुने गर्नुपर्छ । 

कोरोनाको महामारीको जोखिमबाट बच्न नेपाल सरकार र नेपाली नागरिक सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । सरकार र जिम्मेवार नागरिकको संयुक्त पहलबाट नै हामी कोरोनाको सम्भावित महामारीबाट जोगिन सक्छौँ । 

सरकार

नेपालमा हालसम्म कोरोना संक्रमित नभेटिनु खुसीकै कुरा हो तर नेपालको दक्षिणी छिमेकी भारतमा कोरोनाको संक्रमण पछिल्लो ३ दिनमा ह्वात्तै बढेकाले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको मान्नैपर्ने हुन्छ । नेपाल सरकारले कोरोनाको सम्भावित महामारीबाट बच्न अन्तर्राष्ट्रिय उडान रोक्ने, भाइरस प्रभावित देशबाट हुनसक्ने आवतजावत बन्द गर्ने, मानिसको भिडभाड हुने संस्था बन्द गर्नेजस्ता स्वागतयोग्य निर्णय गरेको छ । साथै कसैलाई कोरोनाको संक्रमण भइहाले सम्पूर्ण उपचार खर्च बेहोर्ने, कोरोना उपचारको लागि विभिन्न ठाउँमा अस्थायी उपचार केन्द्रको व्यवस्था गर्नेलगायतका महत्त्वपूर्ण निर्णय गरेको छ । 

नागरिकको जीवन रक्षाको लागि सरकारले अझ बढी काम गर्नुपर्ने हुन्छ । यो समयमा सरकारले निम्न काम गरी जनतालाई आश्वस्त पार्न सक्नुपर्छ : 

१. विकसित मुलुकहरूमा समेत कोरोनाको परीक्षण गर्ने किट तथा यसबाट बच्न प्रयोग गरिने मास्कको अभाव छ । त्यसैले सहयोग गर्न चाहने देशहरुबाट कोरोना परिक्षणको लागि आवश्यक स्वास्थ्य सामग्री तथा व्यक्तिगत सुरक्षा उपकरण सहर्ष स्वीकार गरी सम्बन्धित क्षेत्रमा वितरण गर्नुपर्छ । 

२. गड्डा चौकी नाकाबाट भारतमा रहेका हजारौं नेपाली नागरिक ठेलमठेल गरी नेपाल प्रवेश गरेर आआफ्नो घर पुगिसकेको दृश्य सार्वजनिक भएको छ । भारत र चीनसँगको स्थल नाकामा मानव आवागमन बन्द गर्ने निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्छ । 

३. दिनहु नभए २ दिनमा एकपटक सरकारले कोरोना नियन्त्रण गर्नको लागि गरेका प्रयासका बारेमा सरकारी संचार माध्यमबाट जनतालाई सुसूचित गराइरहनु पर्छ । जनतालाई आश्वस्त पार्नुपर्ने यो समयमा केही मन्त्रीहरुको गैरजिम्मेवार बोली मिडियामा आउनु दुःखद हो । 

४. कोरोनाको महामारी फैलिएका देशबाट नेपालीलाई समेत नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय उचित होइन । निश्चित मापदण्ड तोकेर नेपालीलाई आफ्नो घर आउने वातावरण सरकारले निर्माण गर्नुपर्छ । सम्बन्धित देशका कूटनीतिक नियोगमार्फत भिसा सकिएका नागरिकका हकमा उचित व्यवस्थापन गर्नुपर्छ ।  

५. सामाजिक संजालमा प्रचारप्रसार भइरहेका अनेक किसिमका भ्रमपूर्ण सामग्रीहरु रोक्नु र त्यस्ता सामग्री प्रसार गर्नेलाई कडा कारबाही गर्नुपर्छ । 

६. बसपार्क, सरकारी कार्यालय, अस्पताल आदि मानिसको भिडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालित गरी भिड व्यवस्थापन गर्नुपर्छ । सम्भव भए त्यस्ता ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गर्न सके राम्रो हुन्छ ।  

७. हालसम्म नेपालीलाई कोरोनाको संक्रमण नदेखिए पनि हामी संक्रमणको उच्च जोखिममा छौँ । यसैले सरकारले सबैभन्दा खराब परिस्थितिको सामना गर्न तयारी गर्नुपर्छ । 

८. विपतको यो पूर्व सन्ध्यामा नेपालमा कालोबजारी बढेको छ । अत्यावश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ र मूल्य आकाशिएको छ । सम्बन्धित मन्त्री भने सामान नपाए मलाई फोन गर्नु भन्दै बसेका छन् । यस्तो विपतको घडीमा समेत कालो बजारी गर्नेेहरुलाई कानुनबमोजिक कडा कारबाही गर्नुपर्छ । 

९. सरकारको पहलमा ठाउँठाउँमा कोरोना उपचारको लागि अस्थायी अस्पतालहरु निर्माण हुनु स्वागतयोग्य हो । अब ती अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको परिपूर्ति तथा पूर्ण सरसफाइमा सरकारको ध्यान जान जरुरी छ । 

१०. सरकारले कोरोनाको प्रकोप रोक्न बन्द गरेका कतिपय संस्थामा आश्रित सामान्य कामदारहरुको रोजीरोटी पनि बन्द भएको छ । यसतर्फ सरकारको बेलैमा ध्यान जान जरुरी छ । 

नागरिक 

कोरोना महामारीको जोखिमबाट बच्न सबैभन्दा महत्त्वपूर्ण भूमिका नागरिककै हुन्छ । हामीले सचेत भएर सरकारलाई सहयोग नगर्ने हो भने सरकार एक्लैले जति नै नियन्त्रण गर्न खोजे पनि यो महामारीको जोखिम रोक्न सक्तैन । हाम्रो जस्तो देशमा यो महामारी भित्रियो भने कल्पनै गर्न नसकिने क्षति हुने निश्चित छ । अमेरिका, अस्ट्रेलियाजस्ता धनी राष्ट्रमा समेत कतिपय अत्यावश्यक सामग्रीको अभाव भएको छ । यी राष्ट्रहरुमा कोरोनाको संक्रमण देखा पर्न थालेको केही समयमै स्टोरहरुमा ट्वाइलेट पेपर, साबुन, पानी, ह्यान्ड स्यानिटाइजरहरुको अभाव भइसकेको थियो । संकटकाल लागेपछि त कतिपय खाद्यान्नका स्टोरहरू पनि रित्तै भइसकेका थिए ।

विपतको घडीमा अलिअलि त्रास हुनु स्वाभाविक हो तर जिम्मेवार नागरिकले आफ्नो दुनोमात्र सोझ्याउन नलागेर सबैको हित चाहनुपर्छ । कोरोनाको त्रासका बीच हामी नेपालीले निम्न अभ्यास गर्नुपर्छ :

१. नेपाल सरकारले जारी गरेको कोरोना रोकथामका उपाय अक्षरशः पालना गरी सरकारलाई सहयोग गर्नुपर्छ । 

२. कोरोना रोकथामका लागि भन्दै सामाजिक सञ्जालमा नानाथरी सामग्री प्रचार भइरहेका छन् । तिनलाई बेवास्ता गरी आधिकारिक सूचनालाई मात्र पत्याउनुपर्छ । 

३. अत्यावश्यक काम नपरीकन घरबाट बाहिर निस्कन हुँदैन । पुगेसम्म साबुन पानीले हात धोइरहने, नाक मुख नछुने, घरमै पनि अन्य मानिसँग घुलमिल नहुने जथाभावी नखोक्ने, हाछ्युँ नगर्ने गर्नुपर्छ । 

४. भिडभाडमा जानु हँुदैन, जानै परे मस्क लगाउने र शारीरिक दूरी कायम गर्ने नीति अवलम्बन गर्नुपर्छ । विशेषगरी सहरी क्षेत्रमा सार्वजनिक सवारी साधनको उपयोग गर्दा बरु ढिलो होस् कोचिएर यात्रा गर्ने कार्य बन्द गर्नुपर्छ ।

५. यो मौसम नै रुघाखोकीको मौसम हो । त्यसैले सामान्य रुघाखोकी लाग्नेबित्तिकै ‘लौ मलाई कोरोना नै भयो’ भनेर तर्सनु आवश्यक छैन । तर, नजिकैको स्वास्थ्य संस्थामा गएर जचाउन भने भुल्नु हुँदैन ।

६. तपाई कोरोना संक्रमित ठाउँबाट भर्खरै नेपाल जानु भएको हो भने कम्तीमा १४ दिन आत्म एकान्त (सेल्फ क्वारेन्टाइन)मा बस्नुपर्छ । यो भाइरससँग संक्रमित भइसकेपछि पनि लक्षण देखिन लाग्ने समय १४ दिनको भएको हुँदा तपाईलाई भाइरस लागेको खण्डमा अरुलाई नसरोस भनेर पनि १४ दिन एक्लै बस्नु अनिवार्य हुन्छ । 

७. कसैलाई कोरोनाको संक्रमण भैहाल्यो भने पनि मरिहालिन्छ भनेर आत्तिनु पर्दैन । हालसम्म ३ लाख १८ हजार ६६२ जनामा यो भाइरस संक्रमण देखिएको छ । जसमा जम्मा  १३ हजार ६७२ (४५) जनाको मात्र मृत्यु भएको छ भने ९४ हजार ७०४ जनालाई पूर्णरुपमा निको भएको छ । नेपालमा त १ जनालाई संक्रमण देखिएको थियो र अहिले निको भइसकेको छ । मर्नहरूेमा पनि धेरै अरु रोगहरु लागेका दीर्घ रोगी र बूढापाका छन् । त्यसैले यो भाइरस लागिहालेमा पनि आत्तिइहाल्नु हँुदैन । आत्मविश्वास बढाउनु पर्छ । आत्मविश्वास सबै रोगसँग लड्न सक्ने अस्त्र हो ।

८. सामाजिक संजालमा बेसार, लसुन, गुर्जो, कुरिलो, कागतीको सेवनले कोरोना लाग्दैन भन्ने भ्रामक प्रचार गरिएका छन् । यी वनस्पतिले कोरोना ठीक गर्ने भन्ने प्रमाणित भइसकेको छैन । तर, विभिन्न रोगसँग जुध्न सक्ने तत्त्व यी वनस्पतिमा पाइने भने वैज्ञानिकरुपमै प्रमाणित भएको छ । त्यसैले साबिक मात्रामा यिनको सेवन हानिकारक हुँदैन । तर, कोरोनाको शंका लगेर पनि यिनै घरायसी औषधिले निको हुन्छ भन्ने ठानेर यिनको मात्रा बढाउनु वा भर पर्नु मूर्खता हुनेछ । 

९. हालसम्म कोरोनाको उपचारको लागि कुनै पनि औषधि प्रमाणित भइसकेको छैन । तसर्थ यो भाइरस संक्रमण हुन नदिनु नै यसबाट बच्ने सबैभन्दा ठूलो उपाय हो ।

१०. विदेशमा रहेका नेपालीहरुले पनि तत्तत् देशका सरकारहरुले जारी गरेका नियम पूर्णरुपले पालना गर्ने, नेपालमा रहेका आफन्तसँग निरन्तर संवादमा रहने र उनीहरुलाई सान्त्वना दिने काम गर्न जरुरी छ । साथै, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुले त्यहाँस्थित नेपालीको अवस्था बुझेर तिनको स्वास्थ्य र कोरोनाबाट बच्न आवश्यक सूचना एवं सहयोग गर्नुपर्छ । 

विश्वमा यस्ता महामारीहरु देखिँदा संसारका धनाड्यहरुले कुनै न कुनै रुपमा मानवताको सहयोगका लागि कदम चलेका छन् । कोरोनासँग लड्न पनि चिनिया धनाड्य ज्याक मा, अमेरिकी धनाढडय बिल गेट्सलगायतले सहयोगका हात बढाइरहेका छन् । हुनत, नेपाल गरीबहरुको धनी देश हो तर यहाँ पनि कैयौं धनाढ्यले महामारीसँग जुध्न सहयोग गर्न सक्छन् । व्यापारीहरुले पनि यस संकटको घडीमा सर्वसाधारणसँग लुट्ने भन्दा उनीहरुलाई सहयोग पुग्ने काममा ध्यान दिनुपर्छ ।

समाजका बुद्धिजीवीले पनि महामारी भित्रिन नदिन आआफ्नो तर्फबाट सक्तो सहयोग गर्नुपर्छ । अहिले देशलाई बुद्धि र विवेकको खाँचो छ । जनतालाई सत्यतथ्य र ज्ञानवर्धक सूचना चाहिएको छ । 

नेपालीको सबैभन्दा राम्रो गुण ‘सहयोगी’ हुनु हो भनिन्छ । यो संकटको समयमा हामी एक अर्कालाई सहयोग गरौँ । अनावश्यक सामान नथुपारौँ । हामीले थोरै दुःख सहने हो भने अरु धेरैलाई सहयोग पुग्न सक्छ । सरकार, नागरिक समाजका अगुवा र जनता सबैले आआफ्नो क्षेत्रबाट कोरोना महामारी भित्रिन नदिन सक्तो पहल गरौँ  । अनावश्यक भ्रमका पछाडि नलागौँ । सबैले जिम्मेवार नागरिकको परिचय दिऊँ ! 

(स्यांग्जा चापाकोट – १ । हाल म्यारिल्याण्ड विश्वविद्यालय, अमेरिका)


 

प्रतिकृया दिनुहोस
ad