काठमाडौ । कोरोना संक्रमण देखिएर उपचाररत युवतीको स्वास्थ्य सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले अहिले स्वास्थ अवस्था सामान्य रहेको बताए । ‘‘सात दिनमा नमुना पुन: परीक्षण गर्दा कोरोना नेगेटिभ देखिए, डिस्चार्ज गर्छौं,’’ उनले भने, ‘‘उनले सात दिनमा पनि कोरोना पोजेटिभ देखिए, पुन: १४ दिन अस्पतालकै अनइसोलेसनमा राखेर उपचार हुनेछ ।’’
फ्रान्सबाट कतार हुँदै गत ४ चैतमा नेपाल आएकी ती नेपाली १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनको शुक्रबार नमुना संकलन गरेर टेकु अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो । उनको रिपोर्ट आइतबार बेलुका पोजेटिभ आएको थियो ।