दरबार कि तरबार ! 

जगत नेपाल

‘राजतन्त्र गयो, गणतन्त्र आयो । राजा गए । अनेक नयाँ राजा उदाए ।’ हिजोआज जताततै यस्तै सुन्ने गरिन्छ । सामान्यतया नेपालीहरु एकअर्कासँग भेट हुनासाथ राजनीतिक गफगाफ सुरु गरिहाल्छन् । धेरैको निष्कर्ष सुनिन्छ– कति सरकार आए, गए जनतालाई सुविधा दिनेतर्फ कसैले ध्यान दिएनन् । सत्तामा नपुगुन्जेल जनताको हितमा काम गर्ने कुरा गर्छन्, पुगेपछि आफ्नै दुनो सोझ्याउँछन् । राष्ट्रिय ढुकुटी रित्याउँछन् । विरोध गर्नेलाई तह लगाउन थाल्छन् ।  

राणाकाल यता पटकपटक (२००७, २०१७, २०४६, २०६३) व्यवस्था परिवर्तन भए । यो सात दशकको अवधिमा २२ प्रधानमन्त्री बने । मन्त्री हुनेको त हिसाबकिताब नै छैन । व्यवस्था बदलियो, नेता फेरिए तर राजनीतिक संस्कार भने ज्युँकात्युँ छ । सत्ता र शक्तिको दुरुपयोग गरी आफू र आफन्तको हितमा राज्यको ढुकुटी रित्याउने संस्कार कायमै छ ।

कस्तो थियो, राणा शासनको अत्याचार । यो आलेख यसै विषयमा केन्द्रित छ । 

नेपाली दरबारभित्रको सत्ता संघर्षमा कैयाैँ भारदार काटिए, मारिए । जंगबहादुर कुँवरअघिका कुनै प्रधानमन्त्री कालगतिले मर्न पाएनन् । काटिए वा सेरिए । पाण्डे, थापा र बस्न्यात परिवारको सत्ता संघर्ष अनि राजदरबारको खिचातानी । विसं १९०३ को कोतपर्वमा उच्च भाइभारदार काटेर जंगबहादुर सत्तामा उदाए । 
प्रधानमन्त्री भएको तीन वर्ष पुग्दानपुग्दै विसं १९०६ मा तत्कालीन ‘राजा सुरेन्द्रको हातबाट लालमोहर लगाई उनले श्री ३ महाराजाको पदवी हात पारे ।’ 

शाह (राजा)को अधिकार राणामा सर्‍यो । राजाहरु खोपीमा सीमित भए । मृत्युदण्ड वा माफी दिने, सरकारी कर्मचारी नियुक्ति वा बर्खास्त गर्ने, कानुन बनाउने संशोधन गर्ने, खारेज गर्ने राजाको अधिकार एक सय चार वर्षसम्म राणा प्रधानमन्त्री (श्री ३) मा सर्‍यो । राणाका भाइ, छोराहरु क्रमशः प्रधानमन्त्री हुने रोलक्रम सुरु भयो । राज्यसत्ता परिवारबाट नफुस्कियोस् भनेर सचेत जंगबहादुर आफैँले राजपरिवारसँग राणाहरुको बिहेवारी चलाए । 

श्री ३ महाराजको इच्छाबेगर मुलुकमा पातसमेत हल्लिन छोड्यो । राणाविरुद्व बोल्नेले मृत्युदण्ड वा आजन्म कैद भोग्न तयार हुनुपथ्र्याे वा प्रवास पुग्नुपर्थ्यो । ‘कालको ओखती छैन, हुकुमको जवाफ छैन’, ‘जसको हातमा तरबार उसैको हातमा दरबार’ जस्ता उखान चलेका थिए । 

मुलुक दुई वर्गमा विभाजित भयो– एउटा शासक, अर्को शासित । देशको सम्पूर्ण आम्दानी प्रधानमन्त्रीको निजी सम्पत्ति सरह मानिन्थ्यो । ‘वर्षमा ३ करोड जति राजस्व उठ्थ्यो । त्यसमा ४० लाख प्रधानमन्त्रीले सिधै राख्थे । बाँकी २ करोड ६० लाखको बजेट बन्थ्यो । १३ वर्ष २ महिना केही दिन शासन गरेर छाड्ने बेलामा जुद्धशमशेरले भाषण गर्दै बडो गौरवसाथ भने– ‘मेरो यति छोटो कार्यकालमा १ करोड रुपैयाँ विकास कार्यमा खर्च भएको छ ।’ 

प्रधानमन्त्रीबाहेकका उच्च पदमा राणा परिवारकै सदस्य नियुक्त हुन्थ्ये । निजामती र सैनिकतर्फ तल्लो तहमा मात्र जनताका छोराछोरीले जागिर पाउँथे । त्यो पनि राणाका दरबार चाहरेर चाकडी गरी रिझाउन सक्नेले मात्र । ‘राणाका सन्तान जन्मजात जर्नेल हुन्थे । जनताका  सन्तान ‘सेनामा कर्णेलसम्म पुग्न सक्थे तर त्यसभन्दा माथि पुग्न राणा नै हुनुपर्थ्यो । ’राणाहरु गर्भमै जर्नेल भएर जन्मने जानकारी पाएपछि छक्क पर्दै एक जना अंग्रेजले त ‘टोई जर्नेल’ अर्थात खेलौना जर्नेल भनेका थिए ।’

भगवानको अवतार मानिएकाले राणालाई जे गर्न पनि छुट थियो । गणेशमान सिंहले भनेका छन्– ‘न आमाको इज्जत छ, न दिदीबहिनीहरुको इज्जतको सुरक्षा छ  ।’ राणाहरुलाई राम्रो लागे जसका छोरीबेटी पनि उठाएर लैजान्थे । नेवारहरुले राणाहरुको त कुरै छोडाैँ कुनै सामान्य क्षेत्रीकी छोरी लगे पनि चारपाटे मुडेर देश घुमाइन्थ्यो । अर्कोतर्फ ‘राणाले जसकी श्रीमती लगे पनि जारी खत तिर्न नपर्ने, क्षेत्रीहरुले जारी खतमात्र तिरे पुग्ने तर नेवारले भने जारले मागेको बिगो र सजायसमेत भोग्नुपर्थ्यो ।’ राणाकी छोरीसँग विवाह गरेको आरोपमा काठमाडौंका भेटनारायण श्रेष्ठको सर्वस्व हरण गरियो  । उनी कलकत्तामा कस्तुरीको व्यापार गरी बसेका दाजु सत्यनारायण बहादुर श्रेष्ठसँग निर्वासित भए । ‘राणाकी छोरीसँग प्रेम गर्नु नै उनको अपराध थियो ।’

राणाको अत्याचारसम्बन्धी अर्को प्रसंग गणेशमान सिंहले उल्लेख गरेका छन् । उनी सेन्ट्रल जेलमा बन्दी हुँदा गोपी च्यामे नामका कैदीले राम्रै सहयोग गरेका थिए । वास्तवमा गोपी च्यामे थिएनन् बाहुन थिए । सिंहले भनेका छन्– ‘गोपी च्यामे थिएन, बाहुन थियो । ऊ च्यामेनीसँग फसेकाले जाति च्युत भएर च्यामे बनाइएको थियो । त्यही आधारमा उसलाई छ वर्ष कैद ठोकिएको थियो । माथिल्लो जातिको लोग्ने मान्छेले ‘पानी नचल्ने’ जातकी महिलालाई ल्यायो भने उसको जात पनि स्वास्नीकै सरह मानिन्थ्यो । त्यो विजातीको संसर्ग गर्नेले दोहोरो सजाय भोग्नुपथ्र्यो जाति च्युत र कैद ।’

राणाकालको अत्याचार वारे प्रशासक भीमबहादुर पाँडेले लेखेका छन्– ‘वि.सं. १९९५ – ९६ तिरको कुरा हो । कवी चक्रपाणी चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको जाँचमा सोधिएको एउटा प्रश्न यस्तो थियो– ‘तिमी कसलाई बहादुर मानिस ठान्छौ ।’ त्यसको जबाफमा लक्ष्मीनन्दनले लेखका थिए– ‘श्री ३ जंगबहादुर महाराजलाई म नेपालका एकमात्र बहादुर मानिस ठान्छु । निबन्धको अर्को अंशमा उनले लेखेका थिए ‘तर उनैका सन्तान आज नपुंसकजस्ता भएका छन् ।’ संयोगले उनको कपी बालकृष्ण शमशेर जवराले जाँचे । आफू र राणा परिवारलाई नपुंसक भनेकोमा बालकृष्ण शमशेरको चित्त दुखेन । बौद्विक बहसका क्रममा लक्ष्मीनन्दनले लेखेको निबन्धको प्रसंग उनले केही ठाउँमा उठाए । एक कान दुई कान मैदान हुँदै त्यो कुरा प्रधानमन्त्रीको दरबारसम्म पुगिहाल्यो । 

‘जुद्वशमशेरले लक्ष्मीनन्दनलाई बाह्र वर्ष कैद गर्न आदेश दिए । पछि उनको मनमा के आएछ लौ त्यसलाई छ वर्षमात्र कैद गर्नु भन्ने आदेश दिए ।’ लक्ष्मीनन्दनलाई तुरुन्तै पक्राउ गरी नेल ठोकी भद्रगोल जेलमा थुनियो । झ्यालखानाभित्रको चरम नारकीय यातना उनले सहन सकेनन् । कडा रोगले गाँज्यो । वाहुन मर्‍यो भने पाप लाग्छ भनेर राणाले थुनेको चार वर्षमै जेल मुक्त गरे । त्यसको केही समयपछि उनको निधन भयो । छोराले उत्तर पुस्तिकामा लेखेको विषयलाई लिएर लक्ष्मीनन्दनका पिता ‘कवी चक्रपाणी चालिसेको पनि जागिर गयो ।’

लक्ष्मीनन्दनको मृत्यु त्यही प्रकृतिको थियो जसरी त्यसअघि ‘मकैको खेती’ नामक पुस्तक लेखेको अभियोगमा सुब्बा कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मारिएको थियो । अधिकारीले एक हजारप्रति पुस्तक छपाएका थिए । राणाहरुले नौ सय उनान्सयप्रति जफत गरे । एक थान पुस्तक जति खोजी गर्दा पनि फेला पार्न सकेनन् । महाराजको गाथगादी ताकेको अभियोगमा उनलाई छ वर्ष कैद सजाय सुनाइयो र एकप्रति पुस्तक लुकाएको अभियोगमा थप ३ वर्ष थप गरी नौ वर्ष जेल सजाय सुनाइएको थियो । 

राणाहरुको अत्याचारले सीमा नाघेको थियो । ‘मोटर वा बग्गीमा राणाहरुको सवारी हुँदा अगाडिपछाडि रिसल्लाहरु पनि हातमा झन्डा समातेर घोडा दौडाउँदै सवारी भयो, बाटो छोड् भन्दै कराउँदै हिँड्थे ।’ त्यस बेला सडकमा हिँडिरहेको भए रैती एक छेउमा उभिनुपर्थ्यो । छाता ओढेको भए बन्द गर्नुपर्थ्यो । अनि जातअनुसार राणाजीलाई सलाम वा स्वस्ति गर्नुपर्थ्यो । त्यसो नगर्नेले आठपहरियाको कोर्रा खप्न तयार हुनुपर्थ्यो । शासकको चाहनाविपरीत गर्नेले या त मारिनुपर्थ्यो नभए देश छोड्न तयार रहनुपर्थ्यो । चन्द्रशमशेरको पाला अघिसम्म मुलुकभित्र दरबार हाइस्कुलबाहेक अरु शिक्षण संस्था थिएनन् । त्यहाँ पनि शासकका सन्तानमात्र पढ्न पाउँथे ।

केही धनीमानीले आफ्ना सन्तानलाई भारतका विभिन्न सहरमा पढाउने हैसियत राख्थे । समय यस्तो थियो– पढेलेखेका मानिसहरुसमेत भित्ताका पनि कान हुन्छन् भन्दै झ्याल ढोका बन्द गरेर राणाका गलत कामका बारेमा एक आपसमा मसिनो स्वरले कुरा गर्थे– ‘दरबार कि तरबार’ ! 

 

प्रतिकृया दिनुहोस
ad