site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कुटेर घाइते बनाएपछि टिपरले किचेर हत्या
Ghorahi CementGhorahi Cement

दिलिपको हत्यामा संलग्न आशंकामा पक्राउ परेका अभियुक्तहरु । तस्बिरः बाह्रखरी


जनकपुर । शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका –५ स्थित औरही खोलामा ट्रिपरले किचेर मृत्यु भएको भनिएको युवकलाई कुटेर हत्यागरी टिपरले किचेको निष्कर्षमा प्रहरी पुगेको छ ।

शुक्रबार बिहान करिब साढे चार बजेको समयमा खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका स्थानीय २४ वर्षीय दिलिप भन्ने ओमप्रकाश महतोलाई ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर मारेको थियो । 

Agni Group

खोलामा भइरहेको अवैध उत्खनन् विरुद्ध बारम्बार आवाज उठाउँदै आएका दिलिपलाई त्यहाँस्थित क्रसर उद्योगकै सञ्चालकको निर्देशनमा हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको हो । 

घटनामा संलग्न अभियोगमा प्रहरीले औरही खोला नजिकै सञ्चालित चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक स्थानीय २७ वर्षीय विपिनकुमार महतो, घटनामा प्रयोग भएको ट्रिपरका चालक महोत्तरी, बर्दिबास नगरपालिका –९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, सोही नगरपालिका वडा नम्बर २ बस्ने अनटेस्ट लोडरका चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र स्थानीय २७ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरिएको छ । 

Global Ime bank

उनीहरुलाई शनिबारै राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । 

घटना अनुसन्धानको क्रममा तत्काल ट्रिपरको ठक्कर लागेर मृत्यु भएको भनिएका दिलिपलाई नियन्त्रणमा लिएर फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाइएको र त्यसपछि खोलामा सुताएर उक्त ट्रिपरले किचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए । 

“घटनाको प्रकृति देख्दा पनि समान्य दुर्घटनामा मृत्यु भएको भन्न सकिने अवस्था थिएन,” पत्रकार सम्मेलनमा एसपी बस्नेतले भने, “घटनाको तहगत अनुसन्धान गर्दै जाँदा नियन्त्रणमै लिएर घाइते बनाएपछि किचेर मारेको देखियो । थप अनुसन्धानको क्रम जारी रहेको हुँदा अझ प्रमाणहरु फेला पर्न सक्छ ।”

कसरी भयो घटना ?

मिथिला नगरपालिका –५ का वडा अध्यक्ष श्यामबाबु यादवका अनुसार शुक्रबार बिहान करिब सवा चार बजे बिहानै दिलिपले उनलाई फोन गरी घर नजिकैको चोकमा बोलाए । 

वडा अध्यक्ष श्यामबाबु मोटरसाइकल लिएर पूर्व–पश्चिम राजमार्गस्थित श्रीपुर चोकमा पुगे । 

दिलिपले स्थानीय रोशन यादवलाई पनि फोन गरेर त्यहीँ बोलाएका रहेछन् । तीनैजना घर नजिककैको उक्त चोकमा भेला भएपछि दिलिपले औरही खोलामा रातभर अवैध उत्खनन् भइरहेको आवाज सुनेको भन्दै रोक्नका लागि जानुपर्ने बताए । 

श्यामबाबुका अनुसार सुरुमा उनले अँध्यारोको समयमा त्यसतर्फ नजान सुझाए ।  तर, दिलिपले कर गर्न थालेपछि श्यामबाबुले मोटरसाइकलमै जान सुझाए । 

दिलिपले मर्निङ वाक गर्दै जान कर गरेपछि हिँडेरै त्यहाँसम्म पुग्ने निचोडमा पुगेछन् ।  त्यतिकैमा श्यामबाबुलाई उनको घर नजिक अपरिचित मोटरसाइकल पार्किङ गरिएको भन्दै घर पुग्न फोन आयो, उनी फर्के । 

यता, रोशन र दिलिप डोजरले खोला खोस्रिरहेको ठाउँसम्म पुगेछन् । 

वडा अध्यक्ष श्यामबाबुका अनुसार केही बेरमै दिलिपले फोनगरी आफुमाथि हातपात भएको बताएछन् ।  त्यसको केही मिनेटमै रोशनले पनि श्यामबाबुलाई नै फोनगरी दिलिपको टाउकोमा टिपरको चक्का चलाएर मारेको बताएछन् । 

श्यामबाबु भन्छन्, “म हस्याङफस्याङ गर्दै बाइक कुदाएर घटना स्थल नजिकै पुगेँ । अझै अँध्यारो नै थियो । दिलिप र रोशनलाई भेटेनौं । फेरि रोशन...रोशन... भनि कराएपछि रोशनले आवाज फर्काए र घटना भएको ठाउँमा पुग्दा विक्षिप्त भएँ ।”

लगत्तै इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक रामकुमार यादव र मृतक दिलिपका बाबुलाई फोन गरी घटनाबारे खबर गरेको श्यामबाबुले सञ्चारकर्मीलाई बताए ।

खबर गरेको करिब १५ मिनेटपछि घटनास्थलमा पुगेको प्रहरीले तत्कालै बर्दिबासतर्फ कुदाउँदै लगिरहेको ना ७ ख ६४१३ नम्बरको टिपर चालकसमेतलाई ढल्केवरदेखि पश्चिमस्थित राजमार्गबाट नियन्त्रणमा लियो । 

यता, घटनास्थलमा स्थानीयका भीड बढ्न थालेको थियो । ढिलो भए स्थानीयमा बढ्दै गइरहेको आक्रोसले जे पनि हुन सक्ने सम्भावना देख्न थालेपछि तत्काल मृतकलाई एम्बुलेन्समा राखेर जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइदिएको प्रहरी निरिक्षक यादवले बताए । 

तर, मृतक पक्षका आक्रोशित भीडले प्रहरीले घटना लुकाउन खोजेको भन्दै राजमार्गमा चक्काजाम गरी प्रदर्शन गर्न थाले । 

केहीबेरपछि प्रहरीले बल प्रयोगगरी राजमार्ग सुचारु त गरायो तर, मृतक पक्षको अडानको कारण शुक्रबार दिनभर शवको पोष्टमार्टम हुन सकेको थिएन । 

क्रसर सञ्चालकको विरोध गर्दा होनहार युवक मारिएको र प्रहरीले घटना ढाकछोप गर्न सघाएको भन्दै प्रहरी निरीक्षकसमेतलाई कारवाहीको माग गर्दै उनीहरुले शवको पोष्टमार्टम हुन रोकेका थिए । 

घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनको प्रतिबद्धतापछि शनिबार अपराह्न करिब चार घण्टा लगाएर चार जना चिकित्सकको टोलीले शवको पोष्टमार्टम गरिएको छ । 

शवको एक्सरे र सिटीस्क्यानसमेत गरिएको थियो । साँझ शवको पोष्टमार्टम सकिएलगत्तै प्रहरीले पत्रकार सम्मेलनवारे सञ्चारकर्मीहरुलाई खबर पठाइयो । 

राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा क्रसर सञ्चालकसमेत चार जनालाई घटनामा संलग्न आशंकामा पक्राउ गरेको प्रहरीले जानकारी दियो । 

को थिए दिलिप ?
भारतको भोपालमा इन्जिनियरिङ पढ्ने मिथिला, श्रीपुरका दिलिप होनहार युवक थिए । 

अन्तिम सेमेष्टरमा अध्ययनरत दिलिप बिदामा घर आउँदा हरेकपटक नजिकैको खोलामा भइरहेको अवैध उत्खनन् कार्यको कडा विरोध गर्थे । गाउँकै क्रसर सञ्चालक र त्यसमा काम गर्ने व्यक्तिहरुसँग उनको झगडा पर्थ्यो तर, उनले विरोध गर्न कहिल्यै छाडेनन् । 

शुक्रबार बिहानै क्रसर क्षेत्रमै उत्खनन् भइरहेको आवाज सुनेपछि अवरोध गर्न उनी त्यसतर्फ लागेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC