site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शब्द र शैलीका पुञ्ज– जसका कविताले युग बोल्छन्
Sarbottam CementSarbottam Cement

“पेटमा भएको बच्चा नफ्याँक्ने हो भने आमा र बालक दुवैको ज्यान खतरामा पर्न सक्छ !” चिकित्सकले खुइया काढेपछि परिवारको अनुहारमा ग्रहण लाग्यो ।

चार सन्तानकी आमा लक्ष्मीदेवीका आँखा जलमग्न भए । बाबुका गह भरिए । 

बच्चा पेटमा आएदेखि तारन्तार रगत बगिरहँदा आमाको शरीर जीर्ण थियो । सन्तान नजन्मिने हो कि भन्ने चिन्ताले मन विदीर्ण पनि । र, पनि बेलाबखत लक्ष्मीदेवीलाई लागिरहन्थ्यो– पेटमा जन्मने बच्चा केही ‘खास’ छ । चिकित्सकले आग्रह गरे पनि यसलाई फ्याल्नु हुँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

जस्तै विपद्मा पनि आमाको जीजिविषा चर्को थियो । जस्तै कष्ट बेहोर्छु तर यो पेटको बच्चालाई जन्म दिएरै छाड्छु भन्ने अठोट लिइन् । शरीर सेताम्य थियो । कोषहरू शिथिल थिए । अनुहार फुंग उडेको कमेरोजस्तो थियो । र, पनि असाधारण प्रसव चोट सहने साहस बटुलिन् उनले ।

बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएर चिकित्सिकले औषधि र सिरिन्ज प्रयोग गर्न खोज्थे । “नाइ, म पीडा खपेरै मेरो सन्तानलाई जन्माउँछु !” लक्ष्मीदेवीले इन्कार गरिरहन्थिन् । र, जन्मिए उनी– नवराज पराजुजी !

Global Ime bank

कान्छो सन्तान जन्मिँदा लक्ष्मीदेवीले अतिशय दुःख खप्नुपर्यो । अथाह रगत बगाउनु पर्यो । चुहिएको रगतको कुनै हिसाब छैन । आँगन, पिँढी, मझेरी लिप्न पुग्नेजति, शायद ! 

मानौँ, उनी पराजुली परिवारका लागि मात्र ‘गिफ्ट’ थिएनन् । नेपाली साहित्यले बहुआयामिक कविका रूपमा पाएको स्वर्णीम उपहार पनि । तिनै कवि, जसले कविताकै माध्यमबाट मानिसको मथिंगल हल्लाइरहेका छन् । मानिसको शरीरमा काँडा उमारिरहेका छन् । र, भर्खरैमात्र ‘सगरमाथाको गहिराइ’मार्फत सर्वत्र छाएका छन् । 

० ० ०

झापाको जलथल मंगलरबारेमा जन्मिएका हुन् नवराज । एक झर पानीमै थल जलमग्न हुने भएकाले उक्त ठाउँको नाउँ नै जलथल रहन गएको रे ! कालो, बाक्लो दाह्री सुम्सुम्याउँदै सुनाए उनले ।

उनको अध्ययनारम्भ झापामै भयो, १ देखि स्नातकसम्म । सामान्य सरकारी शिक्षालयमा  । स्नातकोत्तर गर्नचाहिँ झापाबाट काठमाडौं हानिए उनी । परिवारको कान्छो छोरो, मायाले पुलकित हुने नै भए । 

नृत्यका सौखिन उनी । रेडियोमा गीत बज्दा होस् या विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा– उनका हात गोडाहरू चलायमान हुन्थे । शरीरमा एकप्रकारको झंकार उत्पन्न हुन्थ्यो । नाचूँनाचूँ लाग्थ्यो । शिक्षकहरूले ‘नाच न त !’ भनेर हौस्याए पनि । उनी स्वयंको रुचि पनि त्यतै थियो । पेशेवर ढंगले नृत्य सिक्छु भनेर बिर्तामोडका सडक, गल्ली नचहारेका होइनन् । तर, उनी नर्तक बनेनन् ।

किन त ?

यसको भित्री पाटो उधिने उनले । उनी पढ्नमा तिलस्मी थिए । पढ्न असाध्यै मन गर्ने बानी थियो । उनी केही समय मावल बसेर अध्ययन कार्यमा लिप्त भए । मामाहरू भन्थे– यस्तो राम्रो पढाइ भएको मान्छे, कहाँ नाच्नतिर लाग्छन् ? खुरु–खुरु पढ्नु पो पर्छ त ।

त्यसपछि उनी आफैँ हच्किए । नाच्ने रहर मुर्झाउँदै गयो ।

सानै कुराले उनलाई दिक्क बनाउँथ्यो । फिल्म हेर्न जान्थे तर दोहोरिरहने संवादहरूले वाक्क लगाउँथ्यो । सोच्थे– यसलाई त फरक तरिकाले भन्न पनि त सकिन्थ्यो नि ! किन एकै प्रकारले उच्चारण गरिरहेको होला ?

सानामा कसैले उनलाई सोध्थ्यो– तिम्रो नाम के हो ? तर उनी फरक तरिकाले उत्तर दिन्थे । जन्मस्थान, नामथर र वतन खुल्ने गरी अन्त्यानुप्रास मिलाएर कवितात्मक उत्तर दिन्थे– 

झापा जिल्ला, मेची अञ्चल, मंगलबारे गाउँ
पराजुली थर नवराज हो नाउँ !

उनको जवाफ सुनेर ‘केटो त तगडा रहेछ !’ भन्दै बाटो लाग्थे ती ।

अरुले गरेजस्तो गर्न उनलाई कहिल्यै मन परेन । अरुभन्दा म भिन्न हुँ भन्ने लागिरह्यो ।

उनका बुवा खुङ्खार किसान हुन् । “बुबाको ५० वर्ष हलो जोतेको गौरवपूर्ण इतिहास छ, अनुभव छ,” उनले सगर्व सुनाए ।

बुवाकै सम्झनामा उनले ‘बुबा’ शीर्षकमा कविता लेखेका छन्, जसको एक पंक्ति सुनाए पनि–

आफ्नो हातले पहाड उचाल्न सक्ने उमेरदेखि
त्यही पहाडबाट बग्दै आएको पानी आफ्नै हत्केलामा नअडुन्जेलसम्म
हलोको अनौ र तपाईंबीच लडाईं चलिरहँदा
हलोको अनौमै छापिइसके होला है बुबा तपाईंका हातका रेखाहरू
ज्योतिषलाई के देखाउनुहुन्छ ? हात कि अनौ ?

घरमा एउटा किताब थियो– गुणरत्नमाला । त्यहाँ मीठा–मीठा ज्ञानगुनका कुरा, नीतिकथाहरू थिए । आमाको मृत शरीर तुलसीको मठ अघिल्तिर सुताएको र छोरीले शवको छेउमा बसेर आलाप–विलाप गरेको असाध्यै कारुणिक कथा बाबु बारम्बार वाचन गर्थे । प्रत्येक रात सुत्नुअघि उनीहरू ध्यानपूर्वक सुन्थे । एउटै कथा बारम्बार सुन्दा पनि आँखा ओभानो हुँदैनथे । रोक्न खोज्दा पनि आँसु चुहिन्थ्यो । “त्यतिबेलैदेखि नै मैले कवित्व ग्रहण गरिसकेको रहेछु ! कवि गुण पसिसकेको रहेछ ममा !” उनी सम्झिन्छन् ।

उनलाई दुःख असाध्यै मन पर्छ । पीडाले शान्त, स्निग्ध तुल्याउँछ । कवि मनको सूत्रपात त्यहीबेलादेखि भएको ठान्छन् उनी । 

बाल्यवस्था पार गरेपछि ‘मुनामदन’ले उनलाई त्यसैगरी छोयो । ‘मुनामदन’बाट यतिसम्म प्रभावित भए कि उनी त्यस्तै अनुप्रास मिलाएर ‘मुनामदन’जस्तै अर्को गीति कविता तयार पार्न थाले । बुहारी कतै जान लागेको र सासूले रोक्दै गरेको कथालाई कवितात्मक लयमा ढाल्न थाले । पछि त्यो कता पुग्यो, उनलाई थाहा छैन ।

स्नातक तहमा पुगेपछि उनमा गजलको भूत सवार भयो । त्यसो त झापामै हुँदा उनले खुब गजल लेख्थे । ‘क्या दामी !’ साथीहरूको तालीमा हौसलाका प्रतिविम्बहरू छरपस्ट हुन्थे । काठमाडौं आएपछि गालिब आदिका गजल सुन्न थालेपछि उनी आफैंलाई लाज पो लाग्न थाल्यो । गजल लेख्छु भन्नै छाडे । रदिफ र काफियाचाहिँ मिलेको तर पूर्ण गजल भन्न नमिल्ने पो रहेछ उनको । त्यसो त कीर्तिपुर पढ्दा उनले गजल वाचन गरेर विभिन्न पुरस्कार नजितेका पनि होइनन् । गजलबारे बुझ्न थालेपछि ती फिक्का लाग्यो उनलाई । र, थाँती रह्यो गजलयात्रा ।

० ० ० 

०६८ या ०६९, साल यकिन भएन । गुरुकुलमा कवि मनु मञ्जिलको एकल कविता वाचन भएको थियो । गजलको बन्धन, अनेकखाले नियमले आफूलाई खुम्च्याएको प्रतीत भएको थियो उनलाई । सिर्जनामा चराझैं खुल्न, उडान भर्न मन पथ्र्यो उनलाई । मनु मञ्जिलको बारेमा उनले खासै सुनेका रहेनछन् । तिनताक उनी नेपालीभन्दा ज्यादा अंग्रेजी कविता सुन्न मन पराउँथे । त्यसदिन एक घण्टा गुरुकुलमा बिताएको पत्तै भएन । त्यतिमात्रै होइन ‘मेरो बाटो त यो पो रहेछ !’ लोचनसमेत छ्यांग खुल्यो उनको ।

“साससमेत फेरेको पत्तो नपाई सुनेँ मैले ! यस्तो आनन्द आयो ! कविता सुनेर नारीका रौं ठाडा भए, शरीर जुरुक्क उचालिएलाझैँ भयो !” उनले सम्झिए ।

मञ्जिलको कविताबाट आह्लादितमात्रै भएनन्, आफूभित्रको कवितारूपी मैन प्रह्लादित पनि भयो । सल्कियो भनौँ । 

उनको कविता लेखन अलौकिक छ । जादूमय छ काव्यिक शैली । शब्द–सौन्दर्यले हृदय छुन्छ । वाचन कौशलले आङ सिरिंग पार्छ ।

कसरी सक्छन् उनी ?

प्रश्न सोधेपछि दुवै हातले टाउको बेस्सरी समाए र धेरैबेर गम खाए । भन्न थाले, “मेरो कवितामा एउटा मियो हुन्छ । त्यसपछि म त्यहाँ पराल बिछ्याउँछु । र, एकहल गोरु बाँधेर दाइँ गर्न थाल्छु । र, आवश्यकता जति पर्छ, पराल ओछ्याउँदै गोरु थप्छु ।” 

० ० ० 

०६९ सालताका ‘कान्तिपुर’मा एउटा समाचार प्रकाशित थियो– कतारमा एकजना नेपाली ११–१२ वर्षदेखि कोमामा रहेको विषयमा । कोमामा बस्दा सबै खर्च कम्पनीले बेहोर्ने । त्यहाँबाट बाहिर निकाल्दा परिवारले उपचार खर्च बन्दोवस्त गर्न नसक्ने । मूढोझैं ओछ्यानमा पल्टिइरहन अभिशप्त थिए उनी । जीवन र मृत्युको कुनै भेउ थिएन ! त्यो खबर पढ्दा हृदयमा तीर हानेझैँ भयो उनको ! मथिंगलमा प्रश्न उब्जियो– ती दाजुले देशलाई के–के भन्नुहोला ? तिनले कसरी मुख फोर्लान् ? आदि ।

भोजपुरमा उनका मामा थिए । मामाका छोरा थिए, उनी भन्दा दुई वर्ष जेठा । रोजगारीको सिलसिलामा मुलुकबाहिर पुगेका उनको राति ओछ्यानमा सुतेकै ठाउँमा देहान्त भएछ ! शव त्रिभुवन विमानस्थलमा काठको रातो बाकसमा प्याक भएर आएको थियो । पशुपति आर्यघाटमा काठको बाकस खोल्ने बेला उनका मामाको हात थरर्र काम्यो । शवमाथि छाँद हाल्दै, सपनामाझैँ बर्बराउन थाले मामा । बाबुले आफ्नो दिवंगत छोराको खुट्टा ढोगे । त्यो विदारक दृश्यले उनको मन कुँडियो । वातावरणमा स्तब्धता छायो । उनको दिमागमा कतारमा कोमामा रहेका व्यक्ति र आँखा अघिल्तिरका शवको आकृति खडा भयो । र, तुरुन्तै बाहिर आयो, काव्यिक तरंगको रूपमा । त्यसले देशको लागि फटाफट बोल्न थाल्यो । त्यही हो– ‘सगरमाथाको गहिराइ’ कविता !

उनलाई लाग्छ– उनी एक्लै कविता लेख्दैनन् । थुप्रै व्यक्ति एक ठाउँमा भेला भएर, थुप्रैको ऊर्जा मिसिएर काव्यिक भावको रूपमा पोखिएझैँ लाग्छ !

० ० ०

उनी कविता एकै बसाइमा सक्दैनन् । पटक–पटक स्वसम्पादन गर्छन् । शब्दशिल्प र ध्वनिमा उत्तिकै जोड दिन्छन् । 

“कविता सुनाउँदा स्रोता–दर्शकको अनुहारमा शब्द र भावको प्रतिविम्ब उत्रिएको ठान्छु म, त्यो उतार्ने कोसिस रहन्छ मेरो,” आफ्नो काव्यिक जादू हामीलाई पनि सुनाए उनले ।

उनलाई आफूले लेखेका सबै कविता कण्ठस्थ छन् । “कण्ठस्थ त कण्ठ यानेकि घाँटीमा बस्ने कुरा भयो, मेरो त हृदयस्थ छ । हृदयमा अमीट छाप बनेर बसेका छन्,” गलल्ल हाँसे उनी । 

उनको कविता लेख्ने निश्चित समय पनि छैन । ‘ल कविता लेख त १’ कसैले भन्यो भने लेख्न पनि सक्दैनन् उनी । “मसँग अहिले पनि दिमागमा सयौँ शब्दहरू पुतलीझैँ नाचिरहेका छन्, त्यसलाई कवितात्मक ढाँचामा चाहेको बेला ढाल्न सक्ने गरी झुप्पा बनेका छन् !” उनी पुलकित देखिए ।

उनलाई कीर्तिपुर बस्दा दुई ठाउँमात्र याद थिए । पहिलो– गुण सिनेमा हल ग्वार्को । दोस्रो– गुरुकुल नाटक घर, पुरानो बानेश्वर । कारण उनी नाटक र फिल्ममा धेरै रुचि राख्थे । उनले अर्को रहस्य सुनाए– नाटकप्रतिको मोहले नै उनी काठमाडौं हानिएका रहेछन् ! थपे, “मलाई एउटा साथीले सुनायो– काठमाडौंमा एउटा नाटकघर छ, त्यहाँ बिनामाइक, लाइटकै आधारमा नाटक देखाइन्छ । त्यसो सुनेपछि कल्पन थाले र नाटकको लती भए । उनको परिस्कृत कविता वाचनशैली त्यसैको परिणति हो । ‘स्पोकन पोयट्री’मा नाटक र कविताको गज्जबको तालमेल हुन्छ । र, नवराजको काव्यिक जादू त्यसैको स्थूल रूप हो ।

० ० ० 

सन् ०१४ मा ‘अल नेपाली स्ल्याम पोयट्री कम्पिटिसन’ भएको थियो, वर्ड वारियरको आयोजनामा । त्यहाँ उनले ‘सतीदेवीको गाण्डिव’ र ‘सगरमाथाको गहिराइ’ कविता वाचन गरेका थिए । त्यो प्रतियोगितामा उनी प्रथम भए ।

हल दर्शकले खचाखच थियो । कविता सुनाएर उनी फर्किंदै थिए । भीडमा थुप्रैले हात समाए, छोडे । तर, एकजनाले उनको हात छोड्दै छोडेनन् । अचम्म ! यसो नियालेको त हात समाउने डा. नवराज लम्साल रहेछन् । लम्साल उनका आदर्श पात्र थिए, उनैका कविता पान गरेर बाल्यकाल व्यतीत भएको थियो । लम्सालको अनुहार सिमखेतझैं थियो, आँखामा सानोतिनो खहरे उर्लिएको ! तीनछक परे– क्या कविता बुझ्नुभएछ ! त्यतिमात्रै होइन, सिंगै कविता उनको अनुहारमा प्रतिविम्बित भएझैँ पो लाग्यो !

लम्साल त्यतिबेला बीबीसीमा पनि आबद्ध थिए । गएर रवीन्द्र मिश्रलाई सुनाएछन्– एकजना नवराज भन्ने भाइ रहेछन्, उनले क्या कविता सुनाए । ‘सगरमाथाको गहिराइ’को अन्तिम खण्ड उनले सुनाएका रहेछन् !

मिश्रले तत्कालै नवराजलाई फोन गरेर कविता पठाउन अनुरोध गरे । नेपाली टाइप नआउने उनलाई कविता रोमनबाट नेपालीमा रूपान्तरण गरेर पठाउन डेढ घण्टा लाग्यो । उनै मिश्रले ‘सगरमाथाको गहिराइ’ फेसबुकमा सेयर गरेपछि कविता भाइरल भयो । र, उदीयमान कविका रूपमा नवराज चिनिए ।

० ० ०

उनका शब्दहरू ग्राम्य हुन्छन् । ग्रामीण जनजीवन, सुख–दुःख, पीडाका प्रतिविम्ब नै हुन् उनका कवितांश ।

तर, ती मुद्दामा आधारित होइनन् । ती त जीवनका सफेद तस्बिर हुन् । नवीनतम विम्ब र बहुआयामिक शिल्पबाट कविता कोर्न रुचाउने नवराज युवापुस्ताका प्रखर कवि हुन् ।

कविता के रहेछ  ?

जाँदाजाँदै उनले प्रष्ट्याए, “ब्रह्माण्ड र लेखकको ऊर्जाको अन्तरघुलन नै कविता हो ।”


(आवरण तस्बिर: किशोर कायस्थ÷बुकवर्म फाउन्डेसन)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०७४  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC