नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसबाट राजीनामा दिएका २२ सांसद सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) प्रवेश गरेका छन् । यसअघि कांग्रेसका पूर्वनेता ज्योतिरादित्य सिन्धियासँगै राजीनामा बुझाएका ६ मन्त्रीसहित २२ सांसद शनिबार बीजेपी प्रवेश गरेको हुन् ।
कांग्रेसका २२ सांसदले राजीनामा दिएसँगै मध्यप्रदेशको कमल नाथ नेतृत्वको सरकार अल्पमतमा परेको थियो । शुक्रबार कमलनाथले पनि मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
ज्योतिरादित्य सिन्धिया यसअघि नै बीजेपी प्रवेश गरिसकेका छन् । पार्टी प्रवेश समारोहमा उपस्थित सिन्धियाले भने, "हाम्रा २२ सांसदले आज बीजेपी प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष जेपी नाडाको आर्शीवाद रहनेछ । सबैले टिकट पाउनेछन् । अध्यक्ष नाडाले हामीलाई सम्मानसाथ व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।"
मध्यप्रदेशका सभामुख एनपी प्रजापतिले शनिबार बिहान ५ मन्त्रीसहित २२ सांसदको राजीनामा स्वीकृत गरेका थिए । - डीएनए इन्डिया