Skip Advt.

‘डाइलग कोच’ बिनाका नेपाली चलचित्र 

‘डाइलग कोच’ बिनाका नेपाली चलचित्र 

काठमाडौं । नेपाली चलचित्रले आधा शताब्दी लामो इतिहास बोकिसके पनि विश्व चलचित्र बजारमा कलिउडको अवस्था अझै कमजोर छ । न्यून पूर्वाधारमा चलचित्र बनिरहेका छन् । बनेका चलचित्रले पनि विश्व चलचित्रले अपनाउँदै आएका सामान्य फर्म्याट पनि अपनाएको छैनन् । 

उत्कृष्ट चलचित्र निर्माणका लागि हलिउड तथा बलिउडले अपनाउने गरेका फर्म्याट नेपाली चलचित्रकर्मीले अपनाएको पाइँदैन । विश्व चलचित्र बजारमा डाइलग कोच, साउन्ड स्क्रिप्टको प्रचलन सुरु भएको धेरै भइसक्यो । तर नेपाली चलचित्रकर्मीले यसको सुरुवात अझै गर्न सकेका छैनन् । 

प्रोडक्सन डिजाइनर र आर्ट डिजाइनर अझै पनि धेरै नेपाली चलचित्रले राख्ने गरेका छैनन् । यद्यपि केही चलचित्रले भने यसको प्रयोग गर्न थालेका छन् । 

चलचित्र निर्माण कै अभिन्न अङ्ग डाइलग कोचविनै नेपाली चलचित्र निर्माण भइरहेको निर्देशक नवीन सुब्बा बताउँछन् । चलचित्रमा साउन्ड ७० प्रतिशतसम्म मानिन्छ । डाइलग साउन्डअन्तर्गत नै पर्छ । तर नेपाली चलचित्र उद्योगले यसैलाई नजरअन्दाज गरिरहेको छ । 

“चलचित्र निर्माण फ्याक्ट्रीमा चाउचाउ उत्पादन गरेजस्तो सजिलो छैन । यसका लागि समय लाग्छ । समयसँगै केही परिवर्तन आउँछ । र त्यसलाई पछ्याउँदै जानुपर्छ,” निर्देशक सुब्बा भन्छन्, “हामीले नेपालमा केही नयाँ अवधारणा सुरु ग¥यौं । कास्टिङ डाइरेक्टर लिने चलन मेरै चलचित्रबाट सुरु भएको हो । तर यहाँ इतिहास मेट्ने काम भएको छ । मैले सुरु गरेको करिब एक दशकपछि अरुले सुरु गरेका हुन् । वर्कसप गर्ने चलन पनि हामीले नै सुरु गरेका हौं ।”

वर्कसपमा पर्याप्त तयारी गरे चलचित्रको बजेटमा कमी आउँछ । तर अझै पनि नेपाली चलचित्र उद्योगमा वर्कसपमा लामो समय खर्चिने चलचित्र अझै न्यून छन् । 

“भन्नलाई यहाँ हामीले चलचित्रमा क्रान्ति ग¥यौं भनिरहेका छौं । तर होइन । नेपाली चलचित्रको हरिविजोग छ । प्रोडक्सन डिजाइनर छैन, आर्ट डिभिजन छैन । आर्ट डिभिजनभित्र कतिवटा सब–डिभिजन हुन्छ भन्ने पनि थाहा छैन,” उनी भन्छन्, “यस्तो क्षेत्रमा हामी छौं । मलाई मेरो चलचित्रमा डाइलग कोच चाहिएको छ । तर डाइलग कोच भनेको नै के हो यहाँ थाहै छैन । चलचित्रलाई प्रभावकारी अभिव्यक्तिको माध्यम बनाउने र यसलाई चलचित्र उद्योगका रूपमा उकास्ने हो भने धेरै काम गर्न बाँकी छ ।” 

नेपाली चलचित्रलाई प्रतिस्पर्धी, व्यावसायिक बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन् । 

नेपालमा साउन्डको स्क्रिप्ट पनि लेखिँदैन । विश्वका ठूला चलचित्र उद्योगमा साउन्डको स्क्रिप्ट नै लेखिन्छ । स्क्रिप्ट लेखनमै साउन्ड डिजाइनर बस्छन् । स्क्रिप्ट तयार भइसक्दा साउन्डको स्क्रिप्ट पनि तयार हुने निर्देशक विनोद पौडेल बताउँछन् । 

“ठूला चलचित्र उद्योगमा साउन्ड डिजाइनरले साउन्ड स्क्रिप्ट लेख्छ । तर नेपालमा आजसम्म कुनै पनि चलचित्रमा साउन्डको स्क्रिप्ट लेखेको पाइएको छैन । साउन्ड डिजाइनरको स्क्रिप्ट प्रोडक्सन डिजाइनर र निर्देशकको भिजनसँग मिलेपछि साउन्ड डिजाइनरले काम गर्ने ठूला चलचित्र उद्योगमा परिपाटी छ,” विनोद भन्छन् । 

प्रि–प्रोडक्सनदेखि नै साउन्ड डिजाइनरले काम गर्नुपर्ने भए पनि नेपालमा पोस्ट प्रोडक्सनको पनि अन्तिममा रिलिजको दुई साताअगाडि मात्रै साउन्ड डिजाइनरलाई चलचित्र दिने गरेको विनोदको भनाइ छ । 

नेपालमा सिङ्क साउन्ड र फोलीको काम पनि अपवादकै रूपमा हुने गरेको छ । ठूला चलचित्र उद्योगमा सिङ्क साउन्ड, फोली, डबिङ, ब्याकग्राउन्ड, फाइनल मिक्सको काम फरक–फरक स्टुडियोमा हुने गरे पनि नेपालमा ५÷६ स्टुडियोको काम एउटै स्टुडियोले गर्दै आएको छ । यसको असर चलचित्रसँगै सिङ्गो नेपाली चलचित्र उद्योगमै परेको छ । यद्यपि चलचित्र उद्योगमा नयाँ प्रयोग गर्दै स्तरीय चलचित्र निर्माणमा भने खासै ध्यान नदिइएको र यही नै मुख्य कमजोरी भएको स्वयं चलचित्रकर्मीहरू नै बताउँदै आएका छन् ।
 

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad