कोरोनाभाइरसको विश्वव्यापी चर्चा हालै सुरु भए पनि चीनमा केहीले गत डिसेम्बर महिनाको सुरुमै यसबारे थाहा पाइसकेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्चप्रविधि अधिनायकवादले गर्दा त्यो जानकारी सार्वजनिक गरिएन र भाइरस फैलन दिइयो ।
नर्वेली राजनीति शास्त्री स्टेइन रिङेनले आफ्नो सन् २०१६ को पुस्तक ‘द पर्फेक्ट डिक्टेटरसिप : चाइना इन द टुवेन्टीफस्ट सेन्चुरी’मा वर्तमान चीनलाई ‘नियन्त्रणतन्त्र’ भनेका छन् । त्यसमा उनले चीनको वर्तमान सरकारी तन्त्र विगतभन्दा बढी कट्टर र सैद्धान्तिक भएको तर्क दिएका छन् । चीनको यही ‘नियन्त्रणतन्त्र’ अहिले चीनका साथै विश्वभर फैलँदै गरेको कोरोनाभाइरस महामारीका लागि पहिलो जिम्मेवार देखिएको छ ।
बितेका आठ वर्षहरूमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय नेतृत्वले स्थानीय, प्रान्तीय सरकारका साथै मन्त्रालयहरूको अधिकार कटौती गरेर पार्टीको आफ्नो शक्तिका साथै राष्ट्रपति सी जिनपिङको व्यक्तिगत प्राधिकार बढाउन विभिन्न कदमहरू चालेको छ । केन्द्रीय सत्ताले विद्रोहलाई निरन्तर दबाएको छ भने यस्तो दमन चीनको सामाजिक र राजनीतिक जीवनमा जताततै अनुभव गरिएको छ ।
‘नियन्त्रणतन्त्र’ अन्तर्गत वेबसाइटहरू बन्द गरिएका छन्, वकिल, अभियन्ता र लेखकहरू कैदमा राखिएका छन् र अनलाइन अभिव्यक्ति र मेडियामा सम्प्रेषणहरूमा चिसोपन व्याप्त छ । यत्तिकै महत्त्वपूर्ण, सन् २०१२ देखि सीले खडा गरेको प्रणालीले चीनलाई नयाँ प्रविधिको दिशातर्फ अगाडि बढाएको छ । क्लाउड कम्प्युटिङ, विशाल डाटा भण्डार र कृत्रिम चेतना (एआई) सबै समाजमा केन्द्रीय सरकारको नियन्त्रण बलियो बनाउन प्रयोग गरिएको छ ।
हुबेइ प्रान्तको राजधानी वुहानमा सन् २०१९ को डिसेम्बर १ मा कोरोनाभाइरसको पहिलो बिरामी भेटियो र त्यही महिनाको मध्यसम्म आइपुग्दा चिनियाँ अधिकारीहरूसँग त्यो भाइरस मानिसमा सर्न सक्ने पुष्टि भएको जानकारी थियो । परन्तु, सरकारले जनवरी २० सम्म पनि राष्ट्रिय टेलिभिजनमा आधिकारिकरूपमा महामारी फैलिएको स्वीकार गरेन । ती सात साताहरूमा सामाजिक सञ्जालमा जनतालाई सचेत गराउन खोज्ने आठ जना स्वास्थ्यकर्मीलाई दण्ड दियो । उनीहरूमाथि ‘भ्रम फैलाएको’ र ‘सामाजिक व्यवस्था’ खलबल्याउन खोजेको आरोप लगाइएको थियो ।
यसबीच, हुवेईको क्षेत्रीय सरकारले जनवरीको बीचतिर केन्द्रीय सरकारका अधिकारीरूसँग नभेट्दासम्म कोरोनाभाइरस संक्रमितहरूको वास्तविक संख्या लुकाउने कार्य जारी नै राख्यो । फलस्वरूप, चर्को नियन्त्रण (सेन्सरसिप) र प्रशासनिक ढाकछोपका कारण १ करोड १० लाख जनसंख्या भएको वुहान सहरभर भाइरसको संक्रमण नफैलँदै नियन्त्रण गर्ने अवसर गुम्यो । जनवरी २३ मा सरकारले वुहानका बासिन्दालाई आवागमनमा प्रतिबन्ध लगाउन्जेलमा त ५० लाख जनसंख्याले सहर छाडिसकेको थियो । यसैबाट महामारीलाई चीनभर र बाँकी दुनियाँमा फैलाउने काम भयो ।
महामारीको यथार्थ संख्या अन्ततः स्पष्ट हुँदा चिनियाँ जनमतमा स्वभावतः रिस, चिन्ता र निराशा प्रकट भयो । जनताले आफ्नो आक्रोश र कुण्ठा प्रकट गर्न इन्टरनेटको माध्यम प्रयोग गरे । तर, यसलाई पनि नियन्त्रण गर्न र पत्रकारहरू एवं सजग नागरिकहरूको संकटसम्बन्धी सूचना आदानप्रदान गर्ने क्षमता नियन्त्रित गर्न राज्यलाई धेरै समय लागेन ।
यसपछि, फेब्रुअरी ३ मा सीको अध्यक्षतामा महामारीका विषयमा बसेको पार्टीको स्थायी समितिको दोस्रो बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको प्रचार विभागलाई ‘जनमत निर्देशित गर्न र सूचनामा नियन्त्रण सुदृढ बनाउन’ आदेश दियो । व्यवहारमा यसको अर्थ अत्याधुनिक कृत्रिम चेतना र विशाल डाटा भण्डारको प्रविधि अनलाइनमा सम्पूर्ण चिनियाँ जनमतको निगरानी गर्न प्रयोग गर्ने भन्ने नै हो । नियन्त्रणतन्त्र अहिले अनुहार, आवाज, तस्बिर पहिचान गर्ने सबै प्रविधि प्रयोग गरेर सरकारको सम्भावित आलोचना पहिल्याएर दमन गर्न र महामारीका सम्बन्धमा सबै ‘अनधिकृत’ सूचना मेटाउन तल्लीन रहेको छ ।
भाइरस संक्रमणका बारेमा जनतालाई सजग गराउन खोज्ने चिकित्सक ली वेवलिआङ फेब्रुअरी १७ मा कोरोनाभाइरसकै कारण मरेपछि सामाजिक सञ्जालमा आँधीबेहरी नै आयो । चिनियाँ जनताले उनलाई उनलाई सत्य बताउने प्रयासमा ज्यान गुमाउने नायक र पीडितकारूपमा सम्मान गरिसकेका छन् । दसौं लाखले सामाजिक सञ्जालमार्फत आफ्नो दुःख प्रकट गरेका छन् र चीन सरकारले माफी माग्नुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको माग गरिरहेका छन् ।
सत्तामा आएपछि पहिलोपटक सीको उच्च प्रविधिको नियन्त्रण संयन्त्र (सेन्सरसिप मेसिन)ले दसौं लाख इन्टरनेट प्रयोगकर्ता चिनियाँहरू चर्को प्रतिरोधको सामना गर्नुपरेको छ । नियन्त्रणतन्त्र परीक्षणको कसीमा छ । धेरै सम्भवना भने महामारीको संक्रमणलाई नै जनतामाथि थप निगरानी र नियन्त्रणका लागि प्रयोग गरिने नै छ ।
सी विचल अधिनायक हुन् । तर, उनको अधिनायकवाद ‘पूर्ण’ भने छैन । सूचनामा नियन्त्रण गर्ने उनको आवश्यकताले चिनियाँ नागरिकलाई समुदाय र अझ आफ्नै शरीरका सम्बन्धमा पनि सुसूचित हुनपाउने अधिकारबाट वञ्चित गरेको छ ।
फेब्रुअरी ९ सम्ममा संक्रमणबाट ९०० भन्दाबढीको ज्यान गइसकेको छ भने २५ मुलुकका ४० हजारभन्दा बढी संक्रमित भएका छन् । उन्नत डिजिटल प्रविधि तथा असाधारण आर्थिक र सैनिक शक्ति भए पनि चीनमा मध्ययुगको तानाशाहीमा जसरी शासन चलाइएको छ । चिनियाँ जनता राम्रो शासनबाट शासित हुने अधिकार छ । दुर्भाग्यवश, चिनियाँ जनता र बाँकी दुनियाँले पनि सीको उच्च प्रविधियुक्त तानाशाहीको मूल्य चुकाइरहनुपर्ने छ ।
( ‘चाइना डिजिटल टाइम्स’का संस्थापक तथा प्रधान सम्पादक)
(प्रोजेक्ट सिन्डिकेट र बाह्रखरीको सहकार्य)
Copy Rights : Projct Syndicate, 2020.