site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘आमा’ दर्शक र समीक्षक दुवैले मन पराउनेमा ढुक्क छु
Sarbottam CementSarbottam Cement

नेपाली चलचित्र उद्योगमा दीपेन्द्र के. खनाल परिचित नाम हो । ‘युगदेखि युगसम्म’, ‘धर्मा’, ‘चपली हाइट’, ‘भिजिल्यान्ते’, ‘झोले’ ‘पशुपतिप्रसाद’, ‘लभ लभ लभ’, ‘धनपति’, ‘चपली हाइट–२’ उनले निर्देशन गरेका चलचित्र हुन् । ‘पशुपतिप्रसाद’बाट आफूलाई अब्बल निर्देशकका रुपमा परिचित गराएका दीपेन्द्रको चलचित्र ‘आमा’ यो साता प्रदर्शनमा आउँदै छ । लेखन, छायांकन तथा निर्देशन दीपेन्द्रको रहेको चलचित्रले हस्पिटल ड्रामा उठान गरेको छ । दीपेन्द्रले ‘आमा’लाई आफ्नो महत्त्वाकांक्षी चलचित्र भन्दै आएका छन् । मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा रहेको चलचित्रमा सुरक्षा पन्तले कपाल मुन्डन गरेको पोस्टर र आउट डोर सिन पानीमा खिचेका कारण चर्चामा रहँदै आएको छ । निर्देशक खनालसँग उनको चलचित्र ‘आमा’सँगै नेपाली चलचित्रको कथा, स्क्रिप्ट, निर्देशन, दर्शक, बजारलगायत समग्र चलचित्रका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

चलचित्र ‘आमा’ रिलिजको सम्मुखमा छ, प्रचार कसरी गरिरहनुभएको छ ? 
ट्रेलर रिलिज, गीत, पोस्टर बजारमा ल्याउने नै हो । दर्शकले ट्रेलर मन पराउनुभएको छ । अब दर्शकमाझ चलचित्र रिलिज हुँदै छ भन्ने सन्देश कसरी प्रवाह गर्न सकिन्छ, त्यसका सम्पूर्ण पक्षलाई अवलम्बन गरिएको छ ।

चलचित्र प्रचारमा हामीले नयाँ तरिका अपनाउन सकेनौं नि ? 
ट्रेलर, पोस्टर चलचित्रको मुख्य पक्ष हो । पहिलो पनि यही थियो । अहिले पनि यही नै छ । यो नेपालमा मात्रै होइन विदेशमा पनि यही नै हो । चलचित्रलाई समाजसँग जोडेर प्रचार गर्ने चलन हाम्रोमा अझै छैन । मेरो चलचित्रमा जुन विषय उठाइएको छ, त्यसलाई समाजसँग जोडेर प्रचार गर्न सकिन्थ्यो । तर नेपालमा त्यसो गर्ने चलन छैन । म निर्देशक भएँ, रिलिजको अघिल्लो दिनसम्म पनि चलचित्रलाई कसरी राम्रो बनाउने भन्नेमै काम गरिरहेको हुन्छु । प्रचारको काम गर्ने एजेन्सी हुनुपर्छ । विदेशमा हुन्छ । हामी एजेन्सीलाई पैसा तिर्न सक्दैनौं । यो नै हाम्रो मुख्य समस्या हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसको अर्थ हामी राम्रो चलचित्र बनाएको अवस्थामा पनि बेच्न जान्दैनौं ? 
हो । बच्नु पनि त चलचित्रको एउटा प्रक्रिया हो । हामीसँग त्यस्तो ब्रान्ड पनि छैन, जो विदेशमा हुन्छन् । भए पनि व्यक्तिगत सम्बन्धका आधारमा मात्रै आउँछन् । अहिले एक खालका दर्शक हुनुहुन्छ, जो नेपाली चलचित्र कुरेर बसिरहनु हुन्छ । उहाँहरूबाहेक अरूसामु पनि पुग्न सकिन्थ्यो होला नयाँ दर्शकलाई समेट्न सकिने अवस्था छैन । 

प्रोडक्सन डिजाइन नै छैन, कसरी हुन्छ त राम्रो काम ? 
यही त हाम्रो समस्या हो । प्रोडक्सन डिजाइनका लागि पैसा छैन । प्रोडक्सन डिजाइन भएन भने लयबद्ध काम हुँदैन । यो भनेको चलचित्र निर्माणमा हामी कमजोर अवस्थामा छौं भन्ने संकेत पनि हो । 

Global Ime bank

राम्रो ट्रेलर र गीत हिट भएका चलचित्र हलमा पुग्दा कमजोर देखिएका उदाहरण धेरै छन्, यो इतिहास नदोहोरिएला भन्ने आधार के छ ?
आधार छ । ट्रेलरभन्दा चलचित्र सधैं राम्रो हुनुपर्छ । ‘आमा’को सवालमा ट्रेलरभन्दा चलचित्र धेरै राम्रो छ । ट्रेलरमा देखिएको कुरा मात्रै चलचित्रमा छैन, त्योभन्दा धेरै कुरा छन् । 

चलचित्रको प्रदर्शनअगाडि सबैले भन्ने यही नै हो, मेकरको भनाइमा दर्शकले विश्वास नगर्ने अवस्था आइसक्यो नि ! 
हो सबैले भन्ने यही नै हो । राम्रो बनाउनेले पनि यही र नराम्रो बनाउनेले पनि दाबी गर्छन् । त्यसैले मैले योभन्दा अगाडि के बोलेको थिएँ र त्यसमा सत्यता थियो कि थिएन भनेर दर्शकले मूल्यांकन गर्ने हो । मैले इमानदार भएर चलचित्र बनाएको छु । र सोहीअनुसार बोलेको छु भने त्यसप्रति दर्शकले भरोसा गर्नुपर्छ । बाँकी कुरा त चलचित्रले नै बोल्नुपर्छ । चलचित्रमा निर्देशकले गर्नुपर्ने इमानदारी मैले ‘आमा’मा गरेको छु । 

चलचित्रमा हस्पिटल ड्रामा उठान गर्नुभएको छ, यथार्थको नजिक रहेको कथा हो ? 
चलचित्रको मन खिच्छ भन्ने मेरो विश्वास हो । जति पनि संवाद र प्लट छन् यर्थाथनजिक छन् । शतप्रतिशत त म भन्दिनँ किन भने चलचित्र हो । चलचित्रभित्र जति पनि पात्र, घटना, परिस्थिति छन्, बनिबनावट छैन । त्यसैले मेकिङको प्रक्रिया पनि यथार्थको नजिक हुनुपर्छ भनेर काम गरेको छु । 

अस्पताल आम नागरिकको भोगाइ हो । आम मान्छे हस्पिटल गएका छन् । त्यहाँ के कस्तो हुन्छ सबैलाई थाहा छ । ‘पशुपतिप्रसाद’मा चार सय मिटरको पेरिफेरीमा बसेर चलचित्र खिचेको थिएँ । तर यसमा एउटा भवनभित्र बसेर धेरै कथा भनेको छु । समाजका कुरा, हस्पिटलका कुरा, आमाका कुरा, बुवाका कुरा, सन्तानका कुरा, विदेशका कुरा अभाव र दर्दका कुरा भनेको छु । पानीमा खिचेको छु, त्यसको अर्थ छ । पानीसँग देशको समकालीन अवस्थालाई चित्रण गरेको छु । त्यसैले दर्शकलाई छुने मेरो विश्वास छ । मेरो चलचित्रमा रहेका कुरा अहिले लेख तथा समाचारमा आइरहेका छन् ।

नेपालमा हस्पिटलको इनडोर सिन लिन त्यति सहज छैन, कसरी खिच्नुभयो । पानीमै खिच्नुको कारण ?
पानीमा खिच्नुको कारण एउटा, देशको अवस्था पानीमार्फत देखाएको छु । अर्को, मेरो चलचित्रमा सबै छाया पात्र छन् । सबै दुःखमा छन् । आँसुमा छन् । केही दृश्य झरीका प्रवाह नगरी हिँडेका छन् । धेरै कुरा सांकेतिक रूपमा देखाउन खोजेको छु । 

आमाले आफ्नो आँसु लुकाएर सन्तानको खुसी खोज्छन् भन्न खोज्नुभएको हो ?
हो । आमाले सन्तानका लागि गर्ने त्याग चलचित्रमा देखिन्छ । 

हस्पिटलमा छायांकनको प्रसंग छुटे जस्तो लाग्यो ?
सेट लगाएर त सम्भवै छैन । सेतो भित्ता देखाउँदैमा र दुइटा बेड राखेर खिच्दैमा हस्पिटल हुँदैन । त्यो आर्टिफिसियल देखिन्छ । सेट लगाउन करोडौं खर्चिन हामी सक्दैनौं । नेपालमा प्रोडक्सन नहुँदा हात जोडेर, बिन्ती गरेर हस्पिटलभित्रै गएर खिचेका छौं । निर्देशकले यस्तो अभाव र अफ्ठ्यारोमा काम गर्दा धेरै कुरा मर्छ । ‘पशुपतिप्रसाद’मा भन्दा यसमा मलाई बढी तनाव भयो छायांकन गर्न । इनडोर भएकाले चाहेजति क्रू पनि लैजान सकिएन, चोहको जति समय पनि लिन सकिनँ ।

त्यो सम्झौता चलचित्रमा देखिने भयो त्यसो भए ?
देखिँदैन । नदेखिने गरी काम गरेको छु । कथादेखि नै चलाखी गरेका कारण देखिँदैन । 

चलचित्रमा सुरक्षा पन्तले कपाल खौरिँनु भएको छ । चर्चाका लागि कि कथा नै त्यस्तै हो ? 
कपाल मुन्डन गर्दैमा चलचित्र चल्छ भन्ने मानसिकतामा हामी छैनौं । नेपालमा यसअघि पनि नायिकाले कपाल काटेका थिए । तर ती चलचित्र पनि नचेलका उदाहरण जगजाहेर छ । कथाको कुन मोडमा कपाल खौरिएको छ, त्यसले अर्थ राख्छ । ‘आमा’मा जुन समयमा कपाल खौरिन्छ, त्यो आवश्यकता हो । छोरी मान्छेले कपाल नखौरी किरिया बसेको पनि देखिएको छ । तर महिला पनि हर कुरामा सक्षम छन् भन्ने देखाउन कपाल खौरिएको हो । 

चलचित्र रिलिजको पूर्वसन्ध्यामा निर्माताको लगानी कसरी जोगाउने भन्ने दबाबमा हुन्छन् निर्देशक । अधिकांश चलचित्र घाटामा गइरहेको अवस्थामा आमाको बक्सअफिस कलेक्सनलाई लिएर कत्तिको दबाब महसुस भइरहेको छ ? 
मलाई त्यति धेरै दबाब छैन किन भने हाम्रो चलचित्रमा ठूलो लगानी छैन । करिब विदेशको राइट्स र डिजिटल राइट्सबाट लगानी उठिसकेको छ । तर मैले आजसम्म जति पनि चलचित्र निर्देशन गरेँ ‘आमा’ रिलिज गर्नुअगाडि जति डर लागिरहेको छ, यति डर कहिल्यै लागेको थिएन । 

कारण ?
ट्रेलरले जुन हाइप बनायो । दर्शकले मन पराइदिनुभयो । ट्रेन्डिङमा एक नम्बरमा आयो । यसले मलाई दबाब सिर्जना गर्‍यो । व्यावसायिक पाटोमा पनि मलाई डर भएन किन भने लगानी करिब उठिसक्यो । इनिसियल व्यापार पनि हुन्छ । मात्रै डर शुक्रबार समीक्षक र दर्शकले के भन्नुहुन्छ भन्ने कौतुहल छ । चलचित्रको लेखन, छायांकन र निर्देशन म आफैंले गरेका कारण पनि योपटक मैले बढी दबाब महसुस गरिरहेको छु । 

दर्शकले रुचाइरहेका चलचित्र समीक्षकले रुचाइरहेका छैनन्, समीक्षकले रुचाइरहेका चलचित्र दर्शकले रुचाइरहेका छैनन् । तपाईं कसका लागि चलचित्र बनाउनु हुन्छ ? 
हो, तर मेरो हकमा समीक्षक र दर्शक दुवैले मन पराउनुहुन्छ । जस्तै ‘पशुपतिप्रसाद’ । आमामा पनि त्यही कुरा लागु हुन्छ भन्नेमा म ढुक्क छु । 

पछिल्लो समय नेपाली चलचित्रको व्यापार टिठ लाग्दो छ, ‘पशुपतिप्रसाद’ पछि तपाईंका पनि दुई चलचित्रको कलेक्सन अपेक्षित रहेन । किन चलिरहेका छैनन्, नेपाली चलचित्र ? 
किन चल्दैनन् भन्नेमा मेरो पनि ठाडो जवाफ छ, जुन चलचित्रले दर्शकलाई आकर्षित गर्न सक्दैनन् ती चलचित्र चल्दैनन् । शुक्रबार र शनिबार दर्शक हलमा जानुहुन्छ । तर आइतबार दर्शक हलसम्म पुग्नुहुन्न भने त्यो फिल्म राम्रो छैन भन्ने नै हो । ‘छ माया छपक्कै’ पछि शुक्रबार पनि आजसम्म हलमा दर्शक जानुभएको छैन भनेपछि चलचित्रले आकर्षण गर्न नसकेको हो । 

यसको अर्थ दर्शकलाई हलसम्म तान्ने निर्देशकीय क्षमता भएन भन्ने बुझ्नुपर्‍यो ? 
निर्देशकीय क्षमता भने पनि अरू पक्ष जोडे पनि, सम्पूर्ण चलचित्रले नै आकर्षण गर्न सक्नुपर्छ । भोलि ‘आमा’ले पनि दर्शकलाई आकर्षण गर्न सकेन भने दर्शक आउनुहुन्न । शुक्रबार र शनिबार चलचित्रले आकर्षण गर्नुपर्‍यो, त्यसपछि चलचित्रको कन्टेन्टले दर्शक तान्ने हो । यो वा त्योलाई दोष दिनुभन्दा पनि सुरुमा त हामी आफैंले आफैंलाई पछाडि फर्किएर हेर्नुपर्‍यो । 

नेपाली दर्शकको पहिलो रोजाइ विदेशी चलचित्र छ, दर्शकको रोजाइ के हो भनेर उनीहरूको नाडी छामेर चलचित्र बनाउन किन सकेनौं ? 
नाडी छामेर, बजार हेरेर चलचित्र बनाउने भन्ने चाहिँ म मान्दिनँ । जब फिल्म मेकरले बजार र दर्शकको नाडी छाम्न थाल्छ त्यसपछि चलचित्र राम्रो बन्दैन । फिल्म मेकरले समाजमा के भइरहेको छ, अवस्था कस्तो छ ? कथा खोजेर ल्याएर चलचित्र बनाउने हो । यति रिक्स लिन सक्दैन भने चलचित्र नबनाए हुन्छ । चलचित्र जुवा हो । हलिउड होस् वा बलिउड जहाँ पनि चलचित्र त जुवा नै हो । शतप्रतिशत लगानी सुरक्षित हुन्छ भन्ने त छैन ।

म पनि हरेक चलचित्रमा सफल हुन्छु भन्ने छैन । यसमा सचेत हुनुपर्छ । फिल्म मेकरको धर्म के हो भने समाजमा के भइरहेको छ, लुकेको कथा कसरी ल्याउने, समाजलाई कसरी झक्झक्याउने, क्रान्ति कसरी गर्ने त्यो त मेकरको धर्म हो । 

नेपाली फिल्म मेकरले धर्म छोडे, त्यसैले दर्शकले नेपाली चलचिलाई पत्याएनन् भन्दा हुन्छ ? 
धर्म छोड्यौं भन्दा पनि अहिले नेपाली चलचित्रकर्मी ह्विमको पछाडि दौडिएका छन् । कुनै एउटा चलचित्र चल्यो भने त्यसकै पछाडि लाग्ने र त्यस्तै बनाउन खोज्ने प्रवृत्ति छ । छक्का पञ्जा चल्यो भने कमेडी चल्ने रहेछ भनेर त्यस्तै बनाउन खोज्ने । पशुपतिप्रसाद चल्यो भने त्यस्तै बनाउने खोज्ने । तर मेरो क्षमता के छ र म के बनाउन सक्छु भनेर मूल्यांकन नगर्ने ह्विमको पछाडि लाग्ने प्रवृत्ति छ । कमेडी चल्छ भन्ने ह्याङ छ, तर छक्का पञ्जा र कबड्डीबाहेक अरू त चलेको छैन । 

नेपाली चलचित्र नेपालमै चलिरहेका छैनन् भने विदेशमा नेपाली चलचित्रको बजारको सम्भावना छ ? 
सम्भावना त छ । कथा त हामीसँग अथाह छन् । जहाँ अभाव, गरिबी, पीडा, द्वन्द्व हुन्छ त्यहाँ कथा हुन्छ । त्यो कथा भन्न सक्ने क्षमतावान् निर्देशक पनि हुनुहुन्छ । तर त्यो कथा भन्ने निर्देशकलाई पूर्वाधार केही पनि छैन । अन्तर्राष्ट्रिय बजारमा जान त्यो क्वालिटीको चलचित्र चाहिन्छ । तर लगानी गर्ने निर्माता नै छैन । जति पनि निर्माता आउनुहुन्छ नेपाली बजारकै लागि आउनुहुन्छ । चार करोड लाग्ने ठाउँमा १० करोड लगाऔं । र अन्तर्राट्रिय बजारमा जाऔं भन्ने भिजन भएको निर्देशक मैले आजसम्म देखेको छैन । फिल्म मेकिङ भनेको प्यासन हो, कुर्न सक्नुपर्छ । मैले ‘आमा’मा जसरी कुरेँ म पनि कतिपटक त बहकिसकेको थिएँ । त्यो प्यासन कसैसँग छैन । मेकिङको हिसाबले ठूलो हुनुपर्ने बाध्यता आइसक्यो तर बजार जहाँको त्यहीँ छ । अनि कसरी बन्छ राम्रो चलचित्र । 

प्लेटफर्म छ, जस्तै नेटफ्लिक्स । मैले नेटफ्लिक्सका लागि प्रयास गरिरहेको छु । आउने सम्भावना पनि छ । चाइनामा भारतीय चलचित्रको दबदबा छ । जहाँ कन्टेन्ट बिक्छ । हामीले चाइनाका लागि केही गर्न सकेका छैनौं । 

भर्खरै नेपाल आएका नेटफ्लिक्सका प्रतिनिधिले तिमीहरू बजार होइन कन्टेन्ट खोज, राम्रो कन्टेन्टले बजार आफैं खोज्छ भनेर सुझाव दिइसके । तर हामी बजार–बजार भनेर यसकै पछि लागेका छौं । किन ? 
हो । बजार छ । प्लेटफर्म छ । हामी जान नसकेको मात्रै हो । विश्व सिनारियो हेर्ने हो भाषाले अहिले कुनै ‘माइने’ राख्दैन । त्यसमा पनि चलचित्र भिजुअल ल्याङ्ग्वेजको भाषा हो । आँखाले हेर्ने हो । ‘प्यारासाइट’ हाम्रा लागि उदाहरण हो । यसमा ठूलो लगानीभन्दा पनि राम्रो कथालाई राम्रोसँग भनिएको त हो । त्यस्ता कथा त हामीसँग कति छन् कति । तर त्यतिको मेकिङ गर्ने पनि हामीसँग बजेट छैन । ‘प्यारासाइट’मा अफिसको दृश्य छ जहाँ डली लगाएर एकै सटमा खिचिएको छ । त्यही सट हामी खिच्न सक्दैनौं र राम्रो देखिँदैन । उनीहरूको दुईटा क्यारेक्टर बोल्दै आएको छ । डलीले सेटमा खिचेको छ । हाम्रोमा त्यो बजेट छैन । 

हामीसँग विश्वमा पुग्ने कथा छन्, त्यो कथा भन्ने निर्देशकीय क्षमता भएका निर्देशक पनि छन् भने चलचित्रमा विदेशी लगानी भित्र्याउन किन सकेनौं ? 
हामी नेपालीलाई कसैले पत्याउँदैन । जब हामी हाम्रो राहदानी बोकेर इमिग्रेसन जान्छौं अनि थाहा हुन्छ हामीलाई विश्वले कसरी हेर्छ । हाम्रा लागि इमिग्रेसनमा छुट्टै लाइन हुन्छ । अमेरिका जाने बेलामा जापानिज, युरोपियनलाई जाँच गर्दा अर्कै तरिका हुन्छ, तर हामीलाई नाङ्गेझार बनाएर जाँच गरिन्छ । कारण हामीलाई नपत्याएर हो । हामीले केही गर्न नसकेर नै हो । कसैले गर्न सकेकै छैन भने कसले पत्याउँछ । 

त्यसो भए हामी यही ठाउँमा बसिरहने हो ? 
होइन । मैले प्रयास गरिरहेको छु । मैले जस्तै अरूले पनि प्रयास गर्दै हुनुहुन्छ होला । एक दिन त गरौंला नि ! आज म नेटफ्लिक्स प्रयास गरिरहेको छु । भोलि चाइना प्रयास गरौंला । म व्यक्तिगत रूपमा प्रयास गरिरहेको छु । अर्कोले पनि मजस्तै प्रयास गरिरहेको छ । एकजनाले त पक्कै ब्रेक गर्ला नि ! त्यसपछि त नेपाली चलचित्रलाई पनि पत्याउने दिन त आउला । 

हामीले यही भनेर ५० वर्ष बिताइसक्यौं । 
५० मात्रै होइन सय वर्ष पनि कट्छ । किन भने हामी सीमित स्रोत साधनमा बसेर काम गरिरहेका छौं । जति पनि काम हाम्रोमा भइरहेको छ । त्यो व्यक्तिगत प्रयासमा भइरहेको छ । ‘प्यारासाइट’ को उदाहरण दिन सजिलो छ । तर यो चलचित्र जन्मनुमा दक्षिण कोरिया सरकारको भूमिका कति छ भन्ने कुरा केलाएर हेर्नुपर्छ । त्यत्तिकै ‘प्यारासाइट’ जन्मिएको छैन । 

हाम्रो सरकारले चलचित्रलाई किन विश्वास गर्न सकेन ? 
चलचित्रलाई महत्त्व दिइएन । चलचित्रलाई मात्रै होइन । कला-साहित्यलाई नै महत्त्वपूर्ण विधा हो भनेर मानिएको छैन । बाह्रखरीमा चलचित्रलाई कला भनेर राखिए पनि अरू कति अनलाइन हेर्नुस्, मनोरञ्जनको विधामा राखिएको छ । 

हामीले प्रमाणित गर्न सकेनौैं कि ? 
सरकार भनेकोे के हो ? अभिभावक हो । अभिभावकले आफ्नो सन्तानले के गर्न खोजिरहेको छ, के गरिरहेको छ, किन गर्न सकेन भनेर मनोविज्ञान बुझ्नु पर्दैन ? सन्तानको भावना बुझ्न नसक्ने त अभिभावकै होइन । हामीले चलचित्र विकास बोर्डलाई झक्झक्याएको झक्झक्याइ छौं । म आफैं कैयौंपटक गएको छु । 

हिँडेर अमेरिका जाने मेरो चलचित्रको प्रोजेक्टमा मलाई सरकारले सहयोग गरोस्, मैले भनेजसरी खिच्न पाउँ । म पनि ओस्कारमा विदेशी विधा (क्याटागोरी) मा जित्ने चलचित्र बनाउँछु भन्ने आँट छ । तर खोइ सहयोग गर्ने सरकार ? कसले गरिदिन्छ । कथा छन् तर लगानी छैन । 

समाजमा कथा छ, तर त्यसलाई स्क्रिप्टमा रूपान्तरण गर्ने दक्ष जनशक्ति छैन भनिन्छ, हो ? 
हो, कथा छ । कथा लेख्न रिसर्च गर्नुपर्छ । त्यसका लागि समय र पैसा चाहिन्छ । मलाई एउटा स्क्रिप्टका लागि तीन वर्ष लाग्छ । जति समय दियो त्यति स्क्रिप्ट निखारिन्छ । तर, तीन वर्ष लगाएर लेखेको स्क्रिप्टबाट आउने पारिश्रमिकाले उसको जीवन चल्छ ? पैसा पुग्छ ? मैले त ५ लाखभन्दा माथि स्क्रिप्टलाई खर्चिएको सुनेको छैन । १० लाख दिन्छु भनेको सुनेको छु, तर त्यो व्यवहारमा लागु भएको छ कि छैन । पाँच लाखले तीन वर्षको खर्च त पुग्दैन । 

केही चलचित्रले स्वदेशी बजारबाटै राम्रो कलेक्सन पनि गरिरहेका छन् । यसको अर्थ हामीसँग दर्शक छन् भन्ने पनि हो नि । तर अधिकांश चलचित्रले लगानी गुमाइरहेका छन् । किन ? 
ग्रस कलेक्सनको रेकर्ड जुन छ, हामीसँग । अब यसले पुग्दैन । बढ्नुपर्छ । दर्शकको माग र चाह बढिसक्यो । घर–घरमा नेट्फ्लिक्स छ, सिरिज चलचित्रभन्दा बलियो भएर आइसक्यो । चलचित्र बनाउने प्रक्रिया महँगो भइसक्यो । अब पनि हामी त्यही १८ करोड र नेपाली बजारमै बसिराख्यौं भने हाम्रो चलचित्रको स्तर उकासिँदैन । जहाँका त्यहीँ रहन्छ । १८/२० करोडबाट ३८/४० करोड उठ्नुपर्‍यो । ‘पशुपतिप्रसाद’ मैले राम्रो बनाएँ होला तर चार वर्षपछि बन्ने आमा त त्योभन्दा राम्रो बन्नुपर्‍यो नि ! त्यही स्तरमा खुम्चिएर त भएन । 

तपाईं ‘पशुपतिप्रसाद’भन्दा राम्रो बन्नुपर्‍यो भन्नुहुन्छ, त्यही स्तरमा पनि चलचित्र बनेकै छैनन् नि ? 
हो, इमानदार भएर भन्ने हो भने चार वर्षअगाडि बनेका चलचित्र जति पनि अहिले बनिरहेका चलचित्रको गुणस्तर छैन । 

अधिकांश चलचित्रले पोस्टरको पैसा पनि उठाउँदैन भनिन्छ, हो ?
हो । अहिलेको अवस्था त्यस्तै छ । चल्यो भने मजाले चल्छ । चलेन भने चल्दै चल्दैन । पोस्टरको पैसा पनि उठिरहेको छैन । हलमा दर्शक गएकै छैनन् । टिकट हेर्‍यो भने पनि थाहा हुन्छ, दुई–तीनजना दर्शक देखिन्छ हलमा । 

गत वर्ष ९६ चलचिल रिलिज भए । दुई–चारबाहेक अधिकांशले पोस्टरको पैसा पनि उठाएनन् । तर पनि चलचित्र बनिरहेकै छन् । किन बन्छन् ? 
यो वर्ष निकै कम चलचित्र बनेका छन् । करिब आधा घटिसक्यो । अझै घट्छ । घट्नु पनि पर्छ । गुणस्तरीय चलचित्र बनुन्, राम्रा बनुन् । 

के देखेर लगानी भइरहेको छ ? 
नेपालमा मात्रै होइन संसारभर यस्तै हो । भारतमा वार्षिक १४/१५ सय चलचित्र बन्छन्, हामीले सुन्ने त्यही एक दर्जन त हो । चलचित्र बाहिरबाट हेर्दा ग्ल्यामर फिल्ड हो । मिडिया सटकट मनी । चलिचत्र चल्यो भने एक वर्षमा पैसा आउँछ । संसारभर यस्तै हो । तनाव लिएर हुँदैन । तर चलचित्रलाई नै जीवन भनेर लागेकाहरू चाहिँ बिग्रिनु भएन । राम्रो काम गर्नुपर्‍यो । टिमवर्क गर्नुपर्‍यो । 

चलचित्र बनाउनभन्दा रिलिज गर्न गाह्रो छ भनिन्छ । हो ? 
सत्य हो । विदेशी चलचित्रको डेट हेरेर नेपाली चलचित्रको डेट तय गर्नुपर्छ । यो आमनेपाली चलचित्र निर्माताको समस्या हो । बलिउड र हलिउडको क्यालेन्डर हेरर आफ्नो चलचित्र कहिले लगाउने निर्णय गर्नुपर्छ । यसमा अरूलाई दोष दिएर पनि भएन । आफैंले राम्रो चलचित्र बनाएर दर्शकलाई आकर्षित गर्न नसकेपछि अरूलाई दोष दिएर पनि भएन । नेपाली चलचित्रलाई दोस्रो दर्जाको जस्तो व्यवहार हुन्छ । आमाकै कुरा गर्दा ५ वटा चलचित्र स्क्रिनमा हुन्छन् । बाँडीचुँडी सो मिलाउनुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC