site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विश्वव्यापी महामारी कोविड–१९ नियन्त्रण गर्ने तयारीमा सरकार केही दिन व्यर्थमा अलमलियो । बन्दाबन्दी (लक डाउन)को निर्णय गर्न विशेषज्ञहरू पन्ध्र दिनअघि नै सल्लाह दिएका थिए । सरकारले ढिलाइ गरेर जोखिम बढाएकै थियो जनताले बन्दाबन्दीको बेवास्ता गरेर स्थिति झन् जटिल बनाएको देखिएको छ । सरकारले मंगलवार बिहानैदेखि पूरै बन्दाबन्दीमा रहन आदेश जारी गरे पनि जनताले त्यसलाई जति गम्भीरतापूर्वक पालना गर्नुपर्ने गरेको देखिएको छैन । हुनत, पहिलो दिन भएकाले कौतुहलवश पनि नागरिकहरूले अवज्ञा गर्ने नियत नभईकनै बन्दाबन्दीको पूर्ण पालना नगरेको हुनसक्छ । तर, भाइरसको संक्रमण भने सानो त्रुटि वा लापरबाहीबाटै व्यापकरूपमा फैलन सक्ने हुनाले एक जनाले मात्रै पनि बन्दाबन्दीको आदेश उल्लंघन गर्दा निकै ठूलो जोखिम उत्पन्न हुनसक्छ ।  

कोविड–१९ (नोवेल कोरोनाभाइरस)को संक्रमणलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा गरिसकेको छ । संक्रमण नियन्त्रण गर्न सक्षम भनिएको चीनमै पनि दोहोरिएर देखिन थालेको छ भने इटाली, इरान, स्पेन, अमेरिकालगायत देशहरूमा फैलने र मृत्यु हुने क्रम रोकिएको छैन । यसैले संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय बन्दाबन्दीलाई मानिएको हो । संसारभर नै अहिले बन्दाबन्दीको अभ्यास भइरहेको छ । सम्भवतः यति ठूलो जनसंख्या यसरी बन्दाबन्दीमा परेको उदाहरण संसारको इतिहासमै यो पहिलो हो । शासन प्रणाली र शासकहरूको प्रकृति एवं प्रवृत्तिअनुसार बन्दाबन्दीको अभ्यास फरक भए पनि संसारभर मानव सम्पर्क कम गरेर भाइरसको संक्रमण रोक्ने उपाय अपनाइएको छ । तर, केही नेपालीले भने बन्दाबन्दीको अवज्ञा गरेर आत्मघाती हेलचेक्य्राइँ देखाउनु चिन्ता र आपत्तिको विषय हो । थाहा नपाएर अवज्ञा गरिएको हो भने बुझेपछि पूर्ण पालना गर्नुपर्छ । थाहा पाएरै पनि हेलचेक्य्राइँ गर्नेहरूमाथि कारबाही गर्न पनि हिचकिचाउनु हुँदैन ।

लोकतान्त्रिक शासन प्रणाली भएकाले नेपालमा बन्दाबन्दीका लागि बल प्रयोग गरिएको छैन । लोकतन्त्रमा नागरिकले नै संयम अपनाएर आआफ्नो दायित्व पूरा गर्ने अपेक्षा राज्यले गरेको हुन्छ । यसैले जनता आफैँ नै अनुशासित भएर संक्रमण रोक्न स्वःस्फूर्तरूपमा तयार होऊन् भन्ने सरकारको चाहना देखिन्छ । तर, कसैले समाजमै रोग फैलनसक्ने गरी गैरजिम्मेवार व्यवहार गरेमा राज्य बल प्रयोग गर्न बाध्य हुनुपर्छ । बहुसंख्यकको जीवनको रक्षाका लागि बिज्याइँ गर्नेहरूलाई कानुनबमोजिम नियन्त्रण गर्ने अधिकार जनताले नै राज्यलाई दिएका छन् । नेपालमा पनि सरकारलाई जनहितका लागि आवश्यक परेमा बल प्रयोग गर्ने प्रावधान भएका कानुनहरू छन् । यसैले सरकारले केही दिनका लागि बन्दाबन्दीलाई प्रभावकारी बनाउन आवश्यक परे बल प्रयोग हुनसक्ने जानकारी स्पष्ट शब्दमा जनतालाई दिनु जरुरी देखिन्छ । बन्दाबन्दीलाई खेलाँची ठान्नेहरूले आफ्नो र अरूको जीवन जोखिममा जो पारेका छन् । स्थानीय सरकारहरूले पनि बन्दाबन्दीको पालना गराउन आवश्यक उपायहरू अपनाउनुपर्छ । आफूमात्र मर्ने आत्महत्या त दण्डनीय अपराध हो भने अरूलाई समेत मार्न सक्ने बन्दाबन्दीको अवज्ञा कसरी क्षम्य हुन्छ ?        
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC