site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एसियामा लोकतन्त्र नफाप्ने नै हो त ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
कृष्ण पाैडेल
समसामयिक राजनीतिका झन्डै ३ दशक झेलेको अध बैंसे र बढ्दो उमेरको युवा पुस्ता आजकल व्यग्रतापूर्वक 'उदार तानाशाह' खोज्दै छ। तानाशाह वा उदार तानाशाह जे भनौँ यसले नेपालमा मात्र हैन समस्त एसियाभर तरंग पैदा गर्दैछ - कतै सैनिक विद्रोह र कतै चुनाबी बाटो बाटै पनि तानाशाहहरू कि त  फर्कँदै छन् वा उदाउने प्रयत्नमा देखिन्छन् । तर, तानाशाहको उदारतासँग कुनै साइनो नै हुँदैन र तिनीहरू उदारबाहेक बाँकी जे पनि हुन सक्छन् । पद्धति र प्रणालीका विरुद्ध व्यक्ति सत्ताको अपरिहार्यता साबित गर्नु नै तानाशाहको एकमात्र ध्येय हुन्छ। तानाशाहहरू समग्रतामा पूर्ण नियन्त्रण चाहन्छन् र पद्धति मान्नुपर्ने आवश्यकतै देख्दैनन् । किनभने पद्धति बस्यो भने जिम्मेवारी र दायित्व बाँडिन्छ र प्रणालीका सबै अंग-अवयवले स्वःस्फूर्त काम गर्न थाल्छन् । यस्तो हुँदा अमुक व्यक्तिको अपरिहार्यताको औचित्य आफैँ सकिन्छ र तिनीहरू संकटमा पर्छन् । 
हाम्रो मथिंगलमा उदार तानाशाहको चाहना मौलाउनुमा लामो समयको अस्थिर र प्रयोगपरक राजनीतिबीच फस्टाएको पद्धतिहीन अराजकता जिम्मेवार छ । अराजकताको मलिलो खेतमा फलेको त्यो चाहनाको प्राप्ति पनि अर्को अराजकता वा निरंकुशतामा रूपान्तरण हुनेमात्र सामर्थ्य राख्छ, हामीले स्वीकारे पनि वा स्वीकार गर्न नचाहे पनि । यस छटपटीका कारण भने छन् । आधुनिक प्रविधि, वैभव र विकासका मानदण्डमा पनि अगाडि रहेका, युरोपको मुख्य भूभाग, उत्तर अमेरिका, जापान र अस्ट्रेलिया-न्युजिल्यान्डजस्ता पहिलो विश्वका देशबाहेक बाँकी ल्याटिन अमेरिकी, अफ्रिकी र एसियाली विश्वको राजनीतिक प्रणालीको विकासको अवस्था सधैँ नै धरमर अवस्थामा रहेको यथार्थ हो । परिपक्व राजनीति, विकसित राजनीतिक चेतनायुक्त जिम्मेवार समाज र त्यस समाजलाई डोर्याउन बलियो राजनीतिक संरचना र नेतृत्व आवश्यक रहन्छ । परन्तु, हामीले त्यो पाएनौँ । फलस्वरूप, अधिनायकको मोहले हामी वशिभूत हुँदैछौँ । 
यस विषयको अर्को सामजशास्त्रीय पाटो पनि छ । हुनत टर्कीदेखि जापानसम्म र पपुवादेखि साइबेरियासम्म फैलिएको बृहत् एसियाली समाज सोलोडोलो समजातीय सिङ्गो गोलो हैन । तर, ईश्वर, गुरु, पिता, नेता, चौधरी, ग्राम प्रमुख, मुखिया आदि नाइके थापेर तिनकै कृपा संसारमा आफूलाई नेतृत्वको आज्ञापालक अनुगामी बनाउने मूल्यमान्यता र संस्कार अधिकांश एसियालीको प्रतिनिधि विशेषता हो भन्छन् राजनीतिक समाजशास्त्रीहरू । अर्को शब्दमा, हामी स्वाभाविकरूपमा सहभागीभन्दा अनुयायी बन्न खोज्छौँ । यही चिन्तन र मान्यताले एसियालीलाई पश्चिमाबाट छुट्याउँछ ।  
वि सं २०४६ को बहुदलीय लोकतन्त्र पुनर्स्थापना पश्चात, हाम्रो पुस्ता अब लगभग आफ्नो तीन दशकको जीवनचक्र पूरा गर्ने विन्दुमा छ। धेरै प्रकारकाराजनीतिक प्रयोग, विस्मयकारी भवितव्यहरू, कमजोर र अस्थिर नेतृत्व शृंखलाका कारण हामी समग्र राजनीतिक पद्धतिकै विरुद्ध आक्रोशित छौँ । पद्धति नबस्दा, नेतृत्व सबल नहुँदा, बाँकी संसारको गति पछ्याउने इच्छा र कर्मशक्ति दुवै नहुँदा, हामी विगतभन्दा अझ पछाडि धकेलिएका छौँ । 
विकसित संसार दोस्रो विश्वयुद्ध पूर्व जुन छटपटी र चिन्ता बोकेर रुग्ण थियो आज हामी त्यही विन्दुमा व्याकुल र व्यग्र बनेको अनुभव हुन्छ। सन् १९४५ सम्म दोस्रो विश्वयुद्धले ध्वस्त र जर्जर बनेको जापान तीन दशकमा विश्वकै आर्थिक महाशक्ति बन्न सक्यो । सन् १९५०-५३ को कोरियाली युद्धले तहसनहस बनेको दक्षिण कोरिया समृद्ध र विकसित बनेर चिनियो । सन् १९६५ मा जन्मेको राष्ट्र सिंगापुरलाई विकास र समृद्धिको विम्ब बनाएर हाम्रै नेताले राजनीतिक सपना पनि बेच्ने गर्छन्, यदाकदा । तर त्यही कालखण्ड वा सन् १९५० मा जहानिया राणा शासनको बन्देजबाट मुक्त हामी नेपाली भने अनवरत राजनीतिक प्रयोगको ‘गिनीपिग’ बनेर अविकास र पछौटेपनको गर्तमा रहन अभिशप्त बनिनैरहेका छौँ । 
विकासको लागि राजनीतिक नेतृत्व स्थिर र सबल हुनै पर्छ र त्यो विकासमुखी इच्छाशक्तिको पर्याय बन्नै पर्छ। अमुक राजनीतिक दर्शन, पद्धति वा प्रणाली विकासका लागि अपरिहार्य कारक हो कि हैन भन्ने बारेमा एकमत छैन । तथापि युरोप, अमेरिका, जापान, अस्ट्रेलियाले हासिल गरेको विकास राजनीतिक उदारवाद, कानुनी शासन, नागरिक अनुशासन र सामूहिक कर्तव्यबोधको बाटोबाट हासिल भएका हुन् भन्नेमा द्विविधा छैन । तर, एसियाली मुलुकहरूले पछिल्लो शताब्दीको उत्तरार्द्धका दशकमा प्राप्त गरेका भौतिक उपलब्धिको वास्तविक दार्शनिक वा मूल्य-मान्यतागत आधारभूमि के थियो भन्नेमा प्रशस्त मतामतान्तर पाइन्छ । कुनै पनि अस्तित्वको दार्शनिक आधार हुनै पर्छ भन्ने मान्ने हो भने यहाँ एउटा गम्भीर विरोधाभास देखापर्छ।
सन् १९८०-९० को दशकमा, एउटा राजनीतिक-दार्शनिक विवाद उत्कर्षमा थियो - आफ्ना मुलुकलाई आधुनिक भौतिक विकास निर्माणका उपलब्धिले समृद्ध पार्ने काममा एसियाका विशेषत: दक्षिण कोरिया, ताइवान, मलेसिया र सिंगापुरले अपनाएको पछिल्लो मोडेल अघिल्लो शताब्दीदेखि युरोप र अमेरिकाले अपनाएर उपलब्धि लिन सफल ढाँचाका तुलनामा बढी प्रभावकारी र द्रूत दुवै प्रमाणित भएको प्रष्ट देखिन्थ्यो । अर्थात्, युरोप र अमेरिकाले जुन विकासशिल ढाँचा अपनाएर आर्थिक समृद्धि र भौतिक विकास हासिल गरे त्यो भेट्टाउन तुलनात्मकरूपमा बढी दशक र शताब्दी लागेको थियो भने यताका एसियाली मुलुकले दुईदेखि तीन दशक बीचमा नै आफूलाई लगभग त्यही स्तरमा उठाउन सकेका थिए। हुनत खोज, अनुसन्धान, असफलता र सफलताबीचको हण्डर खाँदै सिक्दै प्रविधिको आविष्कार र परिष्कार गरेर विकासको बाटोमा अगाडि निस्कनु अपेक्षाकृत लामो बाटो हुन्छ र त्यसमा समय लाग्नु स्वाभाविकै हो । यही लामो अनुभव र परिस्थितिको बाटो भएर युरोप र अमेरिकाले गुज्रनु पर्‍यो । तर एसियाली मुलुकलाई भने अरूले विकास गरिसकेका प्रविधि र प्रयोग सिद्ध सफल बाटो अपनाउन पाउने सुबिधा सुरुदेखि हासिल थियो । यसर्थ, विकास-निर्माण र भौतिक उपलब्धि तुलनात्मकरूपमा छिटो हासिल गर्नसक्ने फाइदामा पछिल्लो संसार सदैव हुन्छ। तर, माथि उल्लेख गरिएका र अरू केही एसियाली मुलुकले अनपेक्षित भौतिक विकासको फड्को मारेको भनिएको सन् १९८०-९० को दशक र त्यसपछिको समयसँग सम्बन्धित केही राजनीतिक र दार्शनिक प्रश्न बडो चाखलाग्दा थिए । यहाँ एउटा प्रसंगको मात्र चर्चा गरिन्छ । 
सन् १७७६ मा अमेरिकी टमस पेनले लेखेको ‘कमन सेन्स’ भन्ने पर्चालाई आधुनिक संयुक्त राज्य अमेरिकाको स्वाधीनता, स्वतन्त्रता र त्यहाँको संविधानको प्रारूप मानिन्छ। अर्थात् यही अपिलमार्फत उनले ब्रिटिस साम्राज्यको कब्जाबाट तत्कालीन अमेरिकाका १३ राज्यलाई मुक्त पार्नुपर्ने र ती राज्यमा पूर्ण न्याय, समानता र स्वतन्त्रतामा आधारित संविधान लागु गर्नुपर्ने आवश्यकताको उद्घोष गरेका थिए। आधुनिक लोकतन्त्रको कोसेढुङ्गा थियो - अमेरिकी स्वतन्त्रताको उद्घोष, घोषणा र संग्राम जसले सन् १९७९ मा फलिभूत हुने योग पायो । त्यही स्वतन्त्रता संग्रामको असर पछि गएर फ्रान्सेली राज्यक्रान्ति र बाँकी युरोपमा परेको थियो । यसर्थ, आधुनिक लोकतन्त्रको जग बसालेको अमेरिकी स्वाधीनता संघर्षले हो भन्दा दुई मत हुँदैन । टमस पेनको त्यही निबन्धमा लेखिएको छ ‘एसियाले लामो समयदेखि मानवीय स्वतन्त्रतालाई निर्वासनमा पठाइसकेको छ’ अथवा ‘एसियामा शासन हुन्छ तर स्वतन्त्रता हुँदैन” । नोबेल पुरस्कारबाट सम्मानित विचारक अर्थशास्त्री प्रा. अमर्त्य सेनले मलेसिया र सिंगापुरमा लामो समय शासनमा रहेका दुई प्रधानमन्त्री क्रमश: महाथीर मोहम्मद र लि क्वान युको ‘एसियाली मूल्य मान्यता’ सम्बन्धी दाबीहरूको आलोचना गर्ने क्रममा टमस पेनको माथिल्लो उक्तिलाई उद्धरण गरेका छन् । लामो समय शासनमा रहेका ती दक्षिण एसियाली शासक पश्चिमा उदारवादी राजनीतिक स्वतन्त्रता र विश्वव्यापी मानव अधिकार संसारका सबै जसो मुलुकमा उही रुपमा लागु हुन सक्दैनन् र तिनलाई विकास र आर्थिक प्रगतिका आधारभूत सर्तका रुपमा अनिवार्य बनाउनु हुँदैन वा सकिँदैन भन्ने मान्यताका प्रवर्तक मानिन्छन् ।  
उदार तानाशाह र एसियाली विकासको पछिल्लो मोडलको चर्चा गर्दा सबैभन्दा पहिला उल्लेख गरिने नाम हुन् ली क्वान यु, पार्क चुङ ही र महाथीर मोहम्मद । सन् १९६५ मा सिंगापुरको स्थापना पूर्वदेखि नै प्रधानमन्त्री रहेका लि क्वान यु लगातार ३२ वर्ष त्यहाँको प्रधानमन्त्रीमात्र भएनन्, टापु सहररूपी आफ्नो देशलाई उनले तेस्रोबाट पहिलो मुलुकको श्रेणीमा उठाए पनि । सन् १९६२ मा सैनिक विप्लवबाट सत्ता हातमा लिएका जनरल पार्क सन् १९७९ मा उनको हत्या नहोउञ्जेल, दक्षिण कोरियाका शासक रहे र यही अवधिमा उनले कोरियाली युद्धपछि ६४ डलर प्रतिव्यक्ति प्रति वर्ष आम्दानी रहेको संसारकै गरिब मुलुकलाई उपल्लो कोटीको विकास र वैशाली बनाउन सफल भए। मलेसियाका महाथिर मोहम्मदको २२ वर्षे प्रधानमन्त्रीकाल पनि त्यहाँको विकासको कारक रह्यो भन्नेमा खासै विवाद गरिँदैन । यद्यपि, महाथिरले छाडेको उत्तराधिकार भौतिक संरचना, राजमार्ग, बाटोघाटो र औद्योगीकरण बाहेक अन्यत्र त्यति अनुकरणीय देखिँदैन। राजनीति, प्रशासन, शिक्षा र समग्र सभ्यता निर्माणमा उनले जति सक्थे त्यति गरेनन् र उनको नेतृत्व ्रपछि सत्तासीन उनकै दलका प्रत्येक प्रधामन्त्रीसँग झगडा गरेरै उनले आफ्नो लामो राजनीतिक अनुभवको व्यय गरिरहेका भेटिन्छन् । तर लि क्वान युले सिंगापुरलाई आर्थिक समृद्धिमात्र दिएनन्, विश्वस्तरीय शिक्षा प्रणाली, योग्यतामा आधारित अवसर, सुन्दर, स्निग्ध र सफा देश, पूर्ण भ्रष्टाचारमुक्त प्रशासनिक संरचना र समनुन्नत पद्धतिको पर्याय बनाए। पार्कको दक्षिण कोरियाली कार्यकाल निकै उथलपुथल र खतरापूर्ण थियो तर एउटा सैनिक जनरलले जे गर्नुपर्थ्यो र सक्थ्यो त्यो गरेरै उनले दक्षिण कोरियालाई विश्व मञ्चमा उठाएका हुन् । अन्तत: उनी धेरै पटकका हत्या प्रयासबाट बाँच्दा बाँच्दै आफ्नै सहकर्मीको षडयन्त्रमा मारिए । सिंगापुर र दक्षिण कोरियाले छोटो अवधिमा हासिल गरेको आर्थिक र भौतिक विकास सबैका लागि लोभ र आश्चर्यलाग्दो छ र अनुकरणीय पनि। महाथिर र लि क्वान यु आवधिक निर्वाचनमार्फत जनताले गरेको प्रत्यक्ष मतदानको बाटोबाट चुनिएका प्रधानमन्त्री थिए, यद्यपि उनीहरू दुवैको समयसम्म र अझै पनि लोकतन्त्रमा विपक्षी पार्टीको हैसियत देखावटीमात्र भएको बात लाग्ने गर्छ । पार्क चुङ भने सैनिक जनरल नै थिए र उनले पटक पटक जन अनुमोदित हुने प्रयास गरे पनि यसलाई लोकतान्त्रिक ठानिने कुरो भएन ।  
पछिल्लो समयमा फेरि पनि जापानबाहेकका एसियाली मुलुकमा, पुराना तानाशाह र तिनका कठोर उत्तराधिकारको गुणगान गाउने वा त्यतातर्फ फर्किन खोज्ने युग फर्केजस्तो देखिएको छ । दक्षिण कोरियामा तत्कालीन तानाशाह पार्क चुङ ही कै छोरी पार्क ग्युन हे सन् २०१३ मा राष्ट्रपति बनेर फर्किइन् । चीन, लाओस, भियतनाम र कम्बोडियामा अपेक्षाकृत कठोर कम्युनिस्ट शासकहरू दशकौँदेखि सत्तासीन छँदैछन् । थाइल्यान्डमा जनताले पटकपटक मत हालेर छनोट गर्ने गरेको सिनावात्रा परिवार नेतृत्वको पार्टी र सत्ता पलट गर्दै तिनको राजनीतिक अस्तित्व निमिट्यान्न पार्न राजावादी सेना हर्दम तयार देखिन्छ । अहिले पनि त्यहाँ सेना कसरी राजनीतिलाई आफ्नो प्रभाव बाहिर जान नदिने भन्ने ध्याउन्नमै केन्द्रित छ। जति परिवर्तन भयो भनिए पनि म्यानमारको संसद्मा २५ प्रतिशत  सदस्य बर्दीधारी सैनिक छन् र सेनाको हातमा रक्षा, गृह र मुख्य मन्त्रालय कायमै छन्। फिलिपिन्समा पूर्व तानाशाह फर्डिन्यान्ड मार्कोसको बाटो पछ्याउने बाबहुबली डुयट्री रोड्रिगो भर्खरै राष्ट्रपति भवनमा छिरेका छन्। इन्डोनेशियाका जोकोवी पनि 'हार्ड लाइनर' मानिन्छन् र शासनमा कठोरताका पक्षपाती हुन्। दक्षिण एसियामा भारतको चुनावी लोकतन्त्रबाहेक अन्य मुलुकमा लोकतन्त्रप्रतिको लगाव र मिठासमा स्खलन आएको छ । संसारकै सबैभन्दा विशाल लोकतन्त्रको डंका पिटे पनि भारतको लोकतन्त्र जनस्तरसम्म चलायमान, उत्तरदायित्वपूर्ण र प्रभावकारी छ भनेर दाबा गर्ने बलिया आधार छैनन् । बंगलादेश र नेपालले लोकतन्त्रको 'लिक' पहिलाउन नसकेको अढाइ दशक भैसक्यो । भुटान आफ्नै ‘कोकुन स्टेट’ को हैसियतमा मग्न छ भने मालदिब्स राजनीतिक कलहमा उस्तै जीर्ण छ । लामो गृहयुद्धबाट तंग्रिएर उठेको श्रीलंका अपेक्षाकृत अगाडि हुँदाहुँदै पनि राजापाक्षे विक्रमासिंघे विभाजनको दुश्चक्रमा फसेको छ भने पाकिस्तानको ठालु लोकतन्त्र आतंकवादको छायामा सेनाको 'मोहताज' बनेर सदा सन्त्रस्त असुरक्षित बाँचेको छ । मध्यपूर्वी मुलुकहरू र लोकतन्त्रको चर्चा गरिरहनु नै परेन । 
एसियाली राजनीतिको यस्तो हविगत देखेपछि भन्न कर लाग्छ - सायद एसियाले लोकतन्त्र पचाउन सक्दैन । युरोप र अमेरिकामा सभ्यता, सफलता र समृद्धि प्रत्याभूत गर्न सक्ने लोकतन्त्र, किन र कसरी एसियामा फाप्न सकेन ? किन उदारवाद, राजनीतिक स्वतन्त्रता, र विश्वमान्य नागरिक अधिकारलाई एसियाले विकास र प्रगतिको मार्गमा साधक नमानेर बाधक ठान्यो ? 
यसको समाजशास्त्रीय र दार्शनिक पर्यावलोकन अर्को प्रसंगमा ।
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC