स्कुल जीवनमा जंगलको राजा अर्थात् नेता सिंह हो भनेर पढियो । मनमा प्रश्नहरू उठ्थे हैन यो सिंह जंगलको राजा कसरी भयो ? सिंहभन्दा ठूलो त हात्ती हुन्छ, सिंहभन्दा अग्लो जिराफ हुन्छ, सिंहभन्दा बुद्धिमान खरायो हुन्छ । त्यस्तै त्यस्तै प्रश्नसंगै थप प्रश्न मनमा उठ्थ्यो । न सबभन्दा ठूलो हो न सबभन्दा अग्लो हो न सबैभन्दा बुद्धिमान, तैपनि सिंह जंगलको राजा कसरी भयो ?
चराचुरुङ्गी जगत्को राजा चील रे ! सबैभन्दा बाठो र । मीठो आवाज भएको कोइली, ठूलो ज्यान भएको अष्ट्रिज, अमृत खाएको चरा काग, अँध्यारोमा आँखा देख्ने उल्लु........ यस्तै यस्तै छन् । तैपनि, न सबैभन्दा ठूलो, न सबैभन्दा बाठो, न मीठो आवाज भएको चील चराहरूको राजा कसरी भयो ?
सायद सिंहको मनोवृत्ति, सिंहावलोकन, उसको अन्दाज, तौरतरिका आदिबाट र पानी पर्दा सबै चरा गुँड खोजेर रुमल्लिँदै गर्दा चील चाहिँ बादलभन्दा माथि उँड्ने मनोवृत्ति र एउटा उमेर पार गरेपछि ठुँड खिइएर भुत्तो भएपछि आफैँले ढुंगामा भुत्तो भएको चुच्चोलाई ठोकेरे भाँच्ने अनि अर्को चुच्चो नआउन्जेल भोक सहेर बस्न सक्ने प्रवृत्तिका कारण आआफ्नो जगत्का नेता भएका हुन् कि ?
यी त भए पशु र पंक्षी जगत्का कुरा । अब मानव जगतमा नेतालाई कसरी बुझ्ने भन्ने प्रश्न मेरो निम्ति अझै अनुत्तरित नै छ ।
सर्वप्रथम धर्मक्षेत्रका नेतालाई सम्झने हो भने हिन्दु धर्मका मुख्य अगुवा महादेव हुन् । उनका त्रिनेत्र अर्थात् ३ वटा आँखा छन् । समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष उनले आफ्नो घाँटीमा राखेर सम्पूर्ण प्राणीको रक्षा गरेको पौराणिक कथा छ । त्यस्तै बुद्ध धर्मका मुख्य प्रणेता गौतम बुद्धले तपस्या गरेर दिव्यज्ञान हासिल गरे । बुद्धत्व प्राप्त गर्दै शान्तिका अग्रदूत बने । त्यस्तै जिसस क्राइस्ट क्रिस्चियन धर्मका र अल्लाह मुस्लिम धर्मका अग्रणी हुन् ।
यी सबै धर्मका नेताहरूमा फरक फरक अलौकिक शक्ति भएको मानिन्छ तर नेता हुनु भनेको केही विशेष गुणयुक्त हुनु हो भन्ने मलाई लाग्छ । परन्तु, खासमा नेता भनेको के हो त ? मैले बुझ्न सकिरहेको छैन ।
स्कुल जीवनमा छँदै एउटा भनाइले मस्तिष्कमा छाप पारेको थियो – “साहित्यमा उभिनु पूmलबारीमा उभिनु हो भने राजनीतिमा उभिनु आँधीहुरीमा उभिनु हो ।” यस भनाइलाई आत्मसात गर्ने हो भने बहुसङ्ख्यक मान्छे पूmलबारीमै उभिन चाहन्छन् । आँधीहुरीमा त धेरै साहस भएका थोरै मान्छेमात्र उभिन्छन् । यसरी व्याख्या गर्ने हो भने नेता हुन साहसी हुनुपर्छ भनेर बुझिने भयो !
अङ्ग्रेजीमा एउटा भनाइ छ – नेता त्यो हो जसलाई बाटो थाहा छ, जसले बाटो देखाउन सक्छ र आफैँले देखाएको बाटोमा हिँड्न पनि सक्छ । अनि अर्को भनाइ छ – जसलाई आगामी निर्वाचनको भन्दा भावी पुस्ताको चिन्ता हुन्छ त्यो पात्रलाई नेता मान्ने विषयमा सहमति जुट्न सक्छ । यति भनिसकेपछि मनमा प्रश्न उठ्छ मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्नु र नेता बन्नु एउटै विषय हो त ? केही पात्रहरूलाई सम्झिउँ मदन भण्डारी, गणेशमान सिंह कहिल्यै प्रधानमन्त्री भएनन् तर उनीहरूको नाम बेचेर धेरै व्यक्ति प्रधानमन्त्री भए । केही अपवादलाई छाडेर प्रधानमन्त्री भएका धेरै मान्छे नेता भएनन् तर प्रधानमन्त्री नभएर पनि धेरै पात्रहरू वास्तविक नेता बने । चाहे महात्मा गान्धीको कुरा गरौँ अथवा मार्टिन लुथर किङको । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नेता पदको शक्तिबाट हैन व्यक्तिको शक्तिबाट हुने हो ।
यसो हो भने अब नेता बन्न चाहिने क्षमता के हो त ? पैसा भएर नेता बनिन्छ त ? त्यसो भए पार्टीलाई पैसा बुझाएर सांसद, राजदूत बनेका अपवादबाहेकका ठूला व्यापारी किन नेता नबनेका त ? भाषण गरेर नेता बनिन्छ त ? रत्नपार्कको मुकुन्दे किन नेता नबनेका त ? गुण्डागर्दी गरेर नेता बनिन्छ त ? त्यसो भए सबै गुन्डा नाइके किन नेता नबनेका त ? लेखेर नेता भइन्छ र ? त्यसो भए म पनि लेखिरहेको छु, अनि थुप्रै लेखकहरूले दिनहुँ लेखिरहेका छन् त ?
यति भनिसकेपछि अब नेता बन्ने तरिका, सिद्धान्त ठ्याक्कै यही हो भन्न सकिने स्थिति त छैन तर सामान्य मानिसको बुझाइमा नेता आवश्यकता र आकस्मिकताबाट जन्मिन्छ भन्ने विषयलाई केही हदसम्म मान्न सकिन्छ ।
नेता र राजनीतिको विषयमा चर्चा गर्दा सँगैका युवा साथीहरू सजिलै भनिदिन्छन् – म राजनीतिलाई घृणा गर्छु । भन्यो सकियो क्या मज्जा ! अनि साथीहरूको माझमा को को परिवर्तन चाहनुहुन्छ ? भन्दा सबैजना हात उठाउँछन् । अनि परिवर्तनको निम्ति को को सहभागी हुन चाहनुहुन्छ भनेर सोध्दा कोही हात उठाउँदैनन् ।
बाटोमा कोही नेता देखे भने भन्छन् – को चोर आएछ ? नेताप्रति ठूलो वितृष्णा छ जनतामा । सजिलै भनिदिन्छन् नेताहरूले देश खत्तम बनाए । जुन जोगी आए पनि कान चिरेको, सबै उस्तै चोरडाँका हुन् ।
चुनावमा तिनै नेतालाई भोट हाल्छन् र पाँच वर्षपछि चुनावमा भोट हाल्दा त्यही पाँच वर्ष गाली गरेको नेतालाई जिताउन पुरानै चुनाव चिन्ह कहाँ छ भनेर खोज्छन् । बानीव्यहोरा नबदल्ने अनि नयाँ परिणाम खोज्ने जनताको चाहना कसरी पूरा हुन्छ ? मरिलानु के छ र ? एकपटक लोभ, मोह अनि भयको मुठ्ठी खोलेर पौरखीलाई साथ दिँदा समृद्ध नेपाल निर्माणको नेतृत्व गर्नसक्ने नेता हामीले प्राप्त गर्न सक्छौँ कि ! आउनुहोस् हाम्रो परिकल्पनाको देश र नेता निर्माण गर्ने बाटोमा अघि बढौँ ।
(केन्द्रीय सदस्य, समाजवादी पार्टी, नेपाल )