site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
त्रसित मन

फेसबुकमा दिनहँुजस्तो कुरा भए पनि हामी साथीहरूको कलेज सकिएपछि भेट भएको थिएन । भेट्ने तीव्र इच्छा हुँदाहुँदै पनि समय अभावले गर्दा भेट्ने अवसर जुर्न सकेको थिएन । बल्ल–बल्ल समय अनुकूल मिलाएर सबैजनाको सल्लाहअनुसार वैशाख १२ गते शनिबार भेट्ने निधो भयो । लामो समयपछि साथीहरूलाई भेट्ने योजनाले मन हर्षित थियो । भेट्ने समय ३ बजे तोकिएको हुनाले बिहानै सबै काम सकाएर एकछिन पल्टिन मन लाग्यो । निद्रादेवीले बोलाउन मात्र के लागेकी थिइन्, बाहिरबाट गटटट आवाज आयो । एकछिन त हावाहुरी चल्यो होला भनेर बेवास्ता गर्दै पल्टिरहें । पछि जब म सुतेको खाटसमेत हल्लिन थाल्यो, तब मेरो हंसले ठाउँ छोड्यो । अनि बल्ल भूकम्प आएको कुरा थाहा भयो ।

घरमा म र बहिनीमात्रै थियौं । घर त पूरै हल्लिन थाल्यो । कठिन परिस्थितिमा मानिसहरू आफ्नो सुरक्षाको बारेमा पहिला सोच्छन् तर म भने भूकम्प आउँदा माथि रहेकी मेरी बहिनीलाई बोलाउन माथि जाने प्रयासमा थिएँ । तर म माथि जान सक्ने अवस्थामा थिइनँ । घर पूरै काँपिरहेको थियो । त्यसपछि म तलतिरै ओर्लिन थालें । आँगनमा सबैजना भेला भयौं । आमा, बुवा र भाइ घरमा हुनुहुन्थेन । तीन जना तीनतिर जानु भएको थियो । सम्पर्क गर्न खोज्दा कसैको पनि फोन लागिरहेको थिएन ।

 एक त भूकम्पले आत्तिएको मन, अर्कोतिर परिवारका सबै घरबाट बाहिर भएको तनाव । यसो बाहिर हेरेको त मेरी आमा साथीको घरबाट भूकम्प आउनासाथ केही कुराको पर्वाह नगरी लगाएको चप्पलसमेत साथीको घरमा छाडेर खालि खुट्टा रुँदै आउँदै हुनुहुन्थ्यो । आमाको ममताका अगाडि भूकम्पको पनि केही लागेन । भूकम्प निकै लामो समयसम्म गइरहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मेरो जीवनकालमा मैले पहिलो पटक त्यति ठूलो भूकम्प गएको थाहा पाएकी थिएँ । वि.सं. १९९० सालमा ठूलो भूकम्प गएको कुरा सुनेकी थिएँ । अहिले आफैंले त्यस्तै भूकम्पको अनुभव गर्नु पर्यो । पछि समाचारबाट थाहा भयो, भूकम्प वि.सं. १९९० को भन्दा सानो भए पनि शक्तिशाली रहेछ । त्यसबेलाको भूकम्पबारे खासै केही थाहा नभए पनि भूकम्पपश्चात् धरहरा एघार तल्लाबाट नौ तल्ला भएको हो भन्ने थाहा थियो । विडम्बना, यस पटकको ७.८ रेक्टरको भूकम्पले धरहरा सबै भत्किएछ । नेपालको सुनौलो इतिहास मेटियो ।

धेरै वर्षअगाडि एक पटक भए पनि धरहरा चढ्न पाएकोमा आफूलाई भाग्यशाली महसुस गरें । किनभने अब मैले चाहेर पनि त्यो अनुभव बटुल्न सक्ने थिइनँ ।

Global Ime bank

वसन्तपुरका काष्ठमण्डपलगायत नेपालका धेरै ऐतिहासिक भवनहरू भग्नावशेषमा परिणत भएको दृश्य आँखाले देख्दादेख्दै पनि मनले विश्वास गर्न सकिरहेको थिएन ।  ती त भवनहरू हुन् बिस्तारै निर्माण हुनेछन् । तर त्यो शक्तिशाली भूकम्पले कति मानिसहरूको ज्यान गयो, त्यो कसरी फर्केला ? भूकम्पको डरले घरभित्र पस्न सक्ने अवस्था कसैको पनि थिएन ।

सबै नेपालीहरू त्रसित देखिन्थे । पहिलो दिनमै ६ पटकसम्म भूकम्प गयो । त्यस्तो अवस्थामा कसको साहस होला र घरभित्र पस्न ? जसले जति माया पिरतीका कुरा गरे पनि मानिसले सबैभन्दा पहिला माया गर्ने आफूलाई नै हो । तसर्थ भूकम्पबाट सक्दो बच्न हामीले बाहिर चौरमा पाल टाँगेर त्यहीं बस्ने व्यवस्था गर्यौं । हामीमात्रै हैन, सबै नेपालीहरू त्यसरी नै पालमुनि बस्न थालेका थिए । कति नेपालीहरू घर उजाडिएर बाहिरै बास बस्न बाध्य थिए भने घर सुरक्षित हुनेहरू ज्यान सुरक्षित पार्न त्यसरी बसेका थिए । 

वैशाख १३ गते आइतबार पनि हामी सम्पूर्ण नेपालीको अवस्था त्यस्तै थियो । त्यस दिन पनि बिहानै फेरि भूकम्प गयो । ससानो भूकम्प गइरहेकै थियो । त्यसबेला हामीलाई सानोतिनो भूकम्पले त्रसित बनाउन छोडिसकेको थियो । भोलिपल्ट आइतबार बिहान १२ः५६ बजे त्यसैगरी भूकम्प गयो ।

अब बाँचिदैन जस्तो लाग्न थालिसकेको थियो । घर डगडग गरेर हल्लिएको प्रस्टै देखिन्थ्यो । जीवन भन्ने कुरा केही हैन रहेछ भन्ने महसुुस हुन थाल्यो । जतिखेर बस्दा पनि जमिन हल्लिएको भान हुन थाल्यो । मलाई मात्र त्यस्तो होला भन्ने सोचेकी थिएँ । तर सबैलाई त्यस्तै भएको रहेछ । मानिसहरू आ–आफ्नै तरिकाले वर्णन गर्थे त्यो भूकम्पलाई, मानौं त्यो भूकम्प मानिसको निमन्त्रणामा आउने हो । 

कसैले भूकम्पको स्केल यति हुन्छ भनेर पूर्वसूचित गर्थे भने कसैले भूकम्पको समय निर्धारण गरिरहेका हुन्थे । हामी त्यही हल्लै हल्लाको भरमा बाँचिरहेका थियाैं । कवि भूपि शेरचनको कविता याद आइरहेको थियो– ‘नेपाल हल्लै हल्लाको देश हो ।’ साँच्चै नै भूकम्पले भन्दा बढी त त्यस्तै–त्यस्तै हल्लाले मन तर्सिरहेको थियो । त्यस्तो आपत्कालीन अवस्थामा पनि सकुशल रहनु ठूलो भाग्य हो जस्तो लाग्छ अहिले आफैंलाई । तर धेरै जनाको अकालमा मृत्यु भएको देख्दा मन कटक्क खान्छ । अझै पनि कुनै बेला शरीर काँपिरहेझैं हुन्छ । अब जीवनभरि हामीलाई यो कुराले त्रसित बनाइरहने भयो । 

बाहिर असार–साउनमा झैं झरी परिरहेको थियो । बाहिर जाऊँ भने भिजिने डर, भित्र पसौं भने भूकम्प कतिखेर आएर ज्यान जाने हो भन्ने डर ! घर हुने धनाढ्य हुन् वा घर नभएका गरिब हुन्, सबैलाई नाङ्गो धर्तीमाथि उदाङ्गो आकाश ओढेर रात काट्न बाध्य गरायो, भूकम्पले । भूकम्पका कारण आफ्नो घर गुमाएका केही भूकम्प पीडितहरूलाई अलिकति भए पनि राहत बाँड्ने निर्णय गरेर हामी (म, बुवा र आमा) नुवाकोटको दांगसिंह गाविस गयौं । त्यहाँको अवस्था देख्दा हाम्रा आँखा रसाए । त्यहाँका घरहरू भग्नावशेष भएका थिए ।

 राहतका लागि हामीले केही पाल, ओढ्ने र चिउराको व्यवस्था गरेर लगेका थियौं । तर जुन दिन हामी राहत बाँड्न गएका थियौं, त्यस दिन पनि राहत बाँड्दा बाँड्दै  ठूलो भूकम्प गयो । अर्थात् २०७२ वैशाख २९ गते पनि हामीले ठूलो भूकम्पको अनुभव गर्यौं । भूकम्पले गर्दा कतै पहिरो त कतै ठूला–ठूला ढुंगाहरू खसिरहेका थिए । हामी बडो मुस्किलले काठमाडौं आइपुग्यौं ।

तर हामीले बाँडेको राहतले भूकम्पपीडितको मुहारमा जुन खुसी देख्यौं, त्यसको कुनै मूल्य थिएन ।
 जिन्दगीमा कहिलेकहीं अरूलाई खुसी दिन पाउँदा पनि आफ्नो मन रमाउँदो रहेछ भन्ने कुरा मैले त्यहींबाट थाहा पाएँ । भूकम्पमा कैयौं मानिसहरूको ज्यान गुम्यो ।

तर भूकम्पले ठूलो पाठ सिकाएर गयो, हामीलाई । भूकम्पले एकजुट हुन सिकायो । धनी र गरिबबीचको विभेदको अन्त्य गर्न सिकायो । नजिकै रहेका छिमेकीसँग कहिल्यै नबोल्ने हामी नेपालीलाई छिमेकीसँग चिनजान गर्ने मौकासमेत भूकम्पले दिएर गयो । सबैभन्दा ठूलो कुरा भूकम्पले आफैंलाई माया गर्न सिकायो । अहिले पनि कुनै–कुनै बेला यो मन त्यस्तै भूकम्प फेरि आउँछ कि भन्ने कुराले त्रसित हुन्छ ।                                           
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC