बर्लिनमा पत्नी बरालिएपछि...

सन्तोष अधिकारी

 बर्लिनमा पत्नी बरालिएपछि...

जर्मनीबाट गर्मी बिदामा डेनमार्क घुम्न आएका राजीव र रेजी (नाम परिवर्तन)सँग साथी सुमनले मलाई परिचय गराएका थिए । त्यति बेला उनीहरुको लोभ लाग्दो, मिलेको जोडी देख्दा मलाई त रहरै लागेका थियो । तर राजीव र रेजीको पछिल्लो सम्बन्धका बारेमा सुमनले सुनाएपछि भने मेरो रहर धेरै टिकेन । 

मैले पहिलो हेराइ र र क्षणिक भेटका आधारमा बनाएको धारणा सपनाजस्तै लागिरहेको थियो । राजीवको अवस्था सुन्दा म भावुक हुनपुगेको थिएँ । लाग्यो, राजीवले जस्तै कुनै महिलाले  भोग्नुपरेको भए उनलाई सहानभूति दिनेको संख्या पनि ठूलै हुन्थ्यो । पुरुषप्रधान देश भएकाले हिंसा र मानसिक यातना महिलाले मात्र सहन्छन् भन्ने सुन्दै हुर्किएको राजीवले युरोपमा पत्नीका कारण सहनु परेको पीडा सहजै कसैलाई भन्नै पो कसरी सक्थ्यो र ? स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा दुरुपयोग गरिराखेकी पत्नीका बारे अरुलाई सुनाए उल्टै उही लाछी कहलिन्थ्यो । त्यसकारण पनि उसले सहनुको विकल्प देखेन होला । 

मैले सुमनलाई सोधेँ– सुरुमा बिहे कसरी भएको रहेछ–‘प्रेम कि मागी ? “विवाह त मागी नै भन्नुपर्छ । यता ४ वर्ष बसेर नेपाल गएर बिहे गरेर ‘डिपेन्डेन्ट’ ल्याएको हो । पहिला खासै चिनजान थिएन रे । स्नातक सकेर रेजी एउटा गैरसरकारी संस्थामा काम गर्दै थिई रे । उसलाई पनि देख्नेबित्तिकै मन परेछ । अनि भेट भएको केही दिनमै बिहा भएको रहेछ ।

विवाहपछि राजीव धेरै उत्साहित थियो र उसका धेरै योजना पनि थिए ।” सुमनले यति भनिसक्नेबित्तिकै  मैलेसोधेँ — दुवैबीच एक अर्कामा समझदारी नभई स्वभाव नबुझी हतारमा बिहे गरेछन् कि के हो ?  । “खै कति समयको चिनजानलाई समझदारी भन्ने केटाकेटीसँगै दुवैतर्फका परिवार धेरै खुसी थिए भन्छ । जब रेजी यता आएर काम गर्न थाली अनि बिस्तारै मनमुटाव बढ्दै गएको राजीवको भनाइले बुझाउँछ । कहिले  बर्लिन बाहिर बिनाजानकारी घुम्न गए पनि उसले खासै वास्ता गर्दोरहेनछ । उसले अति माया गर्ने र मन पराएको कारण पनि हुनसक्छ रेजीले भनेका सबै कुरालाई सहजै विश्वास गथ्र्यो र ठीकै त छ नि भन्दै वास्ता गर्दैनथ्यो । समय अघि बढ्दै गयो रेजीलाई युरोपियनजस्तै बनेर मोजमस्ती गर्ने मोह पनि चढ्दै गएको रहेछ । यो कुरा राजिवलाई पत्तै भएन । कैयौं सप्ताहान्त साथीहरुसँग रमाइलो गरेर आएको भन्दै राति अबेर डिस्कोबाट आउँदा होस या ‘ओभर ड्रिंक’ गरेर लरबराउँदै कोठामा छिर्दा राजीवले उसलाई सम्झाउन र सम्हाल्नमात्र कोसिस गरेछ । रेजीलाई भने राजीवले मुखले भने पनि खासमा केही गर्न सक्दैन भन्ने परिसकेको रहेछ सायद । ऊ झन् झन् ‘वाइल्ड’ हुँदै पश्चिमा शैलीको मोज मस्तीमा डुब्दै गई छ । सुरुका ८–१० महिना काम गरेको पैसा देखाउने गरे पनि पछि भने उसले आफ्नो आम्दानी आफैँ खर्च गर्न थाली । नेपालमा परिवारलाई पैसा पठाउनु पर्ने बाध्यता नभएकाले पनि हुनसक्छ यिनीहरु बर्लिनमा आम्दानीअनुसार खर्च गरेर रमाई रहेकै थिए । तैपनि युरोपियन शैलीमै खर्च गर्न र रमाउन त्यति सहज त थिएन । रेजीको कमाईले मात्र उसलाई मोज गर्न पुग्दैनथियो । बिस्तारै राजीवको मनमा शंकाको बादल मडारिन थाल्यो । यसका अरु पनि कारण थिए । भर्खर २७ पुग्दै गरेकी रेजीलाई हिँड्ने र पिउने मोजमस्तीले मात्रै पुग्नु नपर्ने हो । उत्तिकै जैविक र शारीरिक सुख पनि त चाहिन पर्ने हो । अक्कलझुक्कल राजीवकै अनुरोधमा एकै बेडमा भए पनि, पछिल्लो समय रेजीले खासै शारीरिक सुखका लागि पनि आफ्नो आवश्यकता महसुस नगरेको उसलाई लाग्न थालेछ । ”

सुमनले प्रसंग फेर्दै भन्यो, “ढिला भयो भने पनि पछि गाह्रो हुन्छ भनेर राजीवले  सम्झाए पनि उ बच्चा पाउन पनि सहमत भइनछ ।” 

उसो भए रेजी बिहे पहिले नै यो सबै योजना बनाएर आएकी थिई या यता आएपछि उसमा परिवर्तन आएको हो ? मैले जिज्ञासा राखेँ — “होइन रे ! यता आएपछि नै हो । राजीवले धेरै त सहेकै थियो तर जब एक दिन रेजीको मोबाइलमा  एभिनले पठाएको म्यासेज र केही भिडियो देख्यो अनि विवाद बढेको रहेछ । ‘इट्स अनफर्गटेबल मोमेन्ट माई डार्लिङ’ लेखिएको म्यासेजसँगै क्लबमा नशामा झुम्दै  गरेका अनेकौं तस्बिरहरु उसको नजरमा परे । जुन हर्कत बिबाहपछि कुनै महिलाले नेपाली समाजमा देखाए पाच्य हुन सक्दैनथ्यो । अनि हत्तपत्त रेजी बाथरुमबाट निस्केर मेरो माबाइलमा के हेरेको भन्दै उल्टो राजीवलाई नै थर्काउन थाली छ । राजीवलाई उसले एभिन आफनो मिल्ने साथीमात्र भएको भन्दै ढाँटेकी थिई रे  । एभिनसँग रमाउन थालेपछि उसमा परिवर्तन आएको हुनसक्छ । ” सुमनले सुनायो ।

त्यसदिन ढिला भइसकेकाले म आफनो कामतर्फ लाग्ने संकेत गर्दै सुमनसँग बिदा भएँ । बाटोमा जाँदै गर्दा म सोचमग्न भएँ– बिबाह, प्रेम, संस्कार र स्वतन्त्रताको प्रयोग गर्ने कुरामा पनि ठाउँअनुसार सीमा र हद हुन्छ नै । अनि भित्रभित्रै राजीवको सहनशीलता, गम्भीरता र जिम्मेवारीबोध देखेर अच्चम पनि भएँ । 

त्यसको  तीन महिनापछि मैले सुमनसँग राजीवका बारेमा सोधेँं — अहिले कस्तो छ त उनीहरूको सम्बन्ध ? ‘‘अहिले त उनीहरुको द्वन्द्व चरममै पुगेको छ, अबसँगै नबस्ने निर्णय गरिसके । रेजी त्यही केटासँग ‘लिभिङ टुगेदर’मा बस्न थाली रे ।” अनि राजीव के गर्दै छ त अहिले ? रेजीको घरमा कुरा गरेन रे ? राजीवका घरकाले के भनेका छन् रे त ? मैले एकसाथ सोधैँ । राजीवसँग हिजोमात्र कुरा भएको र बेलुकाको काम छोडेर दिनको मात्र  गर्ने गरेको सुमनले बतायो  । “अनि घरमा कुरा गरेर ऊ तनाव दिने सोचमा छैन रे । आफ्नै निर्णयले रेजीसँग बिहे गरेको हो । घरका बूढा बाआमालाई यस्तो सुनाएर किन तनाव दिनु भन्ने गर्छ ।” सुमनले फेरी भन्यो “ रेजीको घरमा कुरा गर्दा भने परिवार पनि रेजीको निर्णयमा सहमत रहेको थाहा पाएछ ।” “ मिल्न सकिँदैन भने सँगै नबस्दा पनि फरक पर्दैन, फेरि तपाईँ र छोरीको उमेरको फरक पनि त धेरै नै छ नि ” उसको बुबाको जवाफ थियो रे !  

उमेरमा राजीव र रेजीबीच करिब ८ वर्षको अन्तर छ । यो त पहिला नै थाहा थियो नि । रेजी पनि परिपक्व युवती नै हो । उसको परिवारले चाहिँ किन रोकेन मलाई यस प्रश्नले झन् घोचिरहयो ? छोरीको एकतर्फी कुरा सुनेर हुनपर्छ उल्टो राजीवलाई धम्कीको भाषामा रेजीकी आमा भन्दै थिइन् रे — “छोरीलाई दायाँबायाँ केही भयो भने त्यसको जवाफदेही तपाईँ नै हुनुपर्छ ”। हुनत, युरोप हो नेपालमा जस्तो झुटो आरोप लगाएर थप पीडा दिइराख्न त कसैले सक्तैन नै तर राजीवले बेहोर्नु परेको मानसिक पीडा कम दर्दनाक भने छैन । आफुले माया गरेर र मन पराएर बिहे गरेकी पत्नीले बीच बाटो मै अलपत्र बनाएर छोडेर जाँदा कस्को मन दुख्दैन होला र ? ऊसँग अरु विकल्प त थिएन नै उसले चाहेर यो सब भएको पनि थिएन । 

राजीव र रेजीबीच यस्तो फाटो आउनुको कारण उमेरको अन्तर, बिबाह गर्ने हतारको निर्णय या रेजीले स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा लिनु आदि हुनसक्छन् । युरोपियनै पनि त बिबाह, प्रेमजस्ता मामिला संवेदनशील र जिम्मेवार हुने गर्छन् । पति, पत्नी वा केटा केटी साथीप्रति इमानदार हुन्छन् । यहाँको सकरात्मक संसकार त रेजीले सिक्न सकेकी रहिनछ । 

हतारमा बिहे गर्दा र बाहिरी सुन्दरता हेरेर बन्धन बाँधिने धेरै जोडीको डोरी युरोप अमेरीका आई सकेपछि यसरी नै बीचैमा चुँड्ने गरेका अनेकौं दृष्टान्त छन्  । राजीव र रेजीको कहानी त एउटा प्रतिनिधि घटनामात्र हो ।  कतिभित्रै लुकाइएका पत्नीपीडित पुरुषहरुको व्यथा गुपचुपमै सीमित होलान् । 

नारीवादी आन्दोलन र अभियानको उद्देश्य समाजको भलाइ हो भने अब नेपालको महिला आन्दोलनलाई नारी असल आमा, पत्नी, बुहारी या दिदीबहिनी पनि बन्न सक्नुपर्छ भन्नेतर्फ पनि उन्मुख गराउने कि ?

प्रतिकृया दिनुहोस
ad