site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
पत्रकारको मन जित्न प्रधानमन्त्री ओली असफल
Sarbottam CementSarbottam Cement

विगत केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओली र देशका मूलधारका पत्रकारकाबीच दोहोरी चलिरहेको छ । कहिले प्रधानमन्त्री पत्रकारले भाषा र संस्कृति बिगारे भनेर आलोचना गर्छन् त कहिले राम्रो कुरा लेख्न पत्रकारको मुटु छैन भनेर कटाक्ष गर्छन् । त्यस्तै, कहिले पत्रकारलाई बालुवाटारमा बोलाएर रात्री भोजसहित खातिरदारी गर्छन् । सँगसँगै पत्रकारितालाई जिम्मेवार बनाउने बहानामा एकपछि अर्को नियन्त्रणमुखी ऐन, कानुन पनि पारित गर्छन् । यसरी साम, दाम, दण्ड र भेद सबै तरिका अपनाउँदा पनि नेपालका मूलधारका दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई ठोस रुपमा समर्थन गरेको देखिँदैन । 

प्रधानमन्त्री ओलीको सरकार बनेको यही फागुन ३ गते दुई वर्ष पूरा भयो । यस विषयमा प्रधानमन्त्री आफैँले संसद्मा सम्बोधन गरेर सरकारले गरेका कामको लामै फेहरिस्त जनतालाई बताए । मूलधारका दैनिक पत्रिकाले प्रधानमन्त्रीले बोलेको विषयलाई महत्त्वका साथ स्थान त दिए तर पत्रिका आफैँभने प्रधानमन्त्रीसँग सहमत देखिएनन् ।

सरकारको कमजोरीको उठान भयो बजेटको मध्यावधि समीक्षाबाट । गतसाता बुधबार (माघ २९ गते) अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष २०७६–०७७ को बजेटको मध्यावधि (असार–पुस)को समीक्षा गरे । उक्त समाचारलाई प्रथम पृष्ठमा स्थान दिँदै बिहीवारको नागरिकले भन्यो – “मध्यावधि तथ्यांकले स्थिर र बलियो सरकार आएमात्र आर्थिक विकास हुन्छ भन्ने आम मनसिकता गलत साबित गरेको छ ।” राजस्व वृद्धिमा कमी, पुँजीगत खर्चमा कमी, राष्ट्रिय गौरवका आयोजनामा न्यून प्रगति आदिले यो कुरा प्रमाणित देखियो । सोही दिन अन्नपूर्ण पोस्टमा पुष्पराज आचार्यले “खर्च र राजस्व लक्ष्य घट्यो” भन्ने शीर्षकमा लेखेको समाचार मुख्य समाचार बन्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कान्तिपुरले बिहीवारदेखि नै सरकारका काम कारबाहीमा के कति कमजोरी भए भन्ने विषयमा ‘ओलीका २ वर्ष’ भन्ने ‘नेमोनिक’सहित सिरिजनै प्रकाशित गर्‍यो । बिहीवारको पत्रिकामा दुर्गा खनालको समाचारलाई मुख्य बनाइयो जसमा दुई वर्षभित्र सक्ने भनिएका तर नसकिएका कामको सूची नै प्रकाशित भएको छ । जसमध्ये मुख्यमा भैरहवा विमानस्थल निर्माण, काठमाडौंबाट पेट्रोलियम वाहनलाई विद्युतीय वाहनबाट प्रतिस्थापन आदि रहेका छन् । त्यतिमात्र होइन कान्तिपुरले भित्री पृष्ठमा यस दुई वर्षमा संक्रमणकालीन न्यायका काम अघि बढ्न नसकेको, कूटनीतिक सम्बन्धमा अलमल, राजस्व र खर्चमा सकसजस्ता अन्य विषयमा पनि विस्तृत समाचार प्रकाशित गर्‍यो । 

कान्तिपुरको सिरिजले शुक्रवार पनि निरन्तरता पायो । उक्त दिन कृष्ण आचार्यको ‘अर्थतन्त्रमा अलमल’ शीर्षकको समाचारलाई कान्तिपुरले मुख्य समाचार बनायो । देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेको, निजी क्षेत्रमा आत्मविश्वासको कमी भएको र बजार सुस्त भएको विषयमा सो समाचार केन्द्रित रह्यो । त्यस्तै भित्री पृष्ठमा पनि कान्तिपुरले सरकारले घोषणा गरेका तर सफल नभएका अन्य आर्थिक कार्यक्रमका विषयमा समाचार बनायो । 

Global Ime bank

शुक्रवारको नागरिकमा टपेन्द्र कार्कीले पनि यो सरकारको दुई वर्षको कार्यकालको समीक्षा गरेका छन् र कार्कीको समाचारअनुसार सरकार र सो सरकार बनाउने पार्टी नेकपाबीच सम्बन्ध सुमधुर हुन नसकेको, अर्का अध्यक्षले सरकारको कामको प्रशंसा गर्न नसकेको, कतिपय सदस्यले खुलेरै सरकारको आलोचना गरेका उल्लेख छन् । सोही समाचारको बक्समा बालकृष्ण अधिकारीले सरकारसँग अपेक्षा धेरै भएको तर गति सुस्त भएको विषयमा टिप्पणी लेखेका छन् । 

सरकारले अन्य पत्रिकाको समाचार खण्डन गर्ने माध्यमका रुपमा सरकारी स्वामित्वको गोरखापत्रलाई प्रयोग गरेको छ । शुक्रवारको गोरखापत्रमा दीपक श्रेष्ठले लेखेको समाचार मुख्य बनाइएको छ जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बोलेको – ‘सरकारले लिएको राष्ट्रिय आकांक्षाको नतिजा देखिन थालेको’ कुरालाई महत्त्व दिइएको छ । बाँस्कोटाका अनुसार विगतको दुई वर्षमा विधिको शासन बलियो भएको र प्रजातन्त्र सबल भएको छ । साथै विश्व राजनीतिमा नेपाल देखिने, सुनिने र बुझिने भएको सहित अन्य विषयमा पनि सरकारको पक्षपोषण गरेको विषयलाई गोरखापत्रले समेटेको छ । 

शनिवारको दिन दैनिक पत्रिकामा सरकारको आलोचना अझ थपिएर आयो । कान्तिपुरले शनिवार बिनु सुवेदीको टिप्पणीलाई आठ कोलममा प्रकाशित गर्‍यो (तर, समाचार टिप्पणी भनेर उल्लेख गर्न जरुरी ठानेन) । सो टिप्पणीका अनुसार प्रधानमन्त्री ओली अहिले पार्टीभित्र मात्र होइन, बाहिरी मोर्चामा पनि रक्षात्मक भएका, उनकै दलका प्रभावशाली नेताको प्रशंसा नपाएका र बेचैनीमा रहेको लेखिएको छ । 

नयाँ पत्रिकाले सरकारको दुई वर्षको समीक्षा भन्दै आठ कोलममा ‘आक्रामक योजना, फितलो कार्यान्वयन’ शीर्षकको समाचार प्रकाशित गर्‍यो । नयाँ पत्रिकाका पुष्प ढुंगाना, शुरोजंग पाण्डे तथा सुवास भट्टले लेखेको सो समीक्षामा सरकारले जनआकांक्षाअनुरुप परिणाममुखी काम गर्न नसकेको उल्लेख गरिएको छ । प्रधानमन्त्रीले घोषणा गरेका रेलमार्ग, पानीजहाजले सुरुका दिनमा निकै चर्चा बटुले पनि दुई वर्षमा योजनाले अपेक्षाकृत आकार लिन नसकेको टिप्पणी नयाँ पत्रिकाले गरेको छ । साथै, सरकारले सुशासनका ‘टुल्स’का रुपमा रहेको सरकारी कारोबारको बिल सार्वजनिक गर्ने कार्य, सदाचार नीति, मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने कार्य आदि बन्द गरेको आरोप लगाएको छ । तर, प्रधानमन्त्रीमातहत लगिएका विभाग भने सक्रिय रहेको पनि सो समाचार टिप्पणीमा उल्लेख गरिएको छ । 

राजधानीको समाचार अन्य पत्रिकाभन्दा थोरै लचिलो छ । सो पत्रिकामा शनिवार दुई वर्षे कार्यकालमा टिप्पणी लेख्दै सुभाष शाहले उत्साह धेरै भए पनि उपलब्धि सुस्त रहेको तर विकासका आधार निर्माण भएको भनेका छन् । साथै सरकारले दाबी गरेअनुसार के के कुरामा सफलता हासिल भयो भन्ने विषयमा पनि सो दैनिकले सूची प्रकाशित गरेको छ जसमध्ये मुख्यतः यातायात सिन्डिकेटको अन्त्य, तस्करमाथि कारबाही र नियन्त्रण आदि रहेका छन् । 

आइतवारका दैनिक पत्रिकाले प्रधानमन्त्रीले संसद्मा गरेको सम्बोधनलाई महत्त्वका साथ प्रकाशित गरे पनि सम्पादकीयमा भने प्रायः सरकारको आलोचना नै गरेका छन् । अन्नपूर्ण पोस्टले ‘अलमलिएका दुई वर्ष’ शीर्षकमा सम्पादकीय लेख्दै सरकारसँग नागरिक सुरुमा निकै आशावादी भएका तर अब विस्तारै निराश भएको निष्कर्ष निकालेको छ । नयाँ पत्रिकाले सरकारले लोकतन्त्रलाई कमजोर बनाउने खालका ऐन ल्याउन जोरजुलुम गर्ने दम्भ देखाएकाले सरकार असफल हुनसक्ने आकलन गरेको छ । राजधानीले सम्पादकीयमा भनेको छ – सरकारले प्रस्तुत गरी दाबी गरेको तथ्यांक र जनताले प्रत्यक्ष अनुभूत गरेका कुराका बीच केही बेमेल देखिएको छ । राजधानीले तीनै तहका सरकारलाई समन्वयात्मक र प्रभावकारी कार्य गरेर जनताले अनुभूत गर्नेगरी सेवा प्रवाह गर्न आह्वान गरेको छ ।

तस्बिर : रासस 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  ०९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC