site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
अभावकाबीचमा जितेको स्वर्ण हो
Sarbottam CementSarbottam Cement

‘अन्तिम समयसम्म पनि साइकलको प्रतीक्षामा थिएँ म । खेलको अघिल्लो दिन पनि साइकल नआउँदा आफ्नै साइकललाई बनाएर प्रतिस्पर्धा गर्न तयार भएँ ।’ सागको ट्रायथलनकी स्वर्ण विजेता सोनी गुरुङले खेलको अन्तिम अवस्था सम्झिइन् । ट्रायथलनमा देशलाई ऐतिहासिक स्वर्ण दिलाएकी उनले २० किलो मिटरको साइकलिङमा कयौं पटक झस्किनु पर्यो । कारण उनको साइकलको अवस्था ठिक थिएन । सोनीले साइकल मात्र होइन आफूले लगाउने कस्टुममा पनि सम्झौता गर्नुपरेको थियो । ७५० मिटर पौडी । २० किमि साइकलिङ र पाँच किमि डौड स्प्रिन्ट विधामा उनले प्रतिस्पर्धा गर्नुपर्ने थियो । सोनीलाई जति सहज पौडी र डौडमा थियो त्योभन्दा कयौं गुणा असहज साइकलिङ भयो । अभावै अभावमा पनि देशलाई स्वर्ण जिताउन पाउँदा उनी धेरै खुसी छन् । सोनीले जितेको स्वर्ण साग इतिहासमै ट्रायथलनतर्फ पहिलो हो । सागमा स्वर्णिम यात्रा र संघर्षको विषयमा सहकर्मी भुपेस उपाध्यायले सोनी गुरुङसँगगरेको कुराकानीको सम्पादित अंश :

साग कस्तो भयो ?
अविस्मरणीय भयो ।

पहिलो सागमानै स्वर्ण जित्दाको अनुभव ?
थोरै खुसी, थोरै निराशा, अनि आँसु पनि निलेको क्षण । आशा गरेभन्दा राम्रो सफलता हात पर्दा रमाइलो लाग्ने रहेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

तयारी कस्तो थियो ?
तयारी धेरै राम्रो थियो । पहिलाका खेलहरूभन्दा सागको तयारी राम्रो थियो ।

आठौं खेलकुद र साग खेल्दा के फरक पाउनुभयो ?
धेरै फरक थियो । सागमा प्रतिस्पर्धा माथिल्लो स्तरको थियो । नेपाली खेलाडी र बाहिरको खेलाडीसँग प्रतिस्पर्धा गर्दा खेल्ने तरिका नै बेग्लै भयो । आफूलाई जिम्मेवारी र दबाब पनि बेग्लै थियो । मिहिनेत धेरै लाग्यो ।

Global Ime bank

देशमा च्याम्पियन भएर नै सागमा दबाब भयो ?
पहिलो साग दबाब त हुने नै भयो । अब कस्तो हुनेहो ? एउटा बेग्लै खालको अनुभव हुने रहेछ । सागमा कसरी राम्रो गर्ने मात्र मनमा थियो । आफूलो आफूलाई हौसला दिएर जानु पर्ने । दबाब थियो । प्रतिस्पर्धी पनि बलिया नै हुन्छन् । 

ट्रायथलनमा पहिलो स्वर्ण जित्दाको अनुभव ?
पहिलो पटक देशका लागि केही दिएँ जस्तो महसुस भएको छ । खेल जीवनमा रहेर देशका लागि केही दिने चाहना सफल भयो । सही समयलाई सदुपयोग गर्दा सफलता पनि मिल्यो । ट्रायथलन र देशका लागि अझै केही गर्नुपर्छ भन्ने हौसला मिलेको छ ।

स्वर्ण जितिसकेपछि पहिले के गर्नु भयो ?
मलाई अच्चम लाग्यो । मभन्दा मेरा साथी र कोचहरू धेरै खुसी थिए । मेरा लागि त्यो क्षण गर्व गर्न लायक थियो । जहाँ मेरा कारणले म भन्दा धेरै देशवासी खुसी थिए । मैले सागमा एक स्वर्ण जित्दा मानिसहरू यति धेरै खुसी हुन्छन् भने त्यो भन्दा ठूलो काम गर्दा कस्तो हुन्छ होला ?

स्वर्ण जितेको जानकारी पहिला कसलाई दिनुभयो ?
परिवारलाई सुनाए । खासै मैले सुनाउन परेन किनकि मेरो बहिनी पनि सोही स्पर्धामा भाग लिएकी थिइन् । पहिला सबैको बधाई पाउँदै ठिक्क थियो । पछि आफैं फोन गरेर घरमा आमा, दिदीहरूलाई सुनाएँ । 

खेल्न जानुभन्दा अघि कस्तो सोच थियो ?
खेल्नुभन्दा पहिले म सधैं उत्साहित हुन्छु । सधैं रमाइ रहेको हुन्छु । आफूलाई हौसला दिन्छु । धेरै खुसीर अत्यास दुवै लाग्दैन । खेल जित्नुअघि कसैले उत्साहित गर्दा सकारात्मकहौसला मिल्छ अनि ममा धेरै ऊर्जा थपिन्छ । 

घरेलु मैदानले के फरक भयो ?
धेरै फरक हुन्छ । बाहिर खेल्दा कुन मान्छेले कसलाई समर्थन गरिरहेको छ भन्ने थाहा हुँदैन । नेपाल...नेपाल...मात्र यसको आभास नै बेग्लै ।

स्वर्ण कति विशेष छ ?
एकदमै । एक त मेरो ट्रायथलनमा देशका लागि पहिलो स्वर्ण । त्यसमाथि धेरै अभावकाबीच । ५१ स्वर्णमा एक मेरो पनि । त्यसैले खेल जीवनमा धेरै विशेष छ । 

स्वर्णको शान बचाइ राख्न चुनौती कति छ ?
धेरै छ । दोस्रो भएकी भारतीय खेलाडीले नै चुनौती दिएर गएकी छन्, अर्काे सागमा राम्रो गर्छु भनेर । अब आउने खेलमा धरै राम्रो गर्नुपर्ने हुन्छ । कुनै पनि कुरामा कमी भयो वा मैले गर्न सकिन भन्ने छैन । सबैले मबाट धेरै कुराको आशा गरेका हुन्छन् ।

स्वर्ण जिति सेकेपछि दैनिकी फरक छ ?
पोखरामा खेल खेल्दै गर्दा विदेशी पर्यटकले आफ्नी बहिनी भनेर अरूसँग चिनाउँदा भावविभोर भएँ ।मेरा परिचित हिजो कसरी बोल्थे, आज त्यसमा परिवर्तन आएको छ । बोली, व्यवहार र सम्मानमा धेरै फरक पाएकी छु । मैले गर्दा मेरो परिवार र आफन्तको दैनिकी पनि परिवर्तन भएको छ । 

सँगैका साथीहरूसँग कस्तो सम्बन्ध छ ?
खेल जीवनका साथीहरूउत्साही छन् । मीठो प्रेरणा दिन्छन् । सुखमा पनि दुखमा पनि । तिमी आफूमा जे गर्छाै राम्रो गर्छाै भन्ने साथीहरूको सदैव हौसला छ । 

अन्य देशका प्रतिस्पर्धी कस्ता थिए ?
उनीहरूको तयारी हाम्रोभन्दा धेरै राम्रो थियो । उनीहरू राम्रो पौडिवाज पनि हुन् । पौडीसँगै साइकलिङ पनि राम्रो थियो । हाम्रो साइकल पुरानो भएकाले केही समय ढिलो भयो भने धेरै समस्या आउँछ भन्ने डर तर उनीहरू त्यो डरबाट मुक्त थिए ।

अन्तिम समयसम्म स्वर्ण जित्छु भन्ने लागेको थियो ?
पौडी सकेर साइकलिङको अन्तिमतिर आउँदा चाहिँ मलाई स्वर्ण जित्छु भन्ने भएको थियो । किन भने उनीहरूभन्दा हाम्रो दौड राम्रो थियो । दौडमा चाहिँ मलै जसरी पनि जित्न सक्छु भन्ने थियो । 

स्वर्णका लागि संघर्ष कति गर्नु भयो ?
धरै संघर्ष गरेकी थिएँ। अन्तिम एक महिनामा मैले कडा तयारी गरेँ । खेल सामग्रीका लागि पनि धेरै मिहिनेत गर्नुपरेको थियो । 

 

अभावकाबीचमा पनि स्वर्ण कसरी सम्भव भयो ?
अन्तिम समयसम्म पनि साइकलको प्रतीक्षामा थिएँ । खेलको अघिल्लो दिन हामी चार जना साथी मिलेर पुरानो साइकल बनाउन गयौं । खेलको अघिल्लो दिनसम्म पनि साइकल नआउँदा पक्कै पनि खेलाडीको आत्मबलसहज हुँदैन । चार ओटा साइकल बनाउनु पर्यो । अन्तिम समयसम्म चुप लागेर बस्ने अवस्था पनि थिएन । साथीहरू मिलेर साइकल बनाउँन थाल्यौं । आफ्नो साइकल कति बेला बिग्रन्छ भन्ने डर थियो । २० किलो मिटर साइकल यात्रामा कयौं पटक साइक बिग्रने डर भयो । विभिन्न अभावकाबीच जितको स्वर्ण हो यो । अभावकैबीचमा यो सफलता हातलाग्छ भने सबै सामग्री हुँदा झन् कति सहज होला । 

नेपालमा तयारीको वातावरण कस्तो छ ?
हामीले दिने प्रदर्शन क्षमता हेर्दा त्यसका लागि यो स्तरको तयारीले पुग्दैन । योभन्दा राम्रो प्रदर्शन गर्न परेमा तयारी पनि त्यही स्तरको गर्नुपर्छ । सागसम्म त यो तयारीले पुग्ला दक्षिण एसियाली बाहेकका देशहरूसँग यो तयारीले पुग्दैन । अहिले पनि राम्रोसँग पौडी खेल्नका लागि ठाउँ छैन । अरू समयमा चिसो पानीमा पौडी खेलौंला तर जाडो महिनामा यत्तिकै बस्नु पर्छ ।

ट्रायथलनमा नेपालको सम्भावना कस्तो छ ?
व्यक्तिगत हिसाबमा हेर्दा राम्रो सम्भावना छ । शारीरिक हिसाबले बलियो भयो भने धेरै सहज छ । योसँगै तयारी र आवश्यक खेल सामग्री भएमा झनै सहज हुन्छ । तयारी स्तरीय भएमा नेपालले ट्रायथलनमा राम्रो फड्को मार्न सक्छ । 

खेलाडी हुनुमा कति गर्व गर्नु हुन्छ ?
हिजोका दिनमा सामान्य लाग्थ्यो । देशका लागि केही दिन सकेको क्षणले उत्साही बनाएको छ । एउटा खेलाडी भएको नाताले साग खेलिसकेपछि भने राम्रो लागिरहेको छ । 

आर्थिक रूपमा सुरक्षित हुनु हुन्छ ?
गुजारा चलेको छ । 

अबको खेल जीवन कसरी अगाडि लैजाने योजना छ ?
खेल सुरुआत गर्ने समयमा नै जीवन यसैमा व्यथित गर्छु भन्ने लागेको थियो । खेल प्रतिको लगावले सहज बनाएको छ । खेलमय वातावरणले नै यसमा लाग्नेछु । मैले खेलमानै लाग्छु भनेकी छु । यसलाई अन्तिम समयसम्म लिन सहज भने छैन । एक त खेलमानै लागेर जीवन गुजारा गर्न वातावरण पनि नेपालमा छैन । सबै ठाउँ हेर्नु पर्ने हुन्छ ।

खेलेरै बाच्छु भन्ने वातावरण छ ?
हा..हा.. नढाँटेर भन्नु पर्दा छैन । यो खेलमा रुचि भएको मान्छे मात्र खेल्छ । मलाई पनि खेल जीवनमा गाह्रो काम गर्न मन लागेर यो खेल रोजेकी हुँ । मलाई स्वर्ण जितेर साथै विभागीय टोलीमा भएर केही मात्रामा सहज छ । सबैलाई यो वातावरण छैन । वास्तविक रूपमा भन्ने हो भने मेरो पनि छैन । खेल नै खेलेर करियर बनाउँछु भन्ने छैन । 

खेल जीवनको सुरुआती क्षण सम्झनुस् न ।
सानैदेखि खेलमा रुचि राख्ने मान्छे हो म । पौडी पनि खेल्थें सानैमा । बढी आएको खोलामा पौडी खेल्थें । मलाई रूख चड्न धेरै मन पथ्र्यो । वरपरका रूखमा चड्ने, डौडने गर्थें । विद्यालयस्तरमा हुने खेलमा पनि धेरै ध्यान दिन्थें ।

सफल खेलाडी हुन के–के कुरामा ध्यान दिन आवश्यक छ ?
पहिलो कुरा नकरात्मक कुराबाट टाढा हुनुपर्छ । अरूले के दिएन, अरूबाट के पाइएनभन्दा पनि मैले के कुरा दिन सक्छु भन्नेमा ध्यान दिन आवश्यक छ । मैले अहिले विरोध गरेर पछिल्लो पुस्तालाई सहज भयो भने ठिकै छ । तर, यही अवस्था पछिसम्म चलिरहयो भने चाहिँ बोलेको खेर जान्छ । एउटा खेलाडीले आफूले आफूसँग प्रतिस्पर्धा गर्ने हो । आफूले पहिला कस्तो खालको प्रदर्शन गरेको छु र अहिले त्यो प्रदर्शनलाई विट गर्ने भन्ने हुनपर्छ । 

हारलाई कसरी अत्मसाथ गर्ने ?
मलाई हार्दा खासै नरमाइलो लाग्दैन । किनभने मैले आफ्नो प्रदर्शनलाई राम्रो बनाउन सकिन त्यसैले हारे भन्ने हुन्छ । अघिल्लो प्रदर्शन सहज बनाउँछु भन्ने हुन्छ । राम्रो तयारी गरेको थिएँ भने प्रदर्शन पनि राम्रो हुन्थो होला भन्ने हो । त्यसैले खेलाडीले हारलाई निराशाका रूपमा लिनुभन्दा पनि नयाँ कुरा सिक्ने अवसरका रूपमा लिनुपर्छ । हाम्रो नेपालको हिसाबमा भन्दा पराजित हुँदा तिमीले अर्काे पटक राम्रो गर्नुपर्छ भन्ने वातावरण पनि छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC