site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 पृथ्वीनारायण शाह र राष्ट्र निर्माण

नेपाल राष्ट्र निर्माणका नायक राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको सेरोफेरोमा उनको योगदान, भूमिका र नायकत्वका बारेमा सञ्चार माध्यमहरूमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्  । राष्ट्र निर्माणजस्तो महत्त्वपूर्ण घटनाका विषयमा बहस र तर्क वितर्क हुनु लोकतान्त्रिक पद्धतिमा चलेको समाजमा स्वाभाविकै मान्नुपर्छ  । यद्यपि,   दृष्टिकोण र अभिव्यक्ति प्रकट गर्दा भने स्वस्थ र तर्कसंगत हुनु राम्रो हो ।

कुनै पनि राष्ट्रको निर्माण अभियान कुनै न कुनै नायकले नै गन्तव्यमा पुर्याएको इतिहास छ । हाम्रै छिमेकी मुलुक चीनकै इतिहासमा पनि २२१ बीसीमा बादशाह किन सी ह्वाङले एकीकृत गरेको पाइन्छ । त्यस्तै अर्को छिमेकी मुलुक भारतलाई बेलायती उपनिवेशबाट मुक्त र स्वतन्त्र गराउने नेतृत्व महात्मा गान्धीले गरेका थिए । अब्राहम लिङ्कनबाट विभिन्न राज्यलाई एकीकृत गर्ने काम भएको थियो अमेरिकामा । जर्मनीमा बिस्मार्कले जर्मन राष्ट्रलाई एकीकरण गरेको इतिहास छ ।

नेपालमा पनि छिन्नभिन्न राज्यहरूलाई एकीकृत गरेर एउटा सिङ्गो राष्ट्रको निर्माण राजा पृथ्वीनारायण शाहबाट हुन पुग्यो । राष्ट्र निर्माण कही राजा, महाराजा र बादशाहले गरेका छन् भने कतै जनस्तरबाट भएको छ । राष्ट्र निर्माणजस्तो माहान कार्य गर्ने इतिहास पुरुषप्रति श्रद्धा भाव व्यक्त गर्नु स्वाभाविक कर्तव्य हुन जान्छ ।

Agni Group

पृथ्वीनारायण शाहले एकीकरण गर्नुभन्दा अगाडि नेपालको राजनीतिक, आर्थिक, सामाजिक र वाह्य परिस्थिति कस्तो थियो वा कुन परिस्थितिमा एकीकरण अगाडि बड्यो भन्ने जान्नु जरुरी हुन्छ । गोर्खा एउटा पहाडको थुम्कोमा अवस्थित गरिब राज्य थियो । आम्दानीको बलियो स्रोत कृषि उपजकालागि समथर र उब्जाउ भूमि थिएन भने व्यापार व्यवसाय, उद्योगसमेत नभएको एउटा सानो राज्य थियो ।

त्यति बेलाका राज्यहरू टुक्राटुक्रामा बिभाजित थिए । तुलनात्मकरूपमा कान्तिपुर, भादगाउ र ललितपुर सम्पन्न र बलिया थिए । तर, ती राज्यराज्यका बीचमा र राज्यभित्रै पनि लडाइँ, झगडा, तानातान र मारकाट र चलिरहन्थ्यो । राज्यहरूका बीचमा मात्र होइन भारदारहरूको बीचमा पनि उस्तै अवस्था थियो । उपत्यका बाहिर ससाना डाँडैपिच्छे कोट र इलाकाहरूमा सामन्तहरूको शासन थियो । सामन्तहरू आपसमा लडिरहन्थे । एकले अर्कोलाई हराउन तेस्रोलाई गुहार्ने चलन थियो । कतिसम्म अस्थिरता थियो भने आज एउटा राज्य निर्माण हुन्थ्यो भोलिपल्ट त्यसको अस्तित्वै हराउँथ्यो । 

Global Ime bank

अर्कोतिर भारतको सम्पूर्ण भूभागमा अधीनमा पारिसकेको ब्रिटिस नेपालका ससाना राज्यहरूलाई आफ्नो अधीनमा लिने दाउ हेरेर बसेको थियो । जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई युद्धमा हराउन  अंग्रेजसँग  सहयोग लिन खोजिरहेकोे थिए । जयप्रकाश मल्ललाई सहयोग गर्न आउने सिलसिलामा ब्रिटिस फौजको  पृथ्वीनारायणको सेनासँग युद्ध हुन गयो । पृथ्वीनारायणको सेनासँग किन्लकको फौजले लज्जास्पद हार बेहोर्नु परेको थियो । पृथ्वीनारायणसँग हार्नु परेको इख ब्रिटिसले बोकिरहेको थियो भन्ने विभिन्न सन्दर्भमा देखिन्छ । सायद, सन् १८१६ को सुगौली सन्धि त्यही पहिलेको पराजयको पीडाको बदला पनि हुनसक्छ  । त्यस्तो पृष्ठभूमिमा नेपालको एकीकरण अभियान अगाडि बढेको पाइन्छ  ।

त्यस समयमा पृथ्वीनारायणको त्यो अभियानले मूर्तरूप लिन नसकेको भए के आजको नेपालको कल्पना गर्न सकिन्थ्यो ? अथवा अन्य कुनै वैकल्पिक सम्भावना थियो ? थिएन  । किनभने, त्यो संक्रमणकालीन समयलाई पृथ्वीनारायणले उपयोग गर्न नसकेको भए पराधिनता नै एकमात्र विकल्प बाँकी रहन्थ्यो ।

पृथ्वीनारायणले गोर्खा राज्यको विस्तारका क्रममा एउटा सिङ्गो राष्ट्रमात्र स्थापित गरेनन् आधुनिक राष्ट्रमा रूपान्तर पनि गरे । सबैभन्दा पहिले एकीकरणपछि राष्ट्रको नाम गोर्खा नराखेर नेपाल राखे, राजधानी कान्तिपुरमा बनाए । हारेका राज्यका जनतालाई बिरानो अनुभूति हुन दिएनन् ।

कान्तिपुरमा जीवित देवी कुमारीको पूजा गर्ने चलन  छ । पृथ्वीनारायणले कुमारीको खुट्टा ढोग्ने र पूजा गर्ने काम गरे । यस्ले भावनात्मक एकता समाजमा निर्माण गरेको थियो ।

नेपाल राष्ट्रको निर्माण गरिसकेपछि त्यसको जस आफूले मात्र लिएनन् । नेपाल सबै जातको फूलबारी हो भने । ‘पूर्व पश्चिमका दुनियाँ साथमा लिई नेपाल लियाथ्याँ’ भन्ने उदगार व्यक्त गरे । एकीकरणमा सबैको योगदानको सम्मान गरे । उनको शासनमा रैतीको अभिमतलाई नै निर्णयको आधार बनाउने र उनीहरूसँग सल्लाह लिएर अधि बढ्ने गरेको देखिन्छ । विराज बखेतीको ठाउँमा कालु पाण्डेलाई काजी घोषणा गर्ने कुरा होस् वा हतियार खरिद गर्न संकट परेका बेला बिसे नगर्चीको सल्लाह लिने कुरामा होस् ।

‘प्रजा मोटा भया दर्बार बलियो हुन्छ’ भन्ने उनको भनाइले राज्यको आर्थिक सुधारलाई महत्त्व दिएका देखिन्छ । सैनिक निर्विघ्नरूपले युद्धमा लड्न सकून् भनेर सेनालाई जमिन दिने व्यवस्था गरे । खानी, कपड़ा उद्योग र व्यापार बढाउन प्रोत्साहित गरे ।

उनी कूटनीतिमा पनि निपुण देखिन्छन् । किन्लकको सेनालाई परास्त गर्न सफल भए पनि पर्सादेखि महोत्तरीको भाग गुमाउनुपरेको थियो । उनले दिनानाथ उपाध्यायलाई पटना अग्रेजसँग वार्ता गर्न पठाएर शान्तिपूर्ण ढंगबाट र कूटनीतिक प्रयत्नबाट उक्त भूमि फिर्ता लिन सफल भएका थिए । तर, उनले अंग्रेजÞलाई कहिल्यै विश्वास भने गरेनन् ।
मित्रता कायम गर्दा, उत्तर र दक्षिणका छिमेकीसँग फरकफरक नीति अख्तियार गर्न सल्लाह दिएका छन् । उत्तरतिर घाहा गर्नु, दक्षिणतिर पनि घाहा त गर्नु तर त्यो महाचतुर छ भनेर सजग गराएका छन् । अंग्रेजसँग उनले न मित्र न शत्रुको नीति लिएको पाइन्छ ।
त्यस्तै नेपाल दुई ढुंगाको तरुल हो भनेर त्यसअनुरूप नीति बनाउन सल्लाह दिएका छन् ।

पृथ्वीनारायणले एउटा सानो राज्य गोर्खाको विस्तार गरेर विशाल रास्ट्रको निर्माणमात्र गरेनन् बरु दूरगामी र प्रशंसनीय काम पनि गरेका छन् । तर पनि उनका कतिपय काम र निर्णयको आलोचना पनि हुनेगरेको छ  ।

किराँत प्रदेश नियन्त्रणमा लिँदा आवश्यक भन्दा बढी दमन भएको थियो । धेरै मानिसको हत्या गरियो भन्ने आलोचना पाइन्छ  । किराँत प्रदेश मकवानपुर गढीको अधीनमा थियोे  । त्यहाँका मूल शासक सेन राजा थिए । बुद्धिकर्ण राई उक्त प्रदेशको सामन्त थिए । बुद्धिकर्णले पृथ्वीनारायणलाई हराउन अंग्रेज सेनाको सहयोग लिने कोसिस गरेका थिए ।

त्यसभन्दा अगाडि नै अंग्रेज र पृथ्वीनारायणको युद्ध भइसकेको परिप्रेक्ष्यमा बुद्धिकर्णको अंग्रेजसँग सहयोग लिने प्रयत्नले बढी आवेग बढाउने काम गरेको शंका गर्न सकिन्छ  । तर पृथ्वीनारायणको यस लडाइँमा प्रत्यक्ष संलग्नता भने देखिँदैन । उनी त्यति बेला छोराको विवाहको र लमजुङसँगको लडाइँको सिलसिलामा नुवाकोटमा रहेका थिए । उनको अनुपस्थितिमा भएको हुनाले मूल नेतृत्वको अभावमा संयम गुम्न गयो कि भन्न सकिन्छ  ।

कीर्तिपुरमाथि गोर्खालीले तेस्रो प्रयत्नमा विजय हासिल गरेका थिए । यसपटकको युद्धमा निर्णायक नाकाबन्दी थियो । गोर्खालीहरूले छ महिनादेखि उपत्यकामा नाकाबन्दी लगाएका थिए । नाकाबन्दीबाट मुक्त हुने उपायको खोजीमा किर्तिपुरेहरू थिए । अगाडिको लडाइँमा जस्तो उपत्यकाका अन्य राज्यहरूबाट सहयोग नहुने देखेपछि ललितपुरका रक्षकले राखेको अभयदानको प्रस्तावलाई दुवै पक्षले स्वीकार गरी कीर्तिपुर गोर्खालीहरूको अधीनमा आएको देखिन्छ ।

कीर्तिपुरको लडाइँमा पृथ्वीनारायणले थुप्रै किर्तिपुरेको नाक काटेका थिए भन्ने भनाइ कर्कप्याट्रिक र ललितपुरमा रहेका अनि पछि लखेटिएका पादरी जिलेप्सीले ७५ वर्ष पछि लेखिएको इतिहासमा उल्लेख गरेको पाइन्छ । तत्कालीन अंग्रेजले उपनिवेशवादी र विस्तारवादी नीति अगाडि बढाउन ब्यापार र धर्मलाई अस्त्रका रूपमा प्रयोग गरेका थिए । नेपालमा पनि पादरीहरू धर्म प्रचारको आवरणमा राजनीतिक षड्यन्त्रमा संलग्न थिए । तसर्थ, उनी पृथ्वीनारायणप्रति पूर्वाग्राही थिऐ भनेर शंका गर्ने ठाँउ प्रशस्त छ  ।

मकवानपुर गढिका राजा हेमकर्ण एउटा अर्कै विवाहका सिलसिलामा गोर्खा दरबार पुगेका थिए । त्यहाँ गोर्खाका राजा पृथ्वीनारायण र भाइ भारदारका अनुशासित चाल चलन देखेर प्रभावित भई आफ्नी छोरी पृथ्वीनारायणलाई दिने निधो गरी फर्के । गोर्खाबाट डोला लिएर मकवानपुरतिर जाने क्रममा बाटोमा हेमकर्णका छोरा दिग्बन्धन सेन र उनका साथीहरूसँग पृथ्वीनारायणहरूको भेट हुन्छ । भेट हुँदा मकवानपुरे राजकुमारहरू लवाइखुवाइमा मुगल राज्यका राजकुमारहरूजस्ता चहकिला पहिरनमा देखिन्थे भने गोर्खालीहरू गरिबी झल्किने पहिरनमा थिए । पहिरनमा देखिएको आर्थिक असमानताकै कारणले मकवानपुरेहरूले गोर्खालीलाई होच्याउने काम गरे । त्यसले गर्दा मनमुटावको बीउ रोपिन पुग्यो ।

बिहेमा हेमकर्णले छोरीलाई एकदन्त हात्ती र गजमुखी हार दाइजो दिएका थिए तर डोला फर्काउने बेलामा उक्त दाइजो दिग्बन्धन सेनले दिन नमानेपछि डोला नलिईकनै पृथ्वीनारायण फर्के । पृथ्वीनारायणले यसलाई सहन सकेनजन् । दाइजोभन्दा पनि उनको आत्मसम्मानमा चोट पुगेको देखिन्छ ।

बाल्यकालमा राजकुमार पृथ्वीनारायण दराैँदीमा पौडी खेलेर फर्कदा आफ्नै द्वारे केशव खवासको उखु नसोधीकन खाएको सामान्य विषयलाई उखु चोरेको भन्ने आरोप लगाएर बदनाम गर्न खोजिएको छ । यो अति सामान्य कुरा तीललाई पहाड बनाउन खोज्नु विष बमन गर्नुमात्र हो । राजकुमारमा पनि अरूसरह बाल्य सुलभ स्वभाव र गुण हुनु अस्वाभाविक होइन । मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका बाबुराम भट्टराईले समेत पृथ्वीनारायणप्रति सामान्य घटना उछालेर तुच्छ लाञ्छना लगाउनु बुद्धिको दुरुपयोग हो । बाल्यकालमा सामन्यतः बालकहरू नाङ्गै पनि दौड्न्छन् । बाबुराम जी पनि त्यसरी नै दौडिए होलान् । के लुगा नलाई दौडेको कुनै बालकलाई मानसिक बिरामी भन्ने ?

जे होस्, पृथ्वीनारायणको अदम्य साहस, सौर्य, कूटनीतिक चातुर्य, विलक्षण प्रतिभाकै कारणले नेपालको एकीकरण र राष्ट्र निर्माणको काम सम्भव भएको हो । गोर्खा राज्यको विस्तारबाट प्रारम्भ भएको अभियानले राष्ट्र निर्माणमा पुगेर विश्राम लिएको थियो ।
यही उपलब्धिबाट विश्वमा आफ्नो स्वतन्त्र अस्तित्वका साथ हामी नेपाली चिनिन पाएका छौँ ।

नेपालका अधिकांश जातिजनजाति सबैको रगतपसिनाले यो राष्ट्रको निर्माण संभव भएको हो । एकीकरण एउटा अपूर्व घटना भएको हुनाले त्यसक्रममा केही त्रुटि भए पनि  बिर्सेर  राष्ट्र निर्माणमा लाग्नुपर्ने हुन्छ । इतिहासका सानातिना त्रुटिलाई उधिनेर समाजमा तुषको बीउ रोप्न हँुदैन ।

( पूर्वमन्त्री )

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC