site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कहाँ चुक्यौं पुनर्निर्माणमा ?

गोरखा केन्द्रबिन्दु भएर गएको महाभूकम्पको दुई वर्ष पूरा भएको छ । भूकम्पपश्चात देश अहिले पुनर्निर्माणको चरणमा छ ।  पुनर्निर्माणको काम १–२ वर्षमै भने सकिँदैन । भूकम्पपछि सफल पुनर्निर्माण गरिएको भनिएका भारतको गुजरात, न्युजिल्यान्डको क्रिस्चर्च र दक्षिणी अमेरिकी राष्ट्र चिलीमा पनि पहिलो दुई वर्षमा धेरै ठूलो उपलब्धि देखिएको थिएन । तर, ती ठाउँमा पुनर्निर्माणलाई चाहिने आवश्यक जग १–२ वर्षभित्रै तयार पारिसकिएको थियो ।

हाम्रो अहिलेसम्मको प्रगति, पुनर्निर्माण प्राधिकरणको संरचना र कार्यविधि तथा पुनर्निर्माणमा प्रत्यक्षरूपमै संग्लन सरकारी निकायको कार्यशैली हेर्दा हाम्रो पुनर्निर्माण उत्साहजनक रूपले अगाडि बढेको देखिँदैन । यद्यपि, पुनर्निर्माण प्राधिकरणको पछिल्लो ३–४ महिनाको तथ्यांक भने सकारात्मक देखिन्छ । विगत २ वर्षमा पुनर्निर्माणमा के के कमी कमजोरी भए ? अब के के गर्नुपर्छ ?

सफल पुनर्निर्माण गरिएका स्थानको अध्ययन र हाम्रो राजनीतिक, भौगोलिक, सामाजिक तथा आर्थिक पक्षलाई समेटेर यस लेखमा केही विवेचना गर्न खोजिएको छ ।
विद्यमान सरकारी संरचना तथा कर्मचारीबाट यति ठूलो पुनर्निर्माणको नेतृत्व तथा व्यवस्थापन हुननसक्ने ठहर गरेर नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, प्राधिकरण ऐन र संरचनाको निर्माण गर्दा विद्यमान सरकारी निकायबाटै सबै काम गर्ने, प्राधिकरणको काम पुनर्निमाणको कार्यविधि बनाउने र सरकारी निकायलाई सरकारबाट विनियोजित बजेटको अख्तियारी दिनेमा सीमित गरियो ।

वार्षिक १५–२० अर्ब बजेट पनि खर्च गर्न नसक्ने निकायहरूबाट वर्षको थप करिब १५०–२०० अर्ब  खर्च गर्ने गरी पुनर्निर्माण प्राधिकरण गठन गरियो । पाइपको साइज र पानीको तह नबढाईकन पानीको ट्यांकी जत्रो र जस्तो बनाए पनि पाइपबाट खस्ने पानी उत्ति नै हुन्छ । अहिलेको प्राधिकरणको अवस्था पनि यस्तै पानी ट्यांकी बनाएजस्तो भएको छ ।

Global Ime bank

पुनर्निर्माण गुणस्तरीय बनाउन र समयमै सम्पन्न गर्न सरकारी निकायमाथि हस्तक्षेप गर्नसक्ने, आवश्यक विज्ञ तथा कर्मचारी आँफै नियुक्त गर्नसक्ने गरी अधिकार सम्पन प्राधिकरण गठन गरिनुपर्थ्यो ।

अहिलेकै प्राधिकरणको संरचना र क्षेत्राधिकारभित्रै बसेर पनि गर्न सकिने काम बितेको एक डेढ वर्षमा हुनसकेन । प्राधिकरणको ठूलो कमजोरी समानान्तरूपमा काम गर्न नसक्नु हो ।

खासगरी पुनर्निर्माणको पहिलो एकाध वर्ष पीडितको पहिचान र व्यक्तिगत क्षतिको आकलन, जोखिम युक्त क्षेत्र तथा बस्तीको पहिचान, नमुना घरहरूको डिजाइन, प्रचार तथा निर्माण, एकीकृत बस्तीको योजना र स्वरूप, एकीकृत बस्तीमा बस्नेलाई दिने सहुलियत तथा जीविकोपार्जन योजना, दक्ष तथा अर्धदक्ष जनशक्तिको व्यवस्थापन, सरसफाइ तथा आधारभूत स्वास्थ्य र शिक्षाको आवश्यक संरचना तयार गर्नेलगायत अन्य क्षेत्रमा समानान्तररूपमा कार्य गर्नुपर्छ । यी सबै काम पीडितलाई सरकारले उपलब्ध गराउने अनुदानको पहिलो किस्ता वितरण गर्नुअघि नै टुंग्याउनुपर्थ्यो ।

हालसालै पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घरको ६ वटा नमुना प्रकाशमा ल्याएको छ । करिब ९० प्रतिशत पीडितले पहिलो किस्ताको रकम बुझेर घरको जग हालिसकेको वा कतिपयले आफ्नै हिसाबले घर बनाइसकेको अवस्थामा हालै डिजाइन गरिएका नमुना घरको प्रयोग कति जना पीडितले गर्लान् त ? त्यसकारण पुनर्निर्माणका कतिपय कार्य समयमा गर्न सकिएन भने हामीले सोचेजस्तो नवनिर्माण हुनै सक्तैन ।

पहिलो किस्ता रकम पाएपछि पीडितले पुरानै थलोमा आफ्नै किसिमले घर बनाउन थालिसकेका छन् । अब न त जोखिमयुक्त क्षेत्र भनेर बनाउँदै गरेको बस्ती सार्न सकिन्छ न छरिएर रहेका घरहरूलाई एकीकृत गरी धेरै सुविधा दिने कार्ययोजना लागु गर्न सकिन्छ ।

त्यसैले अब सरकार तथा प्राधिकरणले गर्नसक्ने र गर्नै पर्ने धेरै काम गर्नै नसकिने स्थितिमा पुग्दैगएको देखिन्छ । हाम्रो राजनीतिक र कर्मचारी नेतृत्वले पीडितको पहिचान र व्यक्तिगत क्षतिको आकलन गरी पीडितलाई घर बनाउन पैसा वितरण गर्नु नै पुननिर्माण हो भनेर बुझेको देखियो । यही कारणले पुनर्निर्माण प्राधिकरणको पहिलो डेढ वर्ष खेरै गयो । 

संसारमा कहीँ पनि ग्रामीण भेगका मानिस आफ्नो थालथलो छोड्न र एकीकृत बस्तीमा बस्न खासै रुचाउँदैनन् । सहजरूपमा सेवासुबिधा प्रदान गर्न तथा जोखिम क्षेत्रमा छरिएर रहेका घरलाई सुरक्षित स्थानमा सार्न भने हामी एकीकृत बस्तीको प्रणालीमा जानैपर्छ ।

अनुदानको पहिलो किस्ता वितरण गर्नुअघि एकीकृत बस्ती विकास गर्ने सम्भावित स्थान छनोट गरेर त्यस आसपासका पीडितलाई एकीकृत बस्तीमा आकर्षण गर्न बस्ती विकाससँगै अन्य केही कार्यक्रम पनि ल्याउनु पर्नेथियो पुनर्निर्माण प्राधिकरणले । अबत एकीकृत बस्ती विकासको सम्भावना नै कम हुँदैगएको छ । यो नवनिर्माणको लागि राम्रो होइन ।   

अर्को महत्वपूर्ण काम जोखिमयुक्त क्षेत्रको पहिचान हो त्यसमा पनि प्राधिकरणको ध्यान गएको देखिँदैन । अनुदानको पहिलो किस्ता सँगसगै भूकम्पीय दृष्टिले मात्र होइन डुवान, बाढी तथा पहिरो र अन्य कारणले घर बनाउन जोखिमयुक्त क्षेत्रको नक्सांकन गरीसक्नु पथ्र्याे । मौखिकरूपमा केही स्थानमा प्राविधिकहरूले यहाँ घर बनाउन हुँदैन भन्नेबाहेक बहुआयामिक जोखिम मूल्याङ्कन गरेर घर बनाउन हुने र नहुने क्षेत्रको नक्सांकन गरिएको छैन ।

फलस्वरूप, राज्य तथा पीडित स्वयंले लगानी गरेर बनाएको घर तथा बस्ती पुनः जोखिममा पर्ने सम्भावना रहिरहेको छ ।
अर्को महत्त्वपूर्ण पक्ष संरचना प्रबलीकरण हो ।

तेह्रवटा अति प्रभावित जिल्लाबाहेक अरू करिब २० जिल्लामा पनि भूकम्पले बढी असर पारेको थियो । अति प्रभावित १३ जिल्ला पनि धेरै भवनमा सामान्य क्षति पुगेको छ र क्षति नै नपुगेका पनि अधिकांश घर  इन्जिनियरिङ हिसाबले सबल र भूकम्प प्रतिरोधी छैनन् ।

त्यस्तै संरचनाको प्रबलीकरण गर्न नयाँ घर निर्माणको जस्तै ठोस कार्यक्रम आउनुपर्ने थियो तर त्यस्तो देखिएको छैन । त्यस्तै भूकम्पले पुलहरूमा खासै ठूलो क्षति पु¥याएन तर हाम्रा पुलहरू त्यति राम्रो अवस्थामा छैनन् । त्यस्ता पुलको पनि प्रबलीकरण गरिनुपर्छ । ट्रान्समिसन लाइन, संचारका टावरलगायत अन्य संरचना पनि प्रबलीकरण गरिनुपर्छ ।

पीडितलाई अनुदान वितरण कार्यविधि सबै पीडितसँग नागरिकता तथा जग्गाधनी प्रमाणपत्र छ, एउटा घरमा १ परिवारमात्र बस्छन्, सबै बसाइँसराइ अद्यावधिक गरिएका छन्, सरकारले उपलब्ध गराएका नमुना घरमात्र भूकम्प प्रतिरोधी हुनसक्छन, प्रत्येक घर निर्माण अवधिभर प्राविधिक  निर्माणस्थलमै भइरहन्छन् भन्ने ठानेर अव्यावहारिक बनाइयो ।

यस्तो कार्यविधि त जापानमा २०११ मा गएको भूकम्पपछिको पुनर्निमाणमा पनि बनाइएको थिएन । यद्यपि, जापानमा प्रत्येक नागरिकसँग बिमालगायत अन्य परिचयपत्र हुन्छन् र कुनै व्यक्ति अर्को स्थानमा बसाइँ सर्यो भने केही दिनभित्रमै स्थानीय निकायमा जानकारी गराउनुपर्छ र स्थानीय निकायसँग आफ्नो क्षेत्रमा कति परिवार कहाँ कसरी बसेका छन् भन्ने सबै तथ्यांक अद्यावधिक हुन्छ ।

राष्ट्रिय परिचयपत्र लागु गरी प्रत्येक व्यक्तिको सबै विवरण राख्ने र कोही बसाइँ सरेमा स्थानीय निकायमा ३० दिनभित्र जानकारी दिनुपर्ने पद्धति नबनाएसम्म राज्यले जनतालाई दिने सहुलियत तथा सुबिधा जस्तोसुकै कार्यविधि बनाए पनि विवादरहित र लक्षित वर्गलाई मात्र समेट्ने गरी कार्य गर्न सकिँदैन ।

जनशक्ति व्यवस्थापन र परिचालनमा पनि पुनर्निर्माण प्राधिकरणको कमजोरी देखिएको छ । पहिलो अनुदान पाएको १ वर्षभित्रै घरहरू बनाएर सक्ने हो भने पनि कम्तीमा करिब डेढदुई लाख दक्ष डकर्मीको आवश्यकता हुन्छ । तालिम लिएका सबै डकर्मीले अरूको घर बनाउँछन् भन्ने पनि हुन्न । त्यसैले यो २ वर्षमा कम्तीमा दुई लाख जनालाई डकर्मीको तालिम दिइसक्नु पर्नेथियो ।

ठूलो मात्रामा तालिम भए पनि आवश्यक मात्रामा भएको देखिँदैन । त्यस्तै ८ लाख घर र अन्य ग्रामीण पूर्वाधरको पुनर्निर्माणका लागि सबै खालका करिब १० हजार प्राविधिक खटाउनु पथ्र्याे । यति ठूलो मात्रामा इन्जिनियर पाउन पनि गाह्रो भएकोले ओभरसियरलाई आवश्यक तालिम दिएर खटाउन पनि सकिन्थ्यो । ग्रामीण क्षेत्रमा आफ्नै लगानीमा घर बनाउँछु भन्दा पनि प्राविधिक सहयोग नपाएको गुनासो व्यापक छ ।

पुनर्निर्माणको काम फिल्डमा धेरै खटिनुपर्ने, दुर्गम स्थानमा जानुपर्ने तर जागिर भने छोटो समय र अस्थायी प्रकृतिको भएकाले प्रचलित सरकारी तलब सुबिधामा प्राविधिक पाउन गाह्रो हुने पहिले नै अनुमान गर्नुपर्ने थियो र विशेष तलब तथा सुबिधाको व्यवस्था गर्नुपर्ने थियो ।

त्यसो हुन नसक्ता धेरै प्राविधिकले राजीनामा दिइरहेका छन् । हुनत, प्राधिकरणका नयाँ कार्यकारी प्रमुखले इन्जिनियरिङ अन्तिम वर्ष पढ्दै गरेका विद्यार्थीलाई ग्रामीण भेगमा स्वयमसेवकका रूपमा खटाउनु भएको छ । यस प्राविधिकको अभाव केही मात्रामा पूरा गर्न सक्छ ।

भूकम्पको जोखिममा रहेका अन्य देशमा विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा भूकम्पका बारेमा अध्ययन अध्यापन गराइन्छ । गुजरात भूकम्पपछि त्यहाँ विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा भूकम्पलाई समावेश गरियो भने सिभिल इन्जिनियरिङजस्ता प्राविधिक शिक्षाको स्नातक तथा स्नाकोत्तर तहको भूकम्प तथा भूकम्प प्रतिरोधी निर्माणसम्बन्धी अध्ययन अनुसन्धानलाई अनिवार्य गरियो ।

भूकम्प गएको १ वर्षभित्रै भूकम्पको आधारभूत ज्ञान र भूकम्प प्रतिरोधी निर्माण तथा प्रबलीकरणलाई समेटेर १ वा २ वटा विषय सिभिल तथा आर्किटेक्चरको अन्तिम वर्षमा अध्ययन अध्यापन गर्ने गरी कार्य गर्न सकेको भए यो पुनर्निर्माणका लागि आवश्यक प्राविधिक सजिलै जुट्नै थिए । प्राविधिकलाई तालिम गर्दा लाग्ने समय र खर्च दुवै बच्ने थियो ।

हाम्रा विश्वविद्यालयले यस बारेमा कुनै चासो नै राखेनन् । फलस्वरूप, भूकम्प गएको २ वर्षपछि पनि पुनर्निर्माण प्राधिकरणले नयाँ इन्जिनियरलाई सामान्य तालिम दिएर ग्रामीण भेगमा खटाइरहनु परेको छ ।

हामीजस्तै भूकम्पको जोखिममा रहेका देशमा ठूलो भूकम्पपश्चात भवन आचारसंहिता परिमार्जन गरेको पाइन्छ । भूकम्प मापन केन्द्रबाट उपलब्ध हुने भूकम्पका बेलाको जमिनको गति, प्रवेग तथा विस्थापन र आचारसंहिताअनुरूप बनाइएका भवनले भूकम्पमा गरेको प्रदर्शनलाई अध्ययन गरेर भवन आचारसंहिता परिमर्जन गरिन्छ । गएको भूकम्पमा प्राविधिक ज्ञान र सीप प्रयोग गरेर बनाएका घरमा पनि क्षति पुगेकोले हाम्रो भवन आचारसंहितामै कमजोरी रहेको स्पष्ट छ ।

तर, त्यसमा उपयुक्त परिमार्जन गर्न हुनुपर्ने जति काम भएको छैन । अन्य देशमा पुनर्निर्माण प्राधिकरणले भवन आचारसंहिता परिमार्जन गर्न छुट्टै विज्ञ समिति बनाएको हुन्छ । 

नेपालमा भूकम्प मापन केन्द्रको संख्या पनि अत्यन्त न्यून छ । भूकम्पको पकृति, स्थान विशेषअनुसार त्यसबाट पर्नसक्ने असरको अध्ययन अनुसन्धान गरी संरचना त्यसैअनुसार निर्माण गर्नुपर्ने हुन्छ । गत भूकम्पपश्चात कम्तीमा पनि सयभन्दा बढी स्थानमा भूकम्प मापन यन्त्र जडान गरी सक्नुपर्ने थियोे तर त्यो काम पनि हुनसकेको छैन ।

प्राधिकरण तथा सरकारी निकायहरूको अर्को ठूलो गल्ती पुरात्वात्तिक महत्त्वका भवन तथा मठमन्दिरको पुनर्निर्माण तथा प्रबलीकरणलाई पनि सामान्य आवासीय तथा सरकारी भवनकै जस्तो कार्यविधि अपनाउनु हो । त्यस्ता पुरातात्विक संरचनाको पुनर्निर्माण तथा प्रबलीकरणलाई विशिष्ट प्रकारको सीप, निर्माण सामग्री तथा पद्धति आवश्यक पर्छ ।

यसैले घटीघटाउ गरेर जुनसुकै निर्माण कम्पनीलाई जिम्मा दिनु हुँदैन । यस्ता संरचनामा लागत कति लाग्छ भन्दा पनि मौलिक स्वरूपमा नै बनाउन सकिन्छ कि नै भनेर विचार  गर्नुपर्ने हुन्छ । त्यस्तै हचुवाको भरमा सिंहदरबारजस्ता ऐतिहासिक संरचनाको प्रबलीकरण गर्न सकिदैन भनियो । हुनत, नयाँ कार्यकारी प्रमुखले यस्ता ऐतिहासिक भवन कुनै पनि हालतमा नभत्काउने भनेका छन् जुन अत्यन्तै सराहनिय छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आवश्यक नियमन र नियन्त्रण गर्न नसक्नु पनि प्राधिकरणको कमजोरी हो । कतिपय कुरामा पुनर्निर्माण प्राधिकरणभन्दा गैरसरकारी संस्था निर्णायक भएको पनि संचारमाध्यममा आएको छ ।

अन्य देशको पुनर्निर्माणको अध्ययन गर्दा जुन स्थानमा गैरसरकारी संस्थाको मनपरी चलेको थियो त्यस्ता देशमा पुनर्निर्माण अलपत्र परेको देखिन्छ । हुनत, गैरसरकारी संस्थाबिना राज्यले मात्र सबै कुरा गर्नसक्ने स्थिति छैन तर पनि ठूलो मात्रामा पुनर्निर्माणमा खर्च देखाउने तर भौतिक निर्माण र जीवनस्तर सुधारका कार्य केही नदेखिने गैरसरकारी संस्थाको परिपाटी नियन्त्रण गर्नैपर्छ ।

अव्यावहारिक र झन्झटिलो अनुदान कार्यविधिलाई सरलीकरण गर्ने, सुरक्षा निकायको प्राविधिक शक्तिलाई प्रयोग गर्ने, ठूलो संख्यामा प्राविधिकलाई ग्रामीण क्षेत्रमा खटाउने,  प्राविधिरूपमा सबल सबै घरलाई अनुदान दिने, गैरसरकारी संस्था र पीडित स्वयंलाई एकीकृत बस्ती निर्माण गर्न प्रोत्साहन गर्ने, पुरातात्विक संरचनाको पुनर्निर्माणमा विशेष व्यवस्था गर्ने भनेर पुनर्निर्माण प्राधिकरणका नयाँ कार्यकारी प्रमुखले जोड दिइराखेका छन् ।

त्यति गर्न सकियो भने पुनर्निर्माणले नवनिर्माणको रूप लिने छ । पछिल्लो केही समय घर पुनर्निर्माण तीव्र गतिमा बढेको, सिंहदरबारलगायत अन्य ऐतिहासिक संरचना विज्ञहरूद्वारा अध्ययन गराएर प्रबलीकरण गर्न लागिएको र  झन्झटिलो कार्यविधिमा केही सरलीकरण गरिएकाले पुनर्निर्माणमा आशा गर्ने ठाउँ देखिएको छ । 

संसारका विसित देशहरूमा पनि हाम्रो जत्रो भूकम्प जाँदा त्यसपछिको पहिलो एकडेढ वर्ष पुनर्निर्माणको तयारीमै लागेको र करिब दुईदेखि चार वर्षभित्र पुनर्निर्माण कार्यले गति लिएको देखिन्छ । त्यसैले पनि हामी हाइटी पथमा जाँदै छौ भन्नु हतारको टिप्पणी हुनेछ । तर, हामी पुनर्निर्माण प्राधिकरणकै प्रारम्भिक कार्ययोजना भन्दा पनि करिब १ वर्ष पछाडि परिसकेको देखिन्छ ।  यसैले पुनर्निर्माणमा लागेका सबैलाई रचनात्मक सहयोग र  खबरदारी गर्दै गराँै । अर्को वर्ष निराशाको लेख लेख्न नपरोस् ।

(अल्बेर्टा युनिभर्सिटी, क्यानाडामा जियोटेक्निकल विषयमा विद्यावारिधि अध्ययनरत )
@KS_paudel
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC