काठमाडौं । १२ वर्ष अगाडि कञ्चनपुरको सदरमुकामस्थित खुलामञ्चको प्यारापिटमा प्रायः देखिन्थे, अर्पण कार्की । सधैंजसो बेलुका खुलामञ्चको प्यारापिटमा बस्नु उनको दैनिकी बनेको थियो ।
बुझेका थिएनन्, उनले फुटबल । तर, दाजु आशिष कार्कीले फुटबल खेलेको हेर्न अर्पण सधैं खुलामञ्च धाउँथे । स्कुलबाट घर फर्केपछि उनी गृहकार्य गर्थे । त्यसपछिको दोस्रो काम भान्साका भाँडाकुँडा माझ्नु थियो । जति छिटो उनी गृहकार्य र भाँडामाझी सक्थे त्यती नै छिटो अर्पण फुटबल हेर्न जान पाउँथे । भाँडामाझ्नु, अर्पणको बाध्यता थिएन, थियो त केवल आमालाई फकाउँदै फुटबल हेर्न जाने सुत्र ।
अर्पणले फुटबल नबुझे पनि दाजुलाई चिनेका र बुझेका थिए । गोलपोस्टमा बसेर दाजुले बल रोक्दा प्यारापिटमा बसेका अर्पण खुबै रमाउँथे । उनलाई त्यतीबेलासम्म फुटबलका अन्य पोजिसनको बारेमा थाहा थिएन, जतिबेला उनी हातमा ग्लोभ्स र खुट्टमा बुट लगाएर मैदान छिरे । उनलाई मात्र थाहा थियो, बल रोक्नु ।
दाजु आशिषको ‘आशीष’
गोलरक्षकको भूमिकामा मैदान उत्रिने गरेका दाजु आशिषले भूमिका बदल्ने निर्णय गरे । गोलरक्षकको भूमिका गाह्रो भएकोभन्दै स्ट्राइकरको भूमिकामा मैदानमा देखिन थाले । गोलरक्षकको स्थान खाली भयो । दाजुले पहिलेदेखि निभाउँदै आएको गोलरक्षकको भूमिकामा आफूलाई खेलाउन अर्पणले आग्रह गरे । तर, दाजु आशिषले अर्पणलाई गोलरक्षकमा खेल्न सक्छ भन्ने विश्वास नै लिएका थिएनन् ।
“दाजुले छोडेपछि गोलरक्षकमा मलाई खेल्न मन लाग्यो । मैले दाजुलाई भने । सुरुमा मलाई खेल्न सक्छ भन्ने सोचेकै थिएनन्” अर्पणले भने, “त्यो समय म डल्ले थिए । त्यसैले होला सुरुमा मलाई विश्वास नगरेको । पछि दाजुले प्रशिक्षक पुस्कर शाहीसँग कुरा गरेपछि मैले खेल्ने मौका पाएँ ।”
अर्पण आफ्नो फुटबल जीवनको पहिलो गुरु दाजु आशिषलाई मान्छन् । फुटबलका लागि दिएको साथ र गोलरक्षकको रथ अर्पणका लागि आशीष हुन् । “म गोलरक्षकमा आउनुको मुख्य कारण दाजुले उक्त भूमिका छोड्नु हो । यदि दाजुले गोलरक्षक नखेलेको भए, म स्ट्राइकर बन्थे होला” अर्पणले हाँस्दै भने ।
दाजुले नसकेर छोड्नु परेकोमा अर्पणको मन पोलिरहन्छ । “दाजुले छोड्दा मलाई पीडा भएको थियो । त्यसपछि मैले दाजुका लागि भएपनि गोलरक्षक नै खेल्नुपर्छ भन्ने लाग्यो । त्यसैले नि होला दाजुको ‘आशीष’ सधैं रहिरहनेछ,” अर्पणले भने ।
त्यसपछि दाजु आशिष स्ट्राइकर र भाइ गोलरक्षक बन्दै खेतमै खेल्न थाले । खेतमा सानो पोस्ट बनाउँदै आशिषले प्रहार गरेको बल रोकेको अपर्णलाई अझै सम्झना छ । आशिषले विस्तारै पढाइलाई प्राथमिकता दिँदै फुटबलप्रतिको माया त्याग्दै गए ।
दसैंको सपिङ ‘बुट र ग्लभ्स’
अर्पणले महेन्द्रनगरको खुलामञ्चमा पाँच वर्ष बिताए । आठ वर्षको हुँदा फुटबल सुरु गरेका अर्पणले दसैं–तिहारमा कहिले सपिङ गरेनन् । उनले मेला महोत्सवमा दाजुकै पुराना लुगा लगाएर जान्थे ।
“मध्यम परिवारमा जन्मे–हुर्केकाले नयाँ लुगा किन्न दसैं–तिहार नै कुर्नुपथ्र्यो” अर्पणले भने, “दसैं–तिहारमा मैले दाजुकै पुराना लुगा लगाए । त्यसको सट्टा मैले बुट र ग्लभ्स किनी मागे ।”
अर्पणले ती दिन सम्झिए, “मामा आउँदासमेत मैले बुट र ग्लभ्स नै मागे । मैले १० औं पटक च्यातिएको जुत्ता र ग्लभ्स सिलाएर लगाएको छु ।” पाँच वर्ष खुलामञ्चमा प्रशिक्षक शाहीसँग सिक्दा फुटबल उनको लत नै बनिसकेको थियो ।
त्यसपछि जिल्ला छनोट हुँदै धनगढीमा भएको क्षेत्रीय छनोटबाट काठमाडौं पुगे । काठमाडौंमा भएको छनोटबाट उनी सन् २०१४ मा एन्फा एकेडेमीमा छिरे ।
कप्तानीमा स्वर्ण
सन् २०१४ मा एन्फा एकेडेमीमा छिरेपछि अर्पणले सबैखाले उमेर समूहका खेल खेलेका छन् । सन् २०१४ मा भारतको दिल्लीमा भएको ‘सुब्रतो कप’ उनका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । उक्त यू–१७ प्रतियोगिताका लागि नेपालले एन्फा एकेडेमीबाट प्रायः जसो १४ वर्ष मुनीका खेलाडी पठाएको थियो । तर उक्त प्रतियोगिताको नेपाल बलियो मानिएको ब्राजिलसँग क्वाटरफाइनलमा १–० गोलले पराजित हुँदै बाहिरिन पुग्यो ।
त्यसपछि उनले बंगलादेशमा आयोजना भएको यू–१६ साफ च्याम्पियनसिप खेले । त्यस्तै कीर्गिस्तानमा भएको यू–१६ एएफसी कप, काठमाडौंमा नै आयोजना भएको यू–१८ ललित स्मृती कप खेले ।
उनले सन् २०१८ मा भुटानमा आयोजना भएको यू–१८ साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले यू–१८ साफमा दोस्रो पटक उपाधि जितेको थियो ।
अर्पणको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेल भुटानसँग हार्यो । कुनै पनि उमेर समूहमा भुटानसँग अपराजित नेपाल अर्पणको कप्तानीमा १–० ले पराजित हुन पुगेको थियो । यही कुराले उनलाई झस्काइरहन्छ । त्यसपछि दोस्रो खेलमा माल्दिभ्सलाई २–० र तेस्रो खेलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्यो । अन्तिम खेलमा भारतलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो । अर्पणको कप्तानीमा नेपालले स्वर्ण जित्दा सहायक प्रशिक्षकमा उनका बाल्यकालका प्रशिक्षक पुस्कर शाही थिए । उनी आफ्ना बाल्यकालका प्रशिक्षकसँग टोलीको कप्तानी सम्हाल्दै स्वर्णको क्षण फुटबल जीवनकै ठूलो पल मान्दछन् । उनी बाल्यकालका प्रशिक्षकसँग देशका लागि स्वर्ण जित्दा आफुलाई भाग्यमानी ठान्दछन् ।
त्यसपछि उनले कीर्गिस्तानमा भएको एएफसी यू–१९ छनोट खेलेका थिए । उनी सम्मिलित नेपाली यू–२३ टोलीले घरेलु भूमिमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समेत स्वर्ण जितेको थियो ।
माल्दिभ्सबाट व्यवसायिक फुटबल यात्रा
आफ्नै कप्तानीमा नेपाललाई स्वर्ण पदक दिलाएपछि अर्पणको व्यवसायिक फुटबल यात्राले नयाँ मोड लियो । उनको साफको प्रदर्शनलाई हेर्दै सन् २०१८ मा माल्दिभ्सको ‘बी’ डिभिजन क्लबले लिगका लागि अनुबन्ध गर्यो ।
उनी जीवनकै पहिलो व्यवसायिक फुटबल खेल्न माल्दिभ्स पुगे । उनी उत्साहसँगै निरास पनि थिए । पहिलो पटक लिगसँगै उनी अन्तर्राष्ट्रिय लिग खेल्दै थिए । उनलाई आफूले पाएको अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्ताले पिरोलेको थियो । तर, लिगमा उनले सोचेभन्दा राम्रो प्रदर्शन रह्यो ।
प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गरेको टोलीले अन्तिम खेलमा भने निरास प्रदर्शन गर्यो । “प्रतियोगिताभर टोलीकै प्रदर्शन राम्रो रहेको थियो । तर, हामी अन्तिम खेलमा चुक्न पुग्यांै । जसले गर्दा टोली ए डिभिजनमा उक्लिनबाट रोकियो” अर्पणले भने, “मलाई अहिले मेरो डेब्यू लिगको अन्तिम खेल सधै सम्झाना आउँछ । त्यस खेल र लिगबाट धेरै सिकेको पनि छु ।”लिगको अन्तिम खेलमा हार्न पुग्यौं । जसले गर्दा ए डिभिजनमा उक्लिने अवसर गुमाए ।
लिग सकेर नेपाल फर्किएका अर्पणले गत वर्ष सहिद स्मारक ए डिभिजन लिग र भुटानको लिग खेले । उनले सहिद स्मारक ए डिभिजन लिग नेपाल पुलिस क्लबबाट खेलेका थिए । सुरुआती समयमा बेञ्चमै बिताएका अर्पणले पछिल्ला केही खेलमा भने अवसर पाएका थिए । उनले गत सिजन ए डिभिजन लिगका सात खेल खेलेका थिए ।
त्यसलगत्तै उनलाई भुटानको पारो फुटबल क्लबले बाङचुक स्मृति गोल्डकपका लागि अफर गरेको थियो । उनी पारोबाट भुटानको गोल्डकप खेल्न त्यतातिर पुगे ।
उनले यस वर्षको सिजनकोे सुरुवात माल्दिभ्सबाटै गरेका छन् ।
उपाधिमा ह्याट्रिक
भुटानलाई अर्पण आफ्नो दोस्रो घर ठान्दछन् । उनी अन्य देशभन्दा पहिले भुटानलाई सम्झिन्छन् । तीन पटक भुटानमा प्रतियोगिता खेल्दा उनले खाली हात फर्किनु परेको छैन । पहिलो पटक आफ्नै कप्तानीमा यू–१८ साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दिलाउँदा दोस्रो पटक भुटानको पारो क्लबबाट उपाधि जितेका थिए ।
गोल्डकपको उपाधि जित्दा अर्पण सम्मिलित पारोले नेपाली ए डिभिजन क्लब नेपाल आर्मी र थ्री स्टारलाई पराजित गरेको थियो । सेमिफाइनलमा आर्मीलाई पराजित गर्दा फाइनलमा थ्री स्टारलाई पराजित गर्दै उपाधि जितेका थिए ।
त्यसपछि उनी अनुबन्ध लम्ब्याउँदै पुनः भुटान प्रिमियर लिगका लागि पारोमै रहे । उनले पारोमा रहँदै लिगको उपाधि पनि जिते । यससँगै अर्पणले भुटानमा उपाधि ह्याट्रिक गरे ।
अर्पणको पास्टमा पिउने पानी सकिएको थियो । पोस्ट नजिकै प्यारापिटमा बसका दर्शकले उनलाई पानी ल्याएर राखिदिए । भुटानी दर्शकको अगाध माया अझै सम्झिरहन्छन् ।