खुशवन्त सिंहको लेखनमा त्यस्तो के थियो, कि पाठक उनलाई यति धेरै पढ्थे ? सायद यसको कारण थियो अंग्रेजी भाषाका साथ उनको खेलवाड र उनको विषय चयन । उनी यस्तो भाषा लेख्थे जुन आम बोलिचालीको निकै नजिक रहन्थ्यो ।
त्यसो त खुशवन्त सिंह आफैं पनि मान्थे कि उनी कुनै महान् लेखक होनन् । र उनी सायद थिएनन् पनि । तर, उनको प्रख्यातिको सबैभन्दा ठूलो कारण थियो, कि उनी आफ्ना पाठकहरूका लागि लेख्थे, आफ्नो लागि होइन । चर्चित पत्रकार जग सुरैया बताउँछन्, “खुशवन्त छापिने पृष्ठको आयतनमा बाँधिन्थेनन् ।
यस्तो लाग्थ्यो उनी तपाईको काँधमा हात राखेर केही कुरा गरिरहेका छन् । यति नजिक, कि तपाईले उनको स्कचको गन्ध पनि महसुस गरिरहनु भएको हुनसक्छ ।’’
त्यसो त उनी आफ्नो उपन्यास ‘ट्रेन टु पाकिस्तान’ र चर्चित पुस्तक ‘अ हिस्ट्री अफ सिख’ बाटै लोकप्रिय भएका थिए । तथापि उनलाई सही प्रख्याति ‘इलेस्ट्रेटेड विकली’ को सम्पादकका रूपमा मिलेको थियो ।
खुशवन्त सिंहको रेखदेखमा आफ्नो पत्रकारिता जीवन प्रारम्भ गरेका एम.जे. अकबर बताउँछन्, “हरेक दिन अफिसमा उनीबाट पाइने लामो सूची हेर्नु नै पनि बडो चित्ताकर्षक हुन्थ्यो । उनको मातहत काम गर्दा हामी जस्ता ढंग नभएका युवाहरूका लागि टि सर्ट र लुज पाइन्ट पनि एउटा विशिष्ट र आत्मविश्वासको मेलसहितको पहिरन बनेको थियो ।”
स्टाफसँग जोडदार हाँसो हास्ने खुशवन्त
‘इलस्ट्रेटेड विकली’ मा खुशवन्त सिंहका साथ काम गर्ने कैयन पत्रकारहरूले आफ्नो संस्मरण लेखेका छन् । तिनमै थिए एक चर्चित पत्रकार, जिग्स कालरा ।
त्यो समयमा टाइम्स अफ इन्डियाका खरो स्वभावका सम्पादक श्यामलालको आतंकको कथा चुलीमा थियो । उनी आफ्नो ट्रेनी (सिकारु) पत्रकारहरूद्वारा लेखिएको कागज केही नहेरेरै डस्टबिनमा फेक्न नामुद थिए ।
जिग्स कालरा लेख्छन्, “कुनै आश्चर्य हुन्थेन, आफ्नो बौद्धिकताको हौवा खडा नगर्ने र हमेसा हाँसो खुसीको वातावरण बनाएर राख्ने खुशवन्त सिंहलाई म र मेरा साथी हिरोजस्तै पुज्थ्यौं । उनीसँग भेट कहिले पनि गाह्रो अप्ठ्यारो भएन । उनको ढोका खोल्नुस्, कुनै चुटकुला सुनाउनुस् । त्यसपछि उनकासाथै सारा स्टाफ ठहाका (जोडदार हाँसो) लगाउँथे ।”
टिमका सदस्यका लागि प्रशासनसँग लडाइँ
एक पटक खुशवन्त सिंहले कालरालाई नासिक पुलिस एकेडेमी माथि रिपोर्ट तयार गर्नका लागि नासिक पठाए ।
कालरा लेख्छन्, “म ट्रेनको भाडा र दैनिक भत्ता लिनका लागि लेखा शाखाका बाबु नजिक गएँ । उनले मलाई थर्ड क्लासको टिकटको भाडा र १५ रुपैयाँ दैनिकका हिसाबले भत्ता दिन लागे । मैले उनको मुखमै पैसा मारेँ र फर्किएँ । खुशवन्त सिंहको अगाडि गएर भनेँ, ‘म नासिक जान पाउँदिन’ । उनले ‘किन ?’ भनेर सोधे ।
मेरो जवाफ थियो, ‘विकलीको प्रतिनिधिलाई थर्ड क्लासको डिब्बाबाट झर्दै गरेको देखेर आतिथेयले के सोच्लान् ? त्यसबेलासम्म खुशवन्त सिंहलाई टाइम्स अफ इन्डियाको कन्जुसी थाहा थिएन । उनले तत्काल एउटा चिट पठाएर भने, ‘मेरो टिमका कुनै पनि सदस्य यस्तो गरिबीमा यात्रा गर्दैनन् ।’ घन्टाभरमै मैले आफूले चाहे अनुसारकाको टिकट र राम्रो यात्रा शुल्क (भत्ता) पाएँ ।”
नरगिसका साथ ठट्टा
खुशवन्त सिंहको हाजिर जवाफी, ठट्टा गर्ने बानी र शरारती शैलीका कारण प्रायः उनलाई त्यस्तै सम्झिन्थे मानिस– मानौ उनी रक्सी, युवती र यसैसँग जोडिएका विषयका अतिरिक्त अरु केही कुरा गर्दैनन् ।
रमाइलो कुरा त के छ भने खुशवन्त सिंहले कहिले पनि आफ्नो यो छविलाई बदल्ने प्रयत्न गरेनन् । उनलाई आफूमाथि कथिएका यस्ता कथा कहानी फैलाउनमा खुबै आनन्द आउँथ्यो । उनले आफ्नो यस छविलाई आफ्नै तरिकाले व्यवस्थापन गरेका थिए ।
एक पटक चर्चित अभिनेतृ नरगिस दत्त कसौली निकट रहेको लारेन्स स्कुलमा पढ्दै गरेका आफ्ना छोरा सन्जय दत्तसँग भेट्न जाँदैथिइन् । उनलाई थाहा थियो कसौलीमा खुशवन्त सिंहको एउटा घर छ । उनले खुशवन्तसँग सोधिन्, ‘के उनको घरमा एक दिन बस्न सक्छु ?’
हाजिरजवाफी खुशवन्त सिंहले पनि जवाफ दिएछन् ‘मात्र एउटा सर्तमा, तपाईंले मलाई यो भन्ने अधिकार दिनु पर्नेछ, तपाई मेरो ओच्छ्यानमा सुत्नु भएको छ ।’
नरगिस यो सुन्नासाथ जोडले हाँसिन् । र खुशवन्त सिंहको यो भनाई स्वीकार्दै आफ्नो हात उनीतिर बढाइ दिइन् ।
निजी जिन्दगीमा पुरानो सोचका खुशवन्त
खुशवन्त सिंहका छोरा राहुल सिंह मान्छन् कि माथिबाट उनी आधुनिक लाग्दथे, तर हृदयले उनी धेरै नै रुढिवादी व्यक्ति थिए ।
उनले एउटा प्रसंग सुनाए, “एक समय हाम्रो घरको माथिल्लो तलामा एउटी सुन्दर युवती बस्थिन् । उनी एक अफगानी राजनीतिक व्यक्तिकी छोरी थिइन् । हामी एक अर्काप्रति आकर्षित भएका थियौं ।”
“जब उनका आमा बाबु बाहिर जान्थे, उनी मलाई फोन गरेर भन्थिन्– बाटो सफा छ । म उनी कहाँ जान्थेँ । यसरी उनीसँगको मेरो लुकिछिपी भेटघाट, मेरा बुवासँग लुक्न सकेन । एक दिन उहाँले मलाई गाली गर्नुभयो, ‘तिमी यी पठानहरूलाई चिन्दैनौ । कुनै दिन समातियौ भने ती केटीका बाउले तिमीलाई जिउँदो छोड्ने छैनन् ।”
एक पटक उहाँसँग सोधियो, ‘एकातिर तपाई रक्सीको सौखिन हुनुहुन्छ र अर्को तर्फ गम्भीर लेखक । तपाईले यी दुवैमा कसरी तालमेल मिलाउनु हुन्छ ?’ खुशवन्त सिंहको जवाफ थियो, “यसमा कुनै शंका छैन कि म रक्सीको सौखिन मानिस हुँ ।
म यसलाई लुकाउँदिन पनि । तर म यस्ता राजनीतिज्ञहरूलाई चिन्दछु जो रक्सीका सौखिन छन् । तर, सबैसँग लुकाएर पिउँछन् । उनीहरू स्कचमा क्याम्पाकोला मिसाएर पिउँछन् र दुवैको सत्यनाश गरिदिन्छन् । मलाई सुन्दर महिलाहरूको साथ रुचीकर लाग्छ । मेरो लामो उमेरको रहस्य पनि यही हो, म जवान महिलाहरूका साथ रहन्छु ।”
“धेरैलाई थाहा छ, ३० वर्षको उमेरदेखि लेख्न सुरु गरेको यो व्यक्तिले ८० भन्दा बढी किताब लेखेको छ । त्यसैले मैले सारा समय मोज गर्नमा र रक्सी पिउनमा नै त खर्च गरिनँ होला !”
मृत व्यक्तिको कमजोरीे चर्चा
खुशवन्त सिंहको लेखनको एउटा अर्को सुरुचीकर पाटो थियो, कोही मृत व्यक्तिका विषयमा संस्मरण वा श्रद्धाञ्जलि लेख्दाको समय उनी तिनका कमजोरीहरू वा गलत बानीको चर्चा गर्नलाई हिच्किचाउँथेनन् । उनको यो धारणामा विश्वास थिएन कि मरेका मानिसको आलोचना हुनुहुँदैन ।
उनी मान्थे कि एक सार्वजनिक व्यक्ति, उनको निकट मित्र नै किन नहोस्, तिनको मूल्याँकन सही हुनुपर्छ ।
एक पटक उनले आफ्नो समयमा जिग्री मित्र रहेका रजनी पटेलको छविलाई धुजाधुजा पारेर मात्र लेखेनन्, तिनको विलासिता भरिएको जीवनशैली र प्रेमप्रसंगको व्यहोरा दिँदै उनलाई एउटा ‘ढोंगी’ व्यक्तिका रुपमा प्रस्तुत गरे । त्यसले रजनी पटेलकी पत्नी बकुल पटेल खुशवन्त सिंहसँग यति रिसाइन कि उनले आपसमा कुराकानी नै बन्द गरिदिइन् ।
पद्मभूषण फर्काए
खुशवन्त सिंहले आफ्नो करिअरको प्रारम्भदेखि नै धर्मसँग दूरी बनाएका थिए । तर उनलाई सिख धार्मिक संगीत र किर्तन सुन्ने शोख थियो । एक पटक उनले भनेका थिए कि उनी सिख धर्मको बाहिरी प्रतीकहरूलाई यस कारण पनि धारण गर्छन्, किनकि यसले त्यसमा जोडिएको भाव आउँछ ।
सिख कट्टरताको सबैभन्दा खराब समयमा उनले भिंडरावालेका विरुद्ध खुलेर लेखे । तर जब इन्दिरा गान्धीले स्वर्ण मन्दिरमा भारतीय सेना पठाइन्, त्यसबखत विरोध स्वरुप उनले ‘पद्मभूषण’ सरकारलाई फर्काई दिए ।
धर्ममा आस्था नहुँदा नहुँदै पनि सिंखहरूको यति प्रामाणिक इतिहास लेखे, जसको दृष्टान्त आजसम्म अरु कतै भेटिएको छैन । ‘हिस्ट्र अफ सिख’ लेखे पछि उनले त्यसको अन्त्य ल्याटिनको दुई शब्दबाट गरेका थिए, जसको अर्थ हुन्थ्यो, ‘मेरो जीवनको काम पूरा भयो ।’ (रेहान फजल/बीबीसी)