माघ १३ गते गीतकार, गायक तथा सङ्गीतकारको समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्यो । त्यसमा प्रेमध्वज प्रधान, यादव खरेल, किशोर गुरुङ, सत्यराज आचार्य, स्वरुपराज आचार्य, लक्ष्मण शेष, पारस मुकारुङ, जेबी संयोगी घले, अष्ट लामा, राजन इशान तथा गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, महासचिव वसन्त बित्यासी थापा थिए । उनीहरुले आफूहरु म्युजिक कम्पनीहरुबाट ठगिएको प्रधानमन्त्रीसमक्ष गुनासो गरे । ‘स्रष्टाहरु म्युजिक कम्पनीहरुबाट कसरी ठगिइरहेका छन् ?’ यसबारे गीतकार यादव खरेलले कार्यपत्र नै प्रस्तुत गरे ।
केही म्युजिक कम्पनीले लामो समयदेखि गरिरहेको प्रतिलिपि अधिकार हनन् र बौद्धिक शोषणको विषय स–प्रमाण आफ्ना अघिल्तिर प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिक्रिया मात्रै दिएनन्, भक्तराज आचार्य र प्रेमध्वज प्रधानका गीत आफूले जेलमा बस्दा सुन्ने गरेको र उहाँहरु नै प्रतिलिपि अधिकार हनन्को चपेटामा परेको भन्दै सत्यतथ्य खोजबिन गरी दोषीलाई जरिबाना गरिदिने वचन दिए ।
त्यसका लागि छानबिन समिति गठन गर्ने उनको प्रतिबद्धता थियो । एक साताभित्र छानबिन समिति बनाउने वचन दिँदै उनले स्रष्टाहरुलाई आस्वस्त पारेका थिए । मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीले नै भावुक हुँदै समस्या समाधान गरिदिने आश्वासन दिएपछि सर्जकहरुले ‘अबचाहिँ न्याय पाइने भयो’ भनेर सन्तोषको लामो सास ताने । त्यो पूर्ण भरोसा अक्षर र तस्बिरहरुमार्फत सामाजिक सञ्जालमा पनि पोखियो ।
एक साताको समयसीमा प्रधानमन्त्री स्वयम्ले तोकेका थिए । उत्साही स्रष्टाहरुले समय कुरे । तर प्रधानमन्त्रीको प्रतिबद्धता फोस्रो आश्वासनमा परिणत भयो ।
प्रधानमन्त्रीलाई भेटेको आठौं दिन उनीहरू पुगे नि–वर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई भेट्न । बास्कोटा झन् के कम ? प्रधानमन्त्रीभन्दा एक कदम अगाडि बढेर भने– ‘तपाईंहरु ठगिएको मलाई पहिलादेखि नै थाहा थियो । अलि पहिल्यै आउनु पर्ने, ढिलै भए पनि आएर ठीक गर्नुभयो ।’
छानबिन समिति बनाउने प्रतिबद्धता तत्कालीन सञ्चारमन्त्रीले पनि जनाए । मन्त्रीसँग स्रष्टाहरुले छानबिन समितिमा प्रतिलिपि अधिकार हनन् भएका तथा ठगिएकाहरुको पनि प्रतिनिधित्व हुनु पर्ने माग गरे ।
तत्कालीन सञ्चारमन्त्रीले थप भावुक हुँदै मन्त्रालय पुगेका गायक तथा सङ्गीतकारसमक्ष भन्दिए– ‘तपाईंहरु मात्रै किन आवश्यक परे पीडितहरुको तर्फबाट म स्वयम् नै समितिमा बसौंला ।’ अझै अगाडि बढेर उनले ‘छानबिन समिति’ बनाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए ।
सर्जकहरुले भरोसा गरे । तत्कालीन सञ्चारमन्त्रीलाई भेटेपछि गायक सत्यराज आचार्यले बाह्रखरीसँग भनेका थिए, “छानबिन समिति गठन भएर निष्पक्ष काम भयो भने आगामी दिनमा स्रष्टा र रेडियो नेपालको सम्पत्ति दोहन रोकिएला ।”
सङ्गीतकार लक्ष्मण शेषलाई पनि पूर्ण भरोसा थियो– “मन्त्रीज्यूले हामीले चोरीको तथ्य–प्रमाणसहित दिएको निवेदनमा तोकआदेश लगाउनुभएको छ । यो स्रष्टाहरूका लागि ठूलो उपलब्धि र भरोसा हो ।”
‘कहिलेसम्म छानबिन समिति बन्ने कुरा भएको थियो ?’ ‘मिति नै त यकिन भएको थिएन । मोटामोटी एक साताको समय थियो ।’ तर बुझ्दै जाँदा प्रतिलिपि अधिकारको क्षेत्राधिकार त सञ्चार मन्त्रालयमा पर्दो रहेनछ भन्ने तथ्य स्रष्टाहरुलाई पछि मात्र थाहा भयो । प्रतिलिपि अधिकारको क्षेत्राधिकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा पर्छ । त्यसैले सञ्चार मन्त्रालयले मन्त्रीले दिएको आदेशअनुसार काम अगाडि बढाउन संस्कृति मन्त्रालयलाई पत्र पठाएको छ ।
यससँगै अब प्रतिलिपि अधिकार हनन्को सत्यतथ्य पत्ता लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले चासो देखाउनु पर्नेछ । तत्कालीन सञ्चारमन्त्री बास्कोटाले जस्तै चासो संस्कृति मन्त्री योगेश भट्टराईले देखाउनु पर्नेछ ।
मन्त्री भट्टराईले पनि सर्जकको मर्म बुझ्नेमा गायक सत्यराज आचार्य ढुक्क छन् । उनलाई भेट्न यादव खरेलसहित सर्जकहरुको समूह केही दिनमा मन्त्रालय जाने तयारीमा छ ।
“हामी संस्कृति मन्त्रालय र उपप्रधानमन्त्रीलाई भेट्न केही दिनमा जाँदैछौं,” गायक सत्यराज भन्छन्, “उहाँहरुले पनि हाम्रो समस्या बुझ्नु हुनेछ भन्ने विश्वास लिएका छौं ।”
केही दिनअगाडि गायिका तारादेवीको स्मृति सभामा सञ्चार उद्यमी आरके मानन्धरले प्रतिलिपि अधिकारको विषय उठान गर्दा उप–प्रधानमन्त्री ईश्वर पोखरेलले पहिला ताल्चा खोल्नु पर्यो होइन भने म ताल्चा लगाइदिन्छु भनेका थिए । मन्त्री पोखरेलले सर्जकको पक्षमा बोलेपछि स्रष्टाहरु उनलाई भेट्ने तयारीमा लागेका हुन् । यसअघि यो घटना ठगी मुद्दासँग जोडिन पुगेपछि गृहमन्त्री रामबहादुर थापासँग पनि भेटेर गुनासो गरेका थिए ।
म्युजिक कम्पनीहरुले क्यासेट र सीडीका लागि मात्रै प्रतिलिपि अधिकार लिए पनि त्यसपछि आएको युट्युब च्यानलसँगै विभिन्न डिजिटल प्लेटफर्ममा गीत प्रयोग गरेपछि स्रष्टाहरु आन्दोलित भएका हुन् । म्युजिक कम्पनीहरुले बिनाअनुमति डिजिटल प्लेटफर्ममा गीत प्रयोग गरेर पैसा कमाइरहे पनि आफूहरुलाई नदिएको भन्दै सर्जकहरु त्यसको विरोधमा लागेका हुन् ।
गत मङ्गलबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयले म्युजिक नेपालका कार्यकारी निर्देशक सन्तोष शर्मासहित सङ्गीत तथा रोयल्टी सङ्कलन समाजका अध्यक्ष महेश खड्का र गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई बोलाएर छलफल गर्यो । छलफलमा शर्माले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउने स्रष्टाहरुको मागमा आफू सहयोग गर्न तयार रहेको बताएका थिए । “सरकारले छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाओस्, मेरो माग पनि यही नै हो,” शर्मा भन्छन्, “सहयोग गर्न म तयार छु । छानबिन समितिबाट यथार्थ आइहाल्छ । त्यतिञ्जेलसम्म सबैले धैर्य गरेको राम्रो ।”
आफूले करार सम्झौताअनुसार नै साङ्गीतिक क्षेत्रमा काम गरिरहेको भन्दै उनी तत्कालीन ऐन–कानुनभन्दा बाहिर गएर कसैको कुनै अधिकार हनन् नगरेको दाबी गर्छन् । पब्लिसिटी (प्रचारप्रसार)का लागि आफूले स्रष्टाहरुसँग सम्झौता गरेको शर्माको भनाइ छ । “युट्युबबाट आएको पैसाबाट मैले रोयल्टी दिँदै आएको छु । कति ठाउँबाट आउन बाँकी छ,” उनी भन्छन्, “अरुको त मैले भन्ने कुरा भएन, म्युजिक नेपालले अबको करिब डेढ महिनामा एकमुष्ठ रोयल्टी वितरण गर्छ ।”
गीत पब्लिसिटीका लागि केही विदेशी एग्रिगेटरलाई दिने गरेको जानकारी दिँदै शर्मा नेपालबाहिरका म्युजिक प्लेटफर्ममा तिनै एग्रिगेटरहरुले दिएको हुन सक्ने बताउँछन् । “पब्लिसिटीका लागि हामीले पनि केही प्रतिशतमा विदेशी एग्रिगेटरलाई दिने गरेका छौं, त्यो केही समयका लागि मात्रै हुन्छ,” उनी भन्छन्, “पब्लिसिटीको उद्देश्य सकेसम्म धेरै ठाउँमा, धेरै सङ्ख्यामा पुग्ने होस् भन्ने हुन्छ । त्यसैले केही समयका लागि उनीहरुले पनि दिएको हुन सक्छ ।” आफूले कानुनी परिधिभित्रै रहेका काम गरेको भन्दै उनी यसबाहेक अरु माध्यमबाट पनि विभिन्न म्युजिक प्लेटफर्ममा पुगेको हुन सक्ने बताउँछन् ।
स्रष्टासँग प्रतिलिपि अधिकार लिँदा नेपालका लागि मात्रै भनेर लिए पनि युट्युबसँगै एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक, साउन्ड क्लाउड, ई–म्युजिकलगायत सयभन्दा बढी सङ्गीत उपलब्ध हुने विश्वका लोकप्रिय ‘म्युजिक प्लेटफर्म’मध्ये धेरैमा नेपाली गीत एग्रिगेटरले बेचिरहेको नेपाली स्रष्टाको आरोप छ ।
यूएईको इड्रियस र डू, ओमानको नवरस र मोबाइल, कतारको क्युटेल, बहराइनको भिवा, कुवेतको जैन, माल्दिभ्सको वातानिया, भारतको बीएसएनएल, भोडाफोन र टाटा जीएसएमलगायत खाडीका २८ देशका विभिन्न मोबाइल सेवाप्रदायक कम्पनीसँग नेपाली केही एग्रिगेटरले गीत दिएको, तर त्यसको जानकारी र रोयल्टी सर्जकहरुलाई नदिएको सङ्गीतकार लक्ष्मण शेष बताउँछन् ।
साउन्ड ड्रप, लेभल डिस्ट्रिब्युसन, ईएमयू ब्यान्ड, ब्यान्ड क्याम्प, म्युजिक इन्फो डट आईआलगायत दर्जनौं एग्रिगेटरलाई नेपाली एग्रिगेटरले नेपाली गीत दिएको उनको भनाइ छ ।
यसैबीच, सरकारी निकायको उच्च तहबाट आएको आश्वासनसँगै केही स्रष्टा म्युजिक कम्पनीबिरुद्ध मुद्दा दर्ताको अन्तिम तयारीमा छन् । यादव खरेल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, अम्बर गुरुङका छोरा प्रतिलिपि अधिकार खोज्दै मुद्दा दर्ता गर्ने तयारीमा छन् । गायक तथा सङ्गीतकार राजन इशानले यसअघि नै मुद्दा दर्ता गरिसकेका छन् ।
यसअघि पनि प्रतिलिपि अधिकार तथा ठगीको विषय पटक–पटक उठेको थियो । स्रष्टाहरु प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय र प्रहरीमा पनि पुगेकै हुन् । तर अहिलेसम्मका मुद्दा प्रहरी र रजिस्टारको कार्यालयमा पुगेर टुङ्गिदै आएका थिए । यो पटक भने आफूहरु प्रहरीको रोहबरमा कागज गरेर नफर्किने सङ्गीतकार शेष बताउँछन् । गायक तथा सङ्गीतकार राजन चोरी र ठगी गर्नेहरुलाई सवक सिकाउन पनि अदालतसम्मै पुग्ने बताउँछन् ।