site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परिवारसहित प्रधानमन्त्री नै भाग्नु पर्दा  ...

काठमाडौंको मुटु कमाउने जाडो । विसं २००८ साल माघ ८ गते । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला लाजिम्पाटको एउटा सानो भाडाको बंगलामा बस्थे । काठै काठको दुई तले त्यो घरमा प्रशस्त घाम ताप्ने ठाउँ थियो । वरपर खुल्ला स्थान र बगैँचा । 

प्रधानमन्त्री पुत्र कमल अन्य सदस्यहरुका साथ घाम तापेर बसेका थिए । त्यति नै बेला रक्षा दलका सदस्यहरुले विद्रोह गरेको सनसनीपूर्ण खबर आइपुग्यो । 

पराजुली थरका क्याप्टेनले अत्तालिएर प्रधानमन्त्रीसँग भने – ‘हजुर रक्षा दलमा विद्रोह हुँदैछ भन्ने सूचना आएको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई नियन्त्रणमा लिने कुरा छ रे !’

Prabhu Bank
Agni Group
NIC Asia

क्याप्टेनको त्यो अप्रत्याशित सूचनाले प्रधानमन्त्रीमा सम्भावित दुर्घटनाको त्रास थपियो ।  

सोधे – ‘कसले गर्दैछ ?‘  

Global Ime bank

क्याप्टेन पराजुली बेलिविस्तार लगाउन थाले – ‘हजुर रक्षा दलले ।’ 

प्रधानमन्त्रीले फेरि सोधे – ‘पक्का हो ।’

सात दशकअघिको त्यस घटनाबारे प्रधानमन्त्री पुत्र कमलले लेखकलाई सुनाए –‘सानै भए पनि म बुझ्न सक्ने भइसकेको थिएँ । क्याप्टेन पराजुली भन्दै थिए पक्का भन्न त सक्दिन प्रधानमन्त्रीज्यू तर यस्तो कुरा भइरहेको छ । विद्रोह कुन दिन कुन बेला हुन्छ ठेगान छैन ।’

प्रधानमन्त्री क्याप्टेन पराजुलीलाई एकपछि अर्को प्रश्न सोध्न थाले – ‘विद्रोहमा क–कसको हात छ ? को को संलग्न छन् ? जीबी याकथुम्वालगायतका रक्षा दलका ठूला अफिसर छन् ? छैनन् ?’

क्याप्टेन पराजुलीले भने – ‘उनीहरु त यसमा छैनन् तर योजनाकारहरु भन्दैछन् रे प्रधानमन्त्री र मन्त्रीहरुलाई थुनिसकेपछि त उनीहरुले साथ दिइहाल्छन् नि ।’ 

प्रधानमन्त्री निवासमा राष्ट्रिय सेनाले सेन्ट्रीको जिम्मेवारी लिएको थियो । 

राणा र उनीहरुका विश्वासपात्रकै बाहुल्य भएकाले राष्ट्रिय सेनामाथि विद्रोहबाट आएको सरकारको पूर्णविश्वास थिएन ।

त्यसैले सुरक्षाको मुख्य जिम्मेवारीमा रक्षा दललाई राखिएको थियो । 

राणाविरुद्ध लडेको मुक्ति सेना (प्रजातन्त्रपछि रक्षा दलमा परिणत) कै योद्धाबाट विद्रोह हुन लागेको सूचनाले प्रधानमन्त्रीलाई थप चिन्तित बनाइरहेको थियो । 

जसले विद्रोह गर्दै छ भन्ने सूचना प्रधानमन्त्री पाइरहेका थिए क्रान्तिकालमा उनी आफैँ त्यसको सर्वोच्च कमान्डर थिए । तिनैले त जनताका छोराछोरीको तर्फबाट पहिलोपटक उनलाई प्रधानमन्त्री बन्ने अवसर दिलाएका थिए ।  

संयोगले त्यो दिन प्रधानमन्त्रीका बडीगार्ड पनि बिदामा बसेको मौका थियो । 

खेमबहादुर भन्ने लेफ्टिनेन्ट र क्याप्टेन पराजुलीमात्र माथिल्लो तहका सुरक्षा अधिकारी निवासमा थिए । 

कमलले सम्झिए – ‘बाबाले सल्लाहका लागि क्याप्टेन पराजुलीलाई बोलाउनु भयो ।  उनीहरुले के सल्लाह दिए भने अब रक्षा दलका मानिसहरु यहीँ आउन सक्छन् । बरु त्यसअघि नै प्रधानमन्त्रीज्यूले सपरिवार यो ठाउँ छोड्नु उपयुक्त हुन्छ ।’ 

विद्रोही फौज कति बेला आउने हो ? आइहाल्यो भने उनीहरुबाट प्रधानमन्त्रीलाई जोगाउन सकिन्छ भन्ने विश्वास उनको सुरक्षामा खटिएका अधिकारीलाई भएन । त्यसैले त्यस प्रकारको सुझाव दिएका थिए तिनले ।

रमाइलो त के भने प्रधानमन्त्रीका ड्राइभर थिए गुभाजु भन्ने एक गैरसैनिक । अब त्यो बेला यस्तो काण्ड होला भन्ने कल्पनै भएन । हरेक साँझ गुभाजु प्रधानमन्त्री निवासमा मोटर पार्क गर्थे अनि उज्यालैमा साँचो बोकेर घरतिर लाग्थे । 

प्रधानमन्त्रीका बडीगार्डहरु चढ्ने जिपको ड्राइभर पनि बाहिरकै थिए । उनी पनि काम सकेर बेलैमा घरतिर लागिसकेका थिए । जाडोको बेला पाँच बजे त सबै घरभित्र पसिसक्थे । सिंगो काठमाडाैं सुनसान हुन्थ्यो । 

कमलले सुनाए –‘प्रधानमन्त्रीको साथमा रहेका दुवै गाडीको साचोँसमेत छैन । भए त कसैले हाँक्न पनि सक्थ्यो होला । त्यो बेला कता गुभाजु ड्राइभर खोज्न जाने ।’

के गर्ने कसो गर्ने ? प्रधानमन्त्री आफूमाथि आइपरेको संकटको निकास पाइरहेका थिएनन् । 

त्यतिन्जेल विद्रोहीले सिंहदरबारभित्र थुनामा रहेका केआई सिंह (पूर्व प्रधानमन्त्री)लाई छुटाएर मातृका सरकारलाई बर्खास्त गरी सर्वदलीय सरकार बनाउनुपर्ने माग अघि सारेको अपुष्ट खबर पनि प्रधानमन्त्रीसम्म आइरहेको थियो । 

केआई सिंहको नेतृत्वमा विद्रोहीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जामा लिइसके । सबै कैदी छुटाइसके । नारायणहिटी राजदरबार र सैनिक हेडक्वाटर बाहेककासरकारी कार्यालय विद्रोहीको कब्जामा छन् । कति मन्त्री भागेर नारायणहिटी राजदरबार पुगेको खबर आउन थाल्यो । 

त्यो घटना बारे गणेशमान सिंहले भनेका छन् ‘सूचनाको अभावमा भाग्न नभ्याएका मन्त्रीहरु विद्रोहीको गिरफ्तारीमा परे । त्यसमध्ये म पनि एक हुँ । उनीहरुले राति नै घर घेरामा हालिसकेका रहेछन् । तर, मेरो निद्रा खल्बलिएला भनेर उठाउने र गिरफ्तार गर्ने काम चाहिँ गरेनन् । बिहान उठेपछि सिंहदरबारमा केआई सिंहले बोलाएका छन् भनेर लगे । त्यहाँ पुगेपछि मात्र विद्रोह भएको र म आफैँ पनि उनीहरुको नियन्त्रणमा रहेको कुरा थाहा पाएँ ।’

सेनाको हेडक्वाटरबाहेक नारायणहिटी दरबारभन्दा दक्षिणको भागमा विद्रोहीले अड्डा जमाइसकेको सूचना आइरहेको थियो । राष्ट्रिय सेना र विद्रोहीबीच गोली हानाहान भएर रक्तपात हुने त्रासले प्रधानमन्त्री छटपटाइरहेका थिए । 

कमलले सम्झिए – ‘बाबाले नारायणहिटीमा फोन लगाउनुभयो । एउटा ठूलो गाडी पठाई दिन भन्नुभयो । त्यो बेला शैलजा आचार्यका पिता डा. पिनाकीप्रसाद (मातृकाका बहिनी ज्वाई) त्यहीँ हुनुहुन्थ्यो । मेरो मामाको छोरी, उमेशजंग राणालगायत अरु पनि थिए । दरबारले पठाउने गाडीमा सबै नअट्ने भएकाले उनीहरुले भने तपाइँहरु जानुस् ।’ 

गाडीको प्रतीक्षा भइरहँदा रक्षा दलका अधिकृत खेमबहादुरले के भने – ‘यसो गर्नुस् हजुर । प्रधानमन्त्रीज्यू परिवारका साथ जानुस् । सामान यहीँ रहोस् । हामी यताउता हुन दिँदैनौ । हामीहरु पनि रक्षा दलकै, उनीहरु पनि रक्षा दलकै । दुई घ्याम्पा रक्सी किन्ने पैसा छोडिदिनुस्, एउटा सामान पनि यताउता हुन दिँदैनौ । उनीहरु आउँछन् । त्यतिन्जेल तपाईँहरु गइसक्नु हुन्छ । तिनीहरुलाई हामी भन्छौँ – खै तिमीहरु आयौ, प्रधानमन्त्री त गइसके । उनीहरु पनि प्रधानमन्त्री नभेटेपछि निराश हुन्छन् । त्यो बेला हामी भन्छौँ । हामी र तिमी त साथीसाथी हौ नि । अब केही छैन हेर । यही रक्सी र अलिकति सितन खाऊ चित्त बुझाऊ । त्यस्तो टेन्स वातावरणमा पनि हाँसोउठ्दो कुरा । उसको सोझो तरिका । कुरा त ठीकै हो वा क्या आइडिया निकालिरहेको छ भन्यौ हामीले ।’

राजाको सामुन्ने जाँदा त दौरा, सुरुवाल, टोपी सबै लगाउनु पर्‍यो भन्दै प्रधानमन्त्री लुगा लगाउन थाले । कमलले सुनाए –‘हामी सबै पाइजामा मै छौं । त्यही बेलामा फोन बज्यो । मैले उठाएँ । सूर्यप्रसाद उपाध्यायको रहेछ । सोध्नुभयो – ‘मामा कहाँ हुनुहुन्छ ? (बाबालाई उहाँ मामा भनेरै बोलाउनुहुन्थ्यो ।) हामीहरु भारतीय दूतावास पुगिसक्याैँ । मामालाई पनि यतै आउन भन्नु । सहरमा खतरा छ ।’

प्रधानमन्त्रीले कमललाई अह्राए – ‘उहाँहरुलाई भन्नु । बाबा नारायणहिटी जाँदै हुनुहुन्छ तपाइँहरु पनि उतै आउनु होला ।’ कमलले फोन डायल गरे । सूर्यप्रसादलाई बाबुको सन्देश दिए ।  

नारायणहिटीबाट एउटा मोटर आइपुग्यो । कमलले सम्झिए – ‘खचाखच गरेर हामी बस्यौ । पछाडिपट्टीको सिटमा आमा र हामीहरु, अगाडि बाबा र पिनाकी बाबु ।’ नारायणहिटीबाट आएका सिपाहीहरु अगाडिको सिटमा चार जना खादखुद गरेर बसे । संकटको बेला, त्यो बाहेक अर्को उपाय थिएन । 

प्रधानमन्त्री बस्ने ब्रिटिस डिजाइनको सानो चिटिक्कको त्यो बंगलामा इन र आउटका लागि छुट्टाछुट्टै गेट थिए । आउटबाट प्रधानमन्त्री चढेको मोटर निस्कँदै छ । इनबाट एउटा लरी छिर्‍यो । मधुरो प्रकाशमा राम्रोसँग चिन्ने अवस्था थिएन । प्रधानमन्त्रीले दरबारबाट आएका सिपाहीलाई भने – ‘ए एक पटक रोकौँ की क्या हो हाम्रो मद्दतका लागि आएका हुन् की यीनीहरु ।’

दरबारबाट आएको सेनाले भन्यो – ‘हैन प्रधानमन्त्रीज्यू हिँडिसके पछि रोकिनुहुन्न ।’ सिभिल ड्रेसमा रहेको राष्ट्रिय सेनाको त्यो अफिसरले चिनेछ लरीमा आएका मानिस । 

नारायणहिटी दरबारको उत्तरतिर कामकाजका लागि प्रयोगमा ल्याउने एउटा सानो गेट थियो । एक पटकमा एउटा मानिस मात्र छिर्न सक्ने । प्रधानमन्त्री सवार मोटर त्यहीँ पुगेर टक्क रोकियो । 

सेनाले ढोका ढ्याढ्याक गर्‍यो । भित्रबाट आवाज आयो ‘हु कम्स द्यर ।’ प्रधानमन्त्रीको साथमा रहेको सैनिक अधिकारीले भन्यो ‘प्यारोल’ । त्यो कोड सुनेपछि ढोका खुल्यो ।

अनि अगाडि इसारा गर्दै सैनिक अधिकृतले भने – ‘प्रधानमन्त्रीज्यू सवारी होस् ।’ प्रधानमन्त्रीका पछि एकएक गर्दै परिवारका सबै सदस्य दरबारभित्र छिरे । अनिमात्र त्यो अधिकृतले भन्यो ‘हेयर वेथ स्केप प्रधानमन्त्री ज्यू । रौँले बचियो । हामी निस्कने बेला गेटमा पुगेको विद्रोही फौज थियो, त्यसैले प्रधानमन्त्रीज्यूले भन्दा पनि मैले मोटर रोक्न सकिन ।’

लामो सास तानेर प्रधानमन्त्रीले भने – ‘ए बाबा बल्लबल्ल पो जोगिइएछ त  । प्रधानमन्त्रीलाई नै कब्जामा लिएको भए त ? सक्किहालेको नि ।’
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC