रेखा थापा
चलचित्र क्षेत्र डुब्लिकेट संसार, हेर्दा एकदम चमकधमक, रंगिन, मगमगाउँदो देखिन्छ तर वास्तवमा सुगन्धहीन छ ।
चलचित्र क्षेत्रमा प्रवेश गर्न चाहने नवआगन्तुकहरूको रहर र क्षमता एकदमै फरक छ । हामी रहर त बोक्छौँ । मलाई सानोमा टिभी हेर्दा हिरोइन देखें भने हिरोइन नै बन्न मन हुन्थ्यो भने पत्रकार देख्दा त्यही बनुँ जस्तो लाग्थ्यो । हरेक व्यक्ति यो अवस्थाबाट गुज्रेकै हुन्छ ।
तर, त्यो रहर हुनु र क्षमता फरक कुरा हुन् । म फलानो जस्तो बन्छु भनेर क्षमताबिना रहर बोकेर आउनेहरू ‘नियत’ को सिकार भई सम्झौता गर्न बाध्य हुन्छन् ।
यहाँ चलचित्र बनाउने महिला पात्रहरू पनि सक्रिय छन्, ती महिलापात्रहरूले पुरुष कलाकार पनि ल्याएका छन् । मैले आफैंले रेखा फ्लिम्सबाट कैयौँ हिरोहरू जन्माएँ ।
तर एउटा महिलाको दृष्टिकोणबाट त्यो पुरुष कहिले ‘भिक्टिम’ हुँदैन र छैन ।
महिलामात्रै होइन पुरुष पनि सिकार
यहाँ महिलाको मात्रै सवाल छैन । महिला यौनका कारण शोषित हुन्छिन्, भने नव आगन्तुक पुरुषपात्र आर्थिक शोषणमा परेका छन् । हामी यो पाटोमा पनि छिट्टै किताब हेर्न चाहन्छौं । महिला पुरुषबाट पीडित भएका भयावह दृश्य एकातिर छन् अर्कोतिर पुरुष पनि महिलाबाट पीडित छन् ।
धेरै पुरुषहरूले मलाई प्रश्न गर्नुहुन्छ तपाईं किन महिलाका कुरामात्रै उठाएर हिंड्नु हुन्छ ? पुरुषको कुराको सुनुवाइ कहिले हुन्छ ?
म महिल हुँ तथापि पुरुषका पनि कुरा गर्न चाहन्छु । किनभने म जेन्डरकोे आधारमा भन्दा पनि क्षमतामा विश्वास गर्ने व्यक्ति हुँ ।
हिंसामा महिलाबढी देखिन्छन् किनभने पुरुषले बोल्दैन । तर, दुवै बराबर पीडित छन् ।
यो किताब पढ्दै जाँदा ‘भिज्वलाइजेसन’ हुन्छ । पढिरहँदा कति पात्र म नै हो कि भन्ने पनि महसुस भयो ।
सफलताका साथै सुरक्षाको चुनौती
म यो क्षेत्रमा आएको लगभग १९ वर्ष भइसकेको छ । मेरो अनुभव अनुसार यो क्षेत्रमा महिलालाई सफलता सँगसँगै सुरक्षाको चुनौती पनि उतिकै हुन्छ ।
एउटा पुरुषले संघर्ष गर्दा उसलाई सुरक्षाको चुनौती हुँदैन । तर, महिलालाई पहिलो कुरा नै सुरक्षित कसरी हुने भन्ने कुराले सताइरहेको हुन्छ ।
चलचित्र क्षेत्रको मात्रै कुरा नगरौँ । राजनीतिक क्षेत्रमा पनि महिलाहरू असुरक्षित छन् । उनीहरू शृङ्गारिक वस्तुका रूपमा परिचालित छन् ।
हाम्रो चलचित्र क्षेत्रमा त ‘डबल स्ट्यान्ड’ छ । चलचित्रले बलात्कार, महिलाहिंसाविरुद्ध आवाज उठाउँछ । फेरि पनि महिलामाथिको दृष्टिकोण त त्यही छ । तपाई जुन ‘नियत’ ले अर्काको छोरीचेलीलाई हेर्नु हुन्छ आफ्नालाई त त्यो नियतबाट हेर्नु हुन्न ? मेरो प्रश्न यो समाजसँग छ ।
मैले लेख्ने कथा, मैले हेर्ने दृष्टिकोणमा महिला जहिले पनि हिरो नै हुन्छ ।
महिलाहरू आफ्नो काम र क्षमताका कारण चिनिनु पर्छ । छोरी मान्छेहरू स्वअस्तित्वमा बाँच्नु पर्छ भन्ने मेरो मान्यता हो । कसैको नाम र दामले बाँच्नुपर्छ भन्ने छैन ।
पहिरन र चरित्र चित्रण
पहिरनको आधारमा मान्छेको चरित्र मूल्यांकन गर्नु एकदमै गलत हो । किनभने साधारण कुर्तासुरवाल भित्र पनि चरित्र अलग हुन सक्छ । त्यसैकारण पहिरनले मान्छेको चरित्र झल्काउँदैन ।
मैले पहिरनकै कारण शोषणको सिकार त हुनु परेन । तर, गसिपका रूपमा भने ‘कि रेखाको चल्छ, कि देखाको चल्छ’ भनेर गाइजात्रामा कमेडियनहरूले उडाउनु भएकै हो ।
कलाकारहरूको वैवाहिक सम्बन्ध नटिक्नुको कारण
त्यो जुनै क्षेत्रका व्यक्तिहरूमा पनि हुन्छ । तर, प्रकाशमा हामी बढी आउँछौं । यो एउटी अभिनेत्रीलाई बुहारीका रूपमा स्वीकार गर्न नसक्ने हीन भावनाको उपज हो ।
स्वस्तिमा खड्का
यो उद्योग पुरुषका लागि रंगिन होला,
महिलाका लागि रंगहीन छ ।
यो पहिलो वाक्य पढ्न बित्तिकै म एकछिन मौन भएँ ।
म अहिले जुन स्थानमा छु त्यो स्थानमा बसेर मैले यी कुराहरू सोच्न छोडेको हो कि भन्ने महसुस भयो मलाई ।
मलाई यो पहिलो वाक्यबाटै यो किताब पढ्न यति धेरै आतुर बनाइसकेको थियो ।
हामी स्क्रिप्ट पढिराख्ने बानी भएर पनि होला, किताब पढ्दैगर्दा कहिंकतै आफूलाई पनि देखिरहेको थिएँ । चौथो च्यापटरमा त म आफूलाई ‘रिलेट’ पक्कै गर्न सक्छु होला । त्यहाँ पुगेपछि म एकदमै चकित भएँ । साथै को होला त्यो पात्र भनेर जान्ने इच्छा एकदमै जाग्यो थियो । तर, मैले सोध्न पक्कै मिल्दैन ।
मैले किताबमा रहेका पात्र जत्तिको परिस्थित त पक्कै भोगेको छैन । तर, यसको मतलब यो होइन कि मैले केही अप्ठ्यारो परिस्थितिको सामना गर्नै परेन ।
यही क्षेत्रमा काम गर्ने भएपछि यस्ता कुरा सुनिरहेको हुन्छु । मेरो कुरा गर्नुपर्दा म निकै भाग्यमानी छु जस्तो लाग्छ । मेरो पहिलो प्राजेक्टमै मैले प्राफेसनल र आफूभन्दा सिनियर व्यक्तित्वहरूसँग काम गर्ने मौका पाएँ ।
भिडियोमा काम गर्दाको संघर्षका बेला कति जनाबाट सामाजिक सन्जालमा अनावश्यक म्यासेजको सामना गर्नुपथ्र्यो । ‘‘मैले तिमीलाई भिडियोमा मौका दिएँ भने तिमीले त्यसको बदलामा यो गर्नुपर्छ ।’’
नियत अर्कै राखेर नजिकिने फ्यान
म हेर्दा अलि छुच्ची देखिन्छु त्यही कारण मसँग अप्रोच गर्न अलि डराउँछन् नै । तर, पनि कहिलेकाहीँ भने फ्यानको नाममा मसँग फोटो खिच्ने बाहनामा शारीरिक रूपमा नजिकिन खोज्नेको सामना भने गरेकी छु । यही क्षेत्रका कतिपयबाट पनि जानअन्जानमै ‘फिजिकल अब्युज’ महसुस गरेकी छु । म त्यही समय प्रतिवाद गर्छु ।
चलचित्रको भूमिका अनुरुप अभिनेत्रीको चरित्र चित्रण
पर्दामा जुन क्यारेक्टरमा अभिनेत्री देखिन्छे त्यहीअनुसार उसको वास्तविक क्यारेक्टरको मूल्यांकन गरिदिने प्रवृत्ति समाजमा विद्यमान छ । मैले देब्यु चलचित्रमा अलि बोल्ड भूमिका गरेँ या त छुच्चीको भूमिका निभाएँ भने मलाई दर्शकले त्यही नजरबाट हेर्नुहुन्छ जिन्दगीभरि नै ।
अभिनेत्रीसँगको सम्बन्ध देखाएर आफूलाई प्रचार गर्नेको पनि यहाँ अभाव छैन ।
मिडियामा अभिनेत्रीको पहिरनको कुरा धेरै आउँछ । हाम्रा काम छायामा परिरहेका छन् । चलचित्रमा कस्तो काम ग¥यो भन्दा पनि कुन कार्यक्रममा कुन लुगा लगायो भन्ने धेरै हुन थाले ।
पहिरनले व्यक्तिको चरित्र चित्रण गर्ने कुरामा हामी एकदमै कपटी छौँ जस्तो लाग्छ ।
लक्ष्मी बर्देवा
कास्टिङ काउचको सिकार
यो किताब पढेपछि मैले आफ्नै केही अनुभवहरू रिकल गर्ने मौका पाएँ । जसले मलाई पछि कसरी यी कुराबाट सतर्क हुने भन्ने सिकायो ।
किताबका कति पात्रहरू करियर बनाउने क्रममा पाएका यस्ता नमिठा भोगाइले यो क्षेत्रबाट टाढिनु भएको छ । म यसप्रति सकारात्मक छु ।
यो क्षेत्रमा नराम्रो मान्छे त छन् नै त्यसको अनुपातमा राम्रो मान्छेहरू पनि छन् नै भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो ।
त्यस्तो खराब नियत भएकाहरू कमै छन् । मलाई जुन चलचित्रका लागि मौका दिन्छु भनेर त्यस्तो प्रस्ताव गरिएको थियो त्यसमा अरू नव अभिनेत्रीहरू पनि थिए । मलाई जस्तै उनीहरूलाई पनि त्यस्तै प्रस्ताव आयो कि आएन भन्ने कुराले भने बिझाइ रह्यो ।