भाउपन्थी
ऊ अर्थात् बलभद्र । कथाकार । कथाकारका उपयुक्त नाम थिएन बलभद्र । अलि ललित नाम हुनुपर्ने । ठङठङीको नाम छ यो बलभद्र । भन्नेले त कथाकार भन्दैनन् उसलाई । बलभद्र सैनिक नाम, साहित्यिक नाम मान्दैनन् । छिमेकमा बस्नेले पनि उसलाई चिन्दैनन्, ऊ एक कथाकार हो । जरुरी छैन । ट्याक्सी ड्राइभरलाई चिन्न सजिलो हुन्छ । किनभने ऊ ट्याक्सीको ड्राइभिङ सिटमा बसेको हुन्छ । स्टेयरिङ समातेर । अचेल त ‘ट्याक्सी ड्राइभर’ लेखिएको ज्याकेटै लगाएर । कथाकारलाई चिन्ने साधन छैन ।
कममा पनि ट्रयाक्सी ड्राइभरहरूले लगाउने जस्तो ज्याकेटको बन्दोबस्त भए हुने । कुनै लोगो आविष्कार गरे पनि हुने । लोगो हेरेर भन्न सकिन्थ्यो— यो एक कथाकार हो । लोगो लगाएर सांसदहरू सडकमा निस्कन नहुने भइसकेको हुन्छ कहिले । लोगोको आइडिया त्याज्य छ । सामान्यतया । साहित्यको सीमित पाठक वर्ग होला जसले कथाकारलाई चिन्दछ । ‘बलभद्र कथा लेख्न त लेख्छ तर खै के लेख्छ लेख्छ ।’
कुरो त्यो होइन । कथा लेख्नु छ । बलभद्र कम्युटरमा बसेको छ । नामले के नाप्ने हो र ? दक्षिणको प्राचीन मित्रले कालापनीलाई त अर्को नामको बनाइसक्यो । कुनै दिन के थाहा मुलुकैको नाम फेरिने हो कि ? दिमाग झड्काल्दै बलभद्र किबोर्ड थिच्छ— ठकठक । किबोर्ड पुरानो भएको छ । कुनै एउटा बटन थिचिएपछि थिचिएको थिचियै हुन्छ, माथि आउँदैन । पुरानो चीज फाल्न मिल्दैन । तेरो बाउ बूढो भयो भनेर नदीकिनारमा लगेर फाल्छस् ? कम्प्युटरले क्रूद्ध भएर सस्वर सोध्ला जस्तो छ । यस्तोे एउटा निषेधात्मक नैतिकताले छेकेकाले उसले पुरानो किबोर्ड फाल्न सकेको छैन । तर हो त किबोर्ड निर्जीव वस्तु । यार फेरि हेर् न, डायलासिस गर्दैगर्दै सरकार चलिरहेछ छ । किबोर्डको डायलासिस हुँदैन । चिनियाँ सामान हो । मर्मत गर्दा नयाँ किनेभन्दा बढी मोल पर्छ । चिनियाँ सामान भन्नाले दक्षिणले तेरो मुलुक उत्तरसित लहसियो भन्छ ।
त, किबोर्ड ठकठक पारेपछि यताको आवाजजस्तै उताबाट पनि आवाज आयो— ठकठक । किबोर्डभित्रबाट । उता पनि कसैले बलभद्रले जस्तै किबोर्ड चलाइरहेछ भन्ने भ्रम खडा भयो ।
‘हेलो ! बलभद्रले मनमनै डाक्यो । डाक्नु कसलाई ? कथालाई । एउटा उपन्यास लेखिहालुँ भन्ने चाहना पनि थियो । मोटै ग्रन्थ । उपन्यास कुन विषयमा लेख्ने । लेख्ने विषय त धेरै छन् । त्यो पछि बहस गरौंला । बलभद्रले स्वयम्सित मनोसंवाद गर्यो । डायलग । हाललाई एउटा कथा ।
फेरि भन्यो, ‘हेलो ।’ प्रकटमा भनेको छैन । मनमनै हो भनेको ।
‘हेलो कथा ! हेलो कथा !’ बलभद्रले माइक टेस्टिङ गर्नलाई भन्ने गरिएको प्राविधिक सम्बोधनभैंm ‘हेलो माइक टेस्टिङ, माइक टेस्टिङ’ जस्ता शब्द प्रयोग गर्दै अन्तरमनबाट भन्यो— ‘हेलो कथा ! हेलो कथा !’ केही समय बित्न दियो । कथा कतै गएको भए उसले आह्वान गरेको सुनेर फर्कोस् वा उङिरहेको भए उसको बोली सुनेर जागोस् र उसको किबोर्डमा अवतरित होस् । अबेरसम्म केही भएन । दिमाग खाली भएको अनुभव भयो बलभद्रलाई । तर कथालाई कतैबाट भए पनि उतार्नु थियो । माने ग्राउन्डेड गराउनु थियो । सेफ ल्यान्डिङ होइन । भिजिबिलिटी अस्पष्ट भएकाले माथिमाथि पच्चीसौं चक्कर लगाएर आएतिरै फर्कन उडान भर्न दिनु थिएन ।
चरा जस्तो मान्यो कि क्या बलभद्रले कथालाई, चारो देखाएर बोलाए आइहाल्छ कि ? मनमनै भन्या— ‘आ ! आ !!’
‘आ’ ले भएन । अलि हप्काएजस्तो भयो । फेरि फकाउँदै भन्यो, ‘आऊ कथा आऊ !’
‘यो मान्छे त अति ज्याद्रो रहेछ । आउँदिन भनेपछि ।’ कसैले उसको भित्री श्रवणतन्त्रमा सुनिने गरी भनेजस्तो लाग्यो । कथासित उसको संवाद सुरु होला जस्तो थियो तर ‘जस्तोजस्तो’ मै सीमित भएर सकिएला जस्तो भयो ।
‘हेलो, को बोलेको ?...कथा हो ?’
कथाका परिकल्पना धेरै थिए बलभद्रसित । कुनै एउटा परिकल्पनालाई इङ्गित गर्दै उसले आवाज दियो— ‘हेलो !’ अलि नजिकको एउटा कथा थियो । हालै उसले एउटी युवतीलाई केन्द्रमा राखेर कथा लेख्न खोजेको थियो । युवती भनेपछि उसको परिकल्पनामा यौन आएको थिएन । साला समाजमा एउटा यस्तो प्रचलन छ कि युवती भनेपछि पहिले त फसाउनै पर्छ । त्यसपछि ? त्यसपछि थाहा भएकै कुरो हो । वर्णन गरिराख्नु परोइन ।
युवतीबाट पन्छिन वा ऊदेखि सेफ साइडमा बस्ने बलभद्रले परिकल्पना ग¥यो, युवती उसकी छोरीकी उमेरकी छ । छोरी माने ? दोषमुक्त दृष्टि वा संरक्षणीय नाता भन्ने अवधारणा आइहाल्छ छोरी भनेपछि । छोरीजस्ती युवती । छोरी नै थिइन । समाज यति पतित भइकसकेको छ, छोरीलाई पनि यौन शोषणमा पारिराखेको हुन्छ । उसले पनि त्यही दाउ निकाल्न खोजेको हो कि ? बलभद्रभित्रको कथाकार सतर्क भयो, विषय कथाच्युत हुँदै छ कि ?
त्यो युवतीलाई उसले एक पटकपटक देख्ने गरेको हो । बस स्टपमा । युवती विवाहित थिई वा कुमारी ? त्यो उसले निक्र्यौल्न्न सकेको होइन । सिउँदोमा आलो सिन्दुरको चिह्न थिएन । घरबाट लोग्नेसित झगडेर निस्केको भए पनि सिउँदोमा बासी सिन्दुरको अवशेष त हुनुपर्ने थियो । थियो वा थिएन, त्यता उसले ध्यानै दिएन । त्यसो भए असम्बद्ध विषयको भ्रमित बयान किन चाहियो ?
तर बलभद्रले प्रष्टै नोटिस गरेको एउटा कुरो थियो, त्यस बेला बस स्टपमा उसलाई देख्न पाउँदा ऊ रोइरहेकी थिई । सुँक्कसुँक्क गरेर होइन, चुपचाप आँसु बगाउँदै । पुछ्ने उपक्रम पनि गरिरहेकी थिइन ।
बलभद्र चुरोट पिउँदैनथ्यो नत्र ऊ चुरोटको सर्को तान्दै युवतीको रुने क्रियाकलापलाई नियालिबस्ने थियो होला । चुरोटले मानिसलाई एकाग्रता दिन्छ, चुरोट क्यान्सरको घोषित कारक भए पनि । युवतीलाई सरोकार थिएन बलभद्र चुरोट तानिरहेछ वा छैन भन्नेमा ? अथवा उसलाई एकाग्रतासाथ ध्यानले हेरिरहेछ भन्ने । बेलाबेला युवतीले बस स्टपमा देख्नेमध्ये ऊ पनि एक थियो । बूढो खालको । छिमेकमै बस्छ । होला । यस्तो सोची युवतीले । बलभद्र । नाम त युवतीलाई थाहा थिएन । अरूहरूको भन्दा नजर सफा लाग्यो उसलाई । फादरली इमेज । युवतीका भिन्नभिन्न कभ्र्समा आँखै गड्ने गरी नहेर्ने । युवतीलाई वास्ता थिएन आफ्नो आँसु बगिरहेकोमा । मनको व्यथा ठूलो छ । वरपरकाले हेरिरहेका छन् भनेर सचेत हुनुले व्यथा कम हुने होइन । आखिर तर व्यथा के थियो, बलभद्रले थाहा पाउन सकेन । युवती अविरल आँसु बगाइरहेकी थिई । करुणाप्रद दृश्य बन्थ्यो यो । बलभद्रले त्यति राम्री युवती खुलामा अर्थात् सार्वजनिक स्थलमा रोइरहेकी पहिलो पटक देखिरहेको थियो । वेदना वा व्यथा अत्यन्तै गहिरो लाग्थ्यो ।
बलभद्रलाई यो आशङ्का थिएन युवती त्यो अवस्थामा पनि बस चढेर जाने छे । अज्ञाततिर । अज्ञाततिर नै त हो । युवती जाने गन्तव्य थाहा नपाइएपछि अज्ञाततिरै गई भन्नु मनासिब मान्यो उसले । जानु त उसलाई पनि थियो । टप्प टिपेर कहिले लैजाने हो त्यो उमेरको थियो ऊ । जीवनको उत्तराद्र्धमा । तर ऊ अहिले क्याजुअल मुडमा थियो । जान हतार थिएन । जान पनि सक्छ तर केही बेरपछि । आयुले साथ दियो भने केही वर्षपछि ।
युवतीप्रति उसको चासो सुरुदेखि नै थियो । माने उसले पहिलो पटक जुन दिन युवतीलाई देखेकेको थियो त्यस समय युवती फ्रेस थिई । अर्गानिक फ्रेसपन लिएकी । नजिक जाँदा एउटा अषत हुनुको महक पनि हुन्थ्यो । चहकिली । तर आज यसरी रोइरहेकी छ कि शताब्दी लामो कुनै यातनाले पिल्सिँदै आएकी थिई । रुँदै भए पनि अन्तिम निर्णय गर्ने बेला आयो र निर्णय गर्न अप्ठ्यारो भइरहेछ । हुन सक्छ ऊ प्रेमीसँग गइरहेकी छ । माइत छाडेर । आमाबाबुको घर त छोरीका लागि माइत नै हो । अविवाहितै बसे पनि ।
रुँदै पनि छ, भित्रभित्रैको यातना पनि व्यक्त भइरहेछ । समय ठीक छैन । ऊ नजिक गएर युवतीलाई सोध्न चाहन्छ— ‘किन रोइरहेकी छौ । जाने कता हो ?’ युवतीको स्मार्टनेस यस्तो छ, ऊ नजिक पर्न सकिरहेको छैन । आधुनिक स्मार्टनेसले युवतीहरूलाई आत्मनिर्भर व्यक्ति भनेर देखाउने गर्छ जसले गर्दा संवाद गर्न पुराने मानसिकताले साहस गर्दैन । यस्तो अनुभव भयो बलभद्रलाई ।
यहाँ विरोधाभासी एउटा कुरो पनि थियो, ऊ आधुनिक कथाकार थियो र युवतीसित संवाद गर्न डराइरहेको पनि थियो । आधुनिकता र स्मार्टनेस एकअर्काका पूरक हुन् तर बलभद्र डायस्पोरिक हुन हच्किरहेको थियो । युवतीले ‘माइन्ड योर बिजनेस’ भनिदिई भने ? नेपालीमा हप्काएभन्दा अङ्ग्रेजीमा बोलेको सभ्यतासहित तीक्ष्णतापूर्वक सुनिन्छ । टिभीमा त यसतो भइरहन्छ कि नेपालीको कार्यक्रम भने पनि अङ्ग्रेजीको अधुरो अनुवाद लाग्छ ।
‘माइन्ड योर बिजनेस’ भन्नु अलि घातक र गहिरो हुने थियो । बिजनेस त युवतीले दिइरहेकी थिई तर उल्टै नसोध्न चेताइरहेकी पनि थिई । सार्वजनिक स्थलमा रुनु व्यापक सरकोकारको बिजनेस बन्थ्यो । ‘किन रुनुभएको ?’ भन्ने प्रश्नले युवती अलमलिन पनि सक्थी । उसले अपेक्षा गरेको नहुन सक्छ, यस्तो ‘किन रुनुभएको’ भन्ने प्रश्न तेर्सिन पनि सक्छ भनेर । रुनु निकै व्यक्तिगत कुरो हुन्छ । त्यसलाई अरूले हस्तक्षेप गर्ला भन्ने मानिएको हुँदैन ।
युवती बलभद्रको प्रश्नको जबाफ नदिएर अलि पर सर्ने पनि थिई । कुनै अपरिचित बूढोले सोधिरहेछ— ‘किन रुनु भएको ?’ र साथै अर्को प्रश्न पनि आएको छ, ‘जाने कता हो ?’ बलभद्रले त दुःख सेयर गर्न सोधेको हो । युवतीले यो बुझोस् भनेर उसले भूमिकामा यसो खोक्न पनि सक्थ्यो अनि भन्न पनि सक्थ्यो, ‘नानी यता सुन्नोस् त...।’ प्रश्न दुःख सेयर गर्न मात्र पनि होइन, एउटा आत्मीय झल्कियोस् भनेर सोधिने थियो होला । तर अपरिचितको आत्मीयता युवतीले कसरी स्वीकार गर्न सक्थी ? यद्यपि, बलभद्रले युवतीलाई र युवतीले बलभद्रलाई बस स्टपमा यदाकदा देख्ने गरेका थिए । बस स्टपको परिचय संवादयोग्य अर्थात् भलाकुसारीको परिचयमा गनिएला ? मुस्किलै छ ।
युवतीले बलभद्रलाई कथाकार भनेर चिनेकी छैन । उसले परिचयको सुरुआत गरेको पनि छैन । के भन्ने ः ‘म एक कथाकार हुँ । तपाईंको दुःखको कथा लेख्न चाहन्छु । कृपया मलार्ई इन्टरभ्युका रूपमा तपाईंका वेदना र समस्या भन्नोस् ।’ त्यसो होइन वा नभएर अन्यमा कि युवतीकी आमाको अस्पतालमा अपे्रसन भएको छ । मरणासन्न छिन् र ब्लड डोनर चाहिएको छ । त्यो भनी भने युवतीले । कथा बिर्सेर बलभद्र रगत डोनेट गर्न जानुपर्ने खण्ड आइलाग्न सक्छ । त्यति बेला उसले के गर्ने । कथा लेख्ने कि रगत डोनेट गर्ने ? रगत दिन ऊ डरायो भने ? उसले त्यो प्रयास छाड्यो ।
बस स्टपवरिपरिका सबैले कसरी ऊ एक कथाकार हो भनेर चिन्ने ? टोलैकाले त चिन्दैनन् । कठिन छ । कथाकार हो वा दलाल । युवतीलाई बरोबर हेरिरहेछ । युवती सुन्दर पनि छे । रोइरहेकी पनि छे । दुःख निवारक बनेर फकाउन पनि खोजेको हो कि ? मुम्बई लगेर हिरोइन बनाइदिन सक्छु भन्ने दाउ हेरिरहेको छ कि ? भर छैन । नेताहरू माफियाका कब्जामा परेभैंm युवती पनि हिरोइन हुने प्रलोभनमा फसी भने ? हुन त बलभद्र सीमापारि केटी लगेर बेच्ने दलाल जस्तो देखिँदेन । कथाकार हो तर अगि पनि भनियो, टोलमा उसलाई कथाकार भनेर चिनिँदैन । सेवा निवृत्त पुरानो बुढो मानिस भनेर चिनिन्छ । ऊ त्यसमा चित्त दुखाउँदैन । सेवानिवृत्त तर सेवाकाङ्क्षी वृद्ध हो ऊ । कथाकारले कथाकार हुँ भनेर परिचय दिँदै हिँड्नु छैन । पात्र र चरित्रको जासुसी गर्नु पर्छ । परिचयहीन बनेर । नत्र क्यामेरा कन्सेस भएजस्तो पात्र र चरित्रले कथाकारसित कुरा गर्दै छु भनेर सचेत भएमा केही अतिरिक्त सतर्कता लिएर आफ्ना कुरा लुकाउने हुन सक्न्छ । त्यसले पात्र वा चरित्रको बयानमा कृत्रिमता ल्याउन सक्छ ।
बलभद्र नयाँ सडकतिर जान बस कुरिरहेको थियो र युवती पनि बसै कुरिरहेकी हुँदी हो । बस आयो । रोइरहेकी युवती बस आएको देखेर अलि मत्थर भई । बसमै कोही आइरहेछ कि ? उसलाई रोइरहेको देखेर झनै ठूलो स्वरमा डाँको छाडेर रुने पो हो कि ? युवतीले आपूmलाई समाली । समस्या यो देखियो, युवतीसित रुमालधरि थिएन । बलभद्रले पनि रुमालबारे सचेतनता देखाएन । कारण उसले खल्तीमा रुमाल राखेको पेन्ट अर्को परेछ । अहिले ऊ अर्को पेन्टमा थियो । खल्ती छाम्दा रुमालै थिएन ।
उसलाई अलि झर्को पनि लाग्यो, युवती त्यतिविधि कमजोर देखिएकी थिइन तर एउटा रुमाल पनि साथमा छैन ? नपुछ्नाले आँसु खेर गइरहेको छ । बस खाँदाखाँद छ । बिहान जुन समयलाई रस आवर भनिन्छ त्यो बतिसकेको भए पनि मानिसहरू बसलाई हसुर्न भनेभैंm भित्र खाँदिएका छन् । यो रुट नै यस्तै हो । मानिसहरूलाई यात्रा गर्न रोक्न सकिँदैन । स्वतन्त्रतापूर्वक यात्रा गर्नु संविधानप्रदत्त अधिकार हो । यी सब अतिरिक्त सोच थिए बलभद्रका । तर युवती साहसपूर्वक बसभित्र छिरी । आँसु बगाउँदै भए पनि । त्यस्तै त होला । बसभित्र छिर्ने क्रममा केहीछिन आँसु थामिए होलान् । संसार यस्तै हो । आफ्नो बाटो र ठाउँ आपैंm बनाउनु पर्छ भन्ने बोधले आँसु सुक्यो होला । खाँदाखाँदमा हेलिएर ठाउँ बनाउँदै युवती उभिई ।
खलासीले पछि सर्नोस् हल्काहल्का भनिरहेको थियो । युवतीलाई पनि भन्यो— ‘दिदी अलि हल्का पछि सरिदिनोस् ।’ दिदी भनेपछि सेफ साइडमा भइन्छ । जिस्क्याएको होइन रहेछ भन्ने पक्कापक्की हुन्छ । यो ‘हल्काहल्का’ उसको बानी परिसकेको थेगो थियो । उसलाई थाहा छ बसभित्र पछि सर्ने अरू ठाउँ छैन तैपनि मानिस खाँदाखाँद गर्दै जाँदा अलिकति स्पेस कसरीकसरी पैदा भइहाल्छ । मानिस हल्का हावा भर्न बाँकी ट्युब हो कि जति थिच्दै गयो उतिउति स्पेस पैदा हुने ? युवतीलाई हतार थियो होला र रोइरहेकी पनि थिई । ‘काँ छ ठाउँ र पछि सर्नु ?’ उसले झर्कंदै त्यो भनिन । देखावटीमा खलासीले भनेभंैm अलिकति पछि सरेको उपक्रम गरिदिई । बहस गर्नु व्यर्थ छ । ऊ जान्दथी ।
बलभद्रले युवती रोइरहेकी हुनाले हतार थियो होला र भीडमा मिसिँदै बसभित्र हेलिई भन्ने सिक्वेन्स निकाल्यो । तर उसले बसभित्र छिर्ने आँट गर्नै सकेन । साहसै भएन । युवती छिरी । बसभित्र मानिस उभिने ठाउँ छँदै छैन । मानौं त्यो एउटी युवतीले गर्दा खाँदाखाँदका बीच अलिकति रहेको धाँजो पनि भरियो । बसले गियर फेर्यो र निकै बल लगाएर गुड्यो । बसभित्रकाहरू एक बसभरि भएर अगि गए ।
विषय बदल्न च्याप्टर फेरिएभैंm बस टाढा पुग्यो, धुवाँ छाड्दै । बलभद्रले त्यही हो दृष्टिसुख भनेभैंm बसलाई हेरिरह्यो । अर्जुनदृष्टिले ? यो राजनीतिक व्यङ्ग्य बन्थ्यो । त्यस्तो भन्नबाट ऊ तर्कियो । हेरिरह्यो । मान्यो एउटा कथा गयो युवतीसँगै । हुन त बसभरि कथा हुँदा हुन् । उसको मानसपटलमा मात्र युवतीका आँसुले रुझेका गाला झलझली आइरहे । कारण अर्को यो पनि थियो, उसले फेरि त्यो युवतीलाई बस स्टपमा फेरि देख्यो वा देखेन त्यो यो कथामा आउने थिएन ।
‘मुड छैन । डिस्टर्ब नगरूँ है ।’ कसैले आलस्यपूर्ण स्वरमा भनेको लाग्यो बलभद्रलाई । युवती कथामा आउन नमानेकीले त्यसो भनेकी हो कि ? कम्प्युटरमा लेख्न बसेको ऊ छ भने उसैलाई स्वरबोध नलागेर अर्कालाई लाग्ने कुरो पनि भएन । कसैले संवाद गर्न खोजिरहेछ भन्ने लागिरहेथ्यो उसलाई । तर संवादका लागि उत्सकुता थिएन आभासमा ।
‘आऊ आऊ, कथा आऊ !’
‘परेवालाई चारो हालेर बोलाएभैंm कति बोलाएको ?’
‘के गरूँ त ?’
‘आउने भए आइहाल्थेँ नि ।’
‘त्यो एउटा कथा त तपाई छाडिहाल्नुभयो नि ।’
‘कुन कथा ? त्यही युवतीको ?’
‘अरू कसको त ?’
‘बस चढेर त्यसको पछिपछि जानु त ?’
‘आपूmलाई जासुस पनि भन्नुहुन्थ्यो त ? ‘गएको भए हुने थियो ।’
‘छाडिदिउँ त्यो । अनि अहिले को बोलिरहेको त ?’
‘छुटेको कथा ?’
‘माने त्यो अकथा जस्तो कथा ?’