आमा, तिम्रो माया लाख लाख !

मुक्ति गौतम

आमा, तिम्रो माया लाख लाख !

आमा अहिले छैनन् । (किन किन तिमी भनेर सम्बोधन गर्न मन लाग्यो आज ।) सायद, त्यसैले पनि माया धेरै लाग्छ । सानोमा त मेरा सबै समस्याको समाधानै उनै थिइन् । भोक लाग्दा उनै, डर लाग्दा उनै, निद्रा लाग्दा नि उनै । ठूलो हुँदै गएपछि मेरी अनपढ आमा केही कम भइन् । मेरा स्कूलका प्रश्नहरूको जबाफ हुँदैनथ्यो उनीसँग । कहिले कहीँ जिस्किएर अङ्ग्रेजी कुनै शब्दको अर्थ सोध्दा फिस्स हाँस्थिन् । खुसीले जिस्केर भन्थिन् “पढ्या नाँई” । कलेज, कलेजपछिको जागिर र राजधानी बसाइपछि अझ अलि फरक भयो । बिस्तारै उनका केही समस्याको समाधान बरु मसँग हुन थाल्यो । सानोमा खेतीपातीको चटारोमा भ्याई नभ्याई उनलाई खोजी रहने म हुन्थेँ ।

अब बिहेपछि खोज्ने पालो उनको सुरु भयो । “कहिले बोलाउला छोराले र नातिनी र बुहारीसँग काठमाडौं घुमौंला”, “घर कहिले फर्कला र अङ्गालो भरी पारेर माया पोखौँला” – अब सम्झनाको केन्द्र त म पो हुन पुगेँ । उनका आँखा मोटर नचल्ने त्यो बेला घरीघरी आकाशमा घुँइय आउने हवाईजहाजतिरै - केही खबर या त्यता महङ्गो पर्ने चिया पत्ती र चिनी आयो कि भनेर ।

एकपटक पैसा चोर्न थालेँ मैले । दुई कक्षामा पढ्दा हो जस्तो लाग्छ । पहिलो दिन एक रुपैयाँमात्र चोरेँ सुटुक्क, मुस्किल भयो आँखा छल्न पहिलो दिन । त्यो एक रुपैयाँमध्ये स्कुलमा पानी खाने मुट्या (सानो माटोको गाग्री) किन्न मोहोर गयो र मोहरको चकलेट । हा क्या मजा ! पिपलमेट पनि खाइयो थाहा पनि भएन कसैलाई त्यसपटक । फेरि अर्को दिन, अर्को दिन गरेर मैले लगभग २५, ३० रुपैयाँ चोरिसकेछु । एक दिन पोल खुल्यो मेरो त्यो चोरीको ।

त्यो दिन आमाले थाहा पाएर केरकार गर्न थालेपछि म भाग्न थालेँ, आमा लखेट्न । यो क्रम २, ३ घन्टाभन्दा बढीसम्म चलिरह्यो । फेरि भाग्ने बेला म मर्छु भनेर धम्काएपछि आमाले के छोड्नु - म अघिअघि, आमा पछिपछि । म आमाबाट ओझेल परेर भान्जी दिदीको घरतिर लागेँ । त्यहाँ गएको शङ्का हुँदैन भनेर । अलि गर्मीको बेला थियो । सबै जना छरछिमेक भएर बाहिर आँगनमा कुराकानी चल्दै थियो – म मिसिएँ त्यतै । केही नभए झैँ म कुरा सुन्दै थिएँ आमाले पछाडिबाट च्याप्प नसमाउन्जेल । आमाले तान्दै लिएर गइन् त्यहाँबाट ।

म उनीबाट खोलातिर पसेर ओझेल परेपछि केही गर्ने हो कि भन्ने डर र त्रासले पछ्याइरहेकी मेरी आमाको त्यो बेलाको मनोदशा कस्तो थियो होला ? म अहिले कल्पनासम्म गर्न सक्छु । सोध्दै खोज्दै मसम्म पुगेपछि मेरो बिग्रेको बानी र फेरि नचाहिँदो केही पो गर्ला कि भन्ने डरको बीचमा उनको अवस्था म अहिले बल गरेर सम्झिन खोजिरहेको छु । 

“के केमा खर्च गरिस्?” आमाले सोधेपछि बिस्कुट र चकलेट खाएको एक एक हिसाब बुझाएँ । अब उनलाई अर्को चटारो सुरु भो कसरी बाको पिटाइबाट जोगाउने भनेर । एकजना कपडा पसल भएका राना काकाको घरमा लिएर गइन् मलाई । “सानासी! दाइलाई केही नभन्नू होला, म पछि तिरौँला मलाई २५ रुपैयाँ सापट दिनु पर्यो”- काकालाई सबै कथा सुनाउँदै पैसा मागिन् । यो “सानासी” को अर्थ देवरको रुपमा भएको हो कि भन्ने अनुमान छ मेरो । यो शब्द राना (मगर) देवरहरूसँग कुरा हुँदामात्र प्रयोग हुन्थ्यो । धन्न बाको पिटाइ खानु परेन । भदे काकाले बचाई दिनु भो ।

कुरो यत्तिमै सकिएन । भोलिपल्ट फेरि आमाको मेरो चोर्ने बानी छुटाउन अर्को तयारी भयो । बाटामा पानी र सिस्नुको मुठा । अब चोर्दिन भन्न लाउँदै पिट्दै । मेरो ढाडभरि सिस्नुले पिट्दाका फोकाहरु उठे । स्यान खोले सान्ज्याले न रोकुञ्जेल पिटाइ खाई राखेँ मैले । सान्ज्याले नौनी दल्दै आमालाई अलिअलि गाली गरेको पनि सम्झिन्छु म । नौनी घस्दाघस्दै आमाले थालभरि फेरि दूध भात लिएर आउनु भो ।  मैले खाँदै खाइन । पछि सान्ज्याले फकाएर खुवाएजस्तो लाग्छ । त्यसपछि भने मैले कहिल्यै चोरिन ।

अहिले यस्ता घटनाहरूले झन् आमाको धेरै याद आउँछ । फेरि समय फेरिएको छ । मेरा दुइटी छोरी ठूला भएर हामीभन्दा टाढा बस्न थालेका छन् । सानीमात्रै हामीसँग छिन् । फोन गर्दा व्यस्त हुन्छन् छोरीहरू । सानीले अङ्ग्रेजी आउँदैन भनेर बेला बेलामा जिस्काउछे । बिदा भए उस्तै पर्खाइ चल्छ – आमा छैनन्, उनैको याद आउँछ घरीघरी ।

गत साल नेपाल जाँदा दुर्इ रात बस्न गइयो आफ्नो गाउँ, आफ्नो घरमा । लगभग १७, १८ वर्षपछि घर पुगियो, अरूतिर जाने समय नै भएन । दिदी हुनुहुन्थ्यो घरमा, आमाका घरभित्र यत्रतत्र छरिएका यादहरूमात्र । भित्तामा, भराइनीमा, आँग्नामा ( आँगनलाई आमा यसै गरिभन्थिन् ), चुल्होमा, बारी, बार्दली, खोपा जताततै उनीसँग जोडिएका यादहरुमात्र थिए । भित्ता र भुइँभर उनकै हातका छापहरु थिए लिप्दाका । उनकै पसिना, आँसुहरू थिए । बाहिर पिँढीमा मलाई पर्खिएर बस्दा बनेका डामहरू थिए अझै ढुङ्गामा । हिँड्दाका पदचापहरू थिए बाटोभर । यी यादहरू पनि नभएको भए त आमा नभएको घर त घर पनि नहुँदो रहेछ ! 

आफू दौडिएको बाटो, उनले लखेट्दा बनेका ऊनका पदचापहरू खोज्दै त्यो बाटो एकटक चाहार्ने समय पनि मिलेन । उनको बुई चढेर हेरेको दृश्य फेरिएछ कि उस्तै थियो – एकपटक आँखाले सुमसुम्याउन पनि भ्याइएन । उनी जन्मिएर हुर्किएको उनको माइतीघर, मेरो घरबाट पारि यतै हेर्दै टोल्हाइरहेको जगतीपुर, हेरेरमात्र फर्किएँ । उनले गाएका भाकाहरू पो भेटिन्थे कि कतै – घन्किरहेका दमारभित्र, अधुरै रह्यो त्यो यात्रा ! 

मेरी आमाले जम्मा १० सन्तान जन्माएकी । बाँचेका जम्मा चार, उनको अन्तिम समयमा त हामी जम्मा तीन । त्यो दुःखमा, कालकै मुखबाट घरीघरी बचाएको छोरो पनि माओवादी नामका हत्याराले घरमै आउँदा बाटोमै मारेर मृत पुर्याई दिए उनको काखमा । पलपल मर्दै र बाँच्दै बाँचिन् त्यसपछि बाँकी जीवन । असत्तीहरूको कहिल्यै भलो नहोस् !

पालो फेरिई फेरिई आउँदो रहेछ । अब उनको पालो कहिल्यै न आउने भो, सम्झिने पालो मेरोमात्रै । कहिले समातेर हिँडेको औँला, धोतीको फेर याद आउने, कहिले बोकेको पिठ्युँ याद आउने, हातको स्पर्श, जिउको बास्ना याद आउने र सबैभन्दा त सधैँ सुस्ताउन पाउँने त्यो चौडा काख झलझली याद आउने । त्यो धोतीको फेर पनि गज्जबकै थियो - मुख पुछ्ने, पैसा बाँध्ने, रुँदा आँसु पुछ्ने र केही खानेकुरो पोको पार्ने पनि त्यही  । त्यो धोतीको फेर घरीघरी याद आउँछ आमा !

एक पटक दाङ दिदीको घरमा जाँदा दुई दिनको बाटोमा पहिलो दिनमै तीम्रो खुट्टा नचल्ने भय । मैले डोर्याउँदै र अलि अलि बोकेर तिमीलाई दाङ पुर्याएँ । तिमीले भन्यौ, “मेरो ऋण तिरिस्” । म मख्ख परेँ मैले ठूलो काम गरेँ भनेर । अहिले हिसाब गर्दा त त्यो केही पनि पो होइन रहेछ । तिमीलाई हिसाब गर्न कत्ति पनि नआउँने रहेछ भन्ने लाग्थ्यो एक पटक । तर, अहिले तिमीले जानी जानी आफ्नो हिसाब बिगारेको थाहा पाएँ मैले । तिमीलाई म बच्चाजस्तै लाग्छ होला अझै । म त हुर्किएका तीन छोरीको बा भइसकेको छु आमा !

धेरै जान्ने भए झैँ लाग्थ्यो । तिमीलाई अलिअलि दिँदा कहिले कहीँ धनी भए झैँ लाग्थ्यो । कहिले काखमा पूरै नअट्दा ठूलो भए झैँ लाग्थ्यो । आफ्नै खुट्टाले केही ठाउँ घुम्दा जिन्दगी बुझे झैँ लाग्थ्यो । दुई चारवटा किताब पढेपछि धेरै सिकेँ झैँ लाग्थ्यो । “हिँड्दै पाइला मेट्दै” भयो कि के भयो कुन्नि म त आफू केही नै छैन/ हैनजस्तो पो लाग्छ आमा अचेल !  

अचेल लड्छु, ठोकिन्छु, लाटो हुन्छु छोरीहरुको अगाडि । हरेकपटक सम्झिन्छु आमा तिमीलाई । तिमीले छोडेर गएपछि बल्ल तिम्रो महत्त्व बुझेको छु । तिमीले हिसाब बिगारेको अब थाहा पाउन थालेको छु । म जब तिमीजस्तो हिसाब बिगार्न सक्दिन झन् झलझलि तिम्रो अनुहार आउँछ मेरो अगाडि । आमा ! तिम्रो माया लाग्छ लाख लाख !

टिमिन्स, क्यानडा
 

प्रतिकृया दिनुहोस
ad