प्रेरणाका स्रोत प्रेमनाथ अर्याल

विष्णु पन्थी

आफ्नो २७ वर्षकै उमेरमा २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा अग्रणी भूमिका खेलेका प्रेमनाथ अर्यालको २०७६ साल माघ १७ गते शुक्रबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भयो । उनका छ भाइ छोरा, दुई बहिनी छोरी र एक पत्नी छन् । अर्यालको जन्म २००१ साल असोज १४ गते गुल्मीको मरभुङ्मा पिता पण्डित दुर्गादत्त र माता यमकुमारीको साहिंला छोराका रुपमा भएको थियो ।

राजनीति र दर्शनशास्त्रका ज्ञाता अर्यालले नेपालको ऐतिहासिक तीनधारा पाठशालामा आफ्नो विद्यार्थी जीवन बिताएको देखिन्छ । विसं २०१७ देखि २०२८ सालसम्म उनले त्यहीँ बसेर आफ्नो स्वर्णीम विद्यार्थीकाल बिताउँदा उनको प्रजातान्त्रिक हक सुनिश्चित हुनुपर्ने र नागरिकको अधिकारप्रतिको चेतना विभिन्न आन्दोलनका माध्यमले व्यक्त भयो । 

विसं २००४ सालको “जयतु संस्कृतम्” आन्दोलनको जरोकिलोको रुपमा रहेको तीनधारा पाठशाला क्रान्ति र परिवर्तनको चेतनाको पर्याय नै थियो । त्योे उनमा पनि जागृतमात्रै भएन बरु नेतृत्वदायी भूमिकामै मुखर भैहाल्यो । 

विसं २०१५ सालको आमनिर्वाचनमा कलिलै उमेरमा गुल्मी जिल्लाको चुनावमा तत्कालीन सांसद नीलाम्बर पन्थीको प्रचारप्रसारमा समेत जुटेका अर्याल छात्रवासमा बस्दा अग्रणी विद्यार्थी नेताका रुपमा रहेका थिए ।

विसं २०१७ सालको राजाको “कू” विरुद्ध महेन्द्रलाई विरोध स्वरुप कालोझन्डा देखाउन संलग्न भएको, त्यसपूर्व नै २०१७ सालमा नेपाली कांग्रेसको साताैं महाधिवेशनमा समेत गुल्मी जिल्लाको प्रतिनिधिको हैसियतले सहभागी भएको अनुभवले उनलाई परिपक्व विद्यार्थी नेता बनाइसकेको थियो ।

विसं २०१७ सालमा नै पार्टी नेतृत्वको संगत गरिसकेका प्रेमनाथ अर्याल तीनधारा छात्रावासमा बसुन्जेल अग्रणी विद्यार्थी नेता नै रहे । छात्रवासका तत्कालीन छात्रनेताहरु पीताम्बर दाहाल, पेशल पोखरेल, रामप्रसाद भट्टराई, चिरञ्जीवि वाग्ले, सिद्धराज ओझा, ऋषिराम पोखरेललगायतका समकालीन प्रेमनाथ अर्यालले २०२७ सालसम्म आइपुग्दा थुप्रै विद्यार्थी आन्दोलनको नेतृत्व गरेको देखिन्छ ।उनले क्याम्पसमा विद्यार्थी युनियनको नेतृत्व, छात्र कार्य समितिको नेतृत्व, अरुणोदय साहित्यिक पत्रिका प्रकाशन, संक्रान्ति पत्रिका प्रकाशन, विभिन्न छात्र समितिको गठन, शिक्षणप्रशिक्षणलगायतका कार्य गर्दै संगठनको प्रारुप तयार गर्ने, कांग्रेसका नेता सुवर्ण समशेरसँग निरन्तर सम्पर्कमा रहने कार्य गरेको पाइन्छ ।

नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतसँग उनी कलिलो उमेरमा पनि आपसी संवाद गर्ने, बौद्धिक बहस गर्ने गरेको उनका समकालीनहरु बताउँछन् । राजनीतिक चेतना र नेतृत्वसँगसँगै इतिहास विषयमा एमए, कानुनमा स्नातक र संस्कृतको सर्वदर्शन विषयमा आचार्यसम्मको अध्ययन गरेका प्रेमनाथ अर्याल अंग्रेजी भाषाका पनि ज्ञाता थिए । समसामयिक विश्वराजनीतिमा चाख राख्ने उनी दैनिकरुपमा अंग्रेजी, हिन्दी, नेपालीलगायत भाषामा प्रकाशित हुने पत्रिका पढ्ने, नेता तथा साथीहरुलाई समाचारबारे अथ्र्याउने गर्थे । जीवनको अन्तिम कालसम्म पनि अंग्रेजी तथा नेपाली भाषामा प्रकाशित दैनिक पत्रिका पढ्ने, समसामयिक विषय र समाचारबारे जानकारी राख्ने उनको बानी थियो । 

उनका समकालीन साथीहरुमा सदैव अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अर्यालले नेपाल विद्यार्थी संघको स्थापना कालका प्रथम र द्वितीय महाधिवेशनमा नेतृत्वदायी र समन्वयकारी भूमिका निर्वाह गरी नेतृत्व छनोटमा निर्णायक भूमिका खेलेको उनको स्मृतिका सन्दर्भमा नेविसंघका प्रथम अध्यक्ष विपिन कोइराला र दोस्रा अध्यक्ष शेरबहादुर देउवाले बताएका छन् । 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँगै लगातार तीन वर्ष जेलजीवन बिताएका उनले प्रजातान्त्रिक संघर्षका क्रममा पाँच वर्ष जेलमा बिताएका थिए । विसं २०३५/०३६ सालपछि आफ्नो गृहजिल्ला गुल्मीमा नै बढी बस्दैआएका अर्यालले २०३६ सालको जनमत संग्रहमा गुल्मी जिल्लाको बहुदल प्रचारकोे नेतृत्व गरेका थिए । बीपी कोइरालाको नेतृत्वमा गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाई र खुमबहादुर खड्का २०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको सहयात्रालाई जोड दिँदै ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर भारत निर्वासनबाट नेपाल फर्किएपछि नेपाली कांग्रेसका कार्यवाहक सभापती कृष्णप्रसाद भट्टराई र बीपी कोइरालाबाट २०३३ सालपछि गुल्मी जिल्लाको कांग्रेस नेतृत्वको जिम्मेवारी समेत उनैलाई दिइएको थियो ।

सदैव उत्साहित, लामो कदका र कान्तियुक्त आकर्षक आकृतिका प्रभावशाली व्यत्तित्व प्रेमनाथ अर्याल वास्तवमा देदीप्यमान ज्ञानपुञ्ज नै थिए । गुल्मी बसाइका क्रममा प्रजातान्त्रिक अभियानमा सक्रिय हुनुका अतिरिक्त आफूमा भएको अपार ज्ञान बाडेर त्यस क्षेत्रलाई शिक्षाको आलोकले प्रकाशित गर्ने काम गरे ।  गुल्मीको तम्घासमा रेसुङ्गा क्याम्पस स्थापना गरी शिक्षादान गर्ने काममा अर्याललगायत डा. टीकाराम पन्थी, ज्ञानहरि आचार्य, शशि पन्थी, दीन पन्थीहरुको ठूलो योगदान र भूमिका रहेको पाइन्छ । स्थानीय समाजसेवी बुद्धिजीवीहरु मिलेर खडा गरेको यस क्याम्पसले त्यस क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ । 

अर्यालले यसका अतिरिक्त आफ्नै गाउँ मरभुङ्मा मालिका मावि स्थापना गरी संचालनमा ल्याए । तम्घासको महेन्द्र मावि र रेसुङ्गा क्याम्पसमा उनले पढाएका कैयौं विद्यार्थीहरुले राष्ट्रसेवामा महत्वपूर्ण योगदानसमेत पुर्‍याएका छन् । राजनीति र शैक्षिक दुवै योगदानमा उत्तिकै अब्बल प्रेमनाथ अर्याल सदैव त्याग, निष्ठा, समर्पण र सरलताका पक्षपाती थिए । विधि र पद्धति अनुरुप प्रजातन्त्र चल्नुपर्छ भन्ने मान्यता राख्ने अर्याल पद्धति मिचेर राजनीति चलेकै कारण अस्थिरता बढिरहेकोमा चिन्तित थिए । 

नेपाली कांग्रेसले अंगिकार प्रजातान्त्रिका समाजवादी नीतिका प्रवक्ता अर्यालमा कृष्णप्रसाद भट्टराईको गहिरो छाप थियो । प्रायः सबै दर्शनका ज्ञाता उनी गीताको उपनिषद् दर्शनका व्याख्याता नै थिए ।

“तुल्यनिन्दास्तुतिर्मौनि सन्तुष्टो येनकेनचित् । 
अनिकेतः स्थिरमतिर्भत्तिमान् मे नरो प्रियः ।।”

जस्ता गीतोपदेश दिने अर्यालले राजधानी र सदरमुकाममा घर बनाउन केन्द्रित प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो होडले मानिसमा अशान्ति र अनावश्यक अस्वस्थ प्रतिस्पर्धा बढेको ज्ञान दिने गर्थे ।

बीपी कोइरालाले यस्तै एक प्रसङ्गमा एक जना उनका शुभचिन्तकले काठमाडौंमा घर बनाउने सल्लाह दिदा “मेरो घर विराटनगरमै छ, यहाँ त काठमाडौंकै मान्छेको घर हुनुपर्छ नि” भनेर जवाफ दिएको कुराको यहाँ तादात्म्य मिल्छ ।

विधि र पद्धतिअनुसार नागरिक हक सुरक्षित गर्ने विधिको शासन स्थापित गर्ने नाममा आफ्नो जीवन समर्पण गरेका प्रेमनाथ जस्ता नेताले देखाएको बाटोमा हिँड्ने प्रेरणा लिन सकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । 

जय नेपाल !

पूर्वसहमहामन्त्री, नेपाल विद्यार्थी संघ

प्रतिकृया दिनुहोस
ad