site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
 
व्यवस्थापिका संसद्बाट सुविधाजनक बहुमत प्राप्त गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्रीका रूपमा यो उनको दोस्रो कार्यकाल हो । नेपालका कम्युनिस्ट नेताहरूमा दोस्रोपटक प्रधानमन्त्री हुने मौका पाउने पनि उनी पहिला व्यक्ति हुन् । यसैगरी संसद्मा उनको पार्टीको एक चौथाइ स्थान नभए पनि सरकारको नेतृत्व गर्ने अवसर पनि उनले पाए । उनलाई संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काँध थापेको छ । कांग्रेसबाहेक मधेसी मोर्चा तथा गठबन्धनका सांसदहरूले पनि प्रचण्डलाई मत दिएका छन् । सरकारमा जो भए पनि समर्थन गर्ने र मन्त्री हुन खोज्ने खुद्रा दलका नेताहरूले त यसै पनि उनको पक्षमा मतदान गर्ने नै भए । यो समर्थन सुविधाजनक बहुमत दाहालका लागि चुनौती र अवसर दुवै हो ।
देश संकटमा छ । भूकम्पपीडितको पुनःस्थापना हुन सकेको छैन भने सुशील कोइरालाको सरकारले पुनःनिर्माणका लागि जुटाएको सहयोगसमेत समयैमा प्रयोग हुन नसक्ता गुम्ने अवस्थामा पुगेको छ । सरकारको प्रमुख साझेदार कांग्रेसले भूकम्पपीडितलाई दिने सहयोग एकमुस्ट दिनुपर्ने माग राखेर संसद् अवरुद्ध गरेको थियो । सत्तामा पुगेपछि त्यसलाई कार्यान्वयन गराउने चाहना पक्कै देखाउनेछ । अन्तर्राष्ट्रिय समुदायले कबुल गरेको सहायता पनि दिएको छैन भने यसबीच महँगी र मुद्रास्फीतिका कारण निर्माण कार्यको लागत दोब्बर भएको छ । यसैबीच यो वर्षको बाढी पहिरोले पनि ठूलै विनाश गरेको छ र सयौँ परिवारलाई पुनर्वास गराउनु पर्ने अवस्था उत्पन्न भएको छ । भूकम्प र बाढीपीडितको पुनःस्थापनामा इमानदार प्रयास गरे सायद उति ठूलो समस्या नहोला तर मधेस र अरू आन्दोलनरत समुदायका माग पूरा गर्न र बेलैमा स्थानीय तहको संख्या र सीमा निर्धारण गरी स्थानीय, प्रादेशिक तथा संघीय संसद्को निर्वाचन गराउन भने निकै चुनौतीपूर्ण छ । दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसद्को बाँकी अवधि आलोपालो सरकार चलाउने सहमति अनौपचारिकरूपमा सार्वजनिक भइसकेको छ । यसले पनि दाहालको सरकारले कर्मचारीतन्त्रबाट अपेक्षित सहयोग नपाउन सक्छ । त्यसमाथि सहायक तहका कर्मचारीमा नेकपा (एमाले)को प्रभाव निकै बढी छ । एमाले स्वयंले अहिलेसम्म प्रतिपक्षमा रहँदा जिम्मेवार भूमिका निर्वाह गरेको छैन । यसपटक त झन् दाहालले समर्थन फिर्ता लिएकाले सरकार गिरेकाले ‘एमाले घाइते’ बाघ जस्तो भएको हुनसक्छ । संसद् र प्रशासन यन्त्रको पूर्ण सहयोग प्राप्त गर्न नसके दाहालको सरकारले तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कुनै काम पनि गर्न सक्नेछैन ।
चुनौतीहरूलाई पार लगाउन सकेमा नै नेतृत्व क्षमता सिद्ध हुन्छ । मधेसीलाई आन्दोलनका लागि उक्साउने र पछि पेलेर संविधान जारी गर्न कांग्रेस र एमालेलाई साथ दिएर बिच्क्याउने काममा अरूभन्दा धेरै दाहालकै भूमिका छ । संविधान संशोधनमा एमालेको साथ आवश्यक हुने यथार्थ त उनका विरुद्ध परेको मतले नै स्पष्ट गरेको छ । राप्रपा नेपाल र एमालेबीच सत्ता साझेदारका रूपमा निकट र मधुर सम्बन्ध रह्यो । यसैले एमालेले सहयोग नगरेमा संविधान संशोधनका लागि राप्रपा नेपाल पनि तयार नहुन सक्छ । मधेसी मोर्चा र गठबन्धनका उचित मागहरू तत्काल सम्बोधन गरेर निर्वाचनतर्फ उन्मुख नभए देशमा संकट उत्पन्न हुनेछ र दाहालले त्यसको सबै दोष बोक्नुपर्नेछ । 
पहिलो कार्यकालमात्र हैन अरू दलसँगका संयुक्त सरकारका पालामा पनि अधिकांश माओवादी मन्त्रीहरूको कार्य सम्पादन चित्त बुझ्दो थिएन । उनीहरूको ढंग र नियत दुवैमा कमजोरी देखिएको थियो । दाहाल स्वयं पनि यसबीचमा आर्थिकरूपमा समेत ‘बदनाम’ भएका छन् । उनी स्वयं र माओवादी केन्द्रका अरू नेताको छविका कारण पनि प्रशासन यन्त्रको पूरा सहयोग उनले पाउने सम्भावना कमै छ । सत्ताको अर्को साझेदार नेपाली कांग्रेसका नेताहरू पनि उत्तिकै ‘बदनाम’ छन् । यसले सरकारमा मन्त्री छान्दा बुद्धि पुगेन र नैतिक दृष्टिले कमजोर व्यक्तिहरू छानिए भने प्रशासनले टेर्नेछैन । 
दाहालका सामुको अर्को चुनौती माओवादी कार्यकर्ता र नेताको व्यवस्थापन हो । उनीहरू बढी नै उद्दण्ड र अराजक हुने गरेका छन् । प्रधानमन्त्रीको दलकै कार्यकर्ता अराजक हुन थाले भने सरकार चल्न सक्त्तैन । यस्तै दाहालको स्वभाव पनि बढी आवेगबाट सञ्चालित हुने प्रवृत्तिको छ । उनले आफू सत्ताधारी हो कि विद्रोही भनेर यसपटक पनि छुट्ट्याउन सकेनन् भन् दाहालका लागि मात्र हैन देशकै दुर्भाग्य हुनेछ । 
यसैगरी, माओवादीका नेताहरूले शान्ति प्रक्रिया र दण्डहीनतालाई अन्योन्याश्रित विषय बनाउँदै आएका छन् । उनीहरूलाई नेपालमा एकपटक लटरपटर गरेर भए पनि ‘आममाफी’ वा यस्तै केही निर्णय गराउन सके सशस्त्र द्वन्द्वकालीन अपराधको झमेलाबाट उन्मुक्ति पाइने भ्रम छ । सरकारमा पुग्नेबित्तिकै कानुनलाई संशोधन गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाएर आयोगहरूलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण नबनाइदिने हो भने अन्तर्राष्ट्रिय समुदायबाट नेपाल एक्लिनेछ । नेपालभित्रै पनि जनस्तरमा र मानव अधिकार समुदायमा सरकारको विरोध बढ्नेछ । 
माओवादी नेता कार्यकर्तामा राज्य, सरकार, पार्टी, नेता र कार्यकर्ता एउटै हुन् भन्ने भ्रम पनि देखिँदै आएको छ । राज्यको सम्पत्ति सरकारले अपारदर्शी र तजबिजीरूपमा दोहन गर्नु नैतिक र कानुनी दुवै आधारमा अपराध हो । सरकारमा पुग्नेबित्तिकै राज्यको ढुकुटी अपचलन गरेर विगतमा जस्तै कार्यकर्ता पोस्ने काम व्यापक र नियोजितरूपमा हुन थाल्यो भने त्यसले पनि जनआक्रोश निम्त्याउनेछ । संसद्मा अहिले जति नै ठूलो बहुमत देखिए पनि सरकारको जनाधार कमजोर भएको सरकार सफल र दिगो हुनसक्तैन । 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगत अनुभव र कमजोरीबाट सिकेर आपूmलाई सफल र देशभक्त प्रधानमन्त्री सिद्ध गर्न पाएको अवसरको सदुपयोग गर्नसकून् ! हाम्रो शुभकामना !           
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC