site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘धर्म संकट’ले डुबायाे, ‘तकदिर’ले उकास्याे
Ghorahi CementGhorahi Cement

चलचित्रको नाम ‘धर्म संकट’, त्यसले सिर्जना गरेको परिस्थिति पनि त्यस्तै । ०५३ सालको समय थियो । सुनीलले तत्कालीन सुपर स्टार शिव श्रेष्ठ र राजेश हमाललाई लिएर चलचित्र बनाए । पहिलो चलचित्र अनुभव थिएन । तर यति थाहा थियो– शिव श्रेष्ठ र राजेश हमाललाई लिएर चलचित्र बनाए सुपर हिट हुन्छ भन्ने । 

व्यवस्थापन राम्रो भएन । सुटिङ डेज (दिन) लम्बियो । बजेट आकासियो । २५ लाखमा सकिन्छ भनेको चलचित्रको लगानी ५८ लाख पुग्यो । चलचित्र पूरा गर्नै हम्मे भयो उनलाई । ऋण–खोज गरेर सुनीलले डेढ वर्षमा चलचित्र हलमा ल्याए । 

चलचित्र चल्यो । बक्स अफिस कलेक्सन पनि राम्रो गर्‍यो । तर २५–३० लाखमा चलचित्र बनिरहेका बेला झन्डै ५८ लाख खर्चिनुपरेका कारण लगानी उठेन । २० लाख रुपैयाँ घाटा भयो । 

Agni Group

“म जति पैसा लिन सक्थें, त्यति सबै लगानी गरिसकेको थिएँ । चलचित्र पूरा गर्नै गाह्रो भयो । हरप्रयास गरेर चलचित्र बजारमा ल्याएँ । ०५३ सालमा २० लाख घाटा भएपछि मलाई आर्थिक संकट लाग्योे,” सुनील डेढ दशकअगाडि फर्किए, “छोरी (सुहाना) भर्खर जन्मिएकी थिइन् । छोरीलाई बिस्कुट किन्ने पैसा पनि थिएन मसँग ।”

नयाँ बानेश्वरस्थित अहिले मोक्ष क्याफे भएको ठाउँमा सुनीलको रेस्टुरेन्ट थियो । उनी भन्छन्, “बानेश्वरकै पहिलो रेस्टुरेन्ट थियो त्यो । नाम होराइजन । ०४८ सालमा खोलेको थिएँ । रि–कन्डिसन गाडीको व्यापारबाट कमाएको पैसा डुबाएँ ।”

Global Ime bank

सुनीलका बुबा भन्थे, “काजीको छोरो होस्, यस्तो नौटंकी पेसामा काम गर्छस् ?, पर्दैन गर्नू ।”

सुनीलले रहरै रहरमा लगानी गरिहाले । आखिर लगानी नै डुब्यो । बुबा रिसाए । “बुबा मसँग लामो समय बोल्नुभएन । विवाह गरेको त्यही वर्ष थियो । अहिले पनि सम्झिँदा आँसु आउँछ,” सुनील पुराना दिन सम्झिन्छन् । 

जहाँ पैसा डुब्यो त्यहीँबाट उठाउनु थियो । डराएर भागे २० लाख माया मार्नुपर्थ्यो । २३ वर्षकै उमेरमा सुनीलले फेरि गरे आँट । ‘गोर्खाली’ बनाए । चलचित्र दर्शकले मन पराए । लगानी त उठ्यो नै । ‘धर्म संकट’ ले डुबाएको पैसा पनि उठाइदियो । 

अब आयो आँट, उनले बनाए, ‘ए मेरो हजुर’ । “सरकार–माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समय थियो । चलचित्र राम्रो बनेको भनेर सबैले भने । चौतर्फी तारिफ भयो । तर दर्शक हलसम्म जाने वातावरण थिएन,” सुनील भन्छन्, “चलचित्रले लगानी त उठायो । तर नाफा भने कमाएन । त्यो समयले नै मलाई ठग्यो ।” 

‘तकदिर’ ले सुनीलको तकदिर पनि बलियो बनाइदियो । दर्शकले चलचित्र मन पराइदिए । उनले लगानी मात्रै उठाएनन् । नाफा पनि कमाए ।

सधैं तकदिर कहाँ बलियो हुन्छ र ? कहिले कमजोर, कहिले बलियो । तर आमनागरिकमा फेसबुक बलियो बनिरहेका बेला सायद सुनीलको चलचित्र ‘फेसबुक’ भने बलियो भएन । दर्शकले मन पराएनन् । लगानी डुब्यो । 

सलिनमान बानियालाई लिएर  ‘ए मेरो हजुर २’ बनाए । ‘मेगा स्टार’ भनेर सुनीलले अनमोल केसीलाई लिएर ‘ए मेरो हजुर ३’ निर्माण गरे । अनमोलको अपोजिटमा आफ्नै छोरी सुहानालाई राखे । बिग बजेटमा बनेको चलचित्रले लगानी उठायो । 

सुनील नायिका झरना थापाका श्रीमान् हुन् । झरनाले १३२ वटा चलचित्रमा अभिनय गरेकी छिन् । नेपालमा युवा उमेरमा मात्रै नायक–नायिका राख्ने चलन छ । त्यो चरण पार गरेपछि अक्सर मुख्य भूमिकामा लिइँदैन । झरना पनि अपवाद थिइनन् । एक समय व्यस्त नायिका झरना घरमा यत्तिकै बस्थिन् । “कुनै वर्ष यस्तो थियो, झरनासँग मेरो भेट सातामा एकपटक पनि हुँदैन थियो,” सुनील भन्छन्, “त्यस्तो व्यस्त मान्छे घरमा यतिकै खाली बसिरहेको देखेपछि मैले सोचेँ यति लामो अनुभव छ । नाम छ । तर यसरी चलचित्रबाट टाढिएर कसरी बस्न सक्छिन्, झरना ?”

त्यसपछि सुनीलले भने– झरना तिमी अब फेरि चलचित्रमा आउनुपर्छ । निर्देशन गर्नुपर्छ । निर्देशनमा झरनाको अनुभव थिएन । त्यसैले उनले सहजै हुन्छ भन्ने कुरै थिएन । “मैले जबरजस्ती हो उसलाई निर्देशनमा ल्याएको । सायद मैले कर नगरेको भए झरना निर्देशक हुने थिइनन् ।” 

झरनाले ‘ए मेरो हजुर २’ निर्देशन गरिन् । नायिकाबाट निर्देशक भइन् ।

छोरी सुहाना आफ्नै बुबा–आमाको चलचित्र ‘ए मेरो हजुर ३’बाट नायिका भइन् ।

सुनीललाई उनका बुबाले चलचित्रमा नआइज भने । सुनीलले आफ्नी छोरीलाई । तर, बुबा र छोरीको उस्तै संयोग । सुनील पनि नसोचेको क्षेत्रमा आइपुगे । छोरी पनि । “चलचित्रमा अउनुभन्दा ४ महिना अगाडिसम्म पनि सुहाना चलचित्रमा आउँछिन् भन्ने थिएन । अचानक उनी पनि चलचित्रमै आइपुगिन्,” सुनील भन्छन् । 
 

सुनील चलचित्र निर्माता अर्थात् चलचित्रमा लगानी गर्ने व्यक्ति । अधिकांश चलचित्रको लगानी बालुवामा पानी भइरहेको छ ।

यस्तो अवस्थामा लगानी सुरक्षित गर्ने चलचित्र कसरी बनाउने ?

त्यस्तो कुनै अचुक उपाय छैन, ताकि चलचित्र चल्छ–चल्छ । बजारले कस्तो कथा मन पराइरहेको छ ? सुनील हेर्छन् । त्यसभित्र पनि उनको जानरा कमेडी होइन । लभ स्टोरीभित्रै बस्छन् । कथा खोज्छन् । कथा सुहाउने कलाकार रोज्छन् । अनि निर्देशक । यही हो सुनीलले चलचित्र बनाउने तरिका । 

सुरुका वर्ष भने अलि फरक थिए । सुनील नयाँ थिए । अनुभव थिएन । मनले खाएको व्यक्तिलाई नै विश्वास गर्नुपर्थ्यो । निर्देशकले कथा ल्याउँथे । त्यसमै सुनील लगानी गर्थे । अहिले समय फेरियो । दर्शकको रुचि बदलियो । परिवारमै तीनजना चलचित्र क्षेत्रमा छन् । चिनजान बाक्लियो । अनुभव खारियो । कथादेखि कास्टिङसम्म चुजी भएका छन् । बजार कसको छ, अर्थात् को कलाकार दर्शकको पहिलो रोजाइमा छ ? कथा मिले त्यस्तै कलाकार लिन्छन् । 

“कस्तो चलचित्र चल्छ निर्माताका हिसाबले म अहिले पनि ठोकुवा गर्न सक्तिनँ । तर पहिलो चलचित्रबाहेक मैले सबै लभस्टोरी चलचित्र बनाएँ,” सुनील भन्छन्, “सरल कथा, राम्रो सिन, रुचाइएका वा रुचाइने कलाकार र प्रेमिल गीत भए प्रेम कथा चल्छ भन्ने लाग्छ, यही सिद्धान्तअनुसार म आजसम्म चलचित्र बनाइरहेको छु ।”

होराइजन रेस्टुरेन्ट र रि–कन्डिसनको व्यापार थियो । गाडी खरिदका लागि जोगबनी भन्सार गइरहन्थे । त्यहीँ उनको भेट भयो उज्ज्वल पौडेलसँग । भेटघाटसँगै साथित्व बढ्यो । विराटनगर जाँदा उनकैमा बस्न थाले । उज्ज्वल चलचित्र वितरण गर्थे । अजय देवगनको चलचित्र थियो, उज्ज्वलले भने, “सुनील यसमा अलिकति पैसा हाल न, कमाइ राम्रो हुन्छ ।”

सुनीलसँग पनि पैसा थियो । आइडिया नभए पनि तीन लाख २० हजार लगानी गरे । ४ लाख रुपैयाँ नाफा पनि भयो । उज्ज्वलले ‘टुहुरो’ निर्देशन गरिरहेका थिए । 

उज्ज्वलकै संगतले सुनील चलचित्रमा तानिए । लगानी गर्न थाले । कहिले नाफा कहिले घाटा । चलचित्रको नशा लागेछ । घाटा हुँदा पनि चलचित्रमै रहिरहे ।

२३ वर्ष भयो सुनीलले चलचित्रमा आफूलाई समर्पित गरेको । आजसम्म पनि उनी चलचित्रमै छन् । मंगलबार ‘मोक्ष’ पुग्दा सुनील आगामी चलचित्र ‘ए मेरो हजुर ४’ को वर्कसपमा थिए । सुहाना, अनमोल र सलोनलाई राखेर वर्कसप गराइरहेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC