पोखरा । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय कास्कीमा आइतबार नेकपा स्थायी कमिटी सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले (अन्य) र भगवती न्यौपाने (महिला) ले मनोनयन दर्ता गराएका हुन् ।
श्रेष्ठ गत प्रतिनिधिसभा चुनावमा समाजवादी पार्टी संयोजक बाबुराम भट्टराईसँग पराजित भएका थिए । श्रेष्ठको प्रस्तावकमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र समर्थकमा प्रदेशसभा सदस्य दिलमाया रोका मगर रहेका छन् । न्यौपानेलाई प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रस्ताव र मञ्जु गुरुङले समर्थन गरेकी छन् ।
मनोनयनपछि पत्रकार महासंघ कास्कीले गरेको पत्रकार सम्मेलनमा न्यौपानेले सदस्य पदमा गण्डकी प्रदेशबाट आफ्नो उम्मेदवारी निर्णय गर्नुमा आफ्नो राजनीतिक जीवनको मूल्यांकन भएको बताइन् ।
२०४८ देखि अनेरास्ववियु, अनेमसंघ हुँदै पार्टीमा लामो समय बिताएको उनले बताइन् । व्यवस्था परिवर्तनको आन्दोलनमा निभाएको भूमिकालाई अहिले पार्टीले निर्णय गरेको उनको भनाइ छ । राजकीय भूमिका दिने अवसरका लागि उनले पार्टीप्रति आभार व्यक्त गर्दै निर्वाचित भएपछि कानुन, देश विकासको विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।
अर्का उम्मेदवार नारायणकाजी श्रेष्ठले पनि पार्टीलाई धन्यवाद दिँदै माघ ९ को निर्वाचनमा सबै मतदातालाई मतदान गर्न आग्रह गरे । देश र जनताको सेवामा समर्पित हुन, आवश्यक परिवर्तन गर्न राजनीतिमा आएको उनले बताए ।
"पद नै आवश्यक त हुँदैन तर पद जिम्मेवारीका रुपमा रहन्छ," उनले भने, "सचिवालय सदस्य, पार्टी प्रवक्ता हुँदै अरु पदले तात्विक असर गर्दैन तर, आर्थिक क्रान्तिको विषयमा संसदबाटै भूमिका निभाउने अवसर, निर्देशन र विश्वास दिएको हो ।"
संविधानमा उल्लेख समाजवाद उन्मुख जनताको जनवादका आधारमा सामाजिक, आर्थिक रुपान्तरण गरिने उनले बताए । यही प्रक्रियाका निम्ति आफ्नो उम्मेदवारी एउटा इँटा थप्ने काम मात्र भएको श्रेष्ठले बताए ।
यहाँ ६० प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका १७० प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् ।