site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सानो पर्दाका नायक
Sarbottam CementSarbottam Cement

परिवारको आकांक्षा डक्टरको थियो । भूषणको रहर केमा थियो ? उनैलाई थाहा थिएन, पछिसम्म पनि । परिवारको निर्देशन अवज्ञा गर्न सक्ने ल्याकत उनमा थिएन । विज्ञान पढ्न थाले । मनले नखाएको विज्ञानले उनको मन लोभ्याउन सकेन । राम्रो नतिजा आएन । सानैदेखि होस्टल बस्थे । सीधै गएर बुवालाई ‘म डक्टर हुन्नँ, मन छैन’ भन्ने हिम्मत थिएन ।

स्वेच्छाचारी ढंगले केही गर्न सक्ने समय थिएन । त्यसो गर्दा त्यतिबेलाका पिताश्रीहरूले ‘कि घर छाडेर जा नत्र भनेको मान्’ भन्थे ।

भूषणले आमाको सहारा लिए । विज्ञान विषय नपढ्ने कुरा आमामार्फत बुवासम्म पुर्याए । बूढानीलकण्ठ स्कुल पढ्ने भूषणलाई सामाजिक दबाब थियो । एक्लो सन्तान भएकाले सम्पूर्ण भार उनीमाथि थियो । अमृत साइन्स क्याम्पसमा भर्ना त भए तर त्यहाँ पढाइभन्दा सढाइ बढी हुँदो रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

परिवारलाई सामाजिक प्रतिष्ठाको सवाल थिएन । त्यसैले बुवा केही बोलेनन् । न हुन्छ भने, न हुन्न नै भने । 

भूषण भने जबर्जस्ती लादिएको विज्ञानको पहाडबाट बाहिर निस्किए र, सुरु गरे राजनीति, अर्थशास्त्र र अंग्रेजीको अध्ययन । चराझैं स्वतन्त्र भए ।

Global Ime bank

 

नौटंकी नै सही

पत्रकारिता पेसा भइसकको थिएन । स्वतन्त्र पत्रकारिता गर्ने स्वतन्त्र वातावरण पनि थिएन । स्वाभाविक थियो– भूषणले पनि म पत्रकार नै हुन्छु भनेर सोचेनन् । उनी अहिले पनि ‘म पत्रकार भएँ या भएकै छैन ?’ भन्ने अन्योलमै छन् ।

“पत्रकारिताको क्लासिकल मिनिङ पत्रिकामा समाचार लेख्नुमात्रै हो भनिन्थ्यो तर जुन बेला विद्युतीय सञ्चार माध्यमको परिकल्पना गर्दै त्यो प्रयोगमा आयो, त्यसमा स्वरको पनि आवश्यकता पर्यो । पछि टेलिभिजनमा लेखिएका शब्द र आवाजले मात्रै पुगेन, त्यसलाई भिजुअलमा पठाउन चित्र पनि चाहियो,” भूषण सम्झन्छन्, “मैले गरिरहेको पत्रकारिताको विधालाई क्लासिकल पत्रकारिता गरिरहेका कति पत्रकारहरूले नौटंकी पनि भनेको सुनें । नौटंकी नै सही– त्यही गरियो ।”

पछि टेलिभिजन पत्रकारिता सुरु भयो । भूषणलाई ‘नौटंकी’ भन्नेहरूले पनि त्यसलाई पछ्याए । विभिन्न विधाको संयोजन हुँदा टेलिभिजन पत्रकारिता फस्टायो ।

भूषणले त्यतिबेला फोटो खिच्न र धुलाउन सिकेका थिए । उनको नेपाली भाषा उतिसाह्रो राम्रो थिएन । पछि पत्रकारिताको बाटो समाउने निश्चित भएपछि मात्रै हो उनले नेपाली भाषामा सुधार गरेको । 

 

रमाइलो ‘सटायर’

बूढानीलकण्ठमा ‘भञ्ज्याङ’ नामक वार्षिक जर्नल निस्किन्थ्यो । अर्को साप्ताहिक भित्रे पत्रिका पनि प्रकाशन हुन्थ्यो । ‘भञ्ज्याङ’मा लेख लेख्ने र कभर डिजाइन गर्ने भूषणले भित्ते पत्रिकामा पनि केही लेख्थे । तर, त्यसमा लेख्न १० हप्ता कुुर्नुपर्थ्यो । उनको पत्रकारिता सुरुआत त्यहीँबाट भएको हो ।

पत्रकारिता गर्दा उनको छाती अभिमानले फुलेन । त्यो समय पत्रकारिताका लागि न ठाउँ थियो, न भविष्य नै । पत्रिकाका नाममा ‘गोर्खापत्र’ र ‘राइजिङ नेपाल’ मात्रै थिए । त्यसमा सीमित व्यक्तिमात्रै अटाउँथे । उनी स्कुलमा आइपुग्ने ‘न्युज विक’, ‘टाइम्स’ पढ्थे । 

तर, उनले लेख्ने पत्रिकामा न अनुसन्धानमूलक साम्रगी हुन्थे न व्यावसायिक पत्रकारिताको अभ्यास नै हुन्थ्यो । कसैको जीवनमा आधारित कथा वा त्यस्तै खालका सामग्री छापिन्थे ।

सन् १९६६ मा भूषणका बुवा टीकाभूषणले ‘माइतीघर’ चलचित्र बनाए । को–प्रोडेसरादेखि अभिनयसम्म उनका बुवाले गरेका थिए । ओठमा मन्द मुस्कान छर्दै भूषण सम्झन्छन्, “पछिसम्म पनि बुवा जिस्किँदै मलाई भन्नुहुन्यो– जिन्दगीमा मैले दुइटा गल्ती गरें– एउटा चलचित्र बनाएर, अर्को तँलाई जन्माएर ।”

\"\"

टेलिभिजन यात्रा

घरमा टेलिभिजन थियो । त्यसका सबै कार्यक्रम प्रायः हेर्ने भूषण टेलिभिजनमा काम गर्ने साथीहरूलाई यो पनि भएन, त्यो पनि भएन भनेर आलोचना गरिरहन्थे ।

सन् १९८८ को सुरुमा साथी सुमन बस्नेतले एकदिन प्रस्ताव गरे, “सधैं कमेन्ट गरिरहन्छौ, हिँड नेपाल टेलिभिजनमा काम गर्न । बिहानको समयमा काम गरे हुन्छ । प्रोड्युसर हुन्छस् ।”

प्रोड्युसरको काम के हो, उनलाई थाहा थिएन । बिहानको समय थियो । भूषण टेलिभिजन स्टुडियो पुगे, भुइँभरि छरपष्ट तारैतार थिए । गुजुल्टै गुजुल्टो परेको तार समेटेर उनले बेरेर राखे । उनलाई त्यो बेला लाग्यो– तार बेरेर मिलाउने काम नै प्रोड्युसरको काम रहेछ क्यार !

“जानेर गर्थें या नजानी– त्यो मलाई थाहा हुँदैनथ्यो । तर, गर्थेँ रे ! मैले त बिर्सी पनि सकेको थिएँ,” उनले भने, “नीर शाहलाई पनि मैले दुई–चार ठाउँमा भेट्दा यसोयसो भएन भनेको थिएँ रे ! पछि टेलिभिजन जाँदा नीर शाहले तपाईं कमेन्ट गरिरहनुहुन्थ्यो, लौ आज आफैं गरेर देखाउनुस् भन्नुभयो ।” 

अहिलेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्र उनीसँगै नेपाल टेलिभिजन प्रवेश गरेका थिए । मिश्रले नेपाल टेलिभिजनमा चामत्कारिक काम गर्न सकेनन् । पछि उनी पढ्न पाकिस्तान गए । उतैबाट बीबीसी नेपाली सेवामा छिरे । भाष्करराज राजकर्णिकार पनि भूषणकै सहकर्मी थिए । वजनदार स्वरका धनी भाष्कर माइक देख्यो कि स्टेज चढिहाल्थे । स्टेजमा राम्रो एमसी गर्ने भाष्करले राम्रो छनक देखाएका थिए । नेपालको पहिलो रियालिटी सो ‘प्रतिभाको डबली’ उनैले होस्ट गरेका थिए, जो निकै लोकप्रिय भएको थियो । तिनै भाष्कर पछि एभिन्युज टेलिभिजनका मालिक बने । 

साहित्यकार आमोददेव भट्टराई पनि भूषणकै सहकर्मी हुन् । यी नाममध्ये अहिलेसम्म टेलिभिजनमा निरन्तर देखिने अनुहार भूषणको मात्रै हो । 

नेपाल टेलिभिजनमा काम गर्दा उनको दैनिक तलब २० रुपैयाँ थियो । बिहानभरि काम गरेर घर जाने बेला २० रुपैयाँ लिएर फर्किन्थे । भूषणले महिनाको अन्तिम दिन एकमुष्ट ६ सय रुपैयाँ दिनुस् भनेर पनि लेखामा भने । तर, उनलाई लेखाले भन्यो, “लानुहुन्छ भने दैनिक लैजानुस्, हैन भने यो पनि पाउनुहुन्न ।”

 

जताततै ईर्ष्यै ईर्ष्या

समय पञ्चायतको अन्तिम कालखण्डतिरको थियो । पत्रकारिताको भविष्य जति अँध्यारो थियो, त्यति नै चुनौतीपूर्ण पनि । पत्रकारितामा आर्थिक सुरक्षा खोज्नु र रंगीन भविष्यको सपना फगत स्वैरपरिकल्पना जस्तै थियो । त्यसैले उनका अधिकांश सहकर्मीले टेलिभिजनबाट हात झिके । भूषण भने त्यसमै फस्दै–फस्दै गए । पुरानै प्रविधिका क्यामरामा नै किन नहोस्– उनले नयाँ–नयाँ प्रयोग गर्दै गए ।

साउन्डमा रहेका ध्रुव बस्नेत क्यामरामा आए । भूषण र ध्रुवको सहकार्य भयो । ध्रुव खिच्थे, भूषण खिचाउँथे । रवीन्द्र पाण्डे (भिडियो सम्पादक)ले उनलाई सधैं हौसला दिए । काम राम्रो हुन थालेको थियो । उत्साह थपिँदै गएको थियो । 

तर, सबै मान्छे सबैको प्रगतिमा हाँस्न सक्दैनन् । ईर्ष्या मानवीय स्वभाव हो । नेपाल टेलिभिजनमा त्यही भयो । समकक्षी र अग्रजहरू डाहले जल्न थाले । भूषणलाई देख्दा अर्कोतर्फ टाउको बटार्न थाले । 

पञ्चायती हुकुमी व्यवस्था थियो । नराम्रो काम गरे विभागीय कारबाहीदेखि हाकिमको तजबिजी सबै हुन्थ्यो । उनी हाकिमी तजविजीको कारबाहीमा त परेनन् तर ईश्र्याको सबैभन्दा ठूलो शिकार भए ।

“टेपमा रेकर्ड हुन्थ्यो । नाम त म लिन्नँ तर मेलै बनाएर क्युमा राखेको कार्यक्रम नङले कोरेर प्ले नहुने बनाइदिन्थे । शायद त्यति नगरेको भए मलाई इख हुँदैनथ्यो होला,” भूषण ०४६ सालअघिको रेकर्ड खोल्छन्, “दरबारका स्पेसल कार्यक्रम तथा सरकारका विशेष समारोहमा पाएका असाइन्मेन्टहरू गरेर बुझायो– बिहान नहुँदै रातारात क्रेडिट लाइन परिवर्तन हुन्थ्यो । पछि थाहा पाइयो– क्रेडिट पाउनेहरूले तक्मा पाउँदा रहेछन् ।”

 

‘सन्डे पप’

पर्दापछाडि बसेर काम गरिरहेका भूषण पहिलो पटक ‘सन्डे पप’ कार्यक्रम मार्फत काँचको पर्दामा देखिए । “चट्याकचुटुक पर्यो । अंग्रेजी गीत छान्यने, अलिअलि अंग्रेजी मिसायो, गफ दियो, अहिलेको टेलिभिजनका रेडियो कार्यक्रम जस्ता,” भूषण हाँस्दै भन्छन्, “सन् १९८८ अन्तिमतिरको कुरा हो यो । कसैले मलाई टेलिभिजनमार्फत चिनेका थिए भने त्यही कार्यक्रममार्फत हो ।”

उनको ‘स्टारडम’ त्यही कार्यक्रमले बढाइदिएको हो । उनको घरअगाडि आएर स्कुलका गाडी रोकिन्थे । उनलाई हेर्न शिक्षक÷विद्यार्थी पर्खिरहन्थे । त्यतिबेला कसैलाई हेर्न स्कुलबस नै घरअगाडि रोकिनु सानो ‘स्टारडम’ थिएन । 

“सिनेमाका हिरोहरू आएर तिम्रो राम्रो छ भन्थे । म पनि खुसी हुन्थें । तर, चुप लागेर बस्थें । मेरो ईष्र्या गर्ने सहकर्मीहरूको मुख रिसले चाउरिन्थ्यो,” उनले सम्झिए ।

हिरो/हिरोइन सोधिरहन्थे, “कति चिठी आउँछ तिमीलाई ?”

भूषण भन्थे, “अलिअलि आउँछ ।”

एकदिन उनले सहयोगीलाई कार्यक्रमका चिठी लिएर आउन भने । उनले एक हप्ताका चिठी दुई बोरा लिएर आए । गोश्वारा हुलाकको पोस्ट बक्समा चिठ्ठी नअटाएर छेउमा बोरा झुन्ड्याइदिएको थियो । “त्यसमा मैले खुब इन्जोय गरें,” उनी भन्छन्, “एउटा कार्यक्रमका लागि त्यति धेरै चिठी आउनु चानचुने थिएन ।”

उनका एक मित्रले त्यो बेला ८ हजार रुपैयाँ पर्ने एक दर्जन घडी दिएका थिए । त्यी घडी जित्न दर्शकको सहभागिता देखेर भूषण दंग पर्थे । “हामीले जानेर वा योजना बनाएर त्यसो गरेका थिएनौं । मेरो कार्यक्रममा आउने सहभागीको खुसी अहिलेको रियालिटी शो जितेको खुसीभन्दा धेरै हुन्थ्यो,” उनले भने ।

भूषणका अनगिन्ती फ्यान थिए । उनको प्रशंसामा खर्चिएर लेखिएका चिठ्ठी र उपहार विवाहपछि पनि ओइरिरहे ।

पुरुष भएकाले महिला फ्यान अधिक हुनु स्वाभाविक थियो । एक महिला फ्यानले निकै भावनात्मक चिठी र उपहार पठाइछन् । त्यो चिठी पाएपछि भूषणकी श्रीमतीले सम्झाइबुझाइ गरेर त्यही ठेगानामा पठाइछन् । त्यो क्षण सम्झिँदा उनलाई अहिले पनि रमाइलो लाग्छ ।

विशाल बजार नगई त्यो बेलाका युवायुवतीलाई चित्तै नबुझ्ने । भूषण पनि अछुतो थिएनन् । उनी एकदिन विशाल बजार थिए । 

“पसलमा आमाछोरी सपिङ गरिरहेका थिए । छोरी कुदेर मछेउ आइन् र अटोग्राफ मागिन् । मैले पनि दिएँ । पछि उनकी आमा पनि आइन् । ‘तपाईंले हामीसँग बसेर डिनर नखाई हुँदैन’ भनिन्,” भूषण सम्झिन्छन्, “मैले चिन्दै नचिनेका ती आमाछोरीसँग बसेर डिनर खाएँ । त्यसपछि उनीहरूसँग कहिल्यै भेट भएन ।”

 

‘दिशानिर्देश’को सुरुआत

समयसँगै भूषणको ओज बढ्दै गयो । उनको अनुहारमात्रै चिनिएन, मूल्य पनि बढ्यो । तर, समयचक्र सधैं एकै हुँदैन । उनले नेपाल टेलिभिजनको जागिर छोडेर इमेज टेलिभिजन छिरे । इमेजलाई पनि हात हल्लाए र टेलिभिजनसँग सम्बन्धित व्यापार सुरु गरे । त्यसमा उनलाई सफलता मिलेन, डुबे । त्यसपछि व्यापारलाई पनि ‘गुडबाई’ गरिदिए ।

जिन्दगी चलाउनु नै थियो । ‘स्टारडम’ कायम राख्नु नै थियो । त्यसका लागि उनले गर्नुपर्ने एउटामात्रै काम थियो– काम । अरु गर्न मन मानेन । लामो अनुभव टेलिभिजनकै थियो । टेलिभिजनमै ‘कमब्याक’ गरौं भन्ने लाग्यो ।

नेपाल टेलिभिजनमा भूषणले विजयकुमारसँगै काम गरेका थिए । तर राम्रो हिमचिम थिएन । राजनीतिका जानकार र शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध भएका विजयकुमार कान्तिपुर पब्लिकेसन्सको ‘नेपाल’ म्यागेजिनमा काम गरिरहेका थिए । उनी एकदिन विजयकुमारलाई भेट्न गए ।

“म टेलिभिजन कार्यक्रम प्रोड्युस गर्ने सोचिरहको छु, सँगै काम गर्नुप¥यो,” भूषणले प्रस्ताव गरे ।

सुरुमा खासै चासो नदेखाएका विजयकुमारले पछि भने, “त्यसमा मेरो रोल के ?”

“तपाईं मेरो एंकर, म तपाईंको प्रोडुसर । भन्नुस् तपाईंको फि कति हो ?” भूषणले सीधै भने । 

उनले कार्यक्रमको विषयवस्तु सुनाए । विजयकुमारले मन पराए ।

पहिलो शृंखलाका लागि उनीहरू पोखरा पुगे, जहाँ भेटे एकल महिला लक्ष्मीलाई । उनी सानोतिनो होटल गरेर छोरीलाई पढाइरहेकी थिइन् । त्यो महिला सशक्तीकरणको अनुकरणीय विषय थियो । 

राम्रो विषयमा विजयकुमारको फरक खालको प्रश्न सोध्ने शैली, त्यसमाथि भूषणको क्यामरा शिल्प । ‘दिशानिर्देश’को पहिलो अंक नै हिट भयो । 

त्यसपछि भूमिगत माओवादीको अन्तर्वाता लिने तय भयो । नेता कृष्णबहादुर महारालाई फेला पारे । रातो पुलनजिकैको एक घरमा अन्तर्वार्ता लिने कुरा भयो । माओवादीले ‘कसैलाई पनि नलिई आउनू’ भन्ने आदेश दिएको थियो । विजयकुमार र भूषणमात्रै गए । विजयकुमारले अन्तर्वार्ता लिए, भूषण आफैंले खिचे । 

नेपाली टेलिभिजनको दुनियाँमा भूमिगत माओवादी नेताको पहिलो अन्तर्वार्ता थियो त्यो । त्यो अन्तर्वार्ता त्यतिबेला प्रसारण भइरहेको थियो, जतिबेला माओवादीले दाङको घोराही ब्यारेक हान्ने तयारी गरिरहेका थिए । त्यो आफैंमा ठूलो साहस थियो ।

त्यसले कार्यक्रमको उचाइ झनै बढायो । दर्शकहरू ‘दिशानिर्देश’ आउने दिन कुरेर बस्न थाले । चियापसलदेखि सिंहदरबारमा समेत ‘दिशानिर्देश’को चर्चा सुरु भयो । 

देशमा संकटकाल लागेको थियो । पत्रकारिता पेसा नै संकटमा थियो । सेनाको ब्यारेक सञ्चारमाध्यमका समाचारकक्षमा थिए । तर, भूषण र विजयकुमारको ‘नेटवर्क’का कारण कसैले पनि त्यो कार्यक्रमप्रति औंला उठाएन । 

‘दिशानिर्देश’लाई अर्को सौभाग्य पनि मिल्यो । संकटकाल लागेपछि तत्कालीन बहालवाला प्रधानसेनापति प्रज्ज्वलशमशेर राणाको अन्तर्वार्ता प्रसारण भयो ।

शशी भवनको रिसेप्सनमा राणासँग अन्तर्वार्ता सुरु भयो । युनिफर्ममै रहेका सेनापतिले सूचना टिपोट गरेको डायरी हेर्दै अन्तर्वार्ता दिए । भूषणले अन्तर्वार्ता हेरिरहेका थिए । आधा घण्टा लामो अन्तर्वार्ताको बिट मार्दै विजयकुमारले राणालाई भने, “धन्यवाद ।”

सेनापति राणाले शानका साथ भूषणलाई अंग्रेजीमै सोधे, “अन्तर्वार्ता कस्तो भयो ?”

भूषणले पनि अंग्रेजीमै सीधै जवाफ फर्काइदिए, “मलाई अन्तर्वार्ता चित्त बुझेन । म फेरि दोस्रो टेक लिन चाहान्छु ।” 

सँगै रहेका कर्णेलहरूले उनलाई ठूला आँखाले हेरे । विजयकुमार पनि भूषणसँग रिसाए । ‘संकटकालको समयमा सेनापतिलाई तिमीले यो के भनेको ?’ भन्दै रिसाए । भूषणले भने, “कसैले पनि अन्तर्वार्ता दिँदा डायरीको पाना पल्टाउँदैन । मलाई चित्त बुझेन । यो अन्तर्वार्ता प्रसारण गर्न म सक्दिनँ ।”

उनी शशी भवनको बाल्कोनीनमा टोलाएर उभिरहेका थिए । आधा घण्टाजतिपछि कसैले पछाडिबाट उनको पिठ्यूँ थप्थप्यायो । फर्किएर हेर्दा सेनापति राणा थिए, भने “म दोस्रो टेक दिन तयार छु ।” 

अन्तर्वार्ता तयार भयो, प्रसारण भयो । संकटकाल लागेका बेला प्रधानसेनापतिले युनिफर्ममै दिएको अन्तर्वार्तामा सेना, माओवादी, सरकार, भावी रणनीति त छँदै थिए, त्यसमा माओवादीलाई गालीलगायतका धेरै कुरा थिए । अन्तर्वार्ता दर्शकले मन पराए । कार्यक्रम हिट भइरहेको थियो । 

“त्यो अन्तर्वार्ताले मेरो आत्मविश्वासको पारोलाई निकै माथि चढायो । बोले त हुने रहेछ, सकिने रहेछ नि भन्ने भयो,” उनी सम्झन्छन्, “नचिनेका सेनापतिसँग संकटकालका बेला लिइएको अन्तर्वार्ता चानचुने कुरा थिएन ।”

कार्यक्रमको लोकप्रियताले शिखर चुम्यो । तर, भूषणले कार्यक्रमै बन्द गरिदिए । किन ? उनले सुरुमै विजयकुमारलाई भनेका थिए, “म १२ वटा अंकमात्रै चलाउँछु ।”

१२ अंक पुगेपछि उनले विजयकुरमारलाई भने, “मैले १२ अंक गरें । मैले बोलेको पूरा गरें । अब थप अगाडि बढाउदिनँ ।”

विजयकुमारले पछि फोन गरेर निरन्तरता दिऊँ भने । भूषणले त्यसलाई इन्कार गरिदिए । त्यही टेलिफोन संवादमा भूषणलाई विजयकुमारले भने, “त्यसो भए तिम्रो यो ‘दिशानिर्देश’को ब्रान्ड म प्रयोग गर्न सक्छु ?”

उनले पनि भनिदिए, “ह्वाइ नट ।”

त्यही ‘दिशानिर्देश’ आज पनि विजयकुमारले चलाइरहेका छन् । 

\"\"

‘फायरसाइड’को जन्म

भूषण ‘दिशानिर्देश’को पर्दापछाडिका नायक थिए, जो निकै कमलाई मात्रै थाहा छ । तर, उनलाई नजिकबाट चिन्नेहरूले भने उनको नाडी छामिसकेका थिए । 

अफर आयो कान्तिपुर टेलिभिजनबाट । पहिलो स्टाफका रूपमा भूषण पुगे कान्तिपुर टेलिभिजन । उनलाई टेलिभिजनबाट पर्दामा ‘कमब्याक’ चाह खासै थिएन । मनमा थियो– केही न केही नयाँ प्रयोग गर्छु तर पर्दा पछाडि बसेर । र, नयाँ भाइबहिनीहरूलाई जानेको सिकाउँछु । 

तर, समय समय सधैं आफूले चाहेजस्तो हुँदैन । उनलाई अचानक भनियो, “तपाईं पनि पर्दामा देखिनुपर्छ ।”

अनपेक्षित नभए पनि अपेक्षा नगरिएको प्रस्तावले उनलाई झस्कायो । उनले भने, “अब म सन्डे पपजस्तो कार्यक्रम चलाउन सक्दिनँ ।” 

भूषणलाई राजनीतिक ‘टक शो’ चलाउन आग्रह गरियो । उनी त छाँगाबाट खसेजस्तो भए । ‘कहाँ फस्न आइपुगिएछ’ भन्ने लाग्यो । यो कुरा सन् २००२ को थियो । 

देशमा राजनीतिक उतारचढाव थियो । राजनीतिप्रति जनताको चासो थियो । तर, समस्या– उनलाई राजनीतिबारे उत्ति साह्रो ज्ञान थिएन । सामान्य ज्ञानै नभएको त होइन तर उनले सोचेजस्तो कार्यक्रम दिन आफूमा राजनीतिक ज्ञानको भण्डार छ जस्तो लागेन । सक्दिनँ भन्ने आशय व्यक्त गरे । 

तर, उनलाई टेलिभिजनमा विश्वभरि गरिँदै आएको नयाँ प्रयोग गर्न भनियो । “क्वेइस्चन्स बैंक राख्ने, कन्टेन्ट टिम हुने, एडिटोरियलले सहयोग गर्दै टक शोको अभ्यास सुरु गर्न भनियो,” भूषण सम्झिन्छन्, “उसो भए ठिकै छ भनें ।”

पहिलो अन्तर्वार्ताका लागि छानियो– तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा । झन्डै आधा दर्जन पटक प्रधानमन्त्री भएका थापा बोल्नमा चतुर थिए । राजनीतिक अनुभवका आधारमा पाका व्यक्ति, राजाका दाहिने हात । 

यता भूषणको भने पहिलो अन्तर्वार्ता । उत्साहभन्दा धेरै डर थियो । अन्तर्वार्ताको समय जतिजति नजिकिन्थ्यो, उनको मुटुको गति उति बढ्थ्यो । बालुवाटार पुगे । अन्तर्वार्ता सुरु भयो । उनलाई खुब डर लाग्यो । अन्तर्वार्ता थियो ‘फायरसाइड’का लागि । 

“त्यो अन्तर्वार्ता म अहिले पनि बेलाबेला हेर्छु । त्यहाँ मेरा धेरै लुपहोलहरू अहिले पनि देख्छु,” उनी भन्छन्, “त्यहाँ मेरो जिउ कामिरहेको छ । ममात्रै देख्छु मेरो शरीर कामिरहेको ।” 

 

त्यो अनपेक्षित अन्तर्वार्ता  

राजा महत्वाकांक्षी भए, दलहरूलाई पाखा लगाए । शासनसत्ता आफ्नै हातमा लिएर सत्ताको अभ्यास गर्न अघि सरे । भूषणलाई जान्न रहर लाग्यो । राजनीतिको गुह्य कुरा खोज्न, बुझ्न र तत्कालीन राजा तथा राजनीतिप्रति आफ्नो धारणा बुझ्ने आकांक्षा पलायो । जल्दोबल्दो टेलिभिजनको जल्लोबल्दो ‘टक शो’को प्रस्तोताका लागि त्यो स्वाभाविक मात्रै होइन, भूषणका लागि आवश्यक पनि थियो ।

उनी पुगे अनुभवी राजनीतिज्ञ विश्वबन्धु थापाको निवास । त्यो मिति थियो– राजाले ‘टेकओभर’ गरेको दोस्रो दिन ।

लामै कुरा भयो । थापा दरबारप्रति असन्तुष्ट भएको कारण हुन सक्छ– उनले भूषणसँग मनपेट खोले । 

उनले भने, “यो टेकओभर मेरो हार र डा. तुलसी गिरीको जित हो ।”

‘कू’ अघि तत्कालीन राजा ज्ञानेन्द्रलाई सुझाव दिनेमा थापा र गिरी थिए । उनले राजालाई भनेका थिए, “यदि यो टेकओभर गर्ने हो भने दलहरूलाई जीवित राखेर गरिनु हुँदैन ।”

तर, गिरीले भने ‘पहिला टेकओभर गरूँ, पार्टी देखा जाएगा’ भनेका थिए । राजाले गिरीको सल्लाह माने । 

कुराकानीको अन्तिममा भूषणले थापालाई भने, “के तपाईं अहिलेको अवस्थामा यो कुरा बोलिदिन सक्नुहुन्छ ?”

थापाले भने, “सक्छु ।”

त्यो अन्तर्वार्ता स्कुप भयो । भूषणको टेलिभिजन करिअरमा ऐतिहासिक थियो त्यो । अक्सर उनी अन्तर्वार्ताका लागि तयारी गर्छन्, पछि त्यति धेरै सम्पादन गर्दैनन् । थापाको अन्तर्वार्तामा भने उनले प्रशस्तै ‘सेल्फ सेन्सरसिप’ गरे, आफैं कैंची चलाए र समय सुहाउँदो बनाएर प्रसारण गरे । 

 

जागिर कसरी बच्यो ?

भूषणले लिएको एउटा अन्तर्वार्ता सम्झिँदा अहिले पनि साथीभाइ तथा चिनेजानेका भन्ने गर्छन्, “त्यो अन्तर्वार्तापछि तिम्रो जागिर चाहिँ कसरी बच्यो ?” 

अन्तर्वार्ता थियो, रसेन्द्र भट्टराईको । उनले नेपालमा पहिलोपटक सार्वजनिक रूपमै ‘म नेपालको पहिलो अर्बपति हुँ’ भनेर घोषणा गर्दै थिए । यो त दर्शकका लागि चासो र सरोकारको विषय हो भन्ने लाग्यो । त्यसैले उनी टिमसहित सोल्टी होटल पुगे । स्पष्ट आँखा नदेख्ने रसेन्द्रसँग ‘फायरसाइड’का लागि अन्तर्वार्ता लिए । तिनै रसेन्द्र अर्बपति भनेर ‘कान्तिपुर’ दैनिक र ‘काठमान्डू पोस्ट’मा पनि समाचार छापियो । पछिमात्रै खुल्यो– रसेन्द्रले सबैलाई ‘मुर्गा’ बनाएछन् ।

 

अहिलेको पत्रकारिता

पत्रकारिताको शास्त्रीय अर्थमा धेरै कुरा पढाइन्छ । मुख्य त प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका कुरा सिकाइन्छ । तर, यसले व्यक्तिमा स्वेच्छाचारिता र दम्भ बढाएको भूषणको अनुभव छ । यसबाट नेपाली पत्रकारिता सम्हालिनु जरुरी रहेको उनी बताउँछन् । त्यो दम्भले पत्रकारको ताकत घटाइदिने र पत्रकारितालाई नै कमजोर बनाइरहेको भूषणको धारणा छ ।

“राम्रो समाचार दिए पनि तत्काल विश्वास गर्ने अवस्था गुम्दै गएको छ,” उनी भन्छन्, “पाठक, दर्शक र स्रोता आफैं भेरिफाइ गर्नतिर लाग्छन् ।”

सञ्चारमाध्यम धेरै भए । अबको १० वर्षमा नेपाली मिडिया कहाँ पुग्छ भन्ने अनुमान लगाउन उनी सक्दैनन् । 

“अबको १० वर्षपछि हामी फेरि यही सञ्चारकर्ममा रहिरहने अवस्था आयो भने फेरि समीक्षा गरौंला । तर, मिडियम कहाँ पुग्छन् भनेर म अनुमान पनि गर्न सक्दिनँ,” उनी भन्छन्, “मिडिया एड्भान्स हुँदै गए, अभिव्यक्तिको शैली छोटो हुँदै भयो । एउटै माध्ययमा डाइभर्सिटी आयो । यो गतिलाई हेर्दा अनुमानै लगाउन सकिने अवस्था छैन– भोलिको सञ्चारमाध्यम कस्तो हुन्छ ।”

तस्बिर/भिडियोः सरिता खड्का

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC