पोखरा । १८ औँ संस्करणको आहारारा गोल्डकपका बारेमा आयोजक सहारा क्लब पोखराले मंगलबार पत्रकार सम्मेलन गरी सबै तयारी सकिएको जानकारी गराएको थियो । आयोजकका अनुसार छिमेकी मुलुक भारतको गान्तोकबाट समेत एक टिम प्रतियोगितामा आउनेछ भने कुल १० टिमले प्रतियोगितामा भाग लिनेछन् ।
तर, बुधबार बिहान जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पोखरा सहित कास्की क्षेत्रमा कुनै पनि मेला, महोत्सव, समारोह तथा मानिसहरु जमघट हुने प्रकारका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ ।
यो सँगै बिहीबारबाट सुरु हुने भनिएको मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता अनिश्चित बनेको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिममा पोखरा लगायत कास्की समेत पर्न सक्ने भएकाले पूर्वसावधानी स्वरुप यस्ता गतिविधि नगर्न आग्रह गरिएको जनाए ।
यता, प्रतियोगिताको आयोजक सहारा क्लबका अध्यक्ष केशव थापाले भने अझै पनि प्रतियोगिता हुने कुरा दोहोर्याए । तर, उनी पनि सुनिश्चित भने छैनन् । “हामी छलफलमै छौँ, अहिले नै केही भन्न त सक्दिन तर हालसम्म हामी प्रतियोगिता गराउनेमा निश्चित छौँ,” उनले भने ।
प्रशासनको आग्रहलाई कसैले अवज्ञा गरेको खण्डमा प्रशासनिक रुपमा कुनै पनि सहयोग नहुने सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाइरस यस क्षेत्रमा भित्रिन नदिन र शंकास्पद व्यक्तिहरु भेटिएको खण्डमा के कसरी उनीहरुलाई उपचार गर्ने भन्ने विषयमा पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग छलफल समेत अगाडि बढाइएको प्रशासनले जनाएको छ ।
पोखरा क्षेत्रमा हुन सक्ने कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाइ मध्यनजर गर्दै यस क्षेत्रमा भाइरसको रोकथामको लागि तथा संक्रमित भेटिएको अवस्थामा सावधानि पूर्वक उपचार गर्नका लागि पोखराका ४ वटा अस्पतालमा ६० बेडको प्रबन्ध गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबन्धु शर्माले जानकारी दिए ।