नेता पौडेलको प्रश्‍न - कार्यकर्तालाई अरिंगाल बनाएर जनतालाई डस्‍न लगाउनु लोकतन्त्र हो ?

नेता पौडेलको प्रश्‍न - कार्यकर्तालाई अरिंगाल बनाएर जनतालाई डस्‍न लगाउनु लोकतन्त्र हो ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई बहुमतको आडमा संविधान नमिच्‍न सुझाव दिएका छन् । 

जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले मंगलबार काठमाडौंको बत्तिसपुतलीमा आयोजना गरेको ‘लोकतन्त्रको संस्थागत विकासमा देखिएका चुनैतीहरु’ विषयक विचार गोष्ठिमा नेता पौडेलले सरकारलाई बहुमतको आडमा संविधान नमिच्‍न सुझाव दिएका हुन् । 

"बहुमतले संविधान मिच्न पाइँदैन । बहुमत सर्वेसर्वा होइन । बहुमत अंकगणित हो, समिकरण होइन । यो बहुमतले सबै जितेको होइन,  आंशिक जितेको हो," उनले भने । 

फरक मतलाई स्वीकार्य गरेर आफ्‍ना कमीकमजोरी केलाउनेलाई धन्यवाद दिएर आफू सच्चिनु नै लोकतन्त्र भएको जिकिर गर्दै नेता पौडेलले प्रधानमन्त्री केही शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिंगाल बन्‍न दिएको निर्देशनप्रति आपत्ति जनाए । 

"लोकतन्त्र भनेको यो हो, जसले फरक मतलाई स्वीकार गर्छ । जसले आफ्नो कमजोरी केलाउनेलाई धन्यवाद दिएर आफू सच्चिने काम गर्छ," उनले भने, "तर, ओलीजीको लोकतन्त्रमा प्रधानमन्त्रीको कुर्सीमा बसेर अरिंगाल भएर विरोधीलाई डस्नु भनेर भनिन्छ । अरिंगाल बनेर डस्नु भनेको के हो ? बन्दुक दिएर बन्दुक हान्न लगाएजस्तै होइन ?"

नेता पौडेलले प्रधानमन्त्रीको कुर्सीमा बसेर आफ्नै जनता डस्‍न लगाउन नमिल्ने पनि प्रस्ट्याए । ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर आफ्नै जनतालाई डस भनेर भन्न मिल्छ ?," प्रश्न गर्दै उनले भने, "सञ्चारमन्त्रीजी भन्नुहुन्छ सरकारविरोधीलाई ठाउँको ठाउँ ठेगान लगाउ । राज्यको तलब खाएर राज्यको जिम्मेवारी बहन गरेर जनतालाई ठेगान लगाउ भनेर भन्न पाइन्छ ?"

दुईतिहाइको दम्भले सरकारमा पञ्‍चायतजस्तै लोकतन्त्रविरोधी गन्ध आइसकेको नेता पौडेलको टिप्पणी थियो । सरकार ल्याएका विभिन्न विवादस्पद विधेयकहरुको उदाहरण दिँदै उनले तीनै विधेयकका कारण सरकारमा पञ्‍चायतजस्तै लोकतन्त्रविरोधी गन्ध आएको दाबी गरे । 

नेपालमा लोकतन्त्रको विकल्प खोज्नेलाई समाप्त गर्नु कांग्रेसको धर्म भएको युवा नेता पौडेलको भनाइ थियो । "सबै कुराको विकल्प हुन्छ तर लोकतन्त्रको विकल्प हुँदैन । लोकतन्त्र निर्विकल्प हो," उनले भने, "नेपालमा लोकतन्त्रको विकल्प जसले खोजिरहेको छ, त्यसलाई समाप्त गर्नु हाम्रो धर्म हो । सधैका भरी लोकतन्त्रका लागि लड्नु पर्ने हाम्रो नियत स्थापित गर्नेहरुलाई अब नेपालको राजनीतिबाट समाप्त गर्न आवश्यक छ ।"

नेता पौडेलले सरकारका भ्रष्टाचारमा चुर्लम्मै डुब्दा पनि कांग्रेस मौन बसेको भन्दै आपत्ति जनाए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई वाइडबडी विमान प्रकरणको छानबिन र नेपाल ट्रस्टको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नतानेसम्म संसद अवरुद्ध गर्न पनि आग्रह गरे । 

"म मेरो नेतृत्वलाई आग्रह गर्न चाहन्छु, वाइडबडीको छानबिन नभएसम्म संसद बन्द गर्नुस् । यति होल्डिङ्स र नेपाल ट्रस्टको  फाइल अख्तियारले नतानेसम्म संसद बन्द गर्नुस्," नेता पौडेलले भने, "भ्रष्टाचारको मुद्दामा हामी जति प्रभावकारी ढंगले उपस्थिति हुनुपर्ने हो उपस्थित हुन सकेका छैनौं ।"
 

प्रतिकृया दिनुहोस
ad