site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना भाइरस : पहिलो लक्षण ज्वरो, दोस्रो खोकी

कोरोना भनेको एक प्रकारको भाइरसको परिवारको नाम हो । यसको कारणले गर्दा सामान्य रुघाखोकी लाग्नुका साथै ‘मिडिल इस्ट रेस्पिरेटोरी स्यान्ड्रोम’  र ‘सेभर अक्युट रेस्पिरेटोरी स्याण्ड्रोम’ जस्ता रोगसम्म लाग्छ । अहिले देखिएको यो कोभिड – १९ स्ट्रेन यही कोरोना भाइरस परिवारभित्र पर्छ जुन आजसम्म मान्छेमा देखा परेको थिएन । यो भाइरस चीनको वुहानबाट पहिलोपटक मान्छेमा देखियो । अहिले संसारको छ वटै महादीपमा फैलिसकेको छ । 

संक्रमण 

अहिले संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड– १९ बाट करिब २ लाख ५० हजार जना संक्रमित भइसकेका छन् भने हालसम्म १० हजार जनाभन्दा बढीको ज्यान यसले लिइसकेको छ । अहिलेसम्म यो भाइरस १७० वटा देशका साथै दुई अन्तर्राष्ट्रिय जहाज (क्रुज सिप) मा समेत देखापरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरस पहिलोपटक वुहानको सी फुड मार्केटबाट फैलिएको भए पनि अहिले यो व्यक्ति व्यक्तिबीचबाट विभिन्न देश तथा प्रान्तहरुमा सर्दै गएको पाइएको छ । विश्व स्वास्थ्य संगठन र अरूको हालसम्मका विभिन्न अध्ययनअनुसार यस भाइरस विशेषतः थुकबाट सर्ने मानिएको छ । कुनै संक्रमित मानिस बोल्दा, खोक्दा र हाँछिउ गर्दा थुकमार्फत यो अर्को स्वस्थ मान्छेमा सर्ने गर्छ । संक्रमित मानिसले कसैको नाक, आँखा र मुख अथवा शरीरको कुनै भागमा छायो भने पनि यो भाइरस सर्छ । ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिज’ ले मार्च १७ मा प्रकाशन गरेको अध्ययन प्रतिवेदनअनुसार उक्त कोभिड– १९ भाइरस केही घन्टादेखि केही दिनसम्म जस्तोसुकै ठाउँमा पनि सक्रिय अवस्थामा रहन सक्छ । उदाहरणका लागि कुनै स्प्रेमा तीन घन्टा, तामाको वस्तुमा ४ घन्टा, कारबोर्डमा २४ घन्टा तथा प्लास्टिक र स्टिलको वस्तुमा २ देखी ३ दिनसम्म रहनसक्दछ । 

हालसम्म विभिन्न स्रोतका अनुसार कोरोना भाइरसको ‘इन्क्युवेसन पिरियड’ (शरीरमा भाइरस भएपनि कुनै पनि लक्षण नदेखिने अवस्था) ५ देखि २१ दिनसम्म भनिएको छ । ‘इन्क्युवेसन पिरियड’ अथवा लक्षण नदेखिने अवस्था (असिम्पोमेटिक फेज) मा पनि यो रोग गर्ने गर्छ । 

Global Ime bank

तथ्यांक

यो रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्ने भए पनि अधबैंसे र बूढापाकाहरुमा भने बढी देखिएको छ । ‘चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ ले ११ फेब्रुअरीसम्मको बिरामी र मृत्युहरुको अध्ययन गरेर प्रकाशन गरेको तथ्यांकअनुसार यस रोगका कारण विशेषगरी बूढापाकाको मृत्युदर बढी देखिएको छ । नौ वर्षसम्मको बालबालिकामा शून्य प्रतिशत, १० देखि १९ वर्षको उमेर समूहमा ०.२ प्रतिशत, २० देखि २९ वर्षको उमेर समूहमा ०.२ प्रतिशत, ३० देखि ३९ वर्षको उमेर समूहमा ०.२ प्रतिशत, ४० देखि ४९ वर्षको उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ५९ वर्षको उमेर समूहमा १.३ प्रतिशत, ६० देखि ६९ वर्षको उमेर समूहमा ३.६ प्रतिशत, ७० देखि ७९ वर्षको उमेर समूहमा ८ प्रतिशत र ८० वर्षभन्दा माथिको उमेर समूहमा १४.८ प्रतिशत मृत्युदर रहेको छ । 

त्यसैगरी चाइनिज सीडीसीले फेब्रुअरी १७ मा जर्नल अफ इपिडिमियोलोजीमा प्रकाशन गरेको प्रतिवेदनमा ७२ हजार ३१४ जनामा गरेको अध्ययनअनुसार ८१ प्रतिशतलाई माइल्ड अर्थात सामान्य संक्रमण थियो । उनीहरुमा सामान्य रुघाखोकीमात्रै देखिएको थियो । अरू १४ प्रतिशतलाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो भने पाँच प्रतिशतको अवस्था गम्भीर थियो । तिनमा श्वासप्रश्वास बन्द हुने, हृदयघात तथा विभिन्न अंग ‘फेल’ भएको देखिएको थियो र २ प्रतिशतको मृत्यु नै भएको थियो ।

त्यस्तै लक्षणहरुको कुरा गर्दा मार्च १२ मा इन्टरनेसनल जर्नल अफ इन्फेक्सन डिजिजमा प्रकाशित अध्ययनमा ४६ हजार २४८ जनाको अध्ययन गरिएको थियो । त्यसमा सबैभन्दा बढी देखिने पहिलो लक्षण ज्वरो आउने हो । यो ८६ देखि ९६ प्रतिशत संक्रमितमा देखापरेको थियो । त्यसपछि दोस्रो लक्षण खोकी लाग्नु हो । उक्त अध्ययनअनुसार ५९ देखि ७६ प्रतिशत संक्रमितलाई ज्वरो आएको थियो । तेस्रो लक्षण थकाइ धेरै लाग्नु हो । यो लक्षण ३८ देखि ६८ प्रतिशतमा भेटिएको थियो भने चौथो लक्षण सास फेर्न गाह्रो हुनु हो जुन २१ देखि ४० प्रतिशतमा देखिएको थियो । 

कोरोना भाइरस संक्रमितहरुमा उच्च रक्तचाप १४ देखि २२ प्रतिशतमा, सुगर ६ देखि ११ प्रतिशतमा, मुटु तथा रक्तसञ्चारमा समस्या ४ देखि ७ प्रतिशतमा र श्वासप्रश्वाससम्बन्धी रोग १ देखि ३ प्रतिशतमा देखिएको थियो । यसको गणनामात्रै नभएर भाइरस कस्तो दरले बढिरहेको छ भन्ने पनि अहिलेको प्रमुख चासोको विषय बनेको छ । यस भाइरसको फैलावट इटलीमा हरेक चार दिनमा दोब्बर भएको देखिन्छ भने स्पेन र अमेरिकामा हरेक तीनदिनमा दोब्बर भइरहेको छ । 

रोगको परीक्षण

अहिले गणनामा देखिएको संख्या सबै संक्रमितहरुको संख्या नभएर थाहा भएको अथवा निश्चित गरिएको संक्रमणको मात्रै हो । त्यसैले अहिलेको अवस्थामा सक्रमित भएका तर परीक्षण नगरिएकाको संख्या धेरै हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । त्यस्तो व्यक्तिबाट संक्रमण अझै फैलिनसक्ने कारण देखाएर विश्व स्वास्थ्य संगठनले सकेसम्म धेरै जनाको परीक्षण गर्नुपर्नेमा जोड दिदैँआएको छ ।

यकिन तथ्यांक आएमा यो रोगका बारेमा बुझ्न अझै सजिलो हुन्छ र रोकथामका लागि प्रमाणमा आधारित जनस्वास्थ्य उपायहरु प्रयोग गर्न मद्दत गर्छ ।  दक्षिण कोरियामा भाइरस फैलिएपछि धेरै परीक्षण गरिएको थियो । त्यसमा प्रतिदिन १० हजार मानिसको परीक्षण गरिएको थियो भने जम्मा २ लाख ५९ हजार जनाको परीक्षण गरिएको थियो ।

तीमध्ये ८ हजारमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको थियो । उनीहरुलाई तुरुन्तै क्वारेन्टाइनमा राखिएको थियो । छिमेकी राष्ट्र भारतमा भने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार मार्च १३ सम्म कोरोना भाइरसको आशंकामा जम्मा ५ हजार ९०० जनाको परीक्षण गरिएको थियो । तीमध्ये ७८ जनामा संक्रमण भएको भेटिएको थियो । विश्वको दोस्रो ठूलो जनसंख्या १ अर्ब ३० करोड रहेको देशमा यतिको मात्रै परीक्षण हुनु एकदमै कम संख्या हो । यसैकारणले अहिलेसम्म भारतमा कमै मात्रामा संक्रमित भएको अनुमान गरिएको छ । यसले गर्दा धेरै संक्रमितहरु अझै पनि स्वतन्त्ररुपमा घर बाहिर हिँडडुल गरिरहेका छन् भन्ने अनुमान लगाउन सकिन्छ । 

नेपालमा कोरोना भाइरस

नेपालमा अहिलेसम्ममा जम्मा एक जनामा मात्रै कोरोना भाइरस देखापरेको छ । ती संक्रमितलाई पनि सामान्य क्वारेन्टाइनमा राखेपछि निको भइसकेको छ । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ मार्चसम्ममा जम्मा ४ सय ७७ जनामा यो रोगको परीक्षण गरिएको छ । नेपालमा अहिले कोरोना भाइरस संक्रमितको संख्या निकै कम देखिएको कारण परीक्षणै थोरैको भएको अनुमान सहजै गर्न सकिन्छ ।

साथै, फल्स नेगेटिभ रिजल्टको कारणले पनि हुनसक्छ । फल्स नेगेटिभ रिजल्ट भनेको सुरुको परीक्षणमा नकारात्मक नतिजा आउनु र पुनः दोहो¥याएर गर्दा सकारात्मक नतिजा आउनु हो । चीनमा गरिएको डिफिकल्ट इन फल्स नेगेटिभ डाइग्नोसिस अफ कोरोना डिजिज, २०१९ को घटना विवरणको अध्ययनअनुसार पनि कोभिड– १९ बाट संक्रमितहरुमा फल्स नेगेटिभ आउनुको कारण विभिन्न रहेको पाइन्छ ।

पहिलो कारण भनेको रोग लागेको पहिलो अवस्थामा एकदमै कम भाइरसको संख्या (लो भाइरल लोड) रहेको हुन्छ । दोस्रो कारण भनेको श्वासपश्वाससम्बन्धी समस्या कम हुनाले रोगीको घाँटी र मुखमा थोरै भाइरसको संख्या हुनसक्छ ।  तेस्रो कारण नमुना संकलनमा समस्या जस्तै नमुनाको मात्रा एकदमै कम हुनु । चौथो कारण नमुना तथा परीक्षण सामग्रीलाई राम्रोसँग परीक्षण र ढुवानी गर्न नसक्नु हो भने पाँचौ कारण परीक्षणमा प्राविधिक समस्या हुनु हो । 

विश्व स्वास्थ्य संगठनले मार्च १५ मा प्रकाशन गरेको ‘फ्याक्ट सिट फर हेल्थ केयर प्रोभाइडर्स’अनुसार पनि माथि लेखिएको कारणले पनि ‘फल्स नेगेटिभ’ आउन सक्ने हुनाले रोग र रोगीको वैज्ञानिक अवस्थाअनुसार थप परीक्षण गर्न सल्लाह दिएको छ । त्यसका साथै विश्व स्वाथ्य संगठनको ‘गाइड फर ल्याब्रोटोरी टेस्टिङ अफ कोभिड–१९’ मा पनि एउटा र थप नेगेटिभ रिजल्ट आउँदैमा कोरोना भाइरसको संक्रमणको संम्भावनालाई खारेज गर्न मिल्दैन भनिएको छ । 

नेपालको जनसांख्यिक वितरण हेर्ने हो भने वयस्क र वृद्धभन्दा युवा उमेरको जनसंख्या धेरै छ । यसको आधारमा हेर्ने हो भने नेपालमा अरु देशको तुलनामा संक्रमण र मृत्यु कम हुन सक्ने अनुमान गर्न सकिन्छ । चीनको जनसांख्यिक वितरण हेर्ने हो भने तुलनात्मकरुपमा त्यहाँ वयस्क र वृद्धको जनसंख्या नेपालको भन्दा बढी देखिन्छ । त्यस्तै अहिले १९ मार्चसम्ममा सबैभन्दा बढी कोरोना भाइरसको कारणले मृत्युहुने संख्या भएको देश इटली वृद्ध जनसंख्याको अनुपात संसारको दोस्रो ठूलो भएको देश हो । 

नेपालको स्वास्थ्य तथ्यांक 

विश्व बैंकको तथ्यांकअनुसार २०१७ सम्ममा प्रत्येक १० हजार नेपालीको लागि सात जना डाक्टर छन् भने २७ जना नर्स र तीन हस्पिटल बेड छन् । त्यसैगरी २०१५ मा प्रकाशन भएको मर्थी र साथीहरूको अध्ययनका आधारमा प्रत्येक एक लाख नेपालीलाई १.६७ प्रतिशत आईसीयु बेड छ । त्यसका साथै राम्रो निगरानी पद्धति (सर्भाइलेन्स सिस्टम) को अभावले रोगीहरुको सम्पर्कमा आएका मानिसहरुको ‘ट्रयाकिङ’ गर्न अप्ठेरो पनि छ । यसका साथै प्रदूषण, खाना पकाउन दाउराको प्रयोग, धुम्रपानको कारणले गर्दा पनि धेरै नेपाली जनसंख्या सास फेर्न गाह्रो हुने ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’ (सीओपीडी), दम, क्षयरोग र अन्य श्वासप्रस्वाससम्बन्धी रोग पहिले नै हुनाले ज्येष्ठ नागरिक अझ बढी यस रोगबाट सचेत हुनपर्ने देखिन्छ । त्यसैले नेपालको कमजोर स्वास्थ्य प्रणालीको आधारमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भन्न सकिन्छ । 

रोकथामका उपायहरु

आफू र अरुलाई बचाउने सबैभन्दा प्रभावकारी रोकथामको तरिका साबुन पानीले बारम्बार हात धुने, खोक्दा र हाछिउँ गर्दा कुहिना अथवा रुमालले मुख छोप्ने र मुख छोपेको रुमाल सकेसम्म परिर्वतन गरिहाल्ने अथवा सफागरी राख्ने हो ।  

यो मुख्यरूपमा थुकबाट सर्ने रोग हो । थुक एक मिटरसम्म फैलिने हुनाले दुई जनाका बीचमा कम्तीमा पनि एक मिटरको दूरी बनाउने । हातले संक्रमित ठाउँ छुनसक्ने हुनाले सकेसम्म बाहिर हिँड्दा आँखा, मुख र नाक नछुने । धेरै मान्छे हुने भिड, सभा, सम्मेलन र भोजजस्ता कार्यक्रम नगर्ने र नजाने । यसो गर्नाले आफूमात्रै सुरक्षित नभई आफ्नो परिवार र अरुलाई पनि रोग फैलाउनबाट रोक्न सकिन्छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा अप्ठेरो भए अथवा सन्चो नभएकोजस्तो भए घरै बस्ने र स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्ने । मास्कको प्रयोगले अहिलेसम्म संक्रमण रोक्ने भन्ने तथ्यांक एकदमै कम भएको हुनाले विश्व स्वास्थ्य संगठनले मास्क बिरामी भएको अवस्थामा मात्रै प्रयोग गर्ने र मास्कको जथाभावी प्रयोगमा रोक ल्याउने भनेको छ । त्यसो गर्नाले बजारमा बिरामीको लागि र स्वास्थ्यकर्मीको लागि मास्कको कमी नहुन रोक्न सकिन्छ र मास्कको प्रयोग गरे पनि हरेकपटक मास्क फेर्ने र प्रयोग गरेको मास्क राम्ररी फाल्ने अथवा सफागरी राख्ने । 

प्रायः प्रयोगगरी राख्ने ठाँउ जस्तैः ढोका, बत्तीको स्विच, भ¥याङको रेलिङजस्ता ठाउँहरु बारम्बार सफागरी राख्ने । विश्व स्वास्थ्य संगठनका अनुसार काँचो मासु, दूधलाई संक्रमित हुन नदिने र राम्रोसँग प्रयोग गर्ने तथा काँचो र राम्रोसँग नपाकेको मासु नखाने । 

सकेसम्म भरपर्दो स्रोत विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालयबाट आएको खबरमा मात्र विश्वास गरौँ । भर पर्न नसकिने स्रोतको समाचार र हल्लामा विश्वास नगरौँ । यसबाट जनमानसमा त्रास कम हुनुको साथै भरपर्दो समाचार सबैले पाउनेछन् । 

कोरोना भाइरसका थप कुरा

विभिन्न क्लिनिक ट्रायलहरु भए पनि आजको दिनसम्ममा कोरोना भाइरसको उपचारका लागि औषधि बनिसकेको छैन । कोरोना भाइरस सरुवा रोग भएको हुनाले एन्टिबाओटिकको प्रयोगले यो रोग निको हुँदैन । तर पनि संक्रमित व्यक्तिलाई अरु ब्याक्टेरियल इन्फेक्सन भएमा एन्टिबाओटिक प्रयोग गरिन्छ । 
लसुन, अदुआ र बेसारजस्ता खानेकुरा स्वास्थ्यको लागि राम्रो मानिए पनि अहिले यस्को प्रयोगले कोरोना भाइरसबाट संक्रमण हुने सम्भावना कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन । 

कोरोनाभाइरसको भ्याक्सिनको पहिलो चरणको मानव परीक्षण सुरु हुनु खुसीको विषय हो । तर, यो भ्याक्सिनको सुरक्षा परीक्षण राम्रोसँग भए पनि यसलाई सर्वसुलभ बनाउन कम्तीमा १८ महिना लाग्ने भ्याक्सिन निर्माताहरुले भन्दैआएका छन् । 
कोरोनाभाइरस लामखुट्टेको टोकाइबाट सर्ने आजसम्म कुनै पनि अध्ययन र अनुसन्धानले देखाएको छैन । 

अहिलेसम्मको प्रमाणअनुसार कोरोनाभाइरस सबैखाले मौसममा सर्छ । 

इपिडेमिलोजिस्ट तथा जनस्वास्थ्य विज्ञ । हाल हेल्मोट्ज एसोसिएसन अफ जर्मन रिसर्च सेन्टर, जर्मनीमा इपिडेमिलोजिस्टका रूपमा अनुसन्धानरत ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC