site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विश्व स्वास्थ्य संगठनले नेपाल पनि कारोनाभाइरस (कोविड —९)को संक्रमणको उच्च जोखिममा रहेको भन्दै सावधान गराएको छ । नेपाल सरकारले पनि भ्रमण वर्ष — २०२० को विदेशमा प्रचार प्रसार गर्ने कार्यक्रम स्थगित गरेको छ । यी दुवै घटनाबाट नेपाल सरकार र नेपाली जनता कोरोनाको प्रकोपबाट जोगिने तयारीमा लागेको भान हुन्छ । दुर्भाग्य, देशभित्र आसन्न विपत्तिका बारेमा हल्ला र भ्रम त फैलेको छ तर राज्य संयन्त्रबाट सही र व्यवस्थितरूपमा सचेतना सन्देश प्रवाह गरिएको छैन । यस्तै, संसारका कतिपय देशले विदेश यात्रामा प्रतिबन्ध लगाइसकेका भए पनि नेपालमा संक्रमित देशमा कर्मचारीहरूको भ्रमणसमेत रोकिएको छैन । विदेशबाट आउनेहरू निर्बाध नेपाल आइरहेका छन् र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत संक्रमणका लक्षणहरू पत्ता लगाउने वैज्ञानिक प्रविधि छैन । अर्थात्, नेपालमा कोरोनाको संक्रमण रोक्ने जिम्मा पनि पशुपतिनाथलाई नै सुम्पिइएको छ । 

तयारी सुरु गरेको भए पनि पूर्ण हुने थिएन । आलोचना र टिप्पणी भइरहने थिए । तर, कम्तीमा तयारी गरेकोमा सन्तोष त मान्न पाइन्थ्यो । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा कोरोनाको संक्रमण रोक्ने कार्यक्रमप्रति बेवास्ता देखाउँदा अहिले भद्रगोल भएको समाचार द वासिङटन पोस्टले दिएको छ । चीनले सुरुमा सूचना लुकाउने प्रयास गर्दा निकै महँगो मूल्य चुक्ता गर्नुपरेको छ । अमेरिका र चीनजस्ता देशहरूले त सामना गर्न धौ धौ भएको कोरोनाको कहर हामी भने सजिलै थाम्न सकिनेजस्तो गर्दैछौँ । कम्तीमा सरकारले स्वास्थ्य मन्त्रालयले गरेको उपचारको तयारी, रोकथामका लागि जनस्वास्थ्यका उपायहरूलगायतका विषयमा जानकारी दिएको भए भ्रम फैलने थिएन । भ्रमले जनतालाई अत्याउन थालेपछि त्यसलाई चिर्न निकै कठिन हुन्छ भन्ने सरकारी अधिकारीहरूले कहिले बुझ्ने हुन् ?

अहिलेसम्म नेपालमा कोरोनाभाइसरको संक्रमण भएको थाहा भएको छैन । यसको अर्थ सरकारी स्वास्थ्य संस्थामा कोरोनाका बिरामी आइपुगेका छैनन् भन्नेमात्रै हो । आशा गरौँ साँच्चै नै नेपाल संक्रमण मुक्त नै छ । त्यस अवस्थामा पनि विदेशबाट कोरोना संक्रमित व्यक्ति नेपाल नआऊन् र नेपालमा कसैलाई संक्रमण भएको भेटिएमा उपचारको व्यवस्था हुनेछ । चीनबाट फर्काइएकाहरू कसैमा पनि संक्रमण नभेटिएको सुखद समाचार कायमै रहोस् । अब ढिला नगरी सरकारले विमानस्थल र स्थल नाकाहरूमा पनि संक्रमणको जाँच गर्ने भरपर्दो व्यवस्था तत्काल मिलाओस् । साथै, सहरी क्षेत्रलगायत संक्रमणको जोखिम भएका ठाउँहरूमा यसका लक्षणहरूका बारेमा र कसरी संक्रमणबाट जोगिन सकिन्छ भन्ने सम्बन्धमा जनचेतना जगाउने काम युद्धस्तरमा साँच्चै नै युद्धस्तरमा सञ्चालन गरियोस् । कोरोनाको संक्रमण रोक्ने प्रबन्ध मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं अगाडि सरुन् ! नत्र, उनका कमरेडहरूले यसैलाई पनि प्रधानमन्त्रीलाई घेर्ने निहुँ बनाउन सक्छन् ।     
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC