site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नदेखेको सपनाको बाटो 
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


बाल्यकालमा हलमा चलचित्र हेर्दा आफूले त्यसबेला चलचित्रलाई कसरी एनलाइसिस् गर्थिन् लक्ष्मी । अघिल्लो साता बाह्रखरीसँग समीक्षा गर्दैै थिइन् उनी– “हिरोइनले अभिनय गर्दै छिन् भने ऊ रोइरहेका बेला उसको आँखामा आँशु छ कि छैन, अनुहारको भावभङ्गी, रोएको समय हेर्दो रहेछु । म त्यो गर्न सक्छु कि सक्तिनँ भनेर त्यही बेला आफ्नो मूल्याङ्कन गर्थें ।” 

लक्ष्मीलाई थाहा छ, उनले हेरेको पहिलो चलचित्र ‘साथी’ थियो । सिनेमा हल विश्वज्याति । उमेर ५ वर्षको थियो । चलचित्रमा हिरो राजेश हमाल । सँगै कुकुर पनि । हलबाट फर्किंदा लक्ष्मीले मनमा राजेश होइन । कुकुरलाई लिएर फर्किइन् । त्यो दिनबाट उनले कुकुरलाई हेर्ने दृष्टिकोणमा भारी परिवर्तन आयो । कुकुरलाई साथी बनाउन सकिन्छ भन्ने मनमा पर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

सडकमा देखिने कुकुरको पनि माया लाग्न थाल्यो । “त्योभन्दा पनि कुकुरले पनि अभिनय गर्दो रहेछ भन्ने कुराले मलाई छक्क लाग्यो । कुकुरलाई माया गर्‍यो भने आफूलाई अफ्ठ्यारोमा बचाउँदोरहेछ भन्ने भयो,” लक्ष्मी भन्छिन्, “त्यही दिनबाट हो मैले जनवारलाई प्रेम गर्न थालेको ।” 

सायद उनलाई करिष्माले आकर्षित गर्न सकिनन् अथवा रङ्गीन दुनियाँको लोभ लाग्ने उमेर भइसकेको थिएन । उनलाई हिरोइन हुने रहर जागेन । कुकुरबाहेक केही थिएन मनमा ।

Global Ime bank

उनलाई परिवारले यही बन्नुपर्छ भनेको थिएन, उनमा पनि कुनै रहरले डोर्‍याएको थिएन । 

० ० ०

कक्षा ६ को पढाइ थियो । चाबहिल स्कुल थियो । हरेक वार्षिकोत्सवमा कार्यक्रम हुन्थ्यो । गीत र डान्सको विकल्प थिएन । त्यसबाहेक अरू स्कुलबाट हायर गरेर जादु देखाउन जादुगर ल्याउँथे । 

यी तीनवटै कुरामा उनलाई रहर थिएन । देख्दा बोल्ड थिइन् । तर नाच्न लजाउँथिन् । 

अरूले गाएको र नाचेको हेर्नुको विकल्प थिएन । एक दिन लक्ष्मीले सोधिन्– नाचगान बाहेक अरू केही गर्न मिल्छ । 

शिक्षक : के गर्छौ ? 

लक्ष्मी : नाटक गर्दा हुँदैन ? 

शिक्षक : गर्न सके हुन्छ । 

एसएलसीमा त्यो वर्ष उत्तीर्णको सङ्ख्या निकै कम थियो । त्यसकारण अनुत्तीर्ण केही बिदार्थीले आत्महत्या गरेको समाचारहरू आइरहेका थिए । त्यसले लक्ष्मीको मथिङ्गल हल्लाइरहेको थियो । नाटक लेखिन् । कास्टिङ गरिन् । आफू लिड रोलमा बसिन् र नाटक मञ्चन गरिन् । वाह ! क्या गज्जब छ शिक्षक र आफन्तले भने । हौसिएकी लक्ष्मीले एसएलसीसम्म हरेक वर्ष नाटक एवं रितले गरिन् । उनले फेल भएको क्यारेक्टर गरेकी थिइन् । फेल भएको क्यारेक्टर किन गरेको भनेर उनलाई आफन्तले गाली गरे । तँ पनि भोलि फेल होलिस् नि उनीहरूको भनाइ थियो । 

“मलाई विभिन्न एनजीओले सडक नाटकका लागि बोलाए । पकेट मनी पनि भयो,” लक्ष्मी नोस्टाल्जिक भइन्, “हाम्रो स्कुलमा नाटक पनि मनोरञ्जनको माध्यम हो र देखाउन सकिन्छ भनेर स्थापित गरेको मैलै नै हो ।” आफ्नो कामको जस लिन उनी धक मान्दिनन् । 

नाटक लेखिन्, अभिनय गरिन् र निर्देशन पनि गरिन् । तर त्यो समयसम्म पनि उनले अभिनय नै मेरो जीवन हो भन्ने सोचेकी थिइनन् । तर त्यो समयमा उनलाई जे देख्यो त्यही बन्न मन लाग्थ्यो । स्कुलमा पढाएको देखेर शिक्षिका, हस्पिटलमा महिलाले एप्रोन लगाएको देखे नर्स । सरकारी कार्यालय गएर सरकारी कर्मचारी । उमेर नै त्यस्तै थियो । तर पनि उनले अभिनेत्री नै बन्छु भनेर लाहा छाप लगाएकी थिइनन् । 

० ० ०

०६५ मा एसएलसीलाई बिदा गरिन् । आइडल कलेजमा सोसियोलोजी र पत्रकारितामा भर्ना भइन् । जिन्दगीका यी दुई वर्ष यसरी पढिन् कलेज छेउछाउ लक्ष्मीको बोर्ड नै लाग्यो । ११ र १२ दुवै कक्षा टप गरिन् उनले । खै कसरी उनमा परिवर्तन आयो उनी स्वयंलाई थाहा छैन । तर कक्षामा जान्थिन् । साथीहरू खासै थिएनन् । पढिरहन्थिन् । स्कुलदेखि नै लेख्दै गरेको कविता पनि लगभग छुट्यो । नाटकबाट पूरै टाढिइन् । 

०६८ मा उनी एक्टर्स स्टुडियो पुगिन् । भर्खर विद्यार्थी पासआउट भएका रहेछन् । नयाँ भर्ना खुलेको रहेनछ । खुले पनि ७–११ बजेसम्मको कक्षा । कि स्नातकको पढाइ छाड्नुप¥यो । उनले त्यो चाहिनन् । 

तर पनि आशान्त शर्मालाई फोन गरिरहन्थिन् । कारण– मिल्ने भयो भने खबर गर्नुस् है । करिब ७ महिनापछि आशान्तले फोन गरे, “हाम्रो नाटकको रिहर्सल हुँदै छ । हेरेर पनि धेरै कुरा सिकिन्छ । आउँछौ भने आऊ ।” 

मण्डलाछेउमा रिहर्सल थियो । नाटकलाई एकजना महिला पात्र चाहिएको थियो । दिनकैै हेर्दा हेर्दा उनलाई नाटकको सबै डाइलग नै कण्ठ भइसकेको थियो ।
आशान्तले भने, “अरू किन खोज्नु, तपाईं नै गर्नुस् ।”

लक्ष्मी झस्किइन्, “आजसम्म गरेको छैन । त्यति धेरै दर्शकका अगाडि कहाँ गर्न सक्छु ।”

आशान्त : त्यसो भनेर कहाँ हुन्छ । सकिहालिन्छ नि गर्नुस् । नाटक थियो, ‘उम्बुगल्यान्डको मुठभेड’ । त्यसमा उनले अभिनय गरिन् । 

० ० ०

यो नाटक अगाडिको पनि कथा छ उनीसँग । एसएलसी दिनबित्तिकै अनमिनमा काम सुरु गरिन् । विडम्बना केही महिनामै अनमिन फर्कियो । उनी बेरोजगार भइन् । स्कुल पढाइन् ।

ट्युसन पढाइन् । आयोनमा काम गरिन् । तर कतै पनि उनलाई चित्त बुझेन । कति काम त उनले एकै दिनमै पनि छोडेकी छिन् । केमा चित्त बुझिरहेको छैन उनी स्वयंले पनि भेउ पाइरहेकी थिइनन् । सायद त्यही भएर पनि उनी प्लस टुका दुई वर्ष साइलेन्स भइन् । एसलएसी र प्लस टु सुरु हुनु अगाडिको ३ महिनामा उनले स्वयंलाई प्रश्न गर्थिन्, भोलि म के हुने ? अब त टुङ्गो लाग्नुपर्छ । 

“विवाह गरेर खुसीपूर्वक जीवन बिताइरहेका तर घरमै बसेका महिलाहरूलाई उनी प्रश्न गर्थिन्– जिन्दगीको उद्देश्य के हो ? खुसी लाग्छ यतिकै बस्दा खुसी हुनुहुन्छ ?” 

त्यहीबेला साथीले उनलाई बोलाए ‘मेरो म्युजिक भिडियो’ सुट छ, हेर्न आऊ । 

उनले भनिन्, “मलाई रूचि छैन जान्नँ ।”

आऊ न भनेपछि उनी गइन् । 

उनलाई बोलाउनुको कारण भिडियोमा डाक्टरको रोल चाहिएको रहेछ । कोही भएन गर्देऊ न भनेपछि उनले गरिन् । 

पछि हेर्दा उनी मन्दमन्द हासिरहेको जस्तो देखिन्थ्यो । भिडियो खेलेको त्यो पनि पहिलोपटक । एक्साइटेड भएर बुबालाई देखाइन् । बुबाले हेरे तर एक शब्द केही बोलेनन् । 

लक्ष्मीले अनुमान लगाइन्, ‘बुबालाई मन परेन ।’ 

कलेज टप गरेपछि होर्डिङबोर्ड लागेको थियो । कलेजबाट फर्किंदा उनी चिया खान पसेको होटलमा चलचित्रकर्मीहरू रहेछन् । उनीहरूले देखेर फोटो जेनिक अनुहार रहेछ, खेलाउन पाए हुन्थ्यो भनेका रहेछन् । 

चिनेको एक दाइले भने, “लक्ष्मी फिल्ममा हिरोइनको साथी चाहिएको छ । काम गर्छौ ?” 

त्यसअघि पनि चाउचाउको विज्ञापन खेल्न भनेका थिए । उनले मानेकी थिइनन् । तर उनले कर गरिरहे । 

एक दिन फोनमा उनले झर्केर भनिन्, “गर्दिनँ भनेपछि कति कर गरिराखेको ?”

ठूलो स्वरमा कराएको सुनेपछि आमाले भनिन्, “के भयो ?”

लक्ष्मीले आफूलाई चलचित्रका लागि कर गरिरहेको जनाइन् । 

“ठीकै छ, खेल् न त,” आमाले भनिन् । 

बहिनीलाई लिएर लक्ष्मी सुटिङमा पुगिन् । उनलाई देख्नबित्तिकै निर्देशकले भने, “कस्तो केटी ल्याएको, भएन यो ।”

“हैन दाइ फोटो कस्तो राम्रो आउँछ ।”

“ठीक छ, यसको फोटो ल्याऊ तर अर्को कोही अप्सनमा राखेर फोन गर्दै गर ।”

फोटो खिचेर लगेपछि निर्देशकले भने, “ठीक छ, हुन्छ ।”

त्यो दिन उनको जिन्दगीको टर्निङ पोइन्ट बन्यो । चलचित्र थियो, ‘माला’ । हिरोइन थिइन्– प्रियंका कार्की । हिरो थिए– आर्यन सिग्देल ।

खोइ किन हो, त्यहाँ उनले इन्ज्वे गरिन् । जो हेरे पनि आफू जस्तै देख्ने रमाइलो लाग्ने । त्यहीँ उनले थाहा पाइन्, मेरो क्षेत्र यही रहेछ । मलाई खुसी यहाँचाहिँ लाग्ने रहेछ भन्ने पहिचान गरिन् । 

दुई घण्टामै उनको छायांकन सकियो । ५ हजार रुपैयाँ पाइन् । बहिनीलाई साथी लगेकी थिइन् । उनले पनि सानो सिन पाएकी थिइन्, दुई हजार रुपैयाँ पाइन् । काम दिउँसै सकिए पनि रातिको सुटिङ हेर्न उनी बहिनीलाई लिएर मह स्टुडियो पुगिन् । 

अझै अगाडि फर्किइन् लक्ष्मी, एसएलसी दिएर बसेका बेला पत्रिकामा विज्ञापन हेरेर बानेश्वरको एउटा इन्स्टिच्युट पुगिन् । तर त्यहाँ काम भएन । सबैतिर ठगैठग हुन्छन् कि क्या हो ? उनलाई दिक्क लाग्यो । भलै त्यहीबेला उनले ‘मिठो सम्झना’ टेलिचलचित्रमा काम गरिन् । 

० ० ०

नाटकमै फर्किइन् उनी । नाटकमा खासै ठूलो रोल थिएन । स्वर र डेलिभर गर्ने तरिका मन पराएका थिए । चलचित्र ‘माला’ लकले पाएकी थिइन् । सधैं लक लाग्ने कुरा भएन । नाटक पनि सकिन लाग्यो । 

अब गर्ने के ? छटपटी हुन थाल्यो । मण्डला थिएटरका सोमनाथ खनाललाई भनिन्, “मण्डलामा मलाई भोलेन्टियर काम गर्छु, मिलाइदिनुपर्‍यो ।” 

उनले भने, “हाम्रो पास आउट विद्यार्थीले मात्रै भोलेन्टियर गर्न पाउँछ । त्यही पनि म बोर्डमा कुरा राखौंला ।”

लक्ष्मीलाई आसै मर्‍यो ।

घरमै बसिरहेकी थिइन् । सिर्जना सुब्बाले चलचित्रमा भन्दिन्, सानो रोल थियो । अभिनय गरिन् ।

विडम्बना ! त्यो चलचित्र आजसम्म रिलिज भएको छैन । 

त्यसको केही समयपछि उनलाई अर्को चलचित्रबाट अफर आयो । भलै कुरा मिलेन । फर्किंदा उनी मण्डला पसेर जाउँ भनेर छिर्दै थिइन् । हतारमा निस्किँदै गरेका राजन खतिवडाले उनलाई भने, “भोलेन्टियर गर्छु भन्ने अनि हराउने, नम्बर पनि छैन । त्यहाँ अडिसन भइरहेको छ, चिट काटेर भित्र छिरिहाल ।”

केको चिट् काट्ने, केको अडिसन हो थाहा छैन । तै पनि सय रुपैयाँको चिट काटेर उनी भित्र पसिन् । अडिसन पनि दिइन् । तर केको अडिसन हो थाहा थिएन । बाहिर निस्किएर साधिन् । तेस्रो ब्याचका लागि अडिसन रहेछ । सुनील पोखरेलले कक्षा लिँदै रहेछन् । 

“पैसा कति ?”

“२० हजार ।”

त्यतिका पैसा उनीसँग थिएन । भनिन्, “मेरा लागि यो ठूलो अमाउन्ट हो ।”

राजनले भने, “ठीकै छ । सक्छौ भने आधा मात्रै देऊ ।”

‘सक्छौ भने’ भन्ने शब्दले उनलाई दबाबको महसुस गरिन् । 

तर त्यो १० हजार रुपैयाँ पनि उनका लागि कम थिएन । उनी मण्डलामा कक्षा लिन आउँदा घरमा जागिर गरिरहेको छु भनिरहेकी थिइन् । साथीले सहयोग गर्‍यो । 

० ० ०

कक्षा लिँदै उनले ‘सुनकेशरी’ नाटकमा अभिनय गरिन् । कक्षा सकिए पछि लगातार नाटक गरिन्– ‘जार’, ‘माथापञ्चर’, ‘कथा एक्सप्रेस’, ‘रमाइलो’, ‘युमा’, ‘उपियाँको निबन्ध’, ‘१२ दुर्वाशा’ । 
चलचित्रको हुटहुटीले उनी नाटकमा आइपुगिन् । तर त्यसपछि उनको मन त्यहीँ अडियो । नाटकमै सारा जिन्दगी बिताइदिन्छु भन्न थालिन् । 

उकाली, ओराली र भञ्ज्याङ चौतारीको यात्रा सुरु भयो । आवश्यकता र अभावको सामना गर्न थालिन् । जिन्दगी भनेजस्तो सहज थियो र ? थिएन । 

अनि उनले महसुस गर्न थालिन् नाटकमा मात्रै बसेर हुँदैन । चलचित्रमा पनि काम गर्नुपर्छ ।

० ० ०

एक दिन उनलाई फोन आयो निर्देशकको । भनेका थिए, “लक्ष्मी तिम्रा लागि एउटा क्यारेक्टर निस्किएको छ । आएर स्क्रिप्ट लिएर जाऊ ।”

कहिले कुरा नभएको तर मनपर्ने निर्देशकको फोन थियो । निर्देशक थिए, रामबाबु गुरुङ । चलचित्र थियो, ‘घामपानी’ । निर्देशन गर्दै थिए– चलचित्रका अणु–अणु केलाउने समीक्षक दीपेन्द्र लामा । 

पहिले पनि रामबाबुको त्यो फोन कल सम्झिँदा उनी फुरुङ्ग देखिन्थिन् । सुरुवाती समय । राम्रो क्यारेक्टर । राम्रै पारिश्रमिक । खुसीखुसी जोडिएकी थिइन् लक्ष्मी ‘घामपानी’ मा । सानै क्यारेक्टर भए पनि उनलाई धेरैले नोटिस पनि गरे त्यो चलचित्रबाट ।

त्यसपछि उनले काम गरिन्– मिस्टर झोले, जालो, राजारानी, नीरफूल, बुलबुल, सेल्फी किङ, प्रेम गीत ३, हरि, डमरुको डन्डिबियो आदि । भलै यीमध्ये सेल्फी किङ, प्रेम गीत ३ र नीरफूल रिलिज हुन बाँकी छन् । 

यीमध्ये उनलाई मन परेको चलचित्र हो– बुलबुल । रामराजा दाहालले फोन गरे । निर्देशक विनोद पौडेललाई भेटाइदिए । विनोद धेरै नबोल्ने । परैबाट अब्जर्भ गर्ने । 
विनोदले चलचित्र बनाउन लागेको भन्दै स्टोरी सुनाए । 

लक्ष्मीले भनिन्– दाइ म स्टोरी सुनेको भरमा काम गर्दिनँ । धैरैपटक डुबेको छु । मलाई स्क्रिप्ट नै चाहिन्छ । अनि मात्रै निर्णय दिन सक्छु । तर विनोदले कुरा गरेको सुनेरै उनलाई लागेको थियो पक्कै पनि राम्रो होला । अरूसँग उनले गरेको कुरा सुनेर पनि उनले पक्कै यो टिम राम्रो छ भन्ने उनको अनुमान थियो । 

स्क्रिप्ट लिएर घर गइन् । पल्टाएर जब हेर्न थालिन् । उनी सक्ड भइन् । यस्तो पनि स्क्रिप्ट हुन्छ ? फाइन स्क्रिप्ट थियो । अक्सर हरेक चलचित्रका स्क्रिप्ट परिवर्तन हुन्छन् । तर ‘बुलबुल’ को त्यही स्क्रिप्ट छायाङ्कन भयो, जुन स्क्रिप्ट पहिलो दिन उनको हातमा पर्‍यो । उनी भन्छिन्, “१७ पटकसम्म स्क्रिप्ट परिवर्तन भएको मैले भोगेकी छु ।”

उनले सरर स्क्रिप्ट पढिन् । श्रीमान्लाई सुन है म सुनाउँछु भनिन् । सुरुमा पर्दैन हो तिमी नै पढ भनेका उनले लक्ष्मीले पढ्न थालेपछि उनले चाईं चुँ नगरी एकै बसाइमा पूरै स्क्रिप्ट सुनेर भने, “यो स्क्रिप्टअनुसारको फिल्म बन्यो भने यो इतिहास हुन्छ ।”

लक्ष्मीले विनोदलाई भनिन् – म चलचित्र साइन गर्छु ।

विनोद : लक्ष्मी तिम्रो क्यारेक्टरको सिन बढाउनुपर्छ ?

लक्ष्मी : सिन थप्नु पर्दैन । मलाई समय दिनुभयो भने क्यारेक्टरचाहिँ बनाउँछु । 

वास्तवमा विनोदले लक्ष्मीलाई तौलेका पो रहेछन् । सिन बढाइदिनुपर्‍यो भनेको भए उनले लक्ष्मीलाई टिमबाट पाखा लगाउने रहेछन् । पछि थाहा पाइन् उनले ।

त्यस्तै अर्को घटना पनि सुनाइन् उनले, “दाइले मलाई अडिसन दिन सक्नुहुन्छ भन्नुभयाे ?” 

लक्ष्मी : हुन्छ । दाइ किन नहुनु । 

“त्यो नै मेरो अडिसन रहेछ । पछि पो विनोद दाइले मलाई भन्नुभयो,” उनले सुनाइन् । 

उनले क्यारेक्टर बनाउनु थियो । तर विनोदले बाटो देखाइदिएका थिए । कोरेको बाटोमा हिँड्नु थियो । उनैले टेम्पो चालक भेटाइदिए । गाडी चलाउँथिन् । त्यसैले टेम्पो सिक्न गाह्रो भएन । बिहान जाँदा अर्कैले चलाएको टेम्पो फर्किँदा लक्ष्मी आफैंले चलाइन् । तीन दिनमा त पूरै सिकिसकेकी थिइन् । 

क्यारेक्टरका लागि हिँडेको १५ दिन भइसकेको थियो । तर स्क्रिप्टअनुसार ती टेम्पोचालिका भेटिइनन् । उनले विनोदलाई भनिन्, “अब अरू नै खोज्नुपर्‍यो ।” 

विनोदले फेरि अर्को टेम्पोमा लगिदिए । रुट थियो रत्नपार्कदेखि स्वयम्भू । 

० ० ०

‘बुलबुल’ चल्यो । लक्ष्मीको क्यारेक्टर लोकप्रिय भयो । उनको कामको उच्च प्रशंसा भयो । सबैले तारिफ गरे । 

लक्ष्मीले सोचिन्– अब कामको के खाँचो ? 

तर आज पनि आएन । भोलि पनि आएन । पर्सि पनि आएन । महिना बित्यो । ६ महिना बित्यो तर अफर आएन ।

किन ? 

अफरै नआएको त होइन । तर जतिले अफर गरे ती हेरिनसक्नुका स्क्रिप्ट थिए । सबै भल्गर । ‘बुलबुल’ मा केही संवाद थिए, केही छाडा हुन् कि लाग्ने । तर ती सिचुएस्नल थिए । “सायद मेकरहरूलाई लाग्यो यसले जस्तो पनि चलचित्र गर्छे,” ती स्क्रिप्ट सम्झिँदा लक्ष्मीको मुहारमा अहिले पनि उत्तिकै रिस प्रतीत भइरहेको थियो, “यदि ग्रेड छुट्याउने हो भने ती चलचित्र एफतिर पर्छन् होला ।”

त्यसपछि उनलाई अफर आयो, ‘सेल्फी किङ’ बाट । उनले गरेका मध्ये राम्रो लागेको स्क्रिप्ट पनि हो ।

अफर थोरै आयो होला । तर राम्रा चलचित्रबाट आयो । उनको कार्यक्षमताको मूल्यांकन भयो । मेकर होस् अथावा मिडिया हुन् आज उनलाई गर्ने व्यवहारमा १८० डिग्रीको परिवर्तन आएको छ । 

तस्बिर : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC