site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सत्तामा पुगेपछि शक्ति हुने हो भने जे गरे पनि हुन्छ भन्ने अधिनायकवादी तुजुक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले फेरि देखाएको छ । कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको व्यक्तिलाई अदालतमा मुद्दा चलिरहेकै अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुख पदमा उमेदवार बनाउने निर्णय गरेको छ । अगिल्ला सभामुख कृष्णबहादुर महराले आफूमाथि जबर्जस्ती करणको आरोप लागेपछि राजीनामा गरेको रिक्त सभामुख पदमा नेकपाका नेताहरूले अग्निप्रसाद सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको हो । सापकोटामाथि काभ्रेका एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोप मृतककी पत्नीले लगाएकी छन् । आफ्नोे जाहेरीमा प्रहरीले मुद्दा नचलाएपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन गरेकी थिइन् । अहिले सोही रिट सर्वोच्च अदालतमा विचाराधीन छ । प्रतिनिधि सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत भएकाले सापकोटा उमेदवार भएपछि निर्वाचित हुनेमा सन्देह छैन । 

सम्भवतः देशको इतिहासमै पहिलोपटक अदालतमा ज्यान मुद्दा चलिरहेको व्यक्ति सभामुखजस्तो गरिमामय पदमा पुग्नेछन् । मानव अधिकार रक्षक समुदाय र माओवादी पीडितहरूले नेकपाको यस निर्णयको कटु आलोचना गरेका छन् । यतिमात्र हैन अन्तर्राष्ट्रिय समुदायमा पनि सापकोटालाई सभामुख बनाउने निर्णयले नेपालको छवि धमिलो हुने निश्चित् छ । सापकोटालाई उमेदवार बनाउने निर्णयले प्रधानमन्त्री केपी ओलीको तेजोबध गरेर पूर्वमाओवादी खेमाको मनोबल उकासेको त हुनसक्छ तर समग्रमा नेकपाको यस निर्णयबाट विधिको शासन, लोकतन्त्रको मूल्य मान्यता तथा राजनीतिक नैतिकतामा गहिरो चोट लागेको छ । साथै, पार्टी एकीकरणबाट सुरु भएको पूर्वएमालेको माओवादीकरण पनि एउटा बिन्दुमा पुगेको छ । कतिपय नेता कार्यकर्ताले माओवादी ज्यादतीको पीडा अझै सहिरहेका भए पनि अब पूर्वएमालेहरूले माओवादी हिंसाबाट आफूलाई अलग्ग्याउने नैतिक वैधता गुमाए । साथै, उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुख बनाएर एउटा आदर्श परम्परा बसाउने र समावेशिताको सकारात्मक सन्देश दिने मौका पनि नेकपाका नेताहरूले गुमाएका छन् । डा. तुम्बाहाङ्फेले भने पद गुमाएर पनि जनताको सम्मान कमाएकी छन् ।  

संसदीय प्रणाली भएका मुलुकमा सभामुखको पद निकै सम्मानित मानिन्छ । बेलायतमा त निवर्तमान सभामुख उमेदवार हुन चाहेमा अरू कसैले उमेदवारीसमेत दिँदैनन् । आफ्नो कुनै पनि उमेदवार सजिलै निर्वाचित हुने अवस्थामा पहिल्यै विवादमा फसेका व्यक्तिलाई अगाडि नसारेको भए नेकपा संविधान र संसदीय लोकतन्त्रको मर्यादाको रक्षाप्रति गम्भीर रहेको सन्देश प्रवाहित हुन्थ्यो । विधिको शासन, लोकतन्त्र र राजनीति मर्यादित होस् भन्ने चाहना गर्नेहरूलाई नेकपाको यो निर्णय चुनौती र चिन्ताको विषय हो । संख्या र मनोबल दुवैमा कमजोर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रकमी तर्क गरेर नैतिक एवं सैद्धान्तिक विचलन पनि देखाएको छ । यसैले कांग्रेसलगायत संसद्का अरू दलहरूले विधिको शासन र नैतिकताको मर्यादा नगर्ने सत्तारुढ कम्युनिस्टहरूबाट संसदीय लोकतन्त्रको गरिमाको रक्षा गर्लान् भन्ने अपेक्षा गर्नु शल्यलाई सेनापति बनाएर महाभारत जित्ने दुर्योधनको आशाजस्तै हो । यसैले अब जनता स्वयं जागरुक नहुने हो भने लोकतन्त्रको चीरहरण अझै बढ्ने निश्चितै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC