site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खेल्दै पनि लेख्दै पनि
Ghorahi CementGhorahi Cement

१३औं साग समाप्तिको दुई दिनअगाडिको अपराह्न पोखरामा महिला फुटबलतर्फ नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका थिए । ठीक त्यही बेला म गोपाल बस्न्यातसँग ललितपुर कुपण्डोलको उकालोमा ‘बिज प्लस’ टेलिभिजनमा गफिइरहेको थिएँ । उनी सम्झनाको लहरमा मज्जाले लहरिँदै थिए । स्मृतिले छपक्कै भिज्दै नेपाली खेलकुदको विगत सुनाइरहेका थिए । 

भन्नेले भन्छन्, ‘नेपालले खेलकुदमा प्रगति गर्न सकेन ।’ होला भारतभन्दा पछि छ । अमेरिका र युरोपको के कुरा ? तुलना भारतसँग हैन, नेपालसँगै गर्नुपर्ने गोपालको तर्क छ । ‘भारतसँग तुलना गर्ने हो भने त्यस निकटतम छिमेकीको अर्थतन्त्रको आकार, राजनीतिक स्तर र खेलकुदमा गरिएको लगानीको अङ्क हेर्नुपर्दैन ?’ शालीन शैलीमा उनले प्रश्न गरे । 
असिम इच्छाशक्ति भएकै कारण नेपाली खेलाडी खेल्न सकेको गोपालको अनुभव छ । विगतमा कुनै एकाध विधामा मात्रै स्वर्ण जित्ने गरेको स्मरण गर्दै यो सागमा एथ्लेटिक्सदेखि विभिन्न खेलमा स्वर्ण पदक जित्नु शुभ सङ्केत भएको उनलाई लाग्छ । 

गोपालले नेपाली खेल र खेलाडीको अवस्थाको कुरा गर्दा सम्झिए– राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरद्चन्द्र शाहलाई । 

Agni Group

“उहाँ भन्नुहुन्थ्यो– नेपाली खेलाडी तीनपटक हार्दा रहेछन् । मैदानमा मार्चपास गर्दा अरु तामाझामका साथ ठूलो समूह लिएर उत्रिन्छन् । सानो समूह मैदानमा देख्दा त्यो नेपाल हो भन्ने हुन्छ । त्यहीँ पहिलोपटक नेपाल हार्छ । अरु देशका खेलाडी ब्रान्डेड जर्सी लगाएर मैदान ओर्लिंदा नेपाल भुवा आउने कमजोर क्वालिटीको लुगा लगाएर देखापर्छ, त्यहाँ दोस्रोचोटि हार्छ । तेस्रो पटक, नेपाल कमजोर तयारीका कारण मैदानमा हार्छ ।” शरद्चन्द्रको यो भनाइ उनी बिर्सन सक्दैनन् । 

नेपाली खेलकुदको कमजोर अवस्था देखेर शरदचन्द्रले ‘म यो दयनीय अवस्थाबाट खेलकुदलाई माथि उठाउँछु’ प्रतिबद्धता जनाएको पनि गोपालले भुलेका रहेनछन् । उनैले हो विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको । 

Global Ime bank

त्यसो त शरद्चन्द्रले भने जस्तो तीनपटक मात्रै होइन ऊर्जाशील समय खेलकुदमा खर्चिने र आर्थिक अवस्था कमजोर भएपछि जिन्दगीबाटै हार्नुपरिरहेको दारुण अवस्था अहिले पनि छ । 

० ० ०

०३१ सालको भदौ गोपाल बन्द खाम बोकेर गोरखापत्रको कार्यालय पुगे । र, लेखरचना शाखा सोधे । कोठा भित्र पसे । सेतो लवेदा–सुरुवाल लगाएको अग्लो ज्यानको मान्छे देखे । ‘गोरखापत्र’ दैनिकका लागि लेख भनेर खाममा नै लेखेका थिए । दिएर वायुबेगमा दौडिएर गोपाल बाहिर निस्किए । 

कारण त्यो पहिलो पटक लेख लेखेर छपाउन उनी गोरखापत्र पुगेका थिए । आफैंलाई शङ्का थियो लेख राम्रो छ भन्नेमा । त्यसैले हेरेर यस्तो पनि लेख्ने भन्लान् भन्ने भयले उनी दौडिएका थिए । 

दुई दिनपछि लेख ‘गोरखापत्र’मा छापियो । गोपाललाई हौसला मिल्यो । निरन्तर लेख्न थाले । कहिले खेलकुद त कहिले आर्थिक । एकातिर लेखमा फोटोसहित आउने बाइलाइनले हौस्याउँथ्यो, अर्कोतिर ३५ रुपैयाँ पारिश्रमिक पनि आउँथ्यो । त्यसले पनि निकै भरथेग गर्थ्यो । 

लेख बाक्लै छापिन थालेपछि गोरखापत्र आउजाऊ पनि बढ्यो । गोरखापत्रका हाकिमहरुसँग सामीप्य बढ्यो । सेतो लवेदा–सुरुवाल लगाउने बडेमाको ज्यान भएका व्यक्तिसँग पनि आत्मीयता बढिसकेको थियो । गोपालले भने, “भैरव दाइ, पहिलो दिन मेरो लेख राम्रो भएन भन्नुहोला भन्ने डरले म तपाईंले लेख खोल्नुभन्दा अगाडि नै दौडिएको थिएँ नि !”

“तिम्रा लेख राम्रा हुन्छन् । गन्थन होइन इन्फर्मेसन हुन्छन् । लेखमा इन्फर्मेसन जति धेरै भयो त्यति राम्रो हुने त हो । अझै लेख्दै जाऊ राम्रो हुन्छ,” यसो भन्ने व्यक्ति थिए, हाँस्यव्यङ्ग्यकार भैरव अर्याल । 

“लेख्न रुचाउने हामी नयाँ पुस्तालाई उहाँ हौस्याइरहनु हुन्थ्यो । तर विडम्बना उमेर छँदै आत्महत्या गर्नुभयो,” सुरुमा उत्साही गोपालको मुहार उनको आत्महत्याको कुरा सुनाउँदा मलिन देखियो । 

भैरवसँगै गोरखापत्रमा उनले सम्झिए केशवराज पिँडालीलाई पनि । हाँस्यव्यङ्ग्यमै कलम चलाएका केशवराज पनि नयाँ पुस्तालाई लेख्न हौस्याइरहन्थे । नयाँ पुस्ता आएर हामीलाई नै चुनौती देला कि भन्ने भय उनमा थिएन । लेख्नुपर्छ भन्थे । भोलि काम गर्ने तिमीहरुले नै त हो भन्ने उनको भावना थियो । गोपाल केशवराजलाई सम्झन पुगे ।  

० ० ०

लेख्न सुरु गर्नुअगाडि गोपाल खेल्थे । तर उनको खेल केवल ‘एक्सरसाइज’का लागि मात्रै थिएन । पद्मोदय हाइस्कुलबाट ०२८ सालमा एसएलसी दिएका उनी महेन्द्ररत्न कलेज पुगे आईए अध्ययनका लागि । थप अध्ययनका लागि त्रिचन्द्र कलेज गए ।  

कलेज पढ्दा पनि यो बन्छु नै भन्ने थिएन । तर उनलाई सेना वा प्रहरीमा रुचि थियो । जाउँ कि जस्तो पनि लाग्थ्यो । ब्याडमिन्टनको राष्ट्रिय खेलाडीसमेत भएकाले उनलाई केही सजिलो पनि थियो । 

कारणः एकातिर खेलाडी भएकाले नियमित एक्सरसाइजका कारण फिट एन्ड फाइन शरीर थियो भने खेलाडी भन्ने बित्तिकै फोर्समा हेर्ने नजर नै सकारात्मक हुन्थ्यो । तर कहिले उनी काठमाडौं भएका बेला भर्नाका लागि आवेदन आह्वान नै भएन त कहिले केके मिलेन । परिणामः खाने कि भनेको जागिरमा प्रवेशको असर मिलेन । 

ब्याडमिन्टनको राष्ट्रिय खेलहरु भइरहन्थे । गोपाल खेलिरहन्थे । पढाइ र खेल दुवै चलिरहेको थियो । व्यस्त जीवन थियो । त्यहीबेला उनी स्नातकोत्तर भर्ना भए । स्नातकोत्तरमा १० महिने राष्ट्रिय विकास सेवा (राविसे)मा गाउँ जानुपथ्र्यो । उनी रामेछाप र पाल्पा गए । त्यहीबेला उनी खेल जीवनबाट टाढिन पुगे । खेल छुट्यो । 

उनले आफूले खेलेका खेल सम्झिए । नेपाल चाइना टेस्ट म्याचमा उनले चाइनिज खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । त्यो बेला नेपालमा भएका थुप्रै अन्तरराष्ट्रिय खेलमा गोपालले नेपालको प्रतिनिधित्व गरे । 

जुनियर च्याम्पियन भएका थिए । अन्तरराष्ट्रिय प्रतियोगितामा सेमिफाइनलसम्म पुग्ने नेपालका चार जना खेलाडीमध्ये गोपाल पनि एक हुन्, उनीसँगै किशोरबहादुर सिंह, प्रेम पाण्डे, उदेश श्रेष्ठ सेमिफाइनलसम्म पुगेका थिए । उदेश श्रेष्ठ पछि प्रशिक्षक भए । अरु खेल्नतर्फ लागे गोपाल पढ्नमा केन्द्रित भए । त्यसैले उनको खेल जीवन सकियो ।
स्नातकोत्तर अध्ययन गरिरहेकै बेला ‘गोरखापत्र’ र ‘राइजिङ नेपाल’मा खेल र आर्थिक लेख छापिन्थे गोपालका । त्यसले उनमा लेख्न सक्ने क्षमताको विकास गरेको थियो भने आत्मबल पनि बढाएको थियो । 

खेलकुद परिषद्ले प्रकाशन गर्ने पत्रिका ‘खेल र खेलाडी’ त्यो बेला बन्द भएको थियो । खेलाडी भएका नाताले परिषद्मा उनको राम्रो चिनजान थियो । उनीसहितका केही साथीले परिषद्मा गएर भने, “हामी सम्पादन गर्छौं, पत्रिका निकालौं । ०३३ सालबाट त्यो पत्रिका पुनः प्रकाशन सुरु भयो ।”
 
०३६ को अन्त्यमा परिषद्ले रेडियो नेपालमा खेलकुद कार्यक्रम गर्ने तयारी गर्‍यो । रेडियो नेपाल एकमात्र प्रशारण संस्था । रेडियो प्रस्तोता सेलिब्रिटीसरह हुने समय थियो । उनलाई पनि त्यसको लोभ लाग्यो । रेडियोमा खेलकुद कार्यक्रम चलाउने टिममा उनी पनि समावेश भए । टिममा पाण्डव सुनुवार, धना लामा, निरोदराज पाण्डे र गोपाल । १५ मिनेटको कार्यक्रममा चारै जना बोल्थे । प्रायः स्क्रिप्ट गोपाल नै लेख्थे ।   

पहिलो दिन रेडियो नेपालबाट ‘अन एयर’ भएर आफ्नो स्वर लाखौं स्रोतालाई सुनाएको ०३६ को चैत महिनामा फर्किए गोपाल । लाखौंले सुनिरहेकन छन् रेडियो । बिग्रियो भने ? मनमा डर पैदा भएको थियो । मैले बोलेको कसकसले सुन्छन् होला ? मनमा उत्सुकता थियो । स्वर राम्रो छ भन्लान् या नराम्रो ? संशय उनमा अधिक थियो । यिनै प्रश्नहरुको बीचमा रेडियोमा उनको स्वर पहिलोपटक गुञ्जियो । ३० को दशकमा रेडियो नसुन्ने कुरै थिएन । आफन्तदेखि साथीभाइसम्मले सुनेछन् । स्वर सुनेर सबैले भने वाह ! गोपाल क्या छ, तेरो स्वर त । तारिफै तारिफ । 

कार्यक्रम लोकप्रिय भयो । १५ मिनेटबाट समय बढाएर ३० मिनेट पुर्‍याइयो । करिब १० वर्ष निरन्तर चल्यो त्यो कार्यक्रम । खेलकुद परिषद्मा प्रचारप्रसार शाखा थियो । त्यसमा पनि काम गरे उनले । ‘खेल र खेलाडी’ पत्रिकाको सम्पादन गरे । वार्षिक जर्नल निकाल्थ्यो परिषद्ले, त्यसको सम्पादन पनि गोपालकै जिम्मेवारी थियो ।

० ० ०

०४६ मा रेडियो नेपालले हरेक दिन ५ मिनेट खेलकुद बुलेटिन प्रशारण गर्ने भयो । परिषद्ले गोपाल र डिल्ली बस्नेतलाई काजमा पठायो । पछि रेडियो नेपालले भन्यो, “काजमा मात्रै त भएन । हाम्रैमा आएर करारमा बसेर काम गर्नुपर्‍यो ।” रेडियोमा करारमा काम गर्न थाले गोपाल । 

करिब एक वर्षपछि रेडियो नेपालले भन्यो, “५ मिनेटको बुलेटिन मात्रै भन्दा पनि पूरै समाचार नै पढ्दिनुस् ।” त्यो समयको रेडियो नेपालबाट त्यस्तो प्रस्ताव कहाँ जोकसैलाई आउँथ्यो र ! त्यो दुर्लभ अवसरलाई सदुपयोग गर्दै गोपाल रेडियो नेपालमा समाचार पढ्न थाले । 

०४६ सालबाट काम गरेका गोपालले ३० वर्ष रेडियोमा बिताए । शालीन स्वभाव, वजनदार स्वर । रोजाइमा नपर्ने कुरै थिएन । त्यसैले रेडियोमा खेलकुद मात्रै होइन राष्ट्रिय राजनीतिका हरेक महत्वपूर्ण घटनामा गोपालले जिम्मेवारी पाए । प्रत्यक्ष प्रशारणमा उनको स्वर रेडियो नेपालबाट खुब गुञ्जियो । संसद् पुनःस्थापना, शान्ति सम्झौताको हस्ताक्षर, गणतन्त्र घोषणाको पहिलो दिन, कृष्णप्रसाद भट्टराई मृत्युको दिन उनैले प्रत्यक्ष प्रशारण गरे । भलै, प्रत्यक्ष प्रशारणमा उनी एक्लै हुँदैनथे । 

फुटबलका प्राय सबै प्रतियोगिता रेडियो नेपालले प्रत्यक्ष प्रशारण गथ्र्यो । त्यसको लाइभको जिम्मा उनकै थियो । पछि सन्तोष ओझा आए । सन्तोष आएपछि भने गोपालले केही होलो महसुस गरे । 

अर्थशास्त्रमा स्नातकोत्तर भएकाले अर्थतन्त्रमा पनि उनको रुचि थियो । यही कारण बजेट भाषणमा पनि उनी सकेसम्म छुट्दैनथे । प्रत्यक्ष प्रशारणमा रहर गर्ने धेरै हुन्थे । तर विषयवस्तुप्रति पूर्ण जानकारी नहुँदा कहिलेकाहीँ समस्या पनि हुन्थ्यो । कोही यस्ता पनि हुन्थे, ‘बल निकै माथिबाट गयो । गोल हुन सकेन । यति सहज अवस्थामा त म पनि गोल गर्न सक्थेँ ।’ तर गोपाल जानकारी दिन्थे । सिकाउँथे । त्यसैले गाल पर्नेगरी अक्षम्य गल्ती भएन । स्पष्टिकरण नै दिनुपर्ने अवस्था आएन । 

० ० ०

खेलमा रुचि थियो । खेल खेले । खेलकुद पत्रकारिता गरे । रेडियो नेपालमा सुरुदेखि नै खेल पत्रकारिता गरे । “नेपालमा खेलकुद पत्रकारिता सुरु गर्ने नै हामी हौं । नेपाल  टेलिभिजनमा पनि हामीले नै हो सुरुआत गरेको,” उनी भन्छन्, “कहिलेकाहीँ खेलकुद पत्रिका ननिस्किएका त हैनन्, तर नियमित रुपमा प्रकाशन गर्ने हामी न हौं ।” 
 
०४४ मा नेपाल टेलिभिजनमा गोपालले कार्यक्रम सुरु गरे । कार्यक्रमको नाम थियो, ‘खेलकुद’ । गोपाल चित्रकार भिडियो खिच्थे । गोपाल प्रस्तोता र स्क्रिप्ट राइटर थिए । त्यही वर्ष उनी पढ्न जर्मन गए । वर्षदिनमा पर्किएपछि फेरि उनले उक्त कार्यक्रम चलाए । अर्को एकवर्ष काम गरेपछि उनले छोडे । यद्यपि, नेपाल टेलिभिजनले ठूला प्रतियोगिता हुँदा उनलाई धेरै पटक भन्यो, ‘लौ न गोपालजी !’ 

४०को दशकको अन्तिमतिर नेपाली फुटबल टिमलाई सिकाउन जर्मन कोच आएका थिए, होल्गर ओबरम्यान । ओबरम्यान र गोपाल भएर नेपाल टेलिभिजनमा एउटा कार्यक्रम चलाए, ‘गोल अफ दि मन्थ’ । जर्मन लिगको सबैभन्दा राम्राराम्रा गोल देखाउँथे । यहाँका दर्शकले भोट गर्थे कुन गोल राम्रो भनेर । 

सुरुमा चिठी खसाल्ने सानो बाकस राखेका थिए ।  अट्न छोड्यो । कार्यक्रम लोकप्रिय भयो । बाकसमा चिठी नअटेपछि पूरै कोठामा राख्न थालेका थिए । खेलकुदका दिग्गज व्यक्ति बोलाएर लक्की ड्र गर्थे । त्यो पनि खेलकुदको लोकप्रिय कार्यक्रम थियो । “३० सेकेन्डको भिजुअल खोज्न चार घण्टा लाग्थ्यो । हामी रातरात बसेर भिजुअल सम्पादन गथ्र्यौं,” उनी भन्छन्, “गोपाल चित्रकार र हामी भिजुअल खोज्न रातभरि बस्थ्यौं ।”

० ० ०

०४४ साल फागुन २९ दशरथ रङ्गशालामा त्रिभुवन च्यालेन्ज कपअन्तर्गत नेपाल र बङ्गलादेशबीच खेल भइरहेको थियो । अचानक हावाहुरी आयो । भागदौड मच्चियो । हावाहुरी सकिँदा धेरैको ज्यान गइसकेको थियो । स्टेडियममा शव यत्रतत्र छरिएका थिए । रङ्गशालामा भएको उक्त भागदौडमा ७१ जनाले ज्यान गुमाएका थिए । तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । 

गोपालले भने त्यो डर लाग्दो दृश्यको साक्षी बस्नु परेन । कारण, उनी त्यो समय नेपाल थिएनन् । पत्रकारिता अध्ययनका लागि जर्मनी पुगेका थिए । 

जर्मनीका सञ्चारमाध्यममा नेपालको समाचार खासै आउँदैनथ्यो । ठूलै विपत्ति या यस्तै कुनै घटना भएको अवस्थामा त्यहाँका टेलिभिजनमा नेपालको नक्सा देखाएर समाचार पढेको देखिन्थ्यो ।   

०४४ साल फागुन २९ गते पनि जर्मनीको टेलिभिजनमा नेपालको नक्सा देखियो । न्युज एङ्करले समाचार पढे, दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच खेल भइरहँदा अचानक चलेको हावाहुरीपछिको भागदौडमा ७१ जनाको मृत्यु । टेलिभिजनमा शव देखाइयो । कोको परे उनले चिनेनन् । तर जब नेपाल फर्किए त्यो बेला गोपालले थाहा पाए, उक्त भागदौडमा उनले चिनेका तीन जनाको मृत्यु भएको रहेछ । “हरेक गेममा आउने नियमितमध्येका केही दर्शकसँग राम्रो चिनजान भइसकेको थियो । उहाँहरुमध्ये तीन जनाको मृत्यु भएछ,” गोपाले सुनाए ।

० ० ०

०५५ साल भदौको महिना थियो । विराटनगरमा फुटबल प्रतिस्पर्धा थियो । गोपाल र पद्मराज कार्की प्रत्यक्ष प्रशारण गर्न गए । त्यसकै सिरिज थियो बुटवलमा । रेडियोको आफ्नै मोटर लिएर उनीहरु बुटवल पुगे । प्रत्यक्ष प्रशारण गरे । सकेर फर्किंदै थिए । अविरल वर्षा भैरहेको थियो । नवलपरासीबाट अगाडि बढेपछि खोला थियो । पुल बनेको थिएन । खोलाको पानीबीचबाटै हिँड्नुपर्ने ! वारिपारि दुवैतिर मोटरहरु रोकिएका थिए । 

एकछिन रोकिए । पानी केही कम भयो । चालकले मोटर ठूलै छ जाऊँ भनेर खोलामा पसाए । ढलपलढलपल गर्दै मोटर मुस्किलले पारि तर्‍यो । पारि पुगेपछि लोडेड ट्रकसमेत रोकेर बसेकाहरुले गोपाल, पद्मराज, इन्जिनियर अशोक बाँस्कोटालगायतलाई माटेरबाट ओर्लिन लगाएर अङ्कमाल गरेर तपाईंहरु ठूलो दुर्घटनाबाट बच्नुभयो भन्दै कुखुरा काटेर ब्ल्याक लेबल खानुपर्छ भन्न थाले । के भयो र ? उनीहरुले भने, “तपाईंहरुको मोटरको एकातिरको पाङ्ग्रा उचालिइसकेको थियो । पल्टिसकेको मोटर कसोकसो जोगियो । पल्टिएको भए एकैपटक नारायणी पुर्‍याउँथ्यो,” ट्रक रोकिराखेकाले भने । बल्ल गोपाललगायतलाई डर लाग्यो । पुनर्जीवन पाएको महसुस गरे । 

० ० ०

रेडियो नेपालको क्रेज थियो । ओजपूर्ण स्वरका धनी गोपालको फ्यान नहुने कुरै थिएन । गोपाललाई याद छ सुदूर नेपालका स्रोता उनलाई विशेष माया गर्थे । टेलिफोन गरिरहन्थे । चिठी पठाइरहन्थे । भेटौं भन्थे । रेडियो नेपालमै भेट्न आइपुग्थे । तपाईंजस्तो मान्छेसँग पनि भेट भयो भनेर आभार प्रकट गर्थे । म फलानोलाई चिन्छु भनेकै आधारमा उसलाई हेर्ने नजर र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन आएको उनलाई सुनाउँथे । गुल्मीका दुई जना गोपालका नियमित स्रोता थिए । उनलाई फोन गरिरहन्थे । उनीहरु गोपाललाई भेट्न गुल्मीदेखि काठमाडौंसम्म आए । 

स्वरमात्रै सुनिएका गोपाल नेपाल टेलिभिजनबाट शशरीर देखिन थाले । त्यसपछि उनलाई बाटोमा हिँड्नेले पनि चिन्न थाले । “म हिँडिरहेको हुन्थेँ, मलाई चिन्नेहरु पछाडिबाट मैले रेडियो नेपालमा तथा नेपाल टेलिभिजनमा बोलेका वाक्यहरु बोलेर जिस्काउँथे । यो रेडियो नेपाल हो, अब गोपाल बस्न्यातबाट समाचार सुन्नुहोस् भन्थे,’’ उनी खुसी हुँदै भन्छन् । 
सायद यस्तैयस्तै पक्षहरुले पनि होला उनले पत्रकारिता छोडेनन् । ०३६ बाट रेडियो नेपालमा बोल्न सुरु गरेका उनले ०७६ को भदौसम्म निरन्तर ४० वर्ष काम गरे । नेपाल टेलिभिजनमा काम गरे । क्लासिक एफएममा काम गरे । माउन्टेन  टेलिभिजन र बिज प्लस टेलिभिजनमा गोपाल अहिले पनि काम गरिरहेकै छन् ।  

० ० ०

०३८ सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा गोपाल त्यसको प्रचारप्रसार समितिको सचिव थिए । पहिलोपटक प्रेस सेन्टरको व्यवस्था उनीहरुकै पालामा भएको हो । त्यसपछिका अधिकांश ठूला खेल प्रतियोगितामा उनले प्रचारप्रसार समितिमा रहेर काम गरे ।

समाचार लेख्यो, तर समाचार पठाउन गाह्रो थियो । जिल्लातिर जाँदा टेलिफोन सेवा प्रयोग गर्नसमेत कठिन थियो । अहिले समयले कोल्टो फे¥यो । प्रविधिले फड्को मा¥यो । काम गर्न सजिलो भयो । “हाम्रो पालामा कहाँ थियो र सहज ? अक्षर कम्पोज गर्नुपथ्यो । इमेलइन्टरनेट थिएन । खेलकुद समाचार तयार पारेर सञ्चार माध्यममा पु¥याउन जानुपथ्र्यो,” गोपाल समय तौलिन्छन्, “सञ्चारको प्रभाव थियो । राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभाका सदस्य तथा मन्त्रीहरु लौ न मैले बोलेको रेडियोबाट बजाइदिनुप¥यो । मेरा भोटरहरुलाई सुनाइदिनुपर्‍यो भन्थे ।” 

खेलकुदतिरै फर्किए गोपाल । आफ्नो कालखण्डका खेलकुदका समाचार लेख्ने समकालीनहरु सम्झिए । राससका ईश्वरमान सिंह । गोरखापत्रका केशव पौडेल । राइजिङ नेपालमा पी खरेल खेलकुदका समाचार लेख्थे । अहिले खेलकुद पत्रकारको सङ्ख्या ठूलो छ । विज्ञापन आयो भने जतिसुकै महत्वपूर्ण खेल समाचार आए पनि छापिँदैनथ्यो । राखेप आफैं समाचार बुलेटिन बाँड्दै हिँड्थ्यो । अहिले गोपाल देख्छन्, हरेक सञ्चार गृहमा खेलकुदको ब्युरो छ । खेलकुद समाचार धेरै हेरिने र पढिनेमा पर्न थाल्यो । 

० ० ०

गफगाफ सकियो नेपाल–भारत महिला फुटबलको फाइनल नतिजा पनि आयो । दुर्भाग्य, नेपाल पराजित भयो । हारमा दुःखको भाव उनको अनुहारमा प्रतिबिम्बित भैरहेको थियो । “फाइनलसम्म पुग्नु नै ठूलो उपलब्धि हो,” उनी भन्दैथिए, “महिला भलिभबलमा भारतलाई जसरी नेपाली टोलीले टक्कर दियो, त्यो चानचुने हुँदै हैन ।” 

० ० ०
   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC