site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
 लगानीकर्ताले पुँजीबजारबाटै प्रतिफल पाउने छन्
Sarbottam CementSarbottam Cement

नेपाल धितोपत्र बोर्ड नियामक निकायका रूपमा उदाउँदो छ । बढ्दो कार्यक्षेत्र र आबद्ध हुने संस्थाको संख्या बढिरहँदा बोर्ड शक्तिशाली नियामक निकाय बन्दै छ ।

बोर्डको दायरा विस्तार गर्ने क्रममा अहिले धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधनको क्रममा छ । यसका साथै बोर्डले साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई अर्थ मन्त्रालयको स्वीकृति लिई संशोधन गरेपछि फागुन १ गतेबाट कार्यान्वयनमा आइसकेको छ ।

नियमावलीमा भएको सुधार तथा संशोधनपश्चात् पुँजीबजारमा संरचनात्मक सुधार भई लगानीकर्ता आकर्षित हुने विश्वास बोर्डको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बोर्डमा भर्खरै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना अध्यक्ष नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकलाई सुदृढ नियामक निकाय बनाउन सघाएका ढुंगाना अर्को नियामक निकायलाई नयाँ उचाइमा पुर्‍याउने योजनामा छन् ।
प्रस्तुत छ, उनै ढुंगानासँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानी :

तपाईं बोर्डको अध्यक्ष हुनुभएको एक महिना पूरा भइसक्यो । दुईवटा नियामक निकायमा के फरक रहेछ ? यहाँ काम गर्दा कतिको ‘इन्जोय’ गर्दै हुनुहुन्छ ?

Global Ime bank

म नियामक निकायमा अनुभव बटुलेको व्यक्ति हुँ । यो पनि अर्को नियामक निकाय हो । नियमन र सुपरिवेक्षण नै प्रमुख काम हो । यसरी हेर्दा काम त दुवै उस्तै हो ।

तर, त्यहाँ म विभागीय प्रमुख थिएँ । यहाँ संस्था प्रमुख बनेको छु । जिम्मेवारी बढेको छ ।

उताको काम ‘मनि मार्केट’मा बढी केन्द्रित हुन्थ्यो, यता ‘क्यापिटल मार्केट’का बारेमा काम गर्नुपरेको छ । कार्यक्षेत्र फरक छ र बजारको विशेषता पनि ।

मनि मार्केट राम्रो विकास भइसकेको छ तर पुँजीबजार अझै सुसुप्त छ । पुँजी बजारलाई विकास र विस्तार गर्नु नै अहिलेको चुनौती हो ।

विकास भइसकेको बजारलाई स्थायित्व दिने काम गर्नुपर्छ, तर यहाँ त्यस्तो छैन । विकास र विस्तारकै लागि कदम चाल्नुपर्नेछ ।

बोर्डको अध्यक्षको कार्यभार सम्हाल्दा ५–६ वटा कमजोरी र परिवर्तको कडी औंल्याउनु भएको थियो । १ महिनामा आवश्यक सुधारका लागि केके काम भए ?

यो प्रश्नले मलाई झकझक्यायो । मैले साँच्चै ५–६ वटा काम गर्नुपर्ने बताएको थिएँ । पुँजी बजारको स्थायित्व, व्यावसायिकताको विकास, बजारलाई विस्तार बनाउने, सूचना प्रविधिको व्यापक प्रयोग गर्ने, संस्थागत सुशासनको स्तर बढाउने तथा नियम कानुनलाई समसामयिक बनाउने आवश्यकता मैले औंल्याएको थिएँ । 

त्यसमध्ये नीतिगत सुधार गर्ने क्रममा धितोपत्रसम्बन्धी ऐन, २०६३ संशोधन हुने क्रममा छ । त्यसमा हामीले छलफल गरिरहेका छौं । अहिले त्यो अर्थ समितिमा छ ।

धितोपत्र कानुनलाई समसामयिक बनाउन चारवटा नियमावली संशोधन गरेका छौं । ती नियमावली फागुन १ गतेदेखि कार्यान्वयनमा आएका छन् । अरू नियमावली पनि संशोधन हुने क्रममा छन् । त्यसपछि हामीलाई हाम्रो कार्यक्षेत्र विस्तार गर्ने बाटो खुल्छ । बाटो खुलेपछि हाम्रो उद्देश्य हासिल हुन सहयोग पुग्छ ।

जेजे कुरा भनेको थिएँ, सबै काम हुुने क्रममा छन् । कतिपय सुरु भइसके ।

एक महिना थोरै समय होइन, काम गर्नका लागि पर्याप्त समय पनि होइन । तर, छोटै समयमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण हो । आगामी दिनमा अझै धेरै गर्नुछ ।

खासगरी क्रेडिट रेटिङका संस्था बढाउने र कमोडिटी बजारका संस्थालाई अनुमतिपत्र प्रदान गर्ने काम सुरु गरिसकेका छौं । यसका लागि समय लाग्ला तर केही समयमै बजार र उपकरण विस्तारमा केही गर्न सक्छौं जस्तो लाग्छ ।

यो काम बोर्डको दायरा फराकिलो बनाउन हो ?

पक्कै पनि हो ।

बोर्डको दायरा बढाउने कुरा गर्दा भेन्चर क्यापिल, प्राइभेट इक्विटी क्यापिटल र हेज फन्ड आदिका कुरा कहाँ पुगे ?

त्यसका लागि नियमावली बनेर आइसकेका छन् । तर, एक–दुईवटा समस्या देखिएका छन् । समस्यालाई हल गर्न अर्थ मन्त्रालयसँग कुरा गरिरहेका छौं । अहिलेकै अवस्थामा हेर्दा पनि यी तीनवटा आउन सक्ने अवस्था त छ । तर, अलिकति विस्तार गर्ने गरी नियम बनाउनुपर्ने देखिन्छ ।

सेयर बजारमै लगानीकर्ताको अभाव भइरहँदा कमोडिटी बजार यहाँको क्षमताअनुसारको आवश्यकता हो ?

पुँजी बजारमा विभिन्न किसिमका लगानीकर्ता हुन्छन् र उनीहरूको आ–आफ्नै चाहना हुन्छन् । उनीहरूमा केमा, कसरी, कस्तो लगानी गर्ने ? फरक मत हुन्छ । र, बजारले उनीहरूको चाहना अनुरूपको उत्पादन उपलब्ध गराउनुपर्छ । बजारमा त्यस्ता उत्पादन उपलब्ध हुन सकेन भने लगानीकर्ताको कोष अन्यक्षेत्रमा प्रयोग हुन सक्छ जुन अर्थतन्त्रका लागि खतरा हुन सक्छ । सोहीकारण बजारको चाहनाअनुसार उत्पादन विकास गर्नुपर्ने हाम्रो दायित्व हो ।

एउटा क्षेत्र धितोपत्र बजार हो, अर्को कमोडिटी बजार हो । यी दुईवटा बजारलाई समानान्तर रूपमा अगाडि बढाउनुपर्छ । अनिमात्र समग्र पुँजीबजार विकास हुन्छ ।

कमोडिटी बजारमा लगानी गर्न चाहने एउटा ठूलो जमात सम्बोधन भएको छैन भन्न खोज्नुभएको हो ?

त्यसो होइन । लगानीकर्तासँग पर्याप्त रकम छ । कोहीसँग धेरै र कोहीसँग कम होला । लगानीकर्तालाई त्यो रकम परिचालन गर्ने कति विकल्प छन् त ? उसँग धितोपत्र वा वस्तु बजार कुनैमा नजाने विकल्प पनि छ । घरजग्गा, सुन चाँदीमा पनि लगानी गर्न सक्छु भन्न उसले सक्ला ।

अरू क्षेत्रभन्दा पुँजीबजार राम्रो छ, यसमा लगानी गर्दा राम्रो प्रतिफल आउँछ, सुरक्षित हुन्छ भन्ने विश्वास भएपछि मात्र ऊ यस क्षेत्रमा आउन चाहन्छ ।

त्यो वातावरण सिर्जना गरिदिने काम हाम्रो हो । हामीले ती लगानीकर्तालाई धेरैभन्दा धेरै विकल्प दिनुपर्छ । हामीले भन्न सक्नुपर्छ कि लगानीका यी क्षेत्र उपर्युक्त विकल्प हुन् ।

लगानीकर्ताको जोखिम मोल्ने चाहना कुन स्तरको हो ? प्रतिफलको आकांक्षा कति हो ? त्यसलाई म्याच गरेर प्रवेश गर्ने धेरै विकल्प खोलिदिने हामीले हो ।

धितोपत्रको दोस्रो बजार मोफसलमा विस्तार भए पनि कारोबार राजधानी केन्द्रित नै हुनुको कारण ?

सेयर बजारको कारोबार काठमाडौंबाटै सुरु भयो । पहिले पहिले सेयरको आवेदन पनि निश्चित वाणिज्य बैंकबाट मात्र दिन मिल्थ्यो । मार्केट मेकर, स्टक एक्स्चेन्ज सबै यहीं थिए । कम्पनीहरू जहाँ स्थापित भए पनि मुख्य कार्यालय यहीँ छन् । सबै कुरा केन्द्रिकृत भएका कारण दोस्रो बजार पनि यहीँमात्र सीमित रह्यो ।

अहिले विस्तारै विकेन्द्रिकृत हुँदैछ । विभिन्न जिल्ला र स्थानीय तहमा नपुगेको भए पनि प्रमुख बजारमा धितोपत्र दलालको उपस्थिति भइसकेको छ ।

त्योभन्दा पनि महत्त्वपूर्ण कुरा अहिले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आइसकेको छ । त्यसो भएकाले लगानीकर्ता ब्रोकर कार्यालय नपुगी सेयर किनबेच गर्न सक्छन् । त्यसका लागि ग्राहक पहिचान फारम भरेर युजरनेम र पासवर्ड लिएको हुनुपर्‍यो ।

त्यसरी काम गरिरहेका छौं । तर, पुँजीबजारको साक्षरता जुन स्तरमा हुनुपर्ने थियो त्यसअनुसार हुन नसकेको हामीले महसुस गरेका छौं ।

करिब १६ लाख लगानीकर्ता छन् । त्यसमध्ये युजरनेम र पासवर्ड लिने १८ हजारको संख्या छ । ती सबै नियमित कारोबार गर्छन् भन्ने हाम्रो आँकलन छ । १८ हजार पनि सानो संख्या होइन । धितोपत्र कारोबारमा सबै प्रकारका लगानीकर्ताको पहुँच होस् भन्ने हाम्रो अपेक्षा छ ।

जसरी बैंकिङ कारोबार सबैका लागि सामान्य विषय बनेको छ, पुँजी बजारलाई पनि त्यति नै जानकार हुने क्षेत्र बनाउँछौं । यो बैंकिङ क्षेत्र र यो पुँजीबजार क्षेत्र भन्ने लगानीकर्ताले छुट्याउन सक्ने बनाउन बाँकी छ । त्यसो गर्न सकेमात्र पुँजीबजार विकास हुनेछ ।

त्यसका लागि हामी विभिन्न किसिमका साक्षरता, तालिम तथा रेडियो कार्यक्रम सञ्चालन गरेर सुसूचित गरिरहेकै छौं ।

रियल सेक्टरका कम्पनी अझै पनि दोस्रो बजारमा प्रवेश गर्न किन सकेनन् ?

रियल सेक्टर दोस्रो बजारमा जान नसक्नुमा समस्या थियो । प्रालिमा दर्ता भएका कम्पनी पब्लिक हुनका लागि सेयर कुन मूल्यमा जारी गर्ने भन्ने प्रश्न यथावत थियो ।

त्यो समस्या हल गर्ने प्रावधान ठीक थिएन । लामो समय सञ्चालनमा आएर बलिया बनेका ती कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा सेयर जारी गर्न सकेनन्, न त प्रिमियममा दुगुनामा जान सक्ने वातावरण बन्यो न एफपीओ जारी गर्न मिल्यो । किनकि यी तीनवटै प्रावधान अनुसार उनीहरूको सेयर मूल्य बजारमा निर्धारण हुन सक्दैनथ्यो ।

नियामक निकायले गर्ने कि फेस भ्याल्युमा मूल्य निर्धारण हुने ? यी प्रक्रियाले गरेको मूल्य निर्धारण बजारको होइन । बजारले निर्धारण गरेको मूल्यमा जान उनीहरूका लागि यसअघि मोडेल नै थिएन ।

जसका लागि हामीले ‘बुक बिल्डिङ’ को व्यवस्था गरेका छौं, नियमावली संशोधनमार्फत् ।

बुक बिल्डिङ प्रक्रिया आएपछि उनीहरूले बजारको प्रक्रिया अनुसार आफ्नो सेयरका लागि लगानीकर्ता कति तिर्न तयार छन् भन्ने बुझ्छन् । र, रियल सेक्टरका त्यस्ता कम्पनी पनि बजारमा जान प्रोत्साहित हुन्छन् ।

त्यो व्यवस्था नियममा सामेल गरिसक्यौं । अब कार्यविधि बनाएर जारी गर्छौं ।

नियमावलीमा विदेशी/गैरआवासीय नेपाली पनि पुँजी बजारमा भित्रिने बताइएको छ । त्यसको आवश्यकता किन ?

नेपालको आर्थिक र वित्तीय क्षेत्र तथा पुँजीबजार वा बैंकिङ क्षेत्रमा स्रोतको ठूलो अभाव छ । त्यसको पूर्ति आन्तरिक साधनबाट मात्र हुँदैन । थप साधन परिचालन गर्ने हो भने बाह्य लगानीको आवश्यकता हुन्छ । यसका लागि राष्ट्र बैंकले आफ्नो व्यवस्था गरेको छ भने हामीले पनि सोही अनुसारको व्यवस्था गर्नुपर्‍यो नि !  त्यसका लागि प्रावधान थप गरेका छौं ।

पूर्वाधार विकास बैंकले ५ अर्ब रुपैयाँको अफसोर बोन्ड जारी गर्छु भनेर लागेको छ । हामीले सहजीकरण गर्नुपर्छ नि । त्यसो हुँदा ५ अर्बको विदेशी लगानी आउँछ । यहाँ पुँजीको अभाव भइरहेका बेला त्यसले पनि अर्थतन्त्रलाई सहयोग पुर्‍याउँछ नि ।

अहिलेको ५ अर्बले अर्को ५० अर्बलाई आकर्षित गर्छ र त्यसले सय अर्ब ।

यस्तो कुरालाई सहजीकरण गर्नका लागि त्यो प्रावधान थपेका हौं । निमयावली संशोधनमा संगठित संस्थाले विदेशी मुलुकको पुँजीबजारमा ऋणपत्र, डिबेन्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्नसक्ने व्यवस्था गरेका छौं ।

शिवराज श्रेष्ठको नेतृत्वमा बनेको सुझाव प्रतिवेदन कार्यान्वयन कहाँ पुग्यो ? नियमावली संशोधन पनि त्यसैभित्र रहेर गरिएको हो ?

५८ बुँदे सुझाव प्रतिवेदन त अब पुरानो भइसक्यो । त्यसको ७० प्रतिशत काम भएको छ भने कतिपय कुरा ‘आउट डेटेड’ भइसके । त्योभन्दा नयाँ विषय जन्मिसके । ५८ बुँदा होइन, ६०–८० बुँदेमा लागि सक्यौं । बजारको विकास र विस्तार गर्न त्योमात्र पर्याप्त छैन । ती सुझावभन्दा हामी निकै अगाडि बढिसक्यौं ।

भारित औसतको कुरा के हो ? यस विषयमा किन कुरा नमिलेको ?

भारित औसत गणनाको विषय एकप्रकारले समाधान भइसकेको छ । लगानीकर्तालाई आफूले किनेको सेयरको मूल्य थाह छैन । उहाँहरूलाई नै थाह नभएका कारण, हामीले उहाँहरूको सेयर मूल्य कतिमा किनेको हो, कसरी भनिदिने ?

दुवै कुरा विवाद छ । तर, लगानीकर्ताले आफूले कुन सेयर कति मूल्यमा किनेको थिएँ भन्ने घोषणा गरे त्यसैलाई मानिदिने भनेकै छ सरकारले । त्यो भन्दा स्वतन्त्रता के हुन्छ ? ‘मैले कुन सेयर कति मूल्यमा किनें भन्ने जानकारी मसँगै छैन’ भन्नु चैं राम्रो भएन ।

यसले थप पाठ के सिकाउँछ भने हामीले गर्ने कारोबारको विवरण चैं सम्झेर राख्नुपर्छ ।

यो ठूलो विषय होइन, लगानीकर्ताले आफूलाई जतिसम्म थाह हुन्छ सोहीअनुसार मूल्य सम्मिलत गर्न सक्छन् ।

त्योभन्दा बढी कम्प्लिकेसन आयो भने सरकारसँग फेरि कुरा गरौंला ।

नियमावलीमा सम्पत्ति शुद्धीकरणको कुरा गरिएको छ । सामान्य व्यवस्थाले पनि तरंगित हुने धितोपत्र बजार यो व्यवस्थाले कस्तो असर पार्ला ?

सम्पत्ति शुद्धीकरणको व्यवस्था यसअघि पनि नभएको होइन । ग्राहक पहिचान फारम अद्यावधिक गर्नुपर्ने, ठूलो तथा शंकास्पद कारोबार रिपोर्टिङ गर्नुपर्ने, ५ लाखभन्दा बढीको कारोबारमा प्यान अनिवार्य हुनुपर्ने लगायतका कुरा पारदर्शी र सुशासनका लागि हो ।

कसैले चोरेको वा डकैती गरेको रकम त लगानी गर्दैन नि ! सबै मान्छेले आफ्नो आयअनुसारै लगानी गरेका होलान् नि । अथवा करयोग्य रकम छ भने कर तिरेरै ल्याएको हो । अथवा विदेशबाट कमाएर ल्याएको रकम हो भने वैधानिक बाटोबाट ल्याएको होला ।

तर, हामीले गैरकानुनी बाटोबाट काम गर्नुहुँदैन । पछि देखाउँदा प्रमाण पेस गर्न सकिन्छ । सम्पत्ति शुद्धीकरणले प्रणाली बनाउने हो, बिगार्दैन ।

प्यानिक भएर असर पार्छ भन्नु मनगढन्ते कुरा हो । लजिकल कुरा गर्नुपर्छ । अर्काको लहैलहैमा लाग्नु हुँदैन । कसैले नराम्रो भन्ला तर वास्तविकता त्यो होइन ।

कम्पनीले आफ्नो व्यवसाय गरेपछि खाता पारदर्शी बनाउने, समयमा लेखापरीक्षण गर्ने, आम्दानी गरेको छ भने कर तिर्ने, घाटा भएको छ भने विवरण राख्ने र त्यही अनुसार पेस गर्ने त नियम हो । नियम पालना गर्नैपर्छ ।

हाम्रो वित्तीय व्यवस्था त सुरुवाती चरणमा छ । बेलायतमा चिया खाएपछि नगद लिन मान्दैन । कार्डमार्फत् कारोबार गर्न भनिन्छ । उनीहरू हरेक कुरा पारदर्शी बनाउन चाहन्छन् । नगद कारोबार गरेपछि सबै विवरण खुलाउनु पर्छ । स्पष्टीकरण दिनुपर्छ ।

हामी विस्तारै प्रणालीमा जानुपर्छ, त्यो भए कसैले औंला ठड्याउनै पाउँदैन ।

यसलाई झिँझो मान्नु हुँदैन । राज्यले निर्धारण गरेको नीति स्वीकार गर्नुको विकल्प छैन ।

कार्यभार सम्हाल्दा सेयर बजारको अस्वाभाविक उतारचढाव स्वस्थ होइन भन्नुभएको थियो । तपाईं कति अवधिको घटबढको आधारमा स्वाभाविक र अस्वाभाविक मान्नु हुन्छ ? केही दिनलाई मान्ने हो भने त एकै दिनमा ३० अंकसम्म तलमाथि भएको देखिन्छ ...

पुँजीबजारमा कति अवधिलाई स्ट्यान्डर्ड मान्ने भन्ने कुनै नियम छैन । हामीले धेरै घटबढ हुँदा सर्किट ब्रेकरको प्रणाली लगाएकै छौं । त्यसैले नियन्त्रण गरिहाल्छ ।

लगानीकर्ताले केही लगानी गरेपछि निश्चित समयमा निश्चित प्रतिफल पाउनुपर्छ भन्ने मेरो मान्यता हो । प्रतिफल पाउने दौरानमा, मानौं असारमा सेयर किनेपछि अर्को असारसम्म कति वृद्धि भयो र मैले कति प्रतिफल पाएँ भन्ने महसुस गर्न पाउनुपर्छ । कहिलेकाहीं असारमा नभएर साउनमा महसुस होला ।

तर, निश्चित विस्तार हुनुपर्छ । त्यस बीचमा सेयरको मूल्य तलमाथि भइरहन्छ । त्यो नियमित प्रक्रिया हो ।

म त भन्छु, सेयर बजारमा अंग्रेजी वर्णमालाको ‘डब्ल्यू’ हुनुपर्छ । डब्ल्यूको अर्थ सेयरको मूल्य घट्न खाजे पनि, फेरि सुधारिएर सुरुको बिन्दुभन्दा माथि नै पुग्नुपर्छ । ‘एम’ हुनु हुँदैन, सुधारिन खोजे पनि समग्रमा घटेको देखिने ।

यस्ता डब्ल्यू हरेक समय, हरेक दिन बन्छन्, हरेक साता, हरेक महिना बन्छन् । त्यस्ता डब्ल्यु–डब्ल्यू मिलेर ठूलो डब्ल्यू बन्छ । त्यहाँ सुरुको बिन्दु र अन्तिमको बिन्दुमा सामान्य वृद्धि हुनुपर्छ । त्यो वृद्धि ‘स्थायित्व’ हो । त्यो मेन्टेन गर्नुपर्छ भनेको हुँ ।

बढेको बढ्यै, वा घटेको घट्यै हुनु हुँदैन ।

धितोपत्र क्षेत्रमा लामो समय अभ्यस्त भए पनि तपाईंलाई सुरुमा पत्याएका थिएनन् । तर, तपाईंका नेतृत्वमा भएका कामले रिजल्ट त राम्रै दिएको हो  ?

सबैजना मसँग सन्तुष्ट छैनन् । सबैले मलाई चिन्दैनन् पनि । जसले चिन्छन्, उनीहरूले त्यसो भन्दैनन् ।

मेरो व्यक्तिगत कुरा गर्ने हो भने नेपाल राष्ट्र बैंकमा हुँदा वित्तीय क्षेत्र सुधार कार्यक्रम चलाएको हुँ । कार्यक्रममा चारवटा कम्पोनेन्ट हेरें । पहिलो, बैंकिङ क्षेत्रलाई कसरी विकास गर्ने । दुई, पुँजी क्षेत्रलाई कसरी विस्तार गर्ने । तेस्रो, बिमा र चौथो आर्थिक पत्रकारितालाई कसरी विकास गर्ने ।

यी चार विषय त्यतिबेलैदेखि प्राथमिकतामा थिए ।

त्यसो भएकाले बजार कस्तो छ, यसले कस्तो प्रवृत्ति देखाउँछ भन्ने मलाई राष्ट्र बैंक हुँदै थाहा थियो ।

म नेप्सेमा तीन वर्ष सञ्चालक पनि रहें । बजारलाई कसरी विकास गर्ने भन्ने त्यहीँबाट आइडिया लिएको हुँ ।

६ महिना बोर्डको विज्ञ सञ्चालक पनि भएँ । त्यहीं भएकाले यो क्षेत्र मलाई नयाँ क्षेत्र होइन । मलाई काम गर्न असजिलो छैन ।

अध्यक्ष हुने क्रममा रहनुभएका प्रतिस्पर्धी पनि एउटै संस्थामा हुनुहुन्छ । उहाँहरूसँग काम गर्नु अवसर कि चुनौती ? सहज छ ?

प्रतिस्पर्धा सबैतिर हुन्छ । प्रतिस्पर्धामा खारिनुपर्छ । त्यति मात्र हो ।

लगानीकर्तालाई बजारको विकल्प छैन, उनीहरूले चाहेको औजार पनि पर्याप्त छैन । यसलाई धितोपत्र ऐन संशोधनले कसरी सम्बोधन गर्छ ?

दुई तिनवटा कुरा हामीले गर्नुपर्ने छ ।

पहिलो, बजार विकास गर्न भएका संस्थागत संरचनालाई बलियो बनाउने र नयाँ संस्थागत संरचना तयार पार्ने । दोस्रो, हाम्रा पुँजीबजारका उपकरण असाध्यै कम छन् । अहिलेका औजार सेयर, डिबेन्चर र म्युचुअल फन्ड मात्र हो । यस्ता उपकरण धेरै ल्याउन सकिन्छ । बजारमा यस्ता धेरै कुरा किनबेच गर्न सकिन्छ । हामीले ती कुरा ल्याउनुपर्छ । मैले मर्चेन्ट बैंकरलाई लगानीकर्ताको चाहनाअनुसार नयाँनयाँ उत्पादन विकास गरेर ल्याउनुस् भनेको छु ।

मानौं  मसँग ५० हजार रुपैयाँ छ । म के चाहन्छु भने, यो रकम तपाईं व्यवस्थापन गरिदिनोस् र अबको २० वर्षमा ५ वा १० हजारका दरले मासिक पेन्सनसहित अन्तमा  मलाई यति चाहिन्छ । ग्राहक यसो भन्छ त्यसको व्यवस्थापन गरिदिने मर्चेन्ट बैंकरको हो नि । यस्ता उत्पादन अहिलेसम्म आएका छैनन् ।

बजारमा सेयर किनबेच गर्नै छाडे तर सेयरको डिमान्ड आयो । अब त्यो कहाँबाट ल्याउने ? अर्थात् ‘क’ कम्पनीको सेयरजति लगानकर्ताले होल्डे गरेर राखे तर बजारमा त्यो कम्पनीको सेयरको माग भयो । अब के गर्ने ?

खरिद गर्न चाहनेले ‘क’ कम्पनीको सेयर खोजेको होइन, सो कम्पनीले दिने प्रतिफल खोजेको हो उसको सेयर मूल्यको मुभमेन्ट खोजेको हो । यस्ता उत्पादन डेरिभेटिभ बजारबाट पनि ल्याउन सकिन्छ । यो काम मर्चेन्ट बैंक वा धितोपत्र दलालले ल्याउन सक्छन् । यसका लागि हामीले माहोल बनाइदिनुपर्छ । अनि आवश्यक औजारको खाँचो हुँदैन । 

त्यसका लागि ऐन संशोधन गरेर सम्बोधन गर्ने प्रयास गरेका छौं । धितोपत्र ऐन संशोधन भएपछि बजार विस्तार हुन्छ ।

तपाईंले भनेको संशोधनसहितको धितोपत्रसम्बन्धी ऐनमा के छ ?

धितोपत्रको कारोबारलाई बढी व्यवस्थित गर्न र यसका उपकरणलाई बजारमा ल्याउनका निम्ति केही प्रावधान थपेका छौं । यो अनुमोदन भएको छैन । छलफलमै भएका कारण केही उल्लेख गरेका कुरा नआउन सक्छन् ।

यसले समग्र पुँजीबजार विकास गर्न पक्कै सघाउ पुर्‍याउँछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC