site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
खलपात्रहरु
Sarbottam CementSarbottam Cement

बद्री भिखारी

कविता वाचनका लागि निम्तो आयो चितवनबाट ।

दुई वर्षअघि एलबी क्षेत्रीले साहित्यिक कार्यक्रममा बोलाएका थिए । कुनै विपत्ति या केही प¥यो र कार्यक्रम रद्ध भयो । पछि कार्यक्रम त भयो, तर जानेमा परिनँ । विशेषतः मलाई चितवन जानु थियो । छुटँे भन्ने आहत बोकेर बसेको म, नाइँ भन्नै सकिनँ ।

Prabhu Bank
Agni Group
NIC Asia

चितवन साहित्यमय छ, त्यो लोभले भुतुक्कै भएँ । निम्तोको खुसी बाँड्न केही मित्रहरुलाई जानकारी गराएँ । मित्र प्रज्ज्वल पराजुलीले फेसबुकमा राख्तै लेखे– कुन्ताका ‘भिखारी’ त्यसमाथि ‘अराजक’ ! म झसङ्ग भएँ । मैले निम्तो राम्ररी पढेकै रहेनछु । मलाई निम्तो गर्ने मुकुन्द खलपात्रलाई गत वर्ष वीरगञ्जमा भएको साहित्य सम्मेलनमा पहिलोपल्ट चिनेको थिएँ । उनको स्वभाव–प्रभाव के थियो थाहा थिएन । सामान्य चिनजानले उनी अराजक हुन् भन्ने थाहा थियो । त्यतिबेलैको चिनारीपछि अलिकति थाहा पाएको थिएँ– उनका बा ६० वर्षे हुँदा जन्मिएका उनको व्रतबन्ध नै गरिदिएनछन् बाले । व्रतबन्ध नगरिदिएपछि राँगाको मासु, रक्सी खान बन्देज भएन । ब्राह्मण परिवारका उनलाई अराजक हुन उनका बाले परोक्ष सघाउ पु¥याएछन् । उनी अराजक हुँदै गए । बाका शेषपछि अंश पनि लिए । अंश प्राप्तिले चुलिएको उनको अराजकता लागु औषधका लतीमा पुगेछ । खाने र बिक्री गर्ने उनी दिन बिराईबिराई काठमाडौं–वीरजञ्ज आवतजावत गर्दाकै अवस्थामा पदार्थहरुसहित समातिए । तर इमानदार रहेछन्, भएको भनिदिए । सत्य र साँचो बोल्ने उनलाई बकाउन प्रहरीले कुनै कसरत गर्नु परेन । अदालतले सुनाएको पाँच वर्ष जेलको फैसला चुपचाप स्वीकारे । आफू बिग्रेको उनलाई पहिले नै थाहा रहेछ । कारागारमै बसेर आचरण सुधार्ने निधो गरे ।

लागु पदार्थका लती मुकुन्द, कुनै प्रतिवाद नगरी कारागार पुगेर खलपात्र बने । कारागारलाई उनले सुधारगृहको रुपमा बुझे । साहित्यका राम्रा किताब त्यहीँ पढे । नाटक गर्न र लेख्न त्यहीँ सिके । कैदी भएपछि जीवनको महत्व बुझे । भन्थे– मैले सिर्जनामै रमाएर कारागारमा पाँच वर्ष बिताएँ ।

Global Ime bank


त्यतिबेला उनले सुनाएका कथा सम्झेँ अनि निम्तोपत्रका अक्षर र शब्दहरुलाई गहिरिएर हेरेँ । 

–अराजक अक्षर समूह, चितवन र कर्मी नाट्य समूह चितवनको आयोजनामा हुने काव्यमेलाको दसौं शृङ्खला । अक्षरको अ नै उल्टो ! नाट्यकर्मी हैन, कर्मी नाट्य समूह ! अराजक संस्थाको नाम जुराउने मान्छे अराजक ।
मूलमान्छे नै खलपात्र र अराजक भएपछि चेलाचेली कस्ता होलान् ? त्यस्तो दुवै विशेषण लागेको जमातबाट आएको निमन्त्रणा स्वीकार्ने म, अर्काे खलपात्र ! रहरले स्वीकारेको खलपात्रबाट उम्किने उपाय थिएन । बरु डटेर जोतिने निर्णय गरेँ ।


यहीबीचमा केही मित्रहरुले देब्रे कुनाबाट छड्के गर्न थाले । संस्था कस्तो हो ? कस्तो कार्यक्रम गर्छ ? शुभचिन्तकहरुले मेराबारे सोच्नुलाई अर्काे अर्थमा लिइनँ । दुई साथीले फोनबाटै व्यङ्ग्य गरे । ती सबै कुरालाई पचाइदिएँ । किनभने खलपात्र भई नै सकेको थिएँ ।

+    +     +

अराजक हुन त्यत्ति सजिलो छैन । ताज, भोगबिलासको जालबाट उम्किएर अराजक बने बुद्ध । उनको समयका उनी पक्कै खलपात्र थिए, महापात्र त पछि बनेका हुन् । आफ्नो समयका गान्धी र मण्डेलाहरु हिम्मत गरेरै अराजक भएका हुन् । भाषा साहित्यतर्फ भानुभक्त अराजक हुन् । संस्कृतका जटिल नियममा बस्नुपर्ने ब्राह्मण परिवारभित्रका पण्डित, आधुनिक नेपाली भाषामा रामायणको भावानुवाद लिएर आए । त्यो पनि सरल भाषा र लयमा । धर्म र धर्मान्धहरुले थोपरिदिएको नियमबाट बाहिर निस्किनु योगमायालाई सजिलो थिएन, अराजक नहुँदी हुन् त उनी कहाँ ‘योगमाया’ हुन्थिन् ? अराजक थिए र नै देवकोटा महाकवि भए ।

अराजकका आ–आफ्ना तह र श्रेणी होलान् ।

यसभित्रका अराजक र खलपात्र को कस्ता– छुट्याउने जिम्मा तपाईंहरुलाई !

तर म जाँदै थिएँ खलपात्रको निम्तो मान्न । अराजकहरुको समूहमा मिसिन । समाज रुपान्तरणका लागि केही अराजक खलपात्रको आवश्यकता पनि छ ।

वीरगञ्जमा भेटिएका मादक मुकुन्दको दृश्यमा तत्काल महापात्र हुने लक्षण पक्कै थिएन । किनभने समाज उदार भइसकेको छैन । जानेरै उनले खलपात्र उपनाम राखेको लख काट्न सकिन्थ्यो ।

+    +     +


म पुग्दा नारायणघाटले राति साढेसातीको स्वागत ग¥यो । साढेसाती अङ्क आफैंमा अराजक । बस बिसौनीमा उपस्थित मुकुन्दले खाना खान लिएर गए । ताजा खाना ख्वाउने नयाँ सडकको होटेल निकै चल्तीको रहेछ । दैनिक एक हजारलाई खाना ख्वाउने होटेलमा अराजकहरुले छाप छोडेका रहेछन्–उधारो खाना खाने व्यवस्था । विवेक तिवारी अर्का चरम अराजक उपस्थित भए । उनी सुधारगृहबाट सुधारिएर उक्लँदै गरेका नौजवान । उनको अराजक स्वभाव यति उग्र भएछ, शिल्पी थिएटरमा घिमिरे युवराजले दिन ठीक्क पारेको नाटकको गतिलो पात्रबाट झिकेर खलपात्र बनाइदिएछन् । त्यही खलपात्रमा चित्त बुझाएका उनीसहित मुकुन्दले मसँग मस्ताना भएर महफिल जमाउने सपना पालेका रहेछन् । मेरो कुरा सुनेर खिस्रिक्क भए । खानमा दुवैसँग नमिल्ने म, खलपात्र  ।

मैले सोधेँ– कसरी चलाउँदै हुनुहुन्छ कार्यक्रम ? 

उनले भने– कसैकसैले केही सहयोग गर्छन् । अरु त आफैं व्यहोर्दैछु । मेरी एक प्रेमिकाले सहयोग गर्छे । नाटक देखाउन भन्दा रिहर्सल गर्न बढ्ता खर्च हुन्छ । कलाकारलाई पनि दिनैप¥यो । रिहर्सल गर्ने खर्च नभएर साथीभाइले पठाइदिएका मोबाइल बेचेर कलाकारलाई दिएँ । अलिअलि भतिजाले सघाउँछन्, त्यत्ति हो । पहिले नाटक गर्दा पाएको दुःख त भनीसाध्य छैन । दाइ, चार–पाँच वर्षसम्म मलाई यो सुकिलो समाजले फिट्टो पत्याएन ।

हालसालै मञ्चन गरिएको चरणदास चोर नाटकपछि मात्र बजारले उनलाई पत्याउन थालेछ । यस्ता अराजक खलपात्रहरुलाई होटेलले दिने उधारो तिनै नाटकको उपज रहेछ । उधारो, त्यो पनि मदिरा र मासुसहित । सुत्ने लज उधारो र कार्यक्रम गर्ने हल उधारो । यी यस्ता अराजक समूहलाई पत्याउने ती होटेल मालिकहरु कम अराजक लागेनन् !

उद्योग वाणिज्य सङ्घको सुविधाजनक कोठामा गयौं । बेलाबेला विवेकलाई औंल्याएर मुकुन्द भन्दै थिए– दाइ, यसले चरणदास चोरमा गरेको भूमिका बेजोड थियो । नाटकको इज्जत राखिदियो । तर कि दाइ, भूमिका दिएको, चरित्र पनि... उस्तै, नुसध्रिने ! जसलाई जस्तो चरित्र दिएको थियो, स्वभाव पनि त्यस्तै ! म कम रिसाहा हो र पहिलेपहिले ? मैले साधुको भूमिका पाएँ, त्यहाँ हाँस्नुपर्ने । हाँसिरहन मन लाग्छ ! अचेल रिस नै उठ्तैन ।

सडकले बिगारेर कारागारले बनाएको मान्छे मुकुन्द । सडकबाट सडकमै पुगेका मुकुन्द । विरोधाभाषी मुकुन्द । गुनासो गरे । केटाहरुलाई केही गरुँ भनेको सकिनँ दाइ ! विवेक लरतरो कलाकार नै होइन, तर... दाइ कसरी सुधारौं ? मलाई मनमनै लागेको थियो– कलालय, इटहरी पठाइदिनु, एक महिनामै सप्रिन्छ । तर भनिनँ, सुनेर बसेँ ।

उनी थप्तै गए । यिनै कलाकारलाई समेट्नका लागि आयोजना गरिएको रे काव्यमेलाको दसौं शृङ्खला ।

मासिक काव्यमेला पनि अराजक ! दुइ वर्षमा जम्मा दसौं शृङ्खला ! काठमाडौं गएका बेला शशी लुमुम्बुले निकै माया गर्दा रहेछन् । भन्छन्– गज्जब लाग्छ दाइ, काठमाडांै कति भोको ? मजस्तो पुग्दा पनि मुख आँ गरेर बस्छ !

इटहरीमा बसेर रङ्गकर्ममा लागेका सोनु जयन्तीलाई सम्झेँ । असमान थुपै्र छन्, तर दुवैका केही समान कर्म थिए– नाटकमार्फत् समाजलाई केही दिनू ।

+    +     +

मुना चौधरीका दुई थान उपन्यासको विमर्श कार्यक्रममा सहभागी भएँ । उपस्थित हुने पैंचो संस्कृतिबाट टाढा हुने कुरै भएन । लहानकी मुनाले दुलारी र जयबर्धन सलहेश उपन्यास लेखेकी रहिछन् । अराजकका तह होलान्, ती अर्कै विषय । तर नेपाली भाषामा दुईदुई थान किताब लेख्ने मधेसकी मुना चौधरी अर्काे अराजक लागिन् ।

कार्यक्रमस्थल डबली द स्पेस पुगेँ । ‘डबली द स्पेस’ नामको होटेल अर्काे अराजक । चिटिक्क परेको होटेलमा मदिराका बोतल मात्र थिएनन्, नेपाली, अङ्ग्रेजीलगायतका भाषामा लेखिएका किताब पनि थिए । हेर्दा लाग्थ्यो– बोतललाई भन्दा बढ्ता इज्जत किताबलाई दिइएको थियो । हामी त्यही होटेलको हलमा बस्यौं । 

लगातार ४० वर्ष कविता पढाउने अङ्ग्रेजी विषयका प्राध्यापक एलबी क्षेत्री, चर्चाबाट टाढै बस्न मन पराउने अर्का प्राध्यापक उदय अधिकारी । प्राध्यापन पेशा र साहित्यलाई सँगसँगै लैजाने ईश्वर कँडेल । महेश गुरुकुल आश्रममा अध्यापन गराउने निराजन पन्त । कविताकर्ममा लागेका युवा तथा रङ्गकर्ममा लागेका अनि कवितालाई बुझ्न खोज्ने युवाहरुको फारु तर गम्भीर उपस्थितिमा हामी प्रस्तुत भयौं दुई खलपात्र ।

कवितावाचन सकिएपछि सोचेँ– अराजक र खलपात्रबाट टाढा जान्छु । मलाई अघिल्लै दिन कार्यक्रम सकेर देवघाट जाने विचार आएको थियो । गेस्ट हाउसमा बसेर उनीहरुलाई थप दुःख दिनु निको लाग्दैनथ्यो । (यद्यपि, उनीहरु मेरो उपस्थितिमा दुःखी हैन, निकै खुसी देखिन्थे ) देवघाट लैजाने साथीको खोजीमा लागेँ । मलाई घुमाउन र पु¥याउन मुस्कानसहित हाजिर हुन्थे विवेक । अराजक अक्षरभित्रका अर्का अराजक अञ्जान प्रवीण, काठमाडौंमा आचार्य तहको पढाइका लागि गएका, कार्यक्रम भ्याउनेगरी बिहानै पुलचोकमा टुप्लुक्किए । उनी रङ्गकर्मका अब्बल कलाकार । महेश आश्रमका उत्पादक उनी पनि के कम, ठीक्क परे पुर्‍याउन ।

अन्ततः म छटपटाएको देखेका निराजन पन्तले लैजाने भए मोटरसाइकलमा ।

देवघाटमा तीन ठूला आश्रम । संस्कृतको पढाइ हुने तिनैमध्येको एक महेश गुरुकुल आश्रम । कक्षा ६ देखि आचार्यसम्मको अध्यापन गराइँदो रहेछ । कालीदासमाथि आलोचना गरेर अन्तरराष्ट्रिय क्षेत्रमा चर्चित भएका आश्रमका संस्थापक डा. रामानन्द गिरी र उनका सहपाठी एवम् आश्रमसँग साइनो जोडिएका अक्सफोर्ड विश्व–विद्यालयका प्राध्यापक दिवाकर आचार्य झन् अराजक । व्यक्तिगत सम्पत्तिमा कुनै मोह नराखी विशुद्ध प्राज्ञिक क्षेत्रमा निःशुल्क सेवा दिने पिठाधीश शालीन अराजक । छन्दका श्लोकलाई कविता बनाउने चर्चित कवि सुदेश सत्याल उस्तै अराजक । यी सारा अराजकहरुसँग सम्बन्ध जोडिएको आश्रम साँच्चैको अराजक । 

 साँझको आरति चल्दै थियो हामी पुग्दा । आरतिपछि भोजनको तयारी भयो । आदिम साम्यवाद सम्झन मिल्ने गुरु–चेलाहरुका लागि एउटै भाँडोमा पाकेको र एकैचोटि गराइने सादा भोजनमा सरिक भएँ । 

बारमा हैन, तिथिमा विदा हुने आश्रममा अष्टमी र प्रतिपदामा विदा हुँदो रहेछ । आज प्रतिपदा तिथि । 

आश्रमलाई यसरी अराजक बनाउन प्रत्येक प्रतिपदा र अष्टमीका तिथिमा बेलुकीको खानापछि काव्यसभा हुँदो रहेछ । सभामा छात्रहरुको आत्मबल बढाउन आश्रमका संस्थापक स्व. डा. रामानन्द गिरीका उत्तराधिकारी, आश्रमका पिठाधीश रमणानन्द गिरीको नियमित उपस्थिति हुँदो रहेछ । हामी सबै सभाहलमा पुग्यौं । तल, भुइँमा छात्रहरु बसेका थिए । पिठाधीश आफ्नै आसनमा । उच्च आसनको पूर्वतर्फ म । यतिका समान आचरण र पद्धतिमा रमाएकाहरुबीच एकजना फरक म ! हिँड्दैदेखि खलपात्र हुने क्रम आश्रममा पनि रोकिएन ।

६ कक्षाका समीर पन्थीबाट सुरु भएको छात्रहरुको रचनावाचनको कार्यक्रम १२ कक्षाका मनीष गौतममा पुगेर टुङ्गियो ।

कलिला छात्रहरु पनि वक्रोक्तिमा निपुण । 

केही विद्यार्थीद्वारा वाचित रचना आश्रमका अराजक पात्र सच्चितानन्द पौडेलमा समर्पित थिए । पौडेललाई उपमा बनाएर प्रस्तुत गर्ने क्रम बाक्लिँदै थियो । ती अराजक पात्र रहेछन्– आश्रममा पढाउने शिक्षक । छात्रहरुमाझ अत्यन्त प्रिय र आदर्श । उच्च प्रशासकका एक्ला छोरा । उच्च शिक्षा हासिल गरेर पनि कुनै काममा हात नहालेका उनलाई हिँडडूल गर्न घरबाट बन्देज रहेनछ । आश्रममा निःशुल्क सेवा गर्दा रहेछन् । त्यस्तो निःशुल्क सेवा गर्नेहरुमा पिठाधीश पनि । आश्रमको कुनै नियमले नछुँदो रहेछ पौडेललाई । हेर्दा अस्थिर जस्ता लाग्ने उनी धेरै छात्रहरुलाई आस्था जगाउने उत्प्रेरक रहेछन् । बढीमा तीन मिनेट रचना वाचन गर्नेहरुमा उनी एक्लै १० मिनेट समय खाइदिने मानिस । उनी बोल्न आउनुअघि विभिन्न मुद्रामा निद्रासन जमाइसकेका कलिला छात्रहरु जराक्जुरुक् उठे । आँखा मिचे । कान चनाखो बनाए । ‘सच्चितानन्द गुरु’नामले परिचित र चर्चित उनले सुतेकालाई उठाइदिए ।

वर्षभरिमा एकजना छात्रको कवितासङ्ग्रह आफ्नै खर्चमा छपाइदिने, विभेद नगरी विभिन्न आश्रमका छात्रहरुलाई बेलाबेला भोजन गराउने, विपन्न विद्यार्थीलाई कापीकलम किनिदिने, कलिला छात्रहरुलाई सिर्जनामा सघाउने उनको कार्य प्रशंसायोग्य नहुने कुरै भएन । यति अराजक हुने उनलाई कसले नायक नबनाउँदो हो ! ती अराजक पात्र, तर आश्रमका विद्यार्थीका निम्ति एक उपहार रहेछन् ।

+    +     +

हिजोका अराजक समूह र खलपात्रलाई छोडेर जाने पक्षमा थिएँ । मनले मानेन । गेस्ट हाउसमा पुग्दा अञ्जान प्रवीण र मनोज विश्वकर्मा चिया पिउँदै थिए । अञ्जानले सूत्र प्रयोग गरेर खलपात्र र विवेकलाई बोलाइ छाडे । आयोजक उनीहरुको अवस्था खालमा हारेर सुस्ताइरहेका जुवाडेजस्ता । बिहानकै बसमा जाने सोचेँ । वास्तवमा बिहानको गाडी चलिसकेको थियो । अझै बसेर साथीहरुका रित्तिएका खल्तीलाई घाउ बनाउनु आवश्यक ठानिनँ । खाना खाएर हिँडेँ ।

बसपार्क पुग्दा लामो रुटमा अयोग्य लाग्ने एक बस मजस्ता यात्रु कुरेर बसेको रहेछ ।

खाली बसभित्र किताब पढेर बिताउने निधो गरेँ । छपक्कै मनमा बसेकाहरु भित्र पढ्न बाँकी सय पृष्ठजति थियो । गुड्दै गरेको बसमा बसेर किताब पढ्नु आनन्द लाग्छ । किताबभित्र पढ्दै जाँदा गहिरोसँग बिझेको शीर्षक थियो– क्षितिज हेर्दै किनारामा उभिएर म । कृष्णभूषण बल क्षितिजमा थिए र किनारामा उभिएका थिए रसिक । किताबका कृष्णभूषण मलाई हिँड्नुपर्छ भन्दै हौस्याउने दाइ थिए । अनागरिक दिव्य खालिङमाथि बढी भावनामा बगेको कलम एक कवि, सङ्गीतकार र गीतकार साथी रसिकको थियो । कोशीछेउको जोरसिमल नछिचोल्दै अराजक गाडी निस्कियो बसपार्कबाट । बस रहेछ प्रतिगामी, पूर्वको सट्टा पश्चिम हान्निएछ । बसको अराजक चरित्र ब्रेक लगाउँदा चार हात पछिल्तिर सर्ने अनि गियर फेर्दा चार हात अगाडि सर्ने थियो । अराजक यात्राको खलपात्रमा बस पनि थपियो । अराजकहरुमा नयाँ आयाम पाइन्थ्यो । आयाम हैन, बसले चाहिँ उफार्दै बरु व्यायाम गराउँथ्यो । पुलचोकबाट यात्रु कोचेर बसपार्कमै पुगेको बस सोहोरसाहार यात्रु खाँदेर हुइँकियो पूर्व । बस अघि बढ्दै गयो । जोरसिमल नजोडिनेगरी छुट्टिए । यात्रामा न राल्फाको अभियान पूरा भयो, न सङ्कल्प । त्यति गहिरो मित्रवत् व्यवहारले ढाकिएका ती जोरसिमल नजोडिनेगरी छुट्टिने कारण रसिकले लेखेनन् । बरु पाठकलाई नै जिम्मा दिएर किताबको बिट मारे । 

‘छपक्कै मनमा बसेकाहरु’ मेरा मनभित्र पनि छपक्कै बसे ।

+    +     +

बसको अराजक चरित्र मत्थर भए पनि पैसा उठाउने कन्डक्टर र सहचालकको चरित्र बढ्दै थियो ।

हेटौंडा पुग्दा बस्ने मात्र हैन, ‘उभिने सिट’ पनि थिएन । 

 विरोध ग¥यो कि आइलागुझैं गर्थे स्टाफहरु । हेटौंडाबाटै एक अधबैंसे लाग्ने सानै कदका मानिस चढे । उनी मेरो छेउमै उभिए । मलाई सकसक लाग्यो । थर र घर सोधेँ । बोल्ने साथी नपाउँदा उकुसमुकुस रहेका उनको बाक्य खुलेपछि थाहा भो– ओखलढुङ्गेली गिरी रहेछन् । जन्मघरबाट सानैमा हिँडेका रे । जन्मस्थान नजानुको कारण आफू बूढो पनि भएको र आमा दमको रोगी अक्सिजन लगाएर राखेको बताए । सम्झेँ– घरमा आमालाई । उनी बूढो भएको सुनेर भावुक हुँदै सिट छोडिदिउँ जस्तो लागेको हो । चन्द्रनिगाहपुर पुग्ने उनलाई सिट दिँदा कल्याण हुन्थ्यो, तर मनले मानेन ।
हेटौंडामा रहेका आफन्तको सहयोगमा उपचार गराएर घर फर्किएका । उनको कुहिनोमा एउटा गाँठो रहेछ । नदुख्ने गाँठो सुक्ने ओखती झोलाभरि बोकेका थिए ।

सोधेँ– कति वर्ष पुग्नुभो ? उनका अरु कुरालाई पन्छाउदै प्रश्न गरेँ । ३० सालको हूँ, ख्वै कति भएँ हिसाब गर्नु त ! मैले भनेँ , तपाईं र म को बूढो ? उनी अकमकिए । मेरो उमेर कति होला ? मैले उनलाई जाँच्न खोजेँ । उनी यस्तो परीक्षामा फेल भएर खाडी मुलुकमा झण्डै बाघेझापुमा परेका रहेछन् । बल्लबल्ल भने– ४० देखि ६० भित्र । छ भाइमध्येका उनी भिन्नै बस्दारहेछन् । उनको ‘आमालाई छोड्न नमिल्ने’ र ‘बूढो भएँ’ खलपात्र बन्ने प्रमाण बन्यो । अब रेडियो चाइनाझैं बोल्दै गए । १० चक्के गाडी र डोजर चलाउने उनको ज्यान भने साइकल चलाउनेजस्तो । उनको खुलेर बोल्ने आदत घतलाग्दो लाग्यो । सुन्दै आएको रेडियो चाइना शैली फ्रिक्वेन्सी घटबढ भएर आफ्नै समयको रेडियो नेपालको फर्मायसी कार्यक्रम जस्तै लाग्यो । म मात्र हैन, वरिपरिका यात्रुहरु उनैतिर एकोहोरिए । १० चक्के गाडीमा काम गर्दा ‘ओभर टाइम’भत्ता र तेल चोरचारले पोसाएनछ । साउदी अरब पुगेछन् । ‘हेभी लाइसेन्स’ उनको हतियार । तीन सय ट्याङ्कर मालिकका एक चालक भए । 

रफ्तारमा गुड्डी हाँकेका भाइलाई बीचैमा रोकिदिए मछेउमा बस्ने तामाङ भाइले । सोझा लाग्ने ती तामाङ पनि साउदी पुगेर फर्किएका रहेछन् । उनले ख्यालख्यालमै सोधे– तेल त खुब चोर्नुहुन्थ्यो होला हकि ? त्यति तीतो नसोधेको भए हुने भन्ने लागेको थियो । भाइ त हौसिँदै भोल्युम बढाउन थाले– ‘डाइबरले तेल चोरेन भने त जात गैहाल्छ नि ! ...साउदीबाट १२–१५ लाख ल्याएँ । थोरै भएपनि जेथो जोडेँ । तीन सय कुखुरा छन्, घरमा भैंसी छन् । अग्र्यानिक तरकारी खान्छु, रामै्र छ ।’  

केही सम्हालिए एकछिन । मछेउ आएर बिस्तारै भने– ‘सर, साउदीमा तेल चोरेको पाप हो कि जस्तो लाग्छ यो घाउ । साहुले रामै्र सुविधा पनि दिएको थियो । मलाई त पिर पो लाग्न थाल्यो । उनले कुहिनोमा आएको गाँठोतिर सङ्केत गरे । 

ओर्तिर सर्दै आएर भने– यी, हेर्नु न ! एक दिन मेरो साथीलाई चार सय लिटर तेल चाहिएको रहेछ । थाहा नपाई चोर्नुपर्ने । हतारहतार ट्याङ्करको मूल पाइप खोलेँ । तेल त ह्वात्तै आयो ! दमकलको जत्तिकै फोर्स हुने तेलको फोहरा सीधै आफ्नै बायाँ आँखामा प¥यो, हेर्नै भएन । पोलेर मर्नु भएँ । गाडी ग्यारेजमा थन्क्याउन पठाएर कोठामै बसेँ । उपचार गरेँ । बीसको उन्नाइस भएन । तेल चोरे पनि साथीभाइ राखेको थिएँ, तिनैले सहयोग गरे । डाक्टरले मालिकलाई भनिदियो र तलब पाएँ । मालिकले– तँजस्तो इमानदार ड्राइभर पाउँदिनँ, भनेर तलबसँगै बक्सिस पनि दियो । नेपाल आएर हेर्दा बक्सिस त ९२ हजार पो ! 

तिलगङ्गाले मेरो सात लाख सकिदियो । थुपै्र खर्च गर्दा पनि आँखा निको भएन ।’

अझ नजिकिँदै भने– ‘यी हेर्नुस् न सर आँखै छैन ।’

 कथा अघि बढ्दै थियो । सहचालकले चपुर (चन्द्रनिगाहपुर) आएको जानकारी गराए ।

बसभित्रका ती यात्रु थिए एक खलपात्र । 

ती ओर्लिएपछि सुनसान भयो बसभित्रको वातावरण ।

+    +     +

अराजक यात्रामा मबाहेकका खलपात्र हराइसकेका थिए । बस जसोतसो चल्दै थियो । लालबन्दी आइपुग्दा एउटा दृश्य अघिल्तिर देखियो । उखु बोकेको ट्रक, बसभन्दा अगाडि थियो । बस उछिन्न खोज्दै थियो । ठाउँ थिएन । एकतर्फी पुलको मुखैमा ट्रक रोकियो । ट्रकको पछि बस र पछि अरु गाडीहरु । चारपाँच हात पछि बसेको बसभित्र एकाएक उखुसहितको ट्रक पस्यो । ट्रक पछाडि सार्दाको दुर्दशा । बसको अगाडिको सीसा झरामझुरुम् । भरतपुर बसपार्कबाट अराजक बन्दै गुडेको बस अन्ततः लालबन्दीमा बन्दी बन्यो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC